मस्तिष्कघातबाट हुने मृत्यु कम गर्न सकिन्छ

मस्तिष्कघातबाट हुने मृत्यु कम गर्न सकिन्छ


जनस्वास्थ्यको प्रमुख समस्यामध्ये मस्तिष्कघात पनि एक हो। यसको उपचार दुई दशकअघिसम्म निकै चुनौतीको विषय थियो। अहिले भने स्थिति फेरिएको छ। उपचारमा आएको नयाँ प्रविधिको विकास र औषधि निर्माणका कारण विकसित मुलुकमा यो समस्या घट्दै गएको छ।

यस्तै पद्धति अपनाएर नेपाललगायत विकासोन्मुख मुलुकले पनि यो समस्या कम गर्न सकिने अमेरिकास्थित बफेलो युनिभर्सिटीका एसोसिएट प्राध्यापक तथा न्युरोलोजिस्ट डा. अमित कँडेलले बताए।

ठुला अस्पतालहरूमा छुट्टै मस्तिष्कघात केन्द्र र विशिष्ट केन्द्रहरू खोलेर सेवा दिए समस्या न्यूनीकरण हुने र मृत्यु तथा अपांगताबाट धेरैलाई बचाउन सकिने उनको भनाइ छ। ‘मस्तिष्कघातको समस्या न्यूनीकरणका लागि नेपालले काठमाडौं उपत्यकाभित्र र बाहिर उपचार सेवा विस्तार गर्नुपर्छ,’ उनले भने।

धुलिखेल अस्पतालमा मस्तिष्कघात सम्बन्धी तीन दिने कार्यशाला गोष्ठी सञ्चालन गर्न डा. कँडेल हालै नेपाल आएका हुन्। उनले नागरिकसँगको कुराकानीमा नेपाल र नेपालजस्तो विकसोन्मु्ख मुलुकमा निकट भविष्यमै ठुलो समस्याका रूपमा मस्तिष्कघात फैलिने सम्भावना देखिएको बताए।

यसको उपचार व्यवस्थापनमा अहिल्यै सरकारको ध्यान जानुपर्नेमा उनले जोड दिए । स्वास्थ्य सेवाको उचित व्यवस्थापन गरे र जनचेतना जगाए मस्तिष्कघातसम्बन्धी समस्याबाट हुने क्षति न्यून गर्न सकिने उनको भनाइ थियो।

डा. कँडेलका अनुसार ३० वर्षअघिसम्म अमेरिकामा मृत्युको कारणमा दोस्रो स्थान मस्तिष्कघातले लिएको थियो। अहिले त्यो पाँचौंमा पुगेको छ। ‘अमेरिकाले ३० वर्षपहिले नै उपचारको व्यवस्थापन गरेपछि यसले निम्त्याउने समस्या न्यूनीकरण अहिले आएर सम्भव भएको हो,’ उनले भने।

उनका अनुसार नेपाल र विकासोन्मुख मुलुकमा सन् २०३० देखि २०५० भित्र मस्तिष्कघातको समस्या भयावह बन्दैछ। बेलायती जर्नल ल्यान्सेटका अनुसार यो अवधिमा मस्तिष्कघात भएकामध्ये ८५ प्रतिशतको मृत्यु हुनेछ भने ९९ प्रतिशतमा अपांगता हुनेछ। 

पछिल्लो समय यो समस्याको उपचारमा औषधि र प्रविधि दुवै रहे पनि सही उपचार व्यवस्थापन र जनचेतना नभएकाले नेपालमा बर्सेनि धेरैले मस्तिष्कघातका कारण अपांगता र मृत्युको क्षति बेहोर्नुपरेको उनले बताए। ‘मस्तिष्कघातको उपचारका लागि प्रविधि र औषधि दुवै छन् तर नेपालमा दक्ष जनशक्ति र नीतिगत प्रतिबद्धताको कमी छ,’ उनले भने।

यो रोगको उपचार गरी नागरिकलाई स्वस्थ राख्नेतिर सरकारले तदारुकता देखाउन नसकेकोप्रति यसलाई राजनीतिक र सामाजिक रोग भनेर उनले टिप्पणीसमेत गरे। ‘सुन्दा मस्तिष्क, रक्तनली र न्युरोलोजीको रोगजस्तो लाग्छ तर यो राजनीतिक र सामाजिक रोग हो।’

उनले राजनीतिक प्रतिबद्धता भएके अवस्थामा यो रोगले पुर्‍याइरहेको क्षति कम गर्न सकिने उनको भनाइ थियो। उपचारमा पहुँच अभावले पनि समस्या जटिल देखिएको उनले बताए। ‘उपचारमा पहुँचको कमीका कारण ५० देखि ६० प्रतिशत मस्तिष्कघातका रोगीले क्षति बेहोर्नुपर्छ,’ उनले भने।

सरकारले मस्तिष्कघातको उपचारका लागि आवश्यक पूर्वाधार, जनशक्ति र जनचेतना, एम्बुलेन्स र जनशक्तिको व्यवस्थापन गरे यसको क्षति पुरै घटाउन सम्भव रहेको डा. कँडेलले बताए। उनका अनुसार नेपालमा हाल मस्तिष्कघातसम्बन्धी दक्ष न्युरालोजिस्ट ३५ जना मात्र छन्।

देशको जनसंख्याका आधारमा हेर्दा यो अत्यन्त कम जनशक्ति हो। यसको उपचारका लागि देशका मुख्य सहर वा एक घण्टाको हवाई दुरीमा मस्तिष्कघात केन्द्र खोले, स्थानीय स्वास्थ्यकर्मीलाई मस्तिष्कघातको समस्या पहिचान गर्ने तालिम दिए, हरेक ठुला अस्पतालमा मस्तिष्कघात केन्द्र स्थापना गरे समयमै उपचार सम्भव छ।

‘यो उपचारलाई सरकारी तहले नै प्राथमिकता दिनुपर्छ,’ उनले भने। त्यसैगरी अस्पताल पुग्नुअघिको हेरचाह, उपचारसहितको एम्बुलेन्स सेवा, निःशुल्क औषधि सेवा अस्पतालमै व्यवस्था भए क्षति न्यूनीकरण गर्न सकिन्छ।

क्षति पुगिसकेकाहरूका हकमा पुनःस्थापना, साना अस्पतालहरूबाटै औषधि दिने व्यवस्था गरे क्षति न्यूनीकरण गर्न सकिने कँडेलले सुझाए। पछिल्लो समय नेपालमा मस्तिष्कघातको उपचार गर्ने उपचार पद्धतिहरू भित्रिएका छन्।

जसअनुसार औषधि दिएर रगतको डल्लो पगाल्ने, रक्तनलीमा तार पठाएर रगतको डल्लो निकाल्ने (थ्रोम्बेक्टोमी) पद्धति अँगाल्ने गरिएको छ। तर यो उपचार सेवा सबै बिरामीको पहुँचमा पुग्ने गरी देशभरि विस्तार हुनु जरुरी रहेको उनको भनाइ छ।

के हो मस्तिष्कघात ?

उच्च रक्तचापका कारण शरीरको रक्तनलीमा अवरोध आई मस्तिष्कमा रक्तसञ्चार बन्द हुने अवस्था हो मस्तिष्कघात रक्तनली फुटेर अर्को रक्तनलीमा रगतको डल्लो जम्मा हुन्छ। यसले रक्तसञ्चारमा अवरोध पुग्छ। यसरी अवरोध पुग्ने क्रममा मस्तिष्कका विभिन्न भागमा असर पर्न सक्छ।

मस्तिष्कको स्नायु प्रणालीसँगै शरीरका विभिन्न अंग जोडिएका हुन्छन्। मस्तिष्कघातले बायाँ मस्तिष्कको भागमा असर गरे बोल्न नसक्ने, दाहिने मस्तिष्कमा असर गरे बोल्दा आवाज नआउने समस्या निम्त्याउँछ।

त्यस्तै पछिल्लो भागमा असर परे आँखा नदेख्ने, त्योभन्दा पनि पछिल्लो भागमा असर परे शरीरको सन्तुलन गुम्ने, मुखको क्रियाकलाप बिग्रिने, सेन्सर भागमा असर गरे पक्षाघात हुनेजस्ता समस्या आउँछन्।

बच्न कस्ता उपाय अपनाउने ?

यीमध्ये कुनै पनि लक्षण देखिए छिटोभन्दा छिटो एम्बुलेन्स बोलाएर पाँच घण्टाभित्र अस्पताल पुग्नुपर्छ। सुरुको अस्पतालमा मस्तिष्कघात केन्द्र नभए औषधि खुवाएर फेरि एम्बलुेन्समै राखेर वा अन्य छिटो उपाय अपनाएर थप चार घण्टाभित्र विशेषज्ञ अस्पतालसम्म बिरामीलाई पुर्‍याइसक्नुपर्छ।

रगतको डल्लो पगाल्न औषधि चलाइएका १०० जनामध्ये ६ जनामा मस्तिष्कमा रक्तश्राव हुन सक्ने सम्भावना रहन्छ। त्यस्तो अवस्थामा न्युरोलोजिस्टले सिटी स्क्यान गरी सोहीअनुसार उपचार थाल्छन्। नजिकै विशिष्ट सेवा दिने केन्द्र भए थ्रोम्बेक्टोमी र अन्य विधिबाट उपचार गर्न सकिन्छ।

मस्तिष्कघातका बिरामी अस्पताल पुगेपछि सक्दो छिटो औषधि दिनुपर्ने हुन्छ। बिरामी पक्ष औषधि किन्नतिर लाग्दा उपचारमा ढिलाइ हुन्छ। छिटो उपचारका लागि अस्पतालमै निःशुल्क औषधि र उपचारको व्यवस्था हुनुपर्छ। यसको औषधि किन्न मात्र ६५ हजार रूपैयाँजति लाग्छ।

थ्रोम्बेक्टोमी सेवाका लागि १ लाख ३० हजार रूपैयाँ खर्चनुपर्छ। यसकोे उपचार लागत हेर्दा महँगो देखिए पनि यो समस्याबाट सामान्य भई फर्केका व्यक्तिले परिवार र देशका लागि पहिलाजस्तै योगदान दिन सक्छन्। तर उपचार नपाए हुने अपांगता र मृत्युले परिवार र देश दुवैलाई घाटा पर्छ।

‘मस्तिष्कघातमा चाँडो र सही उपचारबाट परिवारमा काम गर्ने जनशक्ति बच्छ। त्यति मात्र होइन, देशका लागि अपांगताको हेरचाहमा लाग्ने खर्च घट्छ,’ उनले भने। नेपालजस्तो भौगोलिक विकटता भएको मुलुकका लागि हवाई एम्बुलेन्स झनै प्रभावकारी हुने डा. कँडेलको सुझाव छ।

प्रकाशित: ५ जेष्ठ २०८१ ०६:४३ शनिबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School