काठमाडौं । फिफा विश्वकप २०२६’ उद्घाटन खेलको समूह ‘ए’अन्तर्गत मेक्सिको सिटीस्थित अज्टेका रंगशालामा नेपाली समयानुसार शुक्रबार बिहान सम्पन्न भिडन्तमा मेक्सिकोले दक्षिण अफ्रिकामाथि २–० को प्रभावशाली जित निकाल्दै विश्वकपमा सानदार सुरुवात गरेको छ ।
जितसँगै टोलीले मेक्सिकोको आत्मविश्वास, घरेलु दबदबा र विश्वकपमा ठूलो लक्ष्य बोकेको उद्घोषसमेत गरेको छ ।
अज्टेकाको प्रत्येक सिट हरियो जर्सीले ढाकिएका थिए, प्रत्येक पासमा समर्थकको गर्जन सुनिन्थ्यो र प्रत्येक आक्रमणसँगै रंगशाला कम्पित भइरहेको अनुभव हुन्थ्यो । खेल सुरु हुनुअघि राष्ट्रिय गान बज्दा नै वातावरणले मेक्सिको ‘आज कुनै पनि हालतमा निराश पार्ने मनस्थितिमा छैन’ भन्ने महसुस गराइरहेको थियो ।
सुरुवातदेखि नै मेक्सिकोको नियन्त्रण
रेफ्रीको पहिलो सिटीसँगै मेक्सिकोले आक्रामक शैली अपनायो । बल नियन्त्रण कायम राख्ने, मिडफिल्डबाट खेलको गति नियन्त्रण गर्ने र विङ प्रयोग गर्दै दक्षिण अफ्रिकाको डिफेन्स च्यात्ने उनीहरूको रणनीति स्पष्ट थियो ।
दक्षिण अफ्रिकाले सुरुवाती मिनेटमा केही संयमित रक्षात्मक संरचना देखाए पनि मेक्सिकोको तीव्र ‘प्रेसिङ’ले उनीहरूलाई लामो समयसम्म शान्त बस्न दिएन । मिडफिल्डमा मेक्सिकोका खेलाडीले लगातार छोटाछोटा पास आदानप्रदान गर्दै खेलको लय आफ्नो पक्षमा राखे । दक्षिण अफ्रिकी खेलाडी प्रायः बल पछ्याउन बाध्य बनेको देखिए ।
पहिलो २० मिनेटभित्रै मेक्सिकोले केही उत्कृष्ट अवसर सिर्जना गरिसकेको थियो । दक्षिण अफ्रिकाका गोलरक्षकले दुई–तीन महइभ्वपूर्ण बचाउ नगरेको भए खेल निकै चाँडै एकतर्फी बन्न सक्थ्यो । तर, दबाब सधैं रोकिँदैन ।
लगातारको आक्रमणपछि मेक्सिकोले अन्ततः खेलको पहिलो गोल निकाल्यो । गोलसँगै अज्टेका विस्फोट भयो । हजारौं समर्थकको सामूहिक उत्साहले खेलाडीलाई झन् ऊर्जावान बनायो । त्यो क्षणपछि दक्षिण अफ्रिका मानसिकरूपमा केही कमजोर देखिएको थियो ।
दक्षिण अफ्रिकाको संघर्ष
गोल खाएपछि दक्षिण अफ्रिकाले खेलमा फर्किने प्रयास गरे पनि उनीहरूको आक्रमण योजनाबद्ध रूपमा अघि बढ्न सकेन । विङबाट आएका क्रस कमजोर थिए, मिडफिल्डमा समन्वय कमी स्पष्ट देखिन्थ्यो र स्ट्राइकर एक्लिएजस्ता देखिएका थिए ।
दक्षिण अफ्रिकाले बल गुमाएपछि डिफेन्समा फर्किन ढिलाइ गरिरहेको थियो, जसको फाइदा मेक्सिकोले बारम्बार उठायो । दोस्रो हाफमा दक्षिण अफ्रिकाले केही जोखिम लिएर अगाडि बढ्ने प्रयास ग¥यो, तर त्यसले रक्षापंक्तिमा खाली ठाउँ बढाइदियो । मेक्सिको त्यही अवसरको प्रतीक्षामा थियो । तीव्र ‘काउन्टर अट्याक’मार्फत आएको दोस्रो गोलले खेल लगभग समाप्त गरिदियो । त्यसपछि दक्षिण अफ्रिकाका खेलाडीको आत्मविश्वास क्रमशः खस्कँदै गयो । उनीहरूको पासिङ बिग्रियो, निर्णय क्षमता कमजोर बन्यो र अन्तिम समय थकान स्पष्ट देखियो ।
अज्टेकामा उत्सव, मेक्सिकोबाट ठूलो सन्देश
अन्तिम सिटी बज्दा अज्टेका पूर्णरूपमा उत्सवमा परिणत भइसकेको थियो । समर्थक गीत गाउँदै, झण्डा फहराउँदै र खेलाडीको नाम चिच्याउँदै विश्वकप सुरुवाती रातलाई ऐतिहासिक बनाइरहेका थिए ।
घरेलु मैदानमा विपक्षीलाई हराउनु कुनै पनि टोलीका लागि अत्यन्त कठिन हुने मेक्सिकोको यस खेलमार्फत प्रस्ट देखिएको छ । उनीहरूको खेलमा गति, ऊर्जा, आत्मविश्वास र रणनीतिक स्पष्टता सबै देखियो ।
अर्कोतर्फ साउथ अफ्रिकाका लागि यो हार अंक गुमाउनुसँगै मानसिक चुनौतीसमेत बनेको छ । अब समूह चरण पार गर्न उनीहरू आगामी खेलमा तत्काल सुधार देखाउनैपर्ने दबाबमा पुगेका छन् ।
त्यस्तै, समूह ‘ए’को दोस्रो खेलले विश्वकपको प्रारम्भिक चरण अझ रोमाञ्चक बनाइदिएको छ । दक्षिण कोरियाले एक गोलले पछि परेको अवस्थाबाट अविश्वसनीय पुनरागमन गर्दै चेक गणतन्त्रलाई २–१ ले पराजित ग¥यो । यो खेल भावनात्मक उतारचढाव, रणनीतिक संघर्ष र मानसिक दृढताको उत्कृष्ट उदाहरणसमेत बनेको छ । एक समय खेल चेक रिपब्लिकको पक्षमा झुकेको देखिन्थ्यो, तर दक्षिण कोरियाले अदम्य इच्छाशक्ति देखाउँदै खेलको दिशा नै उल्ट्याइदियो ।
नियन्त्रण कोरियाको, अवसर दुवै टोलीको
खेलको सुरुवात निकै तीव्र गतिमा भयो । दक्षिण कोरियाले छोटो पास र उच्च गतिमा खेल अघि बढाउँदै सुरुमै नियन्त्रण कायम गर्ने प्रयास ग¥यो । कप्तान सन ह्युङ–मिन लगातार सक्रिय देखिन्थे । उनले विङबाट ‘कट–इन’ गर्दै दुई उत्कृष्ट अवसर सिर्जना गरे, तर अन्तिम ‘टच’ सटीक हुन सकेन । चेक रिपब्लिक भने धैर्यतापूर्वक खेलिरहेको थियो । रक्षात्मक अनुशासन कायम राख्ने र सेट–पिस तथा काउन्टर अट्याकबाट अवसर खोज्ने उनीहरूको योजना स्पष्ट देखिन्थ्यो । पहिलो हाफभर दक्षिण कोरियाले बल बढी नियन्त्रणमा राखे पनि चेक टोलीले रक्षामा उच्च संगठन देखायो । गोलरक्षकले केही उत्कृष्ट बचाउ गरे भने सेन्टर–ब्याकले महइभ्वपूर्ण ब्लक निकाल्दै खेल बराबरीमा राखे ।

चेकको गोल र त्यसपछि कोरियाको विस्फोट
दोस्रो हाफ सुरु भएपछि खेल अचानक परिवर्तन भयो । चेक रिपब्लिकले एउटा ‘सेटपिस’ अवसर सानदाररूपमा उपयोग गर्दै अग्रता लियो । त्यो गोलपछि रंगशालामा चेक समर्थकको उत्साह बढ्यो, जबकि दक्षिण कोरियाका खेलाडी केही क्षण स्तब्ध देखिए । तर, विश्वकप त्यहीँ रोचक बन्छ जहाँ टोली दबाबमा आफ्नो वास्तविक चरित्र देखाउन थाल्छन् ।
गोल खाएपछि दक्षिण कोरियाले खेलको गति झन् बढायो । मिडफिल्डर ह्वाङ इन–बीम खेलको केन्द्रबिन्दु बने । पासिङ र बल नियन्त्रणमा प्रभाव जमाएनन्, उनले टोलीलाई मानसिकरूपमा पनि उठाउने काम गरे । उनले गरेको बराबरी गोल खेलकै ‘टर्निङ प्वाइन्ट’ बन्यो । बक्सबाहिरबाट आएको शक्तिशाली प्रहारले चेक गोलरक्षकलाई कुनै मौका दिएन । त्यो गोलसँगै दक्षिण कोरिया पूर्णरूपमा खेलमा फर्कियो र चेक रिपब्लिक दबाबमा पर्न थाल्यो ।
चेकको थकान र कोरियाको निर्णायक प्रहार
बराबरीपछि खेलको गति पूर्णरूपमा दक्षिण कोरियाको पक्षमा गयो । उनीहरूको प्रत्येक आक्रमण खतरनाक देखिन्थ्यो । विङबाट तीव्र रन, मिडफिल्डको गतिशीलता र लगातार प्रेसिङका कारण चेक डिफेन्स बिस्तारै भत्किन थाल्यो । चेक रिपब्लिकका खेलाडी शारीरिकरूपमा बलिया देखिए पनि खेलको अन्तिम चरणतिर उनीहरूको समन्वय कमजोर बन्दै गयो । दक्षिण कोरियाले त्यसको फाइदा उठाउँदै निर्णायक गोल निकाल्यो । गोलसँगै कोरियन खेलाडीको उत्साह विस्फोट भयो । बेन्चबाट खेलाडी मैदानतर्फ दौडिए, समर्थक झुमे र खेलको सम्पूर्ण मोमेन्टम दक्षिण कोरियाको नियन्त्रणमा पुग्यो ।
अन्तिम क्षणको नाटक
खेल सकिन केही मिनेट बाँकी रहँदा चेक रिपब्लिकले बराबरी गोल गरेजस्तो देखियो । एक क्षणका लागि उनीहरू उत्सवमा पनि डुबेका थिए । तर, भिडियो सहायक रेफ्री (भिएआर) जाँचपछि ‘अफसाइड’ निर्णय आयो र गोल रद्द गरियो । त्यो निर्णय चेक टोलीका लागि ठूलो मानसिक झट्का बन्यो । त्यसपछि दक्षिण कोरियाले परिपक्वता देखाउँदै खेल नियन्त्रणमा राख्यो र महइभ्वपूर्ण तीन अंक सुरक्षित ग¥यो ।
समूह ‘ए’को समीकरण रोमाञ्चक
पहिलो चरणका खेलपछि समूह ‘ए’को अवस्था अत्यन्त रोचक बनेको छ । मेक्सिको र दक्षिण कोरिया विजयी सुरुवातसँगै आत्मविश्वासले भरिएका छन् । मेक्सिको घरेलु समर्थन र आक्रामक शैलीका कारण बलियो देखिएको छ भने दक्षिण कोरियाले दबाबमा पनि खेल फर्काउन सक्ने मानसिक शक्ति प्रदर्शन गरेको छ ।
नयाँ नियममा बाँधिएका खेलाड
‘फि फा विश्वकप २०२६’बाट सुरु नयाँ नियममा खेलाडी बाँधिएका छन् । अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्तरूपमा आयोजनामा सुरु विश्वकपका नयाँ नियम खेल छिटो, निष्पक्ष र प्रविधिमैत्री बनाउन लागू गरिएको हो ।
फिफाले ‘भिडियो एसिस्टेन्ट रेफ्री (भीएआर)’ प्रणाली अझ शक्तिशाली बनाएको छ । अब भिडियो सहायक भीएआरले गलत कर्नर निर्णय, दोस्रो पहेँलो कार्डपछि दिइएको रातो कार्ड, गलत खेलाडीलाई कार्ड दिइएको अवस्था तथा ‘सेट पीस’ अघि भएका गल्तीसमेत समीक्षा गर्नेछ ।
यसपटक ‘अर्ध–स्वचालित अफसाइड प्रविधि’ पनि अझ आधुनिकरूपमा प्रयोग गरिएको छ । एआई आधारित ‘थ्रीडी ट्र्याकिङ प्रणाली’ र डिजिटल ‘बडी म्यापिङ’का माध्यमबाट ‘अफसाइड’ निर्णय केही सेकेन्डमै आउनेछ ।
त्यस्तै, खेलमा समय खेर फाल्ने प्रवृत्ति रोक्न नयाँ कडा नियम ल्याइएको छ । खेलाडीले ‘थ्रो इन’ वा ‘किक गोल’ जानाजानी ढिलो गरेमा विपक्षी टोलीलाई फाइदा दिन सकिने छ ।
‘सब्स्टीच्यूसन’का क्रममा मैदान छोड्ने खेलाडीले १० सेकेन्डभित्र बाहिरिनुपर्नेछ, अन्यथा नयाँ खेलाडी तुरुन्त प्रवेश गर्न नपाउने व्यवस्था गरिएको छ । मैदानमै उपचार लिएका खेलाडी तुरुन्त फर्किन नपाउने नियम पनि लागू गरिएको छ ।
चोटपटक उपचारपछि कम्तीमा एक मिनेट बाहिर बस्नुपर्ने छ । यसलाई ‘फेक इन्जुरी’मार्फत समय बिताउने रणनीति रोक्ने प्रयासका रूपमा हेरिएको छ । त्यसैगरी, गोलकिपर उपचार भइरहेका बेला प्रशिक्षकले ‘रणनीतिक कुराकानी’ गर्न नपाउने नियम ल्याइएको छ ।
रेफ्रीसँग अनावश्यक बहस गर्ने खेलाडीलाई पनि पहेँलो कार्ड देखाउन सकिनेछ, जबकि कप्तानलाई मात्र औपचारिकरूपमा रेफ्रीसँग संवाद गर्ने प्राथमिकता दिइएको छ । फिफाले खेलाडीको आचरणमा समेत कडाइ गरेको छ । झगडाक्रममा मुख छोपेर अपमानजनक भाषा प्रयोग गरेको पाइएमा सिधैं ‘रातो कार्ड’ देखाउन सकिने प्रावधान राखिएको छ ।
यसैगरी, गर्मी ध्यानमा राख्दै ‘हाइड्रेसन बेक’लाई पनि अनिवार्य बनाइएको छ । अमेरिका र मेक्सिकोका उच्च तापक्रम भएका सहरमा खेल सञ्चालन हुने भएकाले खेलाडी सुरक्षाका लागि यस्तो व्यवस्था गरिएको हो ।
‘हाइड्रेसन बे्रक’ पहिलो हाफको २२ मिनेट र दोस्रो हाफको ६७ मिनेटमा ३ मिनेटका लागि पानी पिउने समय छुट्याइएको छ । प्रत्येक टोलीले कतार विश्वकपजस्तै २६ खेलाडी राख्न पाउने नियमलाई निरन्तरता दिइएको छ ।

उद्घाटन खेलमा जे देखिए
– मेक्सिकाका राउल जिमेनेजले गोल गरेपछि आँसु झार्दै आफ् नो दिवंगत पितालाई सम्झँदै भावुक ‘विजयोत्सव’ मनाए । यो उनको पहिलो विश्वकप गोलसमेत हो ।
– खेलमा कुल तीन रातो कार्ड देखाइयो, जसले उद्घाटन खेललाई निकै तनावपूर्ण बनायो ।
– उद्घाटन समारोहमा शकिरा र एन्ड्रिया बोसेलीले दमदार प्रस्तुति दिए ।
– ‘डाइडेसन ब्रेक’ ठूलो विवाद बनेको छ । २३ डिग्रीजस्तो सामान्य तापक्रममा पनि प्रत्येक हाफमा तीन मिनेटको अनिवार्य ‘पानी ब्रेक’ राखिएको छ । धेरैले यसलाई खेलाडी सुरक्षाभन्दा पनि विज्ञापन देखाउने माध्यम भएको आरोप लगाएका छन् । यसको सामाजिक सञ्जाल र सञ्चारमाध्यममा ‘वाटर गेट’ भनेर आलोचना भएको छ । किनकि ‘ब्रेक’का बेला प्रसारकले विज्ञापन प्रसारण गरेका छन् । केहीले यसबाट खेलको लय बिग्रिएको उल्लेख गरेका छन् ।
– दक्षिण कोरियाविरुद्ध चेक गणतन्त्रको खेलमा हजारौं खाली सिट देखिए, जसले टिकट मूल्य र गतिशील मूल्य निर्धारणमाथि थप बहस सुरु गरेको छ ।
(Visited 33 times, 1 visits today)
