मस्तिष्कका कुशल चिकित्सक


काठमाडौं । ‘चिकित्सक पनि मान्छे हुन् । उनीहरूको पनि मुटु छ, संवेदना छ,’ वीर अस्पतालका वरिष्ठ न्युरो सर्जन डा. राजीव झाका यी शब्दहरू गम्भीर छन् ।

समाजमा चिकित्सकलाई कठोर र संवेदनाहीन ठान्ने धारणा छ ।  तर के यो सत्य हो त ?

जीवन र मृत्युको दोसाँधमा उभिएर काम गर्ने चिकित्सकको भूमिका जटिल छ । एकातिर उनीहरूले आफ्नो पेशागत दक्षता देखाउनुपर्छ । अर्कातिर मानवीय संवेदनालाई जीवित राख्नुपर्छ । डा. झाको कामले यी दुवै पक्षलाई सन्तुलनमा राख्छ ।

‘हामी पनि मान्छे हो । कामको कारणले भावनात्मक हुन सक्दैनौं,’ डा. झा भन्छन्,  ‘क्षतविक्षत् टाउकाको उपचार गर्दा हाम्रा हात काँप्न सक्दैनन्, तर यसको अर्थ हाम्रो हृदय पत्थर छ भन्ने होइन ।’

प्रत्येक दिन डा. झा जीवन र मृत्युको दोसाँधमा उभिन्छन् । उनका हातमा मानिसको जीवन हुन्छ ।  त्यस्तो बेला भावनात्मक हुने ठाउँ हुँदैन ।

‘डाक्टरकै हात काँपे बिरामीको जीवन कसले बचाउने?,’ उनी प्रश्न गर्छन् ।

यो प्रश्नले उनको पेशाप्रतिको गम्भीर जिम्मेवारीबोध झल्काउँछ । प्रत्येक शल्यक्रियामा उनलाई थाहा हुन्छ– सानो गल्तीले एक जीवन समाप्त हुनसक्छ ।

डा. झाले १८ हजारभन्दा बढी टाउकोको शल्यक्रिया गरिसकेका छन् । हरेक शल्यक्रियामा उनका हातले एउटा जीवनलाई स्पर्श गरेको छ । क्षतविक्षत् टाउकाहरूमा उनका औंलाहरू सल्बलाउँदा सीप मात्रै होइन, संवेदना पनि बगेको छ ।

‘हेर्नै नसकिने गरी क्षतविक्षत् भएका टाउकाको उपचार गर्दा मेरा हात कहिल्यै काँपेनन्,’ डा. झा सुनाउँछन् ।

स्नायुको शल्यचिकित्सामा लामो अनुभव भए पनि उनले कहिल्यै आफूलाई ‘पूर्ण’ मानेनन् । हरेक नयाँ बिरामी उनका लागि नयाँ पाठ बन्छ । त्यसैले त उनी शल्यक्रियामा कहिल्यै हतार गर्दैनन्, कहिल्यै आत्तिंदैनन् ।

२०२८ फागुन ७ गते महोत्तरीमा जन्मिएका राजीवका बुबा सरकारी जागिरे थिए । शिक्षित् परिवार । बुबा तालिमका सिलसिलामा देश–विदेश गइरहने । परिवारमा राम्रै माहोल थियो ।

गाउँमा जन्मिएकाले उनको बाल्ययकाल त्यतै बित्यो । गाउँमा खेतबारी राम्रै थियो । हजुरबुबाहरूले त्यतै खेतीपाती गर्थे ।

गाउँ नजिकै स्कुल थिएन । उनको घर भारतसँग सीमा जोडिएको क्षेत्रमा हो । गाउँका धेरै मानिस अध्ययनका लागि भारत जान्थे ।

उनका बुबाले पनि भारतबाटै शिक्षा हासिल गरेका हुन् । बुबाको सरकारी जागिर । कहिले कता, कहिले कता सरुवा भइराख्थ्यो ।

उनका बुबाको सुनसरीको तरहरा कृषि कार्यालयमा सरुवा भयो । उनीहरू पनि बुबासँगै तरहरा गए । त्यहाँ नजिक पनि स्कुल थिएन । तरहराबाट स्कुल जान कि इटहरी कि त धरान जानुपर्थ्यो । त्यो १० किलोमिटर दुरीमा थियो ।

यातायातको व्यवस्था थिएन । एउटा सानो बच्चाले १० किलोमिटर हिंडेर जान सक्ने कुरा पनि भएन । त्यसपछि छोराहरूलाई पढाउन उनका बुबाले घरमै शिक्षक राखे । शिक्षकले योग्यता निर्धारण गर्थे । त्यो बेला परीक्षा हुन्थेन । उनले कक्षा तीनसम्म घरमै बसेर पढे । त्यसपछि इटहरीको जनता माविमा चार कक्षामा भर्ना भए । दुई वर्षमै बुबाको जनकपुर सरुवा भयो । उनी सरस्वती मावि जनकपुरमा ६ कक्षामा भर्ना भए । र, त्यहींबाट एसएलसी गरे । पढाइमा राम्रै थिए । राजीवका जुम्ल्याहा दाजुभाइ । बुबाको इच्छा एकजनालाई डाक्टर र अर्कोलाई इन्जिनियर बनाउने थियो ।

मस्तिष्कका कुशल चिकित्सक

बुबाले दुवैलाई विज्ञान पढ्न लगाए । पढ्दै गर्दा उनका बुबाले कुन छोरालाई कता पठाउँदा राम्रो हुन्छ भनेर आन्तरिक मूल्यांकन गरिरहेका थिए । बुबाले राजीवमा डाक्टर बन्ने सम्भावना देखे र उनका भाइमा इन्जिनियर बन्ने । बुबाले ‘मोटिभेसन’ गरे । र, राजीवले सोहीअनुसारको तयारी गर्न थाले ।

त्यो बेला मेडिकल कलेज त्रिवि शिक्षण अस्पतालमा मात्रै थियो । टिचिङमा १५ सिटमा नाम निकाल्न निकै गाह्रो हुन्थ्यो । त्यसको विकल्प भारत थियो । त्यहाँ पनि ठूलो राजनीतिक पहुँच चाहिन्थ्यो । राजनीतिक सिफारिस भएकाले मात्रै छात्रवृत्ति पाउँथे ।

उनीसँग त्यस्तो राजनीतिक पहुँच थिएन । अन्यत्र पनि छात्रवृत्ति पाइन्छ कि भनेर उनी खोज्न थाले । बुबाको सामान्य सरकारी जागिरले पूरै पैसा तिरेर डाक्टरी पढ्न सक्ने अवस्था थिएन ।

त्यो बेला नै धेरै मान्छे चिकित्सा शिक्षा अध्ययनका लागि बंगलादेश जान्थे । उनका ३०–३५ जना साथी पनि बंगलादेश नै गएका थिए । उनको इच्छा पनि बंगलादेश जाने थियो । बंगलादेशमा अंग्रेजीमा पढाइ हुने भएकाले त्यहाँ राम्रो भन्ने थियो । तर त्यहाँ छात्रवृत्तिको व्यवस्था थिएन ।

अर्को अलि सस्तो ठाउँ थियो रुस । घरको आर्थिक अवस्थाले धान्ने भएका कारण उनले रुसकै बाटो रोजे । त्यहाँ रुसी भाषामा पढ्नुपर्थ्यो ।

जुन उनका लागि निकै नौलो थियो । राजीवले त्यसलाई समस्याका रूपमा नभई अवसरका रूपमा लिए । जीवनकै एक दुर्लभ सौभाग्य ठाने । र, अध्ययन गर्न थाले ।

एक वर्षसम्म उनलाई भाषाको निकै समस्या भयो । केही कुरा गर्दा ईशारामै गर्नुपर्थ्यो । बजारमा सामान किन्नै गाह्रो । उनले सात वर्ष त्यहीं बिताए । एमबीबीएससम्मको अध्ययन सके ।

डा. उपेन्द्रले न्युरो सर्जनतिर मोडेको बाटो

धेरै मानिसमा एमबीबीएस पढ्दासम्म म यही बन्छु भन्ने हुँदैन । राजीवमा पनि न्युरो सर्जन बन्छु भन्ने लक्ष्य थिएन । एमबीबीएस सकेपछि विभिन्न ‘फिल्ड’मा काम गर्नुपर्छ । उनले पनि मेकिडल अधिकृत भएर वीरको आकस्मिक कक्षबाट सेवा सुरु गरे ।

वीरमा बिरामी जाँच्न सातामा दुईपटक डा. उपेन्द्र देवकोटा आउँथे । राजीव पनि उनीसँगै राउन्डमा घुम्थे । डा. देवकोटाको काम गर्ने ‘स्टाइल’ र सेवाभावले बिस्तारै राजीवलाई छुन थालिसकेको थियो । उनको मनले न्युरो सर्जनलाई मन पराउन थालिसकेको थियो ।

डा. देवकोटासँगै डा. गोपालरमण शर्मा, डा. प्रकाश विष्ट र डा. पवन सुल्तनिया हुन्थे । डा. देवकोटाले सबैको ‘ड्रेस कोड’ बनाइदिएका थिए।

मस्तिष्कका कुशल चिकित्सक

‘रातभर नाइट ड्युटी पर्दा पनि बिहान नुहाएर, दाह्री काटेर, सफा लुगा लगाएर, टाइ भिरेर राउन्डमा जानुपर्ने डा. देवकोटाको अनुशासन थियो,’ डा. राजीव सम्झिन्छन् ।

वीरमा काम गर्दागर्दै प्रशासनबाट न्युरो सर्जरी विभागमा मेडिकल अधिकृतका रूपमा सरुवापत्र आयो । त्यो सन् २००१ को कुरा थियो ।

उनको हातमा त्यो पत्र पर्दा उनलाई आकाश खसेजस्तो भयो । जमिन भासिएजस्तो भयो । बम पड्किएजस्तो भयो । किनकि, त्यो बेला डा. देवकोटाको मातहतमा रहेर काम गर्नु एकदमै गाह्रो थियो ।

‘आकस्मिक कक्षमा हुँदा मैले देख्थें । दैनिक १० भन्दा बढी अप्रेसनका केस आउँथे । वीरमा मात्रै न्युरो सर्जरी हुन्थ्यो,’ उनी भन्छन्, ‘१० वटा फुटेका टाउकाको अप्रेसन गर्नु निकै आवश्यक हुन्थ्यो । अलि ढिला भए बिरामीको ज्यानै जाने । कतिपयको त अप्रेसनको पर्खाइमै ज्यान जान्थ्यो ।’

उनी डा. गोपालरमणको काम देख्थे । २४ घण्टा अप्रेसन थिएटरमा सर्जरी भइरहेको हुन्थ्यो । एकदमै तनावपूर्ण वातावरण हुन्थ्यो । ती दृश्यले उनलाई न्युरो सर्जन बन्छु भन्ने लागेकै थिएन ।

सरुवापत्र आएपछि डा. राजीवले अस्पतालका निर्देशक दामोदर पोखरेललाई भेटेर ‘डा. देवकोटाको टिममा किन सरुवा गरेको?’ पनि भने । तर देवकोटाबाटै आफ्नो माग भएको थाहा पाएपछि उनी केही बोलेनन् ।

अहिले उनी न्युरो विभागमा जानुलाई जीवनकै ‘टर्निङ प्वाइन्ट’ ठान्छन् डा. राजीव ।

जब काममा रम्न थाले

डा. देवकोटाको टिममा रहेर काम गर्दा बिस्तारै राजीव रम्न थाले । कोमामा भएका बिरामी, टाउकोमा रगत जमेर बेहोस भएका बिरामी अप्रेसनपछि बाँचेर घर गएको देखेपछि उनमा खुसी मिल्न थाल्यो ।

आजसम्म पनि उनलाई त्यो खुसी मिलिरहेको छ । भन्छन्, ‘एकदमै तनाव लिएर काम गर्नुपर्ने फिल्ड हो । तर रिजल्ट सन्तुष्टि हेर्दा मेडिसिनको अन्य क्षेत्रमा त्यति धेरै देख्ने गरेको छैन ।’

मस्तिष्कका कुशल चिकित्सक

कोमामा गएको मानिसलाई जिउँदो बनाएर घर फर्काउँदा खुसीको सीमै नहुने उनी बताउँछन् ।

न्युरो सर्जरीमा काम गर्दागर्दै उनलाई तालिममा सहभागी गराउन थालियो । टिमले उनलाई प्रेरणा दिन थाल्यो ।

‘सर्जन बन्न पहिला मेडिकल अफिसरका रूपमा दुई वर्ष काम गर्नुपर्छ । त्यसपछि मात्रै सर्जनका लागि जाँच दिन पाइन्छ,’ डा. राजीव भन्छन्,  ‘सर्जन भएर पास भइसकेपछि फेरि दुई वर्ष काम गरेर मात्रै न्युरो सर्जरीका लागि जाँच दिनुपर्ने हुन्थ्यो ।’

न्युरो सर्जन बन्न १० वर्ष लाग्छ । विदेशमा तीन वर्षमै न्युरो सर्जन बन्न सकिन्छ । तर नेपालमा १० वर्ष कामका साथै पढाइमा खारिएर मात्रै न्युरो सर्जन बन्न पाइन्छ ।

उनलाई डा. देवकोटाले ‘राजीव जनरल सर्जरीको परीक्षा देऊ’ भने । उनी पनि परीक्षाको तयारी गर्न थाले ।  त्यसका लागि ६ महिनादेखि एक वर्षसम्म बिदामा बस्ने योजनामा थिए । अन्य चिकित्सक पनि त्यस्तै गर्थे ।

उनले मनमा लागेको प्रस्ताव डा. देवकोटालाई भने । तर डा. देवकोटाले ‘राजीव ‘नो’ घरमा बसेर पढाइ हुँदैन, काम गर्दै पढ्नुपर्छ, त्यो बढी प्रभावकारी हुन्छ,’ भनेर सम्झाए ।

उनी विचलित भएनन् । हतारिएनन् पनि । डा. देवकोटाले भने झैं गरे । र, सबै खुट्किला सफलतापूर्वक पार गर्दै गए । अहिले डा. राजीव अन्य विद्यार्थीलाई पनि डा. देवकोटाले आफूलाई दिएको सूत्र नै दिने गर्छन् ।

हरेक दिन राउन्डमा डा. देवकोटासँग छलफल हुँदाको ज्ञान पढेको भन्दा धेरै फाइदाजनक हुने उनको भनाइ छ । एक दिन बिदा नलिएर सर्जरीको परीक्षा दिएका डा. राजीव उत्तीर्ण भए ।

जनरल सर्जन हुनेबित्तिकै एकैपटक न्युरो सर्जन हुन नपाउने थियो । त्यसपछि दुई वर्ष काम गर्नुपर्ने हुन्थ्यो । उनले दुई वर्ष न्युरो सर्जिकल डिपार्टमेन्टमा जनरल सर्जन भएर काम त गरे । तर उनी भित्रभित्रै न्युरो सर्जन बनिसकेका थिए ।

त्यसपछि न्युरो सर्जनका लागि परीक्षा दिन अनुभव पुग्यो । परीक्षा दिए, नाम निस्क्यो । चार वर्ष लगाएर न्युरो सर्जन बने ।

मस्तिष्कका कुशल चिकित्सक

संसारकै ठूलो ‘स्कलरसिप अवार्ड’ पाउँदा

न्युरो सर्जरी गर्दागर्दै उनले संसारकै ठूलो ‘स्कलरसिप अवार्ड’ पाए । अमेरिकाले उनलाई ‘अमेरिकन एसोसिएसिएन अफ न्युरोलोजिकल सर्जन अवार्ड’ प्रदान गर्‍यो । जसले गर्दा उनले क्यालिफोर्निया गएर न्युरो सर्जरीको तालिम लिने अवसर पाए ।

भारतमा भर्खरै मेदान्त अस्पताल खुलेको थियो । त्यसपछि उनलाई त्यहाँबाट फोन आउन थाल्यो । राजीवलाई यहाँ पठाइदिनुपर्‍यो भनेर वीर अस्पतालमै फोन आउँथ्यो । रुस उनले पढेकै ठाउँ । त्यहाँ पनि उनको राम्रै सम्बन्ध थियो । चाहेको भए त्यहीं जागिर खान सक्थे ।

रुसमा पढ्दै गर्दा बिदामा उनी अमेरिका गइरहन्थे । त्यहाँ ‘पार्ट टाइम’ काम गर्थे । त्यहाँ पनि उनको सम्बन्ध राम्रो बनिसकेको थियो । तर उनलाई कहींको माटोले तानेन । आफ्नै देशमा सेवा गर्ने भावले सधैं प्रेरित गरिरह्यो । र, त उनी जीवनमा निकै खुसी छन् । ‘आफ्नो देशमा खुसी छु । बाहिर हुँदा खुसी भिन्नै हुन्थ्यो हो । यही माटोमा जन्मिसकेपछि यहींको सेवा गर्नु हाम्रो दायित्व हो । हाम्रो देशलाई हामीले नै बनाउने हो,’ उनी भन्छन् ।

वीरजस्ता अस्पताल नबन्दा देश बन्दैन

वीरलाई गरिब जनताको अस्पतालका रूपमा परिभाषित गरिन्छ । उनी तिनै गरिब जनताको सेवा गर्न पाउँदा सन्तुष्ट हुन्छन् । नेपालमा धेरै न्युरो सर्जन छैनन् । डा. राजीव पैसाभन्दा ठूलो आत्मसन्तुष्टि हुने बताउँछन् । बुबाले सरकारी सेवामै जीवन बिताएकाले आफ्नो पनि सरकारी सेवाप्रतिको सम्मान र लगाव रहेको उनी बताउँछन् ।

शिक्षा र स्वास्थ्य मानिसको नैसर्गिक अधिकार हो । यसमा सरकारको विशेष चासो हुनुपर्छ । लगानी हुनुपर्छ । तर नेपालमा त्यस्तो हुनसकेको छैन । जुन कुराले बेलाबेला डा. राजीवको मन पोलिरहन्छ ।

‘जबसम्म वीरजस्ता जनताका अस्पताल बन्दैनन्, तबसम्म देश बन्दैन,’ उनी भन्छन् । देशकै पुरानो अस्पताल वीरको सेवा ‘देश कहाँ उभिएको छ’ भन्ने उदाहरण भएको उनी बताउँछन् । वीर अस्पताल फोहोर हुँदा देश नै फोहोर भएको संकेत दिलाउने उनी बताउँछन् ।

१८ हजारको सर्जरी गरेर वीरमै उनको दुई दशक बितिसके । तर अपेक्षितरूपमा अस्पतालको स्तरोन्नति हुन नसकेकोमा उनी सन्तुष्ट छैनन् । जेसुकै भए पनि कर्मनिष्ठ भएर डा. राजीव आफ्नो सेवामा तल्लीन छन्, आफूलाई यो मार्ग देखाउने डा. स्वर्गीय उपेन्द्र देवकोटा झैं ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School