(नेपाली साहित्यमा कथाकारको रूपमा प्रतिष्ठित व्यक्तित्व हुन्, सनत रेग्मी। २००४ साल असोज ६ गते पश्चिम नेपालको गगनगञ्जमा जन्मिएका रेग्मीले आजीवन नेपालगञ्जलाई नै कर्मभूमि बनाए, छोटो अवधिका लागि काठमाडौंमा अस्थायी बसोबास गरे पनि। त्यो बसोबास गर्न उनलाई नेपाल प्रज्ञा प्रतिष्ठानमा दुई पल्ट प्राज्ञ परिषद्मा नियुक्तिले जरूरी बनाएको थियो। २०१७ सालमा कथा प्रकाशनबाट लेखन यात्रा थालेका उनले कथालाई नै मूल विधाका रूपमा अंगीकार गरे। रेग्मीका “मातृत्वको चीत्कार” (२०२४), “बन्द कोठाको शहर” (२०३५), “लछमनियाको गौना” (२०५१), “समय-सत्य” (२०५४), “सनत रेग्मीका प्रतिनिधि कथाहरू” (२०६०) कथा सङ्ग्रहहरू प्रकाशित छन्। उनीसँगको अन्तर्वार्ताको पुस्तक “सनत रेग्मीः सृजन सन्दर्भ” (२०६६) पनि प्रकाशित छ। रेग्मीले क्षेत्रीय तथा राष्ट्रिय स्तरका दर्जनौं पुरस्कार र सम्मान प्राप्त गरेका छन्। साथै अभिनन्दित भएका छन्। साहित्य सिर्जना र नेपाली कांग्रेस पार्टीबाट राजनीतिक कर्म दुवैमा समानान्तर सक्रिय उनी हाल नेपालगञ्ज शहरको कथा पूरा गर्ने तयारीमा छन्। यो अन्तर्वार्ता १८ चैत २०८० देखि २६ चैतसम्म सामाजिक सञ्जाल मार्फत शब्द र आवाजमा संवाद गरी तयार गरिएको हो। -अन्तर्वार्ताकार)
वि.सं. २०१७ मा प्रकाशित पहिलो कथा “समाजकी छोरी” लेखाउने कारकतत्व के थियो, त्यो समय र परिवेशलाई आज कसरी सम्झना गर्नुहुन्छ ?
मेरो टोलमा एकदिन एउटी दिदीले पोइल गएकीसँग मेरो के सम्बन्ध भनेर झगडा गरेको सुनेको थिएँ। त्यो मेरो अवचेतनमा बसेको थियो। गुरुकुलमा ‘मराल’ पत्रिकाका लागि रचना संकलन गर्ने क्रममा मेरो धेरै बालकथा परिमार्जन गरेर आफ्नो नाममा छपाउने शास्त्रीमा अध्ययन गर्ने नित्यानन्द प्रचेता त्यस पत्रिकाका सम्पादक थिए। उनले एउटा कथा लेख भनेपछि मैले हिन्दीमा कथा लेखें ‘समाज की परिधि’ शीर्षकमा। यसपटक भने उनले इमानदारीका साथ मेरो कथालाई परिमार्जित गरेर मेरै नाममा छापिदिए र मेरो कथा राम्रो पनि भयो। त्यो कथा मैले लेखेको भन्दा राम्ररी परिमार्जित गरिएको थियो। यो कथा लेख्दा मैले त्यही आफ्नो टोलका दिदी–बहिनीको झगडालाई मूल थिम बनाई सपाट रूपमा लेखेको थिएँ। त्यसलाई नेपाली रूपान्तर गर्दा जुन रूपमा आएको छ, त्यो नित्यानन्द प्रचेताको परिमार्जनले हो।
भनेपछि तपाईंका शुरुका रचनाहरू अरुकै नाममा छापिए ? त्यसमा तपाईंले विरोध गर्न सक्नुभएन ? कति उमेरको हुनुहुन्थ्यो ?
म त्यतिबेला १३ वर्षको थिएँ। हिन्दी र उर्दू स्रोतबाट आएका कालादेव, बौना और राजकुमार जस्ता कथाबाट प्रभावित भएर त्यस्तै बाल कथा लेख्थें। नित्यानन्दका रचनाहरू पटनाबाट प्रकाशित हुने आर्यावर्त र विश्वमित्रमा छापिन्थे। त्यसैले उनलाई देखाउँथें। उनले मेरा कथाहरू परिष्कृत गरेर आफ्नो नाममा छपाउँथे। म केही भन्न नसकेर चुप लाग्न विवश थिएँ।
अनि साहित्य जानेर–बुझेर कहिलेदेखि लेख्न थाल्नुभयो ?
२०१९ सालदेखि। त्यहाँ पनि सम्पादकले मेरो कथा अर्काका नाममा छपाइदिए। मेरो नामबाट त २०२३ सालमा ‘समाजकी छोरी’ नामले पहिलो कथा छापियो। अनि मात्र कथाहरू छापिन थाले।
कुन पत्रिकाको सम्पादक हुन् ? अनि कसको नाममा छापिएको हो ?
मोहनलाल श्रेष्ठको सम्पादनमा नौलो पाइलो पत्रिकामा। उनको साथी श्यामकुमार शर्माको नाममा छापिएको छ। त्यो पत्रिका नेपालगञ्जबाट निस्केको हो।
लेखनको शुरुआती चरणमा तपाईंले रुचाएर पढ्ने तपाईंका आदर्श साहित्यकारहरू को थिए ?
नेपाली साहित्य त २०२२–२३ तिरदेखि अलिअलि पढेको हो। म बाङ्गलाको शरतचन्द्र निकै पढ्थें।
नेपाली लेखक साहित्यकारका रचनाहरूलाई कहिलेदेखि को–को पढ्न थाल्नुभयो ?
पढ्न त २०१८ सालमा ‘झ्यालबाट’ नेपाली भाषामा पढेको पहिलो पुस्तक हो। त्यसपछि बीपीको ‘दोषी चस्मा’ अनि भीमनिधि तिवारीका नाटक, कथा र कविताहरू पढियो। २०२३/२४ ताका दौलतविक्रम विष्टको ‘मन्जरी’ पढेको हुँ। त्यतिबेलासम्म नेपालगञ्जमा नेपाली साहित्यका पुस्तक खासै पाइन्नथे। आफ्नै पुस्तक पसलमा आएका पुस्तकहरूबाट नेपाली साहित्य पढ्न थालेको हुँ।
त्यतिबेला तपाईंका आदर्श नेपाली साहित्यकार को थिए ?
लेखनाथ, देवकोटा, गुरुप्रसाद मैनाली, बीपी, दौलतविक्रम र रमेश विकल। तिनीहरूका रचना म पढ्न रुचाउँथें।
तिनका रचना पढ्दा त्यस्तै लेखक बन्ने सपना देख्नुहुन्थ्यो ? को जस्तो होउँ भन्ने लाग्थ्यो ?
खै कथा लेख्नमा नै रुचि भएकोले कथाकार नै बढी मन पर्थे। तर यस्तो महान् लेखक हुन सकुँला जस्तो लाग्थेन।
त्यतिबेला तपाईं सँगसँगै लेख्नेहरू को को थिए ? अनि तिनीहरू क–कसले पछिसम्म लेखे र लेखक भए ?
त्यतिबेला मभन्दा पहिलादेखि लेखिआएका इन्द्रमणि मानव, वि. विकास, मोहनलाल श्रेष्ठ, देवबहादुर श्रेष्ठ, तीर्थमान श्रेष्ठ आदि थुप्रै थिए। तर लेखक भएर मानवजी, वि.विकासजी चर्चित भए। अरू विस्तारै हराउँदै गए। सबैको विषयमा बाँकेको शताब्दी साहित्यमा वर्णन छ।
अनि वी. विकास, इन्द्रमणि मानवहरूसँग तपाईंको साहित्यिक बसउठ र साहचर्य कसरी अघि बढ्यो ?
उहाँहरू बाँचुञ्जेल। मैले मानवजीको ‘अभिशप्त जीवन’ कथा संग्रह आफ्नै पैसाले छापिदिएको थिएँ। पछि प्रेमप्रकाश मल्ल र नन्दराम लम्सालसँग पनि सँगै काम गरियो।
लेखनको शुरुवाती बेला २०२३ मै पहिलो कथा संग्रह ‘मातृत्वको चीत्कार‘ कसरी प्रकाशित भयो ?
२०२२ देखि लेख्न थालेको। २०२३ को फागुनसम्म ६ ओटा कथा लेखिसकेको थिएँ। छपाउने रहर लागेर छपाएँ। २०२५ मा १० कथा पुर्याएर बनारसबाट नेपाल पाकेट बुक्सको प्रकाशनमा मेरो र मानवजीको कथा संग्रह पनि छपाएँ।
पहिलो कथासङ्ग्रह त रणेन्द्र हमालले प्रकाशित गरिदिएका हैनन् ? कसरी त्यो चाँजोपाँजो मिल्यो ?
रणेन्द्र हमाल मेरो मित्र र राजनीतिक सहकर्मी अगुवा पनि हुनुहन्थ्यो। उहाँले मेरो कथाहरू पढेर त्यसलाई छपाउने मेरो रहरलाई सघाउने विचारले रू.२५० लगानी गर्न तयार हुनुभो। अनि मैले आफ्नो ६ वटा कथा पनि प्रिन्टिङ प्रेसमा दिएँ। अनि २०२४ साल वैशाखमा पुस्तक छापिएर बाहिर आयो
अनि नेपालगञ्जको साहित्यिक माहोलमा तपाईंको प्रवेश कसरी भयो ?
२०२२ सालमा नेपालगञ्जमा भीमनिधि तिवारी आफ्नो पहिलो पश्चिमाञ्चलको भ्रमणमा आउनुभएको थियो। हाम्रो पसलमा बुवाले उहाँको किताबहरू बेच्न ल्याउनुभएको रहेछ। उहाँ त्यो हिसाबकिताब गर्न आउनुभएको थियो पसलमा। अनि त्यो बेलामा ‘समाजकी छोरी’ जुन गुरुकुलमा छापिएको थियो नि, त्यसैलाई फेरि चैं साफी गरेर पठाउन खोजिरहेको थिएँ ‘निहारिका’ भन्ने आग्राबाट निस्कने पत्रिकामा। भीमनिधि तिवारीले त्यो हेर्नुभयो, के हो बाबु यो हिन्दीमा लेखेको। मैले भनें, यो कथा हो, पत्रिकामा छाप्न पठाउन लागेको। उहाँले भन्नुभयो, नेपालीमा लेख्नुपर्छ नि भनेर भन्नुभयो। मलाई नेपाली लेख्न आउँदैन भनेर मैले भनेपछि उहाँले भन्नुभयो, नेपालीमा बोल्न त आउँछ नि! नेपाली जसरी बोल्ने हो त्यसरी लेख्ने हो। किन आउँदैन लेख्न। नेपालीमा लेख। नेपाली भएर नेपालीमा लेख्नुपर्छ।
उहाँको नेपालगञ्जमा साहित्यिक कार्यक्रम थियो। त्यो दिन त बुवासित भेट भएन, मसित मात्रै भयो। उनले त्यो कथा नेपालीमा बनाएर ल्याउनु म शुद्ध बनाइदिउँला भने। अनि मैले कनीकुथी गरेर नेपालीमा लेखें। अनुवाद गरें भनौं। अनि भोलिपल्ट दिएँ। उहाँले रातो मसी भएको पेनले त्यसको सबै भाषा शुद्ध गरिदिनुभयो। अनि बुवा आएपछि बुवासँग हिसाबकिताबको कुरा भयो। उहाँले बुबालाई भन्नुभयो, तपाईंको छोरो पनि साहित्यिक मान्छे रहेछ। म साहित्य गोष्ठीमा हिंड्छु। नेपालगञ्जमा कहीं चिनेको छैन, म तपाईंको छोरालाई लिएर जान्छु है गोपालजी !
उहाँले बुबालाई त्यसो भनेपछि मैले पनि हुन्छ भनें। अनि उहाँले ल बाबु जाउँ भन्नुभो। म उहाँलाई लिएर हिंडें। त्यतिबेला जिल्ला पञ्चायतमा उहाँको सम्मानमा एउटा कार्यक्रम रहेछ। त्यो कार्यक्रममा नेपालगञ्जका पुराना साहित्यकारहरू सबैलाई बोलाइएको थियो। उर्दूका, अवधीका, नेपालीका, सबैको जमघट थियो। त्यहीं उहाँले परिचय गराउनुभो, नेपालगञ्जका एकदम नवोदित साहित्यकारलाई ल्याएको छु तपाईंहरूको अगाडि, ल हेर्नुहोस्, उहाँ राम्रो कथा लेख्नुहुँदोरहेछ। कविता पनि अलिअलि लेख्नुहुन्छ। भनेर परिचय गराउँदा त्यहाँ सबै जिल्ल परे। म साहित्य लेख्छु भनेर एउटै टोलमा बस्ने न इन्द्रमणि मानवलाई थाहा थियो, न वि. विकासलाई थाहा थियो। उहाँको साथमा दुई दिन उहाँको नेपालगञ्ज बसाइको समयभरि घुमें। यौटा सानो कविता पनि कनीकुथी लेखेको थिएँ। त्यो कविता पनि सुनाएँ। भीमनिधिजीले आफ्नो कविता सुनाउनुभो। त्यसपछि नेपालगञ्जका मान्छेहरूले साहित्यिक कार्यक्रम भो भने, साहित्यिक पत्रपत्रिका निस्कन थाल्यो भने, ए तिमी पनि त लेख्छौ, देउ न तिम्रो पनि रचना भनेर माग्न थाले। त्यसैको कारण अलिअलि लेख्थें।
पछि २०२४ सालमा केदारमान व्यथित नेपालगञ्जमा आउनुभएको थियो। उहाँको साहित्य संस्थान भन्ने साहित्यिक संस्था रहेछ। त्यो साहित्य संस्थानको नेपालगञ्ज शाखा गठन गर्नुभयो। त्यो शाखा गठन गर्दाखेरि एउटा सदस्यको रूपमा मलाई पनि राख्नुभयो। यसरी म चाहिं नेपालगञ्जको साहित्यिक वातावरणमा घुलमिल भएँ। नाम चलेका दुईजना राम्रो लेख्ने साहित्यकारहरू इन्द्रमणि मानव र बी. विकास मेरै टोलमा थिए। उहाँहरूसँग पनि मेरो बसउठ हुन थाल्यो। पछि वातावरण त्यस्तै बन्दै गयो। ‘पञ्चामृत’ भन्ने पत्रिका निस्कियो। भीमनिधि तिवारीज्यूले सच्याइदिएको त्यो ‘समाजकी छोरी’ २०२३ सालमा पञ्चामृतमा छापियो। त्यसपछि लोकल पत्रपत्रिकाहरूमा रचना माग्थे र म नेपालगञ्जको साहित्यिक वातावरणमा घुलमिल भएँ।
साहित्य संस्थान नेपालगञ्ज शाखाले के कति साहित्यिक गतिविधि गर्यो र त्यसमा तपाईंको साहित्यिक सक्रियता कत्तिको रह्यो ?
नेपाली साहित्य संस्थान नेपालगञ्ज शाखाको लागि केन्द्रले रु.२०० प्रति महीना पठाउँथ्यो। त्यसबाट एक वर्ष जति रु.५० का दरले कोठा भाडामा लिएर कार्यालय खोलिएको थियो। साँझको समय भेटघाट र सामान्य साहित्य चर्चा हुन्थ्यो। त्यसका अध्यक्ष इन्द्रमणि मानवजीको साहित्यिक उदासीनताले एक दुई बैठकपछि अरू केही गतिविधि भएन र त्यो संस्था बन्द भयो।
महेन्द्र पुस्तकालयसँग तपाईंको आबद्धता कसरी भयो ?
गुरुप्रसाद मैनाली व्यक्ति र कृति पुस्तक तयार गराएर छपाएँ। मैनाली शतवार्षिकीको उपलक्ष्यमा कथा प्रतियोगिता गराएँ। नेपाली कथाको समग्र अध्ययन हुने गरी कथा विमर्श पुस्तक प्रकाशित गरेर छपाएँ। रमेश विकलले आफ्नो पालामा थाल्नुभएको प्रज्ञा समकालीन कथा १,२ र स्टोरिज फ्रम नेपाल तयार गराएर प्रकाशित गराएँ
नेपालगञ्जमा यौटा पुस्तकालय थियो, प्रेम पुस्तकालय भन्ने। म केटाकेटी अवस्थामा मेरो पसल विद्या कुटिर, त्यसको अगाडि पुस्तकालय थियो। म आउने–जाने गर्थें। पछि त्यो प्रेम पुस्तकालय २०२१ सालमा महेन्द्र पुस्तकालयको नाममा परिवर्तित भएर त्रिभुवनचोक पूर्व लाइनमा चाहिं नयाँ भवन बनाएर त्यता सर्यो। त्यो पुस्तकालयमा पनि म जान्थें तर त्यो पुस्तकालयमा जाँदाखेरि धेरैजसो सामान्य इण्डियन पाकेट बुक्सका पुस्तकहरू र जासुसी उपन्यासहरू बाहेक राम्रा पुस्तकहरू देखिन्नथ्यो। त्यसको विषयमा पुस्तकालयका सचिव महावीरप्रसाद गुप्ताजीसित जहिले पनि गुनासो गरिराख्थें। झगडा गरिराख्थें। राम्रा राम्रा साहित्यिक पुस्तकहरू मगाइदिनु पर्यो हामीलाई पढ्न भनेर भन्थ्यौं। महावीर चाहिं देखो भाई पैसावैसा नहीं है ! पैसा नभएपछि के गर्ने ? त्यसैले त हो चलाउने भनेर भन्नुहुन्थ्यो।
२०३२–३३ सालमा जस्तो लाग्छ, महावीरप्रसाद गुप्ता नगरपालिकाको मेयर हुनुभयो। उहाँ मेयर भएपछि यो पुस्तकालयको सचिव बस्न मिलेन कि के हो, एकदिन मलाई बोलाएर भन्नुभयो, “सनतजी ! तपाईं सार्वजनिक पुस्तकालयको यस्तो चिन्ता गर्नुहुन्थ्यो, राम्रो किताब आएन, के आएन, तपाईं नै त्यसको जिम्मेवारी लिएर गर्नुस् न! यल्लाई अगाडि बढाउनुस् भनेर उहाँले आफ्नो मेयरको अधिकार प्रयोग गरेर नेपालगञ्जमा महेन्द्र पुस्तकालयको निष्क्रिय जस्तै कार्यसमितिलाई भङ्ग गरेर केदारनाथ टण्डनको अध्यक्षतामा नयाँ कमिटी बनाउनुभयो। त्यो नयाँ कमिटीमा मलाई सचिवको जिम्मेवारीमा राखियो। त्यो पुस्तकालयमा २०३२–३३ सालदेखि लिएर २०५२ सालसम्म सचिव भएर महेन्द्र पुस्तकालय सञ्चालन गरें। मेरो सञ्चालनमा सबै भाषाका साहित्यिक, ऐतिहासिक, वेदपुराणदेखि लिएर आधुनिक चिन्तन, समाजशास्त्र राजनीति शास्त्र आदिका पुस्तकहरूको सङ्ग्रह भयो। पुस्तकालयले नेपालगञ्जमा २०४० सालमा एउटा बृहत् साहित्यिक भेला पनि गरेको थियो। यसरी महेन्द्र पुस्तकालयसित आबद्धता मेरो रह्यो। मैले महेन्द्र पुस्तकालयको लागि आफ्नो अभिरुचि अनुसार धेरै समय दिएँ, धेरै काम गरें। मलाई त्यही आधारमा महेन्द्र पुस्तकालयमा मनोनित सदस्यको रूपमा मनोनित गरिएको छ र अहिले पनि पुस्तकालयको लागि काम गरिरहेकै छु।
तपाईं महेन्द्र पुस्तकालयमा त्यसरी आबद्ध हुनुहँदा कोको स्वनामधन्य लेखक, साहित्यकार पुस्तकालयमा आउनुभएको सम्झनुहुन्छ ?
ध्रुवचन्द्र गौतम, परशु प्रधान, शैलेन्द्र साकार, जगदीश घिमिरे थुप्रै थुप्रै हुनुहुन्छ। नेपालगञ्ज आएका जो पनि साहित्यकारहरू पुस्तकालयमा आउँथे, हामीले स्वागत गर्ने प्रचलन चलाएका थियौं। दुई तीनवटा साहित्यिक कार्यक्रमहरू महेन्द्र पुस्तकालयले गर्यो। २०४० सालमा बृहत् साहित्य संगोष्ठी महेन्द्र पुस्तकालयले गरेको थियो। देशभरिका थुप्रै साहित्यकार आउनुभएको थियो। एउटा दुइटाको नाम लिएर साध्य पनि छैन।
अनि यसरी साहित्यिक संसारमा आउनुभएको तपाईं राजनीतिमा चाहिं कसरी लाग्नुभयो ?
२०२४ साल मेरो जीवनको टर्निङ प्वाइन्ट मान्दा हुन्छ, यही समय हो जुन समयमा म साहित्यमा र राजनीतिमा बराबर रूपमा सक्रिय भएँ। अब राजनीतिमा चाहिं कसरी आएँ भन्दा, म विद्यार्थी कालमा हुँदा गृह सहायक मन्त्री नेपालगञ्ज आएका थिए। भर्खरै त्यस बेलामा गोली चलेको थियो किसानहरूमाथि तौलिहवामा। त्यही विषयलाई लिएर तपाईंहरूले गरीब किसानमाथि बचतको नाउँमा यसरी गोली चलाउन उपयुक्त हुन्छ भन्ने विद्यार्थीहरूले प्रश्न उठाए। त्यसको जवाफमा उनले बडो रुखो ढङ्गले चाहिने जवाफ दिए र पन्छिएर भाग्न खोजेपछि त्यसको विरोधको अचानक वातावरण बन्यो। हामीहरू सबै स्कूलबाट निस्केर बजारमा चाहिं एजिटेसन गर्न थाल्यौं, व्यवस्थाको विरोधमा नाराबाजी गर्न थाल्यौं। अरु स्कूलहरू पनि बन्द गर्यौं। त्यसपछि हामीहरूमाथि वारेण्ट जारी भयो। हामीहरू भूमिगत भएर लुक्दै थियौं। फेरि केही पञ्चायतपक्षका साथीहरूले हामीलाई एक ठाउँमा बसेको लुकेको देखेर सम्झाई–बुझाई गरेर तिमीहरूको वारेण्ट हामी क्यान्सिल गराइदिन्छौं भने। आन्दोलन बन्द गराउ, यसो गर, उसो गर भने। हामीहरू केटाकेटी थियौं। राजनीतिबाट सचेत पनि थिएनौं। अनि हुन्छ भनेर हामीलाई अञ्चलाधीश कार्यालय लिएर गए। अञ्चलाधीशसँग वार्तालाप भएपछि हामीले विद्यालयहरू सुचारु गर्ने बचन दिएपछि उनले हाम्रो वारेण्ट हटाए। वारेण्ट खारेज भयो। हामी पठनपाठन गर्न थाल्यौं। अनि विस्तारै त्यसबेलाको पञ्चायत प्रशासनले विद्यार्थीहरूलाई कब्जा गर्नुपर्छ भनेर हो कि किन हो हामीलाई समय समयमा बोलाएर पिकनिक जान, नाटक इत्यादि गर्नलाई पैसा दिने पनि गर्न थाल्यो। त्यही क्रममा हामीले एउटा नाटक पनि गर्यौं। गुरुप्रसाद मैनालीको ‘शहीद’ भन्ने नाटक हामीले गर्यौं। त्यसमा मैले देवताबाबुको अभिनय पनि गरेको थिएँ। हाम्रो त्यस्तो गतिविधिबाट प्रभावित भएर तत्कालीन नेपाली कांग्रेससँग सम्बन्धित युवाहरूले हामीसित सम्पर्क गरे। प्रजातान्त्रिक आन्दोलनमा लाग्नुपर्छ भनेर उनीहरूले सम्झाए र विस्तारै म राजनीतिमा संलग्न हुनपुगें। अब त्यही क्रममा कहिले जेल गइयो, छुटियो। बीपीसित भेटियो। बीपीको आन्दोलनमा लागियो। यसरी राजनीतिमा सक्रियता बढ्दै गएको हो।
पहिलोपल्ट जेल कहिले जानुभयो र त्यसको अनुभव कस्तो रह्यो ?
नेपाली कांग्रेसको तर्फबाट व्यवस्था विरोधी पम्प्लेट छरेको अभियोगमा हामीलाई सुरक्षा कानुन अन्तर्गत २०२४ साल जेठ २९ गते जेल पठाइयो। हामीलाई महिला जेलमा राखियो। दुई महिला तल्लो तलामा थिए। हामी पाँच जना विद्यार्थी र दुई जना पहिलेदेखिकै राजबन्दी र दुई जना कर्मचारी भ्रष्टाचारको आरोपमा थुनुवा कैदी थिए। पहिलो जेलयात्रा धेरै लामो भएन। हामी जेलमै हुँदा पनि पम्प्लेटिङ बन्द नभएपछि अञ्चलाधीशलाई लागेछ त्यसमा हामी दोषी छैनौं। अनि उनले एक महिनापछि हामीलाई रिहा गरे। जेलमा त्यति दुःख भएन। हामीमाझ त्यस्तो कुनै समस्या पनि भएन। घरबाट साहित्यिक पुस्तक मगाउँथें। पढ्दथें। सारिका, ज्ञानोदय, निहारिका, धर्मयुग, साप्ताहिक हिन्दुस्तान आदि मगायो पढ्यो गरियो। पढ्न मन नलागे चेस खेलेर बिताइयो एक महिना।
पछि कतिपल्ट जेल जानुभयो ? अन्तिमपल्ट त सत्याग्रहको बेला हो कि, त्यो म किन सम्झन्छु भने त्यतिवेला हामीले काठमाडौंमा शुरु गरेको एक सहयोगी उपन्यास लेख्ने तपाईंको पालो आएर तपाईंको हातमा पाण्डुलिपि पुगेपछि तपाईं जेल पर्नु भएर त्यसको लेखन लामै समय रोकिएको थियो!
१०/१२ पटक गइयो होला। कम्तीमा ७ दिन र बढीमा एक डेड वर्ष गरी जम्मा ५ वर्षको जेल जीवनको अनुभव गरियो।
अनि जेलमा रहँदा साहित्य लेखन पनि गर्नुभयो ? सम्झनलायक कुनै रचना छन् जेलमा लेखिएका?
जेलमा रहँदा केही कथा लेखियो। प्रकाशन गर्न चाहिं ढिलो भयो। ‘बन्द कोठाको शहर’ र ‘पुत्रेष्टि’ जेलमा लेखेको थिएँ।
तपाईंको मास्टरपिस कथा ‘लछमनियाको गौना‘ लेखनको पृष्ठभूमि बताउनोस् न !
मेरो टोलकी एउटी बहिनीको बिहे मेरो क्लासको साथीसँग भएको थियो। दुवै जवान भइसकेका थिए तर के कारणले हो उनीहरूको गौना भइरहेको थिएन। एक दिन ती बहिनीले मलाई भनिन् मेरो बाबुले मेरो गौना गर्न मानेको छैन। तिमी आफ्नो साथीलाई भनिदेउ गौना न सौना उ मलाइ भगाएर लिएर जाओस्। उनको यौन तीव्रताले मलाई छोयो। अनि यही विषयमा कथा बुनेर ग्रामीण परिवेशमा कथा लेखेको हुँ।
यो कथालाई तपाईंको मास्टरपिस कथा मानिन्छ, ईश्वर बरालले यो कथा पढेपछि तपाईंलाई चिट्ठी लेख्नुभएको थियो होइन?
कथा त मेरो अरु पनि यत्तिकै राम्रा छन् तर ईश्वर बरालले राम्रो भनेर भनेपछि मेरो अरु कथा पढ्दै नपढी मलाई ‘लछमनियाको गौना’को लेखक बनाइदिए र ब्रान्डेड बनाइदिए।
लछमनियाको गौनाको त चलचित्र पनि बन्यो नि ! तपाईंको कथामा कत्तिको न्याय भएको छ?
अवधी भाषामा बनेको त्यो सर्टमूभी पुरस्कृत त भयो तर मेरो कथाको परिवेश नै बिग्रियो। मैले चाहेजस्तो बन्न सकेन।
साहित्य लेखनमा समर्पण र देनले तपाईंलाई एकेडेमीसम्म पुर्यायो, पदमा रहँदा केके गरें भन्ने सम्झिनुहुन्छ आज ?
जन्मेको भोलिपल्ट देखि नै हामी मृत्यु पथमा लम्किरहेका हुन्छौं। त्यसैले जीवनलाई हाँसीखुशी बाँच्नुपर्छ
जुन काम पहिले भएको थिएन त्यो काम गर्नतिर ध्यान दिएँ। गुरुप्रसाद मैनालीको विषयमा कुनै राम्रो पुस्तक थिएन। गुरुप्रसाद मैनाली व्यक्ति र कृति पुस्तक तयार गराएर छपाएँ। मैनाली शतवार्षिकीको उपलक्ष्यमा कथा प्रतियोगिता गराएँ। नेपाली कथाको समग्र अध्ययन हुने गरी कथा विमर्श पुस्तक प्रकाशित गरेर छपाएँ। रमेश विकलले आफ्नो पालामा थाल्नुभएको प्रज्ञा समकालीन कथा १,२ र स्टोरिज फ्रम नेपाल तयार गराएर प्रकाशित गराएँ। समकालीन साहित्यलाई नयाँ कलेवरमा केही स्तम्भहरू थपेर लोकप्रिय गराएँ। समकालीन साहित्यको कथा समालोचना, प्रजातन्त्र अङ्क र प्राज्ञ अङ्क जस्तो महत्वपूर्ण अङ्कहरू प्रकाशित गराएँ।
मेरो कार्यकालभन्दा पहिलासम्म साहित्यकार बीपी कोइरालालाई प्रज्ञाको प्रकाशनमा कुनै स्थान दिइएको थिएन। मैले बीपीको उपन्यासमा द्वन्द्व विधान माथि शोध ग्रन्थ तयार गराई प्रकाशित गराएँ। मेरो संयोजकत्वमा नेपाली उपन्यास शतवार्षिकी समिति गठन भई देशभर उपन्यास शतवार्षिकी समारोह गोष्ठी सम्पन्न गरियो। लघुकथा माथि कुनै सैद्धान्तिक पुस्तक थिएन। मैले नेपाली लघुकथा प्रक्रिया र पाठ पुस्तक तयार गराएँ। जो पछि साझा प्रकाशनबाट छापियो। मैले दाङमा हास्यव्यङ्ग्य गोष्ठी, चितवनमा संस्मरण गोष्ठी, विराटनगर र नेपालगञ्जमा कथा गोष्ठीहरू गराएँ। वीरगञ्जमा उपन्यास गोष्ठी गराएँ। मेरो प्रयत्नले भएको महत्वपूर्ण काम भनेको आख्यान शतवार्षिकीको वर्षमा वरिष्ठ आख्यानकार गोविन्द गोठालेलाई पृथ्वी पज्ञा पुरस्कार दिलाउनु हो। यसमा मैले निकै सङ्घर्ष गर्नु परेको थियो। यी सबै काम मेरो पहिलो कार्यकालमा भएका हुन्। साथै मेरो सम्पादनमा नेपाली आख्यान शतवार्षिकी स्मारिका पनि प्रकाशित छ।
दोस्रो कार्यकालमा त सदस्यसचिव हुनुभयो! त्यस कार्यकालको उपलब्धि र गर्न चाहेर गर्न नसकिएका कामहरू के–के थिए ?
सदस्यसचिवलाई प्राज्ञिक काम गर्न नदिएर प्रशासनिक काम मात्र गर्ने अधिकार थियो। तर पनि प्राज्ञहरूको सहयोग, कुलपति र उपकुलपतिको विश्वास र समर्थन लिन सकेकोले केही काम गर्न–गराउन सकें। अवधी व्याकरण, मैथिली र भोजपुरीको त्रैभाषिक कोश र पहिलो कार्यकालमा तयार गराएका गद्य विभागका पुस्तकहरू परिमार्जन सहित प्रकाशित गरियो। मेरो तीव्र इच्छा थियो नेपाली विश्वकोश र अवधी त्रैभाषिक कोश तयार गराउने, त्यसमा म सफल हुन सकिनँ।
प्रज्ञा प्रतिष्ठानमा रहँदा केही तीता–मीठा घटना त पक्कै भए होलान्, भन्न मिल्छ ?
कुलपति सारै सोझो। उपकुलपति भने अत्यन्त चलाख। म बीचमा दुई दाँतको बीच जिब्रो झैं थिएँ। सारै बचेर काम गर्नुपर्ने। उनीहरू बुझेर बुझपचाएर नियम मिचेर केही काम गर्न दबाब दिन्थे। मैले त्यस कुरामा सहयोग नगरेकोमा उनीहरू रिसाउँथे। त्यसैले कहिलेकाहीं काममा बाधा पुग्थ्यो। तर केही दिनपछि सबै मिल्थ्यो। कर्मचारीका विषयमा तीनै जनाको मतैक्य भए पनि खै सचिवले के गरेका हुन् भनेर मेरो टाउकोमा घान हाल्थे। मलाई टेन्सन हुन्थ्यो। जे भए पनि मैले नियमभित्र रहेर काम गरें। उहाँहरूको दबाब मानिनँ। यसको बदला उनीहरूले अर्को कार्यकालमा मैले पाउने आजीवन सदस्यता मलाई दिएनन्।
तपाईं एकेडेमीमा जान साहित्यिक हिसाबले योग्य हुँदाहुँदै पनि दुई–दुई पटक त्यो पद पाउन राजनैतिक कारण हो भन्नेहरूलाई के भन्नुहुन्छ?
मेरो संलग्नता त एकेडेमीसँग २०३४ सालदेखिको हो नि! म व्यवस्था विरोधी बी.पी.को अनुयायी हुँदाहुँदै मलाई एकेडेमीले २०३४ सालको बृहत् साहित्य भेलामा बोलाएकै हो। २०३९ सालमा एकेडेमीको रजत जयन्तीमा पनि म एकेडेमीको पाहुना भएकै हो। २०४४ सालको बाल साहित्य कार्यशालामा म आमन्त्रित भएको हो। त्यतिबेला म प्रतिबन्धित नेपाली कांग्रेसको जिल्ला पदाधिकारी थिएँ। राजनीतिक कारणले भए त मलाई त्यतिबेला पनि बोलाउँथेनन्। तर मेरो साहित्यिक जीवनलाई महत्व दिइएको थियो। प्राज्ञ परिषद्मा मेरो चयन हुँदा पनि म राजनीतिमै थिएँ। मेरो साहित्यिक योग्यता न भए त मनोनयन हुने थिइनँ होला। सदस्यसचिव हुँदा चाहिं म कसरी भएँ मलाई नै थाहा छैन।
सामान्यत: कथाकारहरू उपन्यास विधामा आकर्षित हुन्छन्। तपाईंले उपन्यास लेख्न किन चाहना राख्नुभएन?
खै उपन्यास लेख्न समय र धैर्य चाहिन्छ। सामाजिक र राजनीतिक व्यस्तताले पनि होला उपन्यास लेखनतिर रुचि नभएको। एकताका वि. विकास र म भएर नेपालगञ्जको सामाजिक, राजनैतिक, सांस्कृतिक फलकमा उपन्यास लेख्नलाई नेपालगञ्जका वयोवृद्धहरूसँग त्यस बखतको नेपालगञ्जबारे अन्तर्वार्ता पनि लिएका थियौं। वि. विकासको असामयिक निधनपछि त्यो योजना त्यसै हरायो। त्यही सामग्री यता केही पुस्तक अध्ययन गरेर नेपालगञ्ज इतिवृत्त पुस्तक तयार गर्दैछु।
अहिले ७७ वर्षको उमेरमा पनि लेखनमा सक्रिय हुनुहुन्छ। नेपालगञ्जको इतिहास लेखिरहनुभएको छ। यो लेखन उर्जाको स्रोत के हो ?
मनमस्तिष्क सक्रिय छ तर शरीरले आवश्यक उर्जा दिन आनाकानी गर्न थालेको छ। तैपनि मनमस्तिष्कले लेख्न बाध्य तुल्याउँछ। सकी नसकी पनि लेखपढ गर्दैछु।
तपाईंको मनमा आफ्नो जीवनकालमा लेख्न मन भएको कुनै ड्रिम पुस्तक वा विषय छ ?
आत्मसंस्मरणको पुस्तक लेख्ने इच्छा छ, हेरूँ कति सफल हुन्छु। कतै समयले साथ पो छोडछ कि ?
तपाईंको पछिल्लो कथा कुन हो, कहिले लेख्नुभयो र कहाँ प्रकाशित भयो ?
मेरो पछिल्लो कथा गत वर्ष लेखेको अजिजा चच्ची हो। मधुपर्कमा छापिएको छ
अन्त्यमा भन्नुहोस्, मृत्युबारे तपाईंको धारणा के छ ?
यो जीवनको अन्तिम सत्य हो। जन्मेको भोलिपल्ट देखि नै हामी मृत्यु पथमा लम्किरहेका हुन्छौं। त्यसैले जीवनलाई हाँसीखुशी बाँच्नुपर्छ।