मर्यादाहीन माननीय

मर्यादाहीन माननीय


३० मंसिर, काठमाडौं । विशिष्ट पदाधिकारीलाई प्रयोग हुने सम्मानजनक सम्बोधन हो-माननीय । माननीयको सम्मान पाउने व्यक्तिसँग समाजले उच्च नैतित्र चरित्रको अपेक्षा गर्दछ । तर, कतिपय माननीय नागरिकका अपेक्षाविपरीत प्रस्तुत भइरहेका भेटिन्छन् । यीमध्ये एक हुन्, पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य मोहन बस्नेत ।

बस्नेत गत मंसिर २२ गते माननीय शब्दकै मर्दन हुने गरी प्रस्तुत भए । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिनिधिसभाकै अर्का सदस्य माधव सापकोटा र बागमती प्रदेश सभा सदस्य सदस्य सरल सहयात्रीको नामै लिएर अपशब्दहरू प्रयोग गरे ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अन्तर्गत जननिर्वाचित सांसद हुन् बस्नेत । तर, उनले सिन्धुपाल्चोकमा विधिको शासनलाई खुल्ला चुनौती दिनेगरी अभिव्यक्ति दिए । ‘केन्द्रमा जसको सरकार होस्, सिन्धुपाल्चोकमा मोहन बस्नेतको सरकार चल्छ,’ उनले भने ।

विपक्षी दल र तिनका नेताहरूलाई मात्र होइन, जनतालाई नै आफ्नो विकल्प नखोज्न पनि चेतावनी दिए । ‘म पञ्चायतदेखि सबैसँग लडेर आएको मान्छे हुँ, म विकास रोजगारी दिने मान्छे हुँ’ बस्नेतले भने, ‘आइन्दा कांग्रेससँग विकास चाहिए माग, बच्चाले खान पाएनन् भने माग, म दिन्छु ।’

नेपालले अवलम्बन गरेको शासन व्यवस्थामा पाँच/पाँच वर्षमा निर्वाचन हुन्छ र जनप्रतिनिधि चुनिन्छन् । जनताले आवधिक चुनावमार्फत जनप्रतिनिधि बदल्न वा दोहोर्‍याउन सक्छन् ।

‘चुरिफुरि गरेर रुख ढाल्ने काम भयो भने सुबोध सापकोटा (माधव), अग्नि सापकोटा लगायत लिखुरेहरूलाई गर्धनमुनि रुखमाथि पारिदिन्छु’ बस्नेतको धम्की छ, ‘करङ चिलाएकाले, डँडाल्नु सक्सक्याएकाले यस्तो काम (अवरोध) गर्छन् ।’

प्रतिनधिसभा सदस्य माधव सापकोटाले चुनाव जितेको क्षेत्र हो सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका । त्यही क्षेत्रमा गएर बस्नेतले भने, ‘सुबोध (माधव) ले यहाँबाट जितेको छ, यो बाटो पिच गराइदे भन्नु, नत्र के छ आम्दानीको स्रोत ? ठूला कुरा गर्ने ? तीन बिसौलीका (अपशब्द) उफ्रिँदा उफ्रिँदा यी २५ इन्चका तिघ्रा के गरेर बस्छन् ? गफ दिने ?’

पार्टीलाई छैन चिन्ता

प्रतिनिधिसभा सदस्य बस्नेतका अपशब्दप्रति कांग्रेस नेताहरू जानकार छन् । तर, सार्वजनिक रूपमा व्यक्त बस्नेतका अभिव्यक्तिप्रति पार्टीका सबै संरचना मौन देखिन्छन् ।

बस्नेतको अपशब्द र धम्की सामाजिक सञ्जालमा हेरेका नेपाली कांग्रेस प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले कुनै ‘एक्सन’ लिने सुरसार देखाएका छैनन् ।

‘मैले पनि त्यो (बस्नेतको सार्वजनिक अभिव्यक्ति) हेरें । तर, कसैले हाम्रो दलमा उजुरी हाल्यो भने मात्रै हामी त्यो विषयमा छलफल गर्छौं’ घिमिरे भन्छन्, ‘लिखित उजुरी नपरीकन कारबाहीको प्रक्रिया अगाडि बढाउने गरेका छैनौं ।’

‘एउटा सांसदको चरित्र निर्माण गर्ने दायित्व सम्बन्धित दलको पनि हो । यसरी हेर्दा सार्वजनिक भएको तथ्यका आधारमा दलले चासो देखाउनु पर्दैन’ भन्ने प्रश्नमा उनी पन्छिए ।

प्रमुख सचेतक घिमिरेको जवाफ छ, ‘आफैँ जानकारी लिएर कारबाही प्रक्रिया अगाडि बढाउने अभ्यास अहिलेसम्म छैन । लिखित रूपमा अहिलेसम्म केही आएको छैन ।’

कांग्रेस संसदीय दलमा उजुरी दिने तयारीमा माओवादी सांसद माधव सापकोटा पनि छैनन् । ‘त्यो सम्बन्धित दलको कुरा हो, आफ्नो सांसदको अभिव्यक्तिउपर के गर्छ, उसैले जान्ने कुरा हो । म उसको दलमा उजुरी लिएर जाने कुरा छैन’ सापकोटाले भने ।

पार्टीका नेता/कार्यकर्ताको व्यवहार नियाल्न भनेर कांग्रेसभित्र अरु धेरै संरचना छन् । जस्तो कि पार्टी उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान र नेता आनन्दप्रसाद ढुंगाना नेतृत्वको अनुशासन आयोग ।

पार्टीका यी संरचना पनि बस्नेतको अभिव्यक्ति बारे मौन छ ।

पार्टीका कुनै पनि नेताको विषयमा केन्द्रीय कार्यालयले सिधै जानकारी लिएर आवश्यक कदम चाल्न सक्छ । केन्द्रीय कार्यालयमा कसैले उजुरी दिएर छानबिन र सचेत गराउन पनि सक्छ । तर, प्रतिनिधिसभा सदस्य बस्नेतको हकमा केन्द्रीय कार्यालयका एक अधिकारीले पनि औपचारिक रूपमा जानकार नरहेको जवाफ दिए ।

उच्च आचरणयुक्त पद भनेर सम्बोधन गर्न माननीय भनिएको हो । माननीयको व्यवहारले समाजलाई मार्गनिर्देश गर्ने विश्वास गरिन्छ,तर कतिपयको व्यवहारले माननीय पदकै मानमर्दन गरिरहेको छ- सोमबहादुर थापा, पूर्वसचिव

सांसदको चरित्र के ?

राजनीतिक दलले आफ्नो दलका सांसदहरूको अभिव्यक्ति र चरित्रप्रति मौन रहँदा लोकतन्त्र खतरामा पर्न सक्ने चिन्ता जानकारहरूको छ ।

राजनीतिक दलले सांसदको चरित्र निर्माणमा लगानी नगर्दा पनि समस्या भएको बताउँछन् पूर्वसचिव सोमबहादुर थापा ।

‘सांसदहरूको चरित्र निर्माण गर्ने कुरामा राजनीतिक दलको ठूलो भूमिका र जिम्मेवारी हुन्छ’ उनी भन्छन्, ‘पार्टीले पनि आचारसंहिता बनाएर लागु गर्नुपर्छ र आचारसंहिता उल्लंघन गर्ने सांसदहरूलाई दण्डित गर्न सक्नुपर्छ ।’

दलहरूले आचारसंहिता बनाउन र लागु गर्न तत्परता नदेखाउँदा समस्या भएको उनलाई लाग्छ । ‘संसदमा कसरी प्रस्तुत हुने, सार्वजनिक मञ्चमा कसरी बोल्ने, अन्य दलसँग कसरी समन्वय गर्ने भनेर दलहरूले सिकाउनुपर्छ’ उनले भने, ‘नसिकाउँदा के हुन्छ भन्ने संसदभित्रै र बाहिर पनि देखिराखिएकै छ ।’

राजनीतिक दलले आफ्ना सांसदलाई अनुशासनमा बाँध्न नसक्दा जसले जे बोले पनि हुन्छ भन्ने भएको र यसअनुसारको व्यवहार सांसदबाट प्रकट भइराख्दा माननीय शब्दकै मानमर्दन हुन पुगेको पूर्वसचिव थापाको बुझाइ छ ।

‘उच्च आचरणयुक्त पद भनेर सम्बोधन गर्न माननीय भनिएको हो । माननीयको व्यवहारले समाजलाई मार्गनिर्देश गर्ने विश्वास गरिन्छ’ थापा भन्छन्, ‘तर कतिपयको व्यवहारले माननीय पदकै मानमर्दन गरिरहेको छ ।’

चुनाव जितेपछि जस्तो व्यवहार गरे पनि जनताले सहन्छन् भन्ने घमण्ड नराख्न पनि जनप्रतिनिधिहरूलाई पूर्वसचिव थापाको सुझाव छ । ‘आफूले जे शब्द प्रयोग गरेपनि हुने जनताले चाहीँ माननीय भनिरहनुपर्ने होइन । सार्वभौम जनताले आफ्नो अधिकार जुनसुकै बेला प्रयोग गर्न पाउँछन् र गर्न सक्छन् । यो कुरा माननीयले बुझ्न जरुरी छ ।’

राजनीतिक दलहरू चनाखो हुन नसक्दा समस्या भएको थापा दोहोर्‍याउँछन् । उनी भन्छन्, ‘जनताको मान मर्दन हुने गरी, राज्यले दिएको सम्मान उल्लघंन गर्नेगरी कोही प्रस्तुत हुन्छ भने सम्बन्धित दलले निलम्बन गर्ने वा स्थापित व्यवस्था र अभ्यास अनुसार अवलम्बन गर्नु उपयुक्त हुन्छ । अन्यथा, एकलाई जोगाउँदा अरु धेरै फस्न सक्छन् ।’

व्यवस्थामै खतरा !

समाजशास्त्री डा. शुक्रराज अधिकारी लोकतान्त्रिक संसद् र यसका सदस्यहरूले संसद्का आदर्श चरित्रहरू ख्याल गर्नुपर्ने सुझाउँछन् । संवैधानिक रूपले प्राप्त जिम्मेवारीलाई संरक्षण र संवर्द्धन गर्ने दायित्व लिएकाहरूले आफ्नो भूमिका र व्यवहारलाई कम आँक्न नहुने उनको राय छ ।

मर्यादाहीन माननीय

‘सांसदहरू आफ्नो मूल्य र मान्यताबाटै विचलित हुँदा लोकतान्त्रिक पद्धति खतरामा पर्छ’ अधिकारीले भने, ‘किनभने जनताले शासन गर्न र शासन गर्नेहरूउपर पनि निगरानी गर्ने महत्वपूर्ण जिम्मेवारी सांसदहरूलाई सुम्पेका छन् ।’

सांसदहरूबाटै प्रधानमन्त्री, मन्त्रीहरू, सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष हुने व्यवस्था छ । सांसदहरूले नै राष्ट्रपति र उपराष्ट्रपति चुन्छन् । संवैधानिक निकायका प्रमुख एवं पदाधिकारी संसदबाटै अनुमोदन भएर जिम्मेवारीमा पुग्छन् । यी सबै विषयको नीति बनाउने काम पनि संसदकै हो ।

जनताका आकांक्षा अनुसार राष्ट्रको भविष्य ख्याल गरेर नीति बनाउने र त्यसको पालना भए/नभएको हेर्ने पनि संसदले नै हो । बनेको नीति कार्यान्वयन गर्ने कार्यकारी (प्रधानमन्त्री, मन्त्री) पनि सांसद सदस्यबाटै चुनिन्छन् ।

समाजशास्त्री अधिकारी नेपाली समाजमा विद्यमान सकारात्मक र नकारात्मक पक्षहरूको मुहान सांसदहरू रहेको निचोडमा पुग्न सकिने बताउँछन् । यही चाहना चुनाव मार्फत जनाले प्रतिनिधिमा प्रकट गर्ने उनलाई लाग्छ ।

‘सांसद एउटा आदर्श व्यक्ति हो । जसलाई समाजले तुलनात्मक रूपमा आदर्शवान मान्छे हो भनेर जिताएको हुन्छ’ उनी भन्छन्, ‘जिताउनेको एउटै चाहना हुन्छ– माननीयले आफ्नो प्रतिनिधित्व गरिदियोस् ।’

आर्दश व्यक्तिको मानक समाज र समय अनुसार फरक–फरक हुन सक्ने उल्लेख गर्दै अधिकारी भन्छन्, ‘नेपालको परिवेशमा माननीयले सुशासन र पारदर्शिता ख्याल गरोस् भन्ने देखिन्छ । विकासको कुरा गरोस्, कसैमाथि दुर्व्यवहार र अपाच्य व्यवहार नगरोस् भन्ने छ । सारमा सबैको आदर्श बनोस् र मेरो माननीय भनेर गर्व गर्न पाइयोस् ।’

मर्यादाहीन माननीय
समाजशास्त्री डा. शुक्रराज अधिकारी

तर, राजनीतिक र आर्थिक परिवेशले आदर्श माननीय बन्न र बनाउन अवरोध गरिरहेको पनि उनको बुझाइ छ । ‘केही केही नगण्य मात्रामा सदाचार पछ्याउने माननीय होलान् । नत्र यो अपेक्षा छैन’ उनी थप्छन्, ‘अहिलेको राजनीतिक र आर्थिक परिवेशले त्यस्ता आदर्श पात्र राजनीतिमा टिक्न पनि सकिरहेका छैनन् ।’

नेपाल किन बनेन भनेर बहस हुने गरेको उल्लेख गर्दै समाजशास्त्री अधिकारी सुधारका लागि माननीयहरूले बोली र व्यवहारमा एकरूपता कायम गरिदिए धेरै सुधार हुने बताउँछन् ।

‘हामीले समाजवाद उन्मुख संविधान भन्यौं । यो भनेको समभाव हो’ अधिकारी भन्छन्, ‘संविधान अनुसार सबै समान छन्, धनी, गरिब, जातजाति आदिमा समभाव छ । आर्थिक, सामाजिक र राजनीतिक रूपमा समान छ ।’

अधिकारीको यहीँनेर प्रश्न छ, ‘के हामीले आदर्श मानेका व्यक्तिका व्यवहार नीति संविधानको समभावको मर्म अनुसार निर्देशित छन् त ?’

फेरि पनि समाजशात्री डा. अधिकारी सांसदलाई मुलुक सुधारको सूत्राधार मान्छन् । समाजको चरित्रको मूल नै माननीयलाई ठान्छन् ।

‘मूल नै धमिलो भएपछि तल पानी धमिलो हुनु स्वभाविक हो’ भन्ने नेपाली उखान स्मरण गर्दै समाजशास्त्री अधिकारी भन्छन्, ‘हाम्रो शासन व्यवस्थाको मूल सांसद हो । यसकारण माननीयका सोच र व्यवहारमा सुधार भए अरु धेरै चिज स्वतः सुधार हुन्छन् ।’





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School