प्रकाशित मिति : २९ जेष्ठ २०८३, शुक्रबार

स्वदेशमा पर्याप्त रोजगारीको अवसर नपाउँदा नेपालीहरू विदेशिनुपर्ने बाध्यता अझै हटेको छैन । दुई छाक टार्नै धौ-धौ परेपछि दैनिक हजारौँको सङ्ख्यामा नेपाली युवा पलायन भइरहेका छन् । सुनौलो भविष्यको खोजीमा खाडी मुलुक र मलेसियाको बाटो रोज्नु आजको तितो यथार्थ बनेको छ ।
रोजगारीका लागि विदेशिएकामध्ये कतिपयको जीवन सुखद होला, तर सबैको कथा उस्तै हुँदैन । विदेश गएका धेरै नेपालीको सपना पूरा नहुँदै इहलीला समाप्त हुने गरेको छ । मरुभूमिमा कमाउन गएका नेपालीहरू जीवितै स्वदेश फर्किन्छन् या काठको बाकसमा, अनुमान समेत गर्न नसकिने दर्दनाक अवस्था सिर्जना भएको छ ।

१० महिनामै १२ सय ९४ नेपालीको मृत्यु
वैदेशिक रोजगारीको सिलसिलामा चालु आर्थिक वर्षको १० महिनामा मात्रै झन्डै १३ सय नेपाली कामदारको मृत्यु भएको छ । वैदेशिक रोजगार बोर्डका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को वैशाखसम्म १ हजार २ सय ९४ नेपाली कामदारले विदेशी भूमिमा ज्यान गुमाएका हुन् । जसमा वैशाख महिनामा मात्रै ज्यान गुमाउनेको सङ्ख्या १५३ रहेको छ ।
विगत ११ वर्षको तथ्याङ्क हेर्ने हो भने स्थिति अझ भयावह छ। पछिल्लो १० वर्ष १० महिनामा ११ हजार ९ सय ८८ जना नेपालीले विदेशी भूमिमा ज्यान गुमाएका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै १ हजार ५ सय ८३ जना नेपालीको विदेशमा मृत्यु भएको थियो, जसमा १ हजार ५ सय ९ पुरुष र ७४ महिला थिए ।
किन भइरहेछ विदेशी भूमिमा नेपालीको अकालमा मृत्यु ?
विदेशी भूमिमा ज्यान गुमाउने नेपालीहरूमा सबैभन्दा धेरै खाडी मुलुक र मलेसियामा कार्यरत श्रमिकहरू छन् । नेपालबाट रोजगारीका लागि धेरै जाने गरिएका देशहरू मलेसिया, साउदी अरब र कतार लगायतका मुलुकमा मृत्युदर उच्च छ ।
विदेशी मुलुकबाट आउने मृत्युसम्बन्धी कागजातले प्रायः‘प्राकृतिक मृत्यु’ (नेचुरल डेथ), ‘हृदयघात’ (कार्डियाक एरेस्ट) वा ‘आत्महत्या’लाई कारण देखाउने गरेका छन् । वैदेशिक रोजगार बोर्डका निर्देशक एवम् प्रवक्ता भुपेन्द्र सापकोटा विदेशमा नेपालीहरूको मृत्युको मुख्य कारण ’प्राकृतिक’ नै बढी भएको बताउँछन् । उनी मिर्गौला, क्यान्सर तथा सडक दुर्घटना लगायतका कारणले पनि नेपालीहरूले ज्यान गुमाउने गरेको जिकिर गर्छन् ।
“विदेशमा नेपालीको मृत्युको कारण नेचुरल डेथसहित मिर्गौला, क्यान्सर र सडक दुर्घटना लगायत रहेको पाइएको छ,“ प्रवक्ता सापकोटाले भने ।
तर, नेपालबाट पूर्ण स्वास्थ्य परीक्षण (मेडिकल टेस्ट) गरेर गएका तन्दुरुस्त युवा श्रमिकहरूको केही समयमै अचानक मृत्यु हुनुको वास्तविक कारणबारे अहिले गम्भीर प्रश्न उठ्न थालेका छन् ।

कागजी ’प्राकृतिक मृत्यु’माथि विज्ञको संशय
श्रम तथा आप्रवासन क्षेत्रका विज्ञहरूले विदेशी मुलुकमा हुने नेपाली श्रमिकहरूको मृत्युको वास्तविक कारण आधिकारिक कागजातमा उल्लेख भएभन्दा फरक हुनसक्ने आशङ्का व्यक्त गरेका छन् । अत्यधिक गर्मी, कठोर श्रम र कार्यस्थलको प्रतिकूल वातावरणले श्रमिकको स्वास्थ्यमा गम्भीर असर गरिरहेको उनीहरूको बुझाइ छ ।
नेश्नल नेटवर्क फर सेफ माइग्रेसन (एनएनएसएम) का कार्यक्रम प्रमुख एवं श्रम तथा आप्रवासन विज्ञ निलाम्बर बडाल खाडी मुलुकबाट आउने मृत्युसम्बन्धी कागजातमा ‘नेचुरल डेथ’ उल्लेख हुने गरेको भए पनि त्यसलाई सहज रूपमा स्वीकार गर्न कठिन हुने बताउँछन् ।
“नेपालबाट सम्पूर्ण स्वास्थ्य परीक्षण गरेर गएका तन्दुरुस्त युवाहरू त्यहाँ पुगेको छोटो समयमै ‘प्राकृतिक मृत्यु’ भएको भनिन्छ भने त्यसलाई प्रश्न नगरी विश्वास गर्न सकिँदैन,” बडाल भन्छन् ।
बडालका अनुसार घटनाको वस्तुस्थिति विश्लेषण गर्दा यसको पछाडि ‘हिट स्ट्रेस’ अर्थात् अत्यधिक गर्मी र कामको प्रकृति प्रमुख कारणका रूपमा देखिन्छ । कतिपय श्रमिकको मिर्गौला फेल भएर पनि मृत्यु भएको हुनसक्ने आशङ्का उनी व्यक्त गर्छन् ।
“खाडीको अत्यधिक गर्मीमा बाहिरी क्षेत्रमा काम गर्ने श्रमिकहरूलाई कतिपय अवस्थामा पर्याप्त शौचालय सुविधा हुँदैन । त्यसैले उनीहरू लामो समय पानी नपिई काम गर्न बाध्य हुन्छन्,” उनले थपे, “त्यसले शरीरमा गम्भीर असर पार्छ । नेपाल फर्किएका र मिर्गौलाको उपचार गराइरहेका श्रमिकहरूको ठूलो सङ्ख्या पनि यही अवस्थासँग जोडिएको देखिन्छ ।”

५० डिग्रीको गर्मी र एसीको तापमानले ‘भित्री ब्रेकडाउन’
विज्ञ बडालका अनुसार अर्को गम्भीर समस्या वातावरणीय असन्तुलन हो । नेपालको पहाडी तथा अपेक्षाकृत चिसो मौसममा अभ्यस्त नेपालीहरू खाडीको कठोर र अत्यधिक तापक्रममा सहजै घुलमिल हुन सक्दैनन् । बाहिरको ५० डिग्री सेल्सियस हाराहारीको गर्मीबाट सिधै अत्यधिक चिसो वातानुकूलित (एसी) कोठामा प्रवेश गर्दा शरीरले तापमानको ठूलो अन्तर धान्न नसक्ने र त्यसले गम्भीर शारीरिक असर पु¥याउन सक्छ ।
“सुन्दा सामान्य लाग्न सक्छ, तर यस्तो तीव्र तापक्रम परिवर्तनले शरीरलाई ‘भित्रैबाट ब्रेकडाउन’ गराउन सक्छ,” बडालले भने । उनका अनुसार एउटा अनुसन्धानले ‘हिट स्ट्रेस’लाई मृत्युको कारण हुनसक्ने देखाएको भए पनि यस विषयमा पर्याप्त अध्ययन र अनुसन्धान भने अझै हुन सकेको छैन ।
’डबल अटोप्सी’नहुँदा रहस्यमै सीमित कारण
विदेशमा मृत्यु हुने नेपालीको शव स्वदेश आइसकेपछि यहाँ पुनः पोस्टमार्टम (पोस्टमार्टम परीक्षण) हुँदैन । जुन देशमा नेपालीको मृत्यु भएको हो, सोही देशमै शवको पोस्टमार्टम भएर नेपाल आउने गरेको बोर्डका प्रवक्ता सापकोटा बताउँछन् ।
खाडी मुलुकमा नेपाली श्रमिकको मृत्युको वास्तविक कारण पत्ता लगाउन अर्को ठूलो चुनौती भनेको नेपालमा शवको पुनः परीक्षण अर्थात् ‘डबल अटोप्सी’ गर्ने अभ्यास नहुनु रहेको बडाल बताउँछन् । खाडी मुलुकहरूमा धार्मिक तथा सांस्कृतिक कारणले मृत शरीरको पोस्टमार्टम सीमित हुने भएकाले धेरै शव ‘प्राकृतिक मृत्यु’ को निष्कर्षसहित नेपाल पठाइने गरेको उनको बुझाइ छ ।
बडाल भन्छन्, “यही कारणले आजसम्म हामीसँग मृत्युको वास्तविक कारणबारे ठोस वैज्ञानिक प्रमाण छैन। अहिलेको अवस्थामा हामी परिस्थितिजन्य विश्लेषण र अनुमानका आधारमा मात्र सम्भावित कारणबारे चर्चा गरिरहेका छौँ ।”

विदेशमा मृत्यु भएका नेपालीका परिवारले कति पाउँछन् राहत ?
वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुक तथा मलेसिया लगायतका देशमा पुगेका नेपाली श्रमिकको मृत्यु भएमा आश्रित परिवारले बीमा र क्षतिपूर्तिबापत आर्थिक राहत प्राप्त गर्ने कानुनी व्यवस्था छ। तर, यो सम्पूर्ण सुविधा र आर्थिक सहायता पाउनका लागि श्रमिक अनिवार्य रूपमा नेपाल सरकारको वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर वैध रूपमा गएको हुनुपर्छ।
वैध रूपमा गएका श्रमिकका परिवारले नेपाल सरकारको वैदेशिक रोजगार बोर्डको कल्याणकारी कोषबाट एकमुष्ट १० लाख रुपैयाँ पाउँछन् भने त्यसबाहेक जीवन बीमाबापत थप केही रुपैयाँ पाउँछन् । यसबाहेक बोर्डले छोराछोरीलाई छात्रवृत्ति, परिवारलाई उपचार खर्च र विदेशबाट शव ल्याउने खर्च समेत ब्यहोर्छ।
कार्यस्थलमा हुने दुर्घटना वा सडक दुर्घटनामा मृत्यु भएमा रोजगारदाता देशको कानुन अनुसार थप लाखौँ रुपैयाँ ब्लड मनी वा क्षतिपूर्ति प्राप्त हुन्छ। तर, प्राकृतिक कारण (हार्ट अट्याक), पुराना रोग वा आत्महत्याको हकमा त्यहाँका कम्पनीहरू क्षतिपूर्ति दिन बाध्य हुँदैनन्। यद्यपि, बाँकी तलब र उपदान भने नेपाली दूतावासको सहजीकरणमा परिवारले पाउँछन्।
भिजिट भिसामा गएर लुकेर काम गर्ने वा श्रम स्वीकृतिको म्याद सकिएर अवैध रूपमा बसिरहेका श्रमिकको मृत्यु भएमा नेपाल सरकार र बीमा कम्पनी दुवैबाट एक रुपैयाँ पनि क्षतिपूर्ति पाइँदैन ।
