प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार

Photo: welison franklin/ Unsplash
अमेरिकामा ‘अफोर्डेबल केयर एक्ट’ वा सामान्य भाषामा ‘ओबामाकेयर’ भनिने सरकारी स्वास्थ्य बीमा बजारमा आबद्ध हुने अमेरिकीहरूको संख्यामा चालु वर्ष लाखौँले कमी आएको छ। यस गिरावटको वास्तविक कारणलाई लिएर ट्रम्प प्रशासन र स्वास्थ्य नीति विज्ञहरूबीच तीव्र मतभेद सुरु भएको छ।
अमेरिकी स्वास्थ्य तथा मानव सेवा मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार, सन् २०२५ को अन्त्यतिर २ करोड २१ लाख रहेको स्वास्थ्य बीमा उपभोक्ताको संख्या सन् २०२६ को फेब्रुअरीसम्म आइपुग्दा करिब ३० लाखले घटेर १ करोड ९२ लाखमा सीमित भएको छ।
यो गिरावट पहिलो ट्रम्प प्रशासन यताकै पहिलो र सन् २०१४ मा यो बीमा प्रणाली स्थापना भएपछिकै सबैभन्दा ठूलो गिरावट हो।यो तथ्यांक सन् २०२५ को अन्त्यमा संघीय सरकारले दिँदै आएको अतिरिक्त ‘प्रिमियम अनुदान’को म्याद सकिएपछिको पहिलो विवरण हो।
स्वास्थ्य नीति विज्ञहरूका अनुसार अनुदानको म्याद सकिएका कारण सर्वसाधारणका लागि स्वास्थ्य बीमा निकै महँगो हुन गएको छ। प्रिमियम रकम धान्न नसकेपछि धेरै परिवारहरूले बीमा नवीकरण नगरेका वा रद्द गरेका हुन्। तथ्यांक अनुसार अनुदान हटेपछि उपभोक्ताले बुझाउनुपर्ने मासिक शुल्क औसतमा ११४ प्रतिशतले बढेको छ।
ब्रूकिङ्स इन्स्टिच्युसनका वरिष्ठ शोधकर्ता म्याथ्यु फिडलर भन्छन्, अर्थशास्त्रको सामान्य नियम हो-कुनै चीज महँगो भयो भने मानिसहरू त्यसलाई कम किन्छन्। न्यून आय भएका मानिसहरूको प्रिमियम शुल्क दोब्बर भएपछि आकर्षण घट्नु स्वाभाविक हो।
अर्कोतर्फ, ट्रम्प प्रशासनले यस गिरावटलाई सकारात्मक रूपमा चित्रण गरेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार बाइडेन प्रशासनको पालामा भएका ‘फर्जी र अवैध’ दर्ताहरूमाथि चालु गरिएको कडा निगरानीका कारण यो संख्या घटेको हो। मन्त्रालयले बिनाअनुमति दर्ता गरिएका साढे २ लाख मानिसको बीमा रद्द गरिएको जनाएको छ।
प्रशासनको दाबी छ कि करिब ५६ लाख दर्ताहरू शङ्कास्पद वा कागजात नपुगेका थिए। तर, विज्ञहरूले भने चुनावको वर्ष भएकाले आफ्नो कटौती लुकाउन प्रशासनले ठगीको मुद्दालाई बढाइचढाइ गरिरहेको आरोप लगाएका छन्। यूनिभर्सिटी अफ नर्थ क्यारोलिनाका प्राध्यापक जोनाथन ओभरल्यान्डर भन्छन्, यो गिरावट ठगी नियन्त्रणका कारण भएको होइन। रिपब्लिकनहरूले स्वास्थ्य बीमामा गरेको कटौती ढाकछोप गर्न यो बहाना बनाएका हुन्।
विज्ञहरूका अनुसार सन् २०२६ भरि र आगामी वर्षहरूमा पनि यो संख्या अझै घट्ने देखिन्छ। केएफएफको एक सर्वेक्षण अनुसार १७ प्रतिशत उपभोक्ताहरू आफूले वर्षभरि प्रिमियम बुझाउन सक्नेमा ढुक्क छैनन्।
अमेरिकी कङ्ग्रेसको बजेट कार्यालयको अनुमान अनुसार, सन् २०२८ सम्ममा यो संख्या घटेर १ करोड २५ लाखमा झर्न सक्छ, जुन गत वर्षको तुलनामा झन्डै आधा हो। यसले गर्दा अमेरिकामा स्वास्थ्य बीमा नहुने नागरिकहरूको संख्या हालको ७.६ प्रतिशतबाट बढेर यो दशकको अन्त्यसम्ममा १०.४ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ।