जीवन आफैंमा उत्सव हो। यो जगत्मा जन्म पाउनु, अझै मानवकै रूपमा जन्मनु सानो संयोगबाट प्राप्त उपलब्धि होइन। व्यक्तिगत रूपमा हामी नै जन्मिनका लागि बाबुबाजेदेखिको नियमित सुसंयोगले निरन्तरता पाएकाले मात्र सम्भव भएको हो।
हजरबुबा–हजुरआमाको भेट नभएको भए, बुबाआमाको सम्बन्धमा दरार आएर विच्छेदको अवस्थामा पुगेको भए अर्थात् समय, परिस्थिति, स्वास्थ्य, मन सबै कुराको संयोग नमिलेको भए कहाँ पाइन्थ्यो र जन्म ! सबै कुराको संयोग हाम्रै लागि मिलेको रहेछ, र त जन्म्यौं हामी यस सुन्दर संसारमा मानवका रूपमा। मनले यसरी पनि सोच्छ कहिलेकाहीं।
हामीले जीवन पाइसकेका छौं। एकबारको जुनी भन्दै जीवनमा अनेक उत्सव मनाउँछौं। नेपालमा जातजाति अनेकौं रहेकाले जन्मदेखि मृत्युसम्म थरी थरीका संस्कार देख्न पाउँछौं।
पछिल्लो समय त परम्परागत संस्कारले नपुगेर कैयौं संस्कारजस्तै कार्यक्रम आयात पनि गर्दै छौं। गर्भको शिशु सकुशल जन्मियोस् भन्दै मान्यजनले गर्भवतीलाई दही–च्युरा खुवाउने परम्परा थियो।
आजकल मान्छे उत्सव मनाउन यति हतारिएका छन्, उनीहरूमा जन्मसम्म पनि कुर्ने धैर्य देखिँदैन। बच्चा बोकेको ठुलो पेटको पूजा गरेर ‘बेबीसावर’ भन्दै भोज खान थालिएको छ। बच्चा जन्मेपछि ‘पास्नी’ गरिँदैन, धुमधामसँग ‘बेबी फिडिङ सेरेमनी’ गरिन्छ।
पहिला छोराछोरीको विवाह एक दिन हुन्थ्यो, अहिले दुईतीन दिनदेखि एक हप्तासम्म निरन्तर गरिन्छ। पहिला विवाह पक्का गर्नका लागि ‘जनैसुपारी’ गरिन्थ्यो, अहिले ‘इन्गेजमेन्ट’ गरिन्छ। त्यसपछि विवाहकै क्रममा ‘मेहेन्दी रस्म’, ‘हल्दी रस्म’ लगायत अनेक आयातित भडक देखाइन्छ। आजकल भ्यालेन्टाइन डे भन्दै मायाको खेती च्याउ खेतीजस्तै जथाभावी गर्न थालिएको छ।
आयातित हुन् वा परम्परागत, उत्सवको पर्यायका रूपमा भोजन आइहाल्छ। मांसबिनाका भोजलाई अहिले भोज नै मानिँदैन। बलिया प्राणीको मनोरञ्जनका लागि निर्धा प्राणीले जीवन सुम्पनुपर्ने निर्मम संसार आज आएर बनेको होइन, परम्परादेखि यस्तै वातावरण बन्दै आएको हो। फरक यत्ति हो, त्यसप्रकारको हिंसा परिपक्व बनेको समय हो यो।
रमाइलो कुरा त के छ भने हामीले कतिपय संस्कार सम्पन्न गर्ने क्रममा पूजाआजामै माछा, सुँगुरको टाउको, बोकाको रगत, कुखुराको बासना चढाउँछौं पितृ तथा भगवान्लाई। कहिलेकाहीं यस्तै कर्ममा जाने अवसर मिल्छ।
केही दिन अगाडि एउटा पितृ कार्य हुँदै थियो। लामाहरूले बौद्ध धर्मसापेक्ष पाठ गर्दै थिए। पितृको मृतक शरीरको दाहसंस्कार भइसकेको थिएन। शव अगाडि राखिएको थियो माछा, मासु, रक्सीसहित चौरासी व्यञ्जन। रक्सी पनि निकै महँगो राखिएको थियो।
पितृका सन्तति भन्दै थिए– ‘बुबाले मासु र रक्सी निकै मन पराउनुहुन्थ्यो। त्यसैले उहाँले मन पराउनुहुने महँगो रक्सी नै उहाँलाई दिएका छौं।’ मैले पनि उहाँलाई राम्रोसँग चिन्थेँ। उहाँको बोलीवचन, सेवासत्कार सबै अत्यन्त राम्रो थियो। परिआउँदा सबैलाई साथ सहयोग गर्ने नै उहाँको स्वभाव थियो। कटु वचन कहिल्यै बोल्नुभएन। उहाँको एउटै कमजोरी थियो– धेरैभन्दा धेरै मासु र रक्सी खाने।
आखिर त्यही मासु र रक्सीले नै उहाँको जीवन अल्पायुमै खायो। उहाँको शवअगाडि रक्सी र मासु नै राखिएको देख्दा मेरो मनमा लागिरह्यो– त्यही मासु र रक्सीले बाँचुन्जेल कहिल्यै सुख दिएन, मरेपछि पनि उहाँलाई त्यही मासु र रक्सी नै दिन थालिएको छ। उहाँको मृत्युपछिको संसार पनि रोगी भएरै बित्ने भयो।
हाम्रा आस्थाका देवताले मासु र रक्सी खान्छन् कि खिर र लड्डु, हामीलाई थाहा छैन। देवताले हामीसँग कहिल्यै यही खान्छु भनेर मागेका पनि छैनन्। त्यसरी माग्न थाले भने ती आस्थाका देवता नै रहँदैनन्। देवतामा धैर्य हुन्छ। लामो समयसम्म नखाइकन बस्न सक्ने क्षमता हुन्छ।
वर्षमा एक पटक श्रद्धापूर्वक भगवान् वा पितृलाई पोषण प्रदान गर्यौं भने पनि पितृ सन्तुष्ट हुन्छन्। बिनाश्रद्धा दिनहुँ भोजन दिए पनि उनीहरू खुसी हुँदैनन्। प्रमुख कुरा हो श्रद्धा। अर्को कुरा भगवान् वा पितृलाई खुसी बनाउन कुनै प्राणीको जीवन किन समाप्त पार्ने ? हुन त परम्परागत संस्कार जातिपिच्छे फरक फरक छन्, यद्यपि अत्यधिक मांस र रक्सीकै नतिजास्वरूप निम्तिएको मृत्युपछि पुनः किन तिनै भोजन दिने ? भोजनको परिकार संस्कारले होइन, मान्छेले माग्ने हो।
उत्सव सधैं मृत्यु ओढेरै किन आउँछ ? जसरी मान्छेले जीवनलाई सदैव ग्रहण गरिरहन चाहन्छ, त्यसैगरी सबै प्राणीका लागि जीवन उत्तिकै प्रार्थनीय हुन्छ भन्ने कुरा चेतनशील प्राणी मान्छेले किन नबुझेको हो ?
आफूले खाने रगत र मासु भगवान्लाई पनि किन खुवाउँछ मान्छे ? भगवान्ले मलाई मासु खान मन छ भने होलान् र कहिल्यै ? मान्छेको मासु र अन्य प्राणीको मासु उस्तै हुँदैन र ?
मृत्युपश्चात् मान्छेको शरीर शव बन्छ, अरू प्राणीको शरीर किन सिकार बन्छ ? मान्छेका अनेकौं संस्कार भएजस्तै अरू प्राणीका पनि त्यस्तै संस्कार हुँदैनन् र ?
गोठमा दाम्लोले बाँधेर दुहिएका ती प्राणीका विविध संस्कार गरिदिने दायित्व दुध खाने मान्छेको नै होइन र ?
ती प्राणी पनि खुला संसारमा विचरण गर्न चाहन्छन् होला। पशुपन्छीलाई बिनागल्ती त्यसरी बाँधेर जेलमा राख्न पाउँछ मान्छेले ?
यस्ता प्रश्न मनमा सधैं आइरहन्छन्। मान्छे नै भए पनि मसँग यिनीहरूको उत्तर नभएकाले नै मनमा आएका प्रश्न यहाँ तेर्साएको हुँ।
कुनै मन्दिरमा बलिका नाममा काटिँदै गरेको बोको वा दसैंमा मांसाहारका लागि काटिँदै गरेको खसीको मनले के भन्छ होला ? धर्म कमाउन दौडिरहेको मान्छेलाई सराप्छ होला, जसरी कैयौं सतीले पुरातन संस्कारका नाममा आफूलाई बलि चढाउने मान्छेरूपी दानवहरूलाई सरापी सरापी प्राण त्याग गरेका थिए।
बलि दिनुभन्दा पहिला शरीरमा पानी पोखेपछि बोकाले आङ जिरिङ्ङ गर्यो भने प्रसन्न भएर उत्सवित हुँदै चिच्याउँछन् मान्छे र भन्छन्– खुसी भयो बोको, बलि देऊ भनेर अनुमति दियो।
त्यतिबेला त्यो बोकाको मनले भनेको हुनुपर्छ– ‘स्यावास् मनुवा, मलाई बलि दिएर तैंले धर्म कमाइस्। जीवन चाहने मजस्ता बोका–कुखुराहरूलाई बलि दिँदै गरिस् भने तेरो स्वर्गको ढोका खुल्नेछ। धर्मले तँ तृप्त हुनेछस्।’
उता दसैं, तिहार, विवाह, तीज आदिको उत्सव मनाउन काटिएका आत्माहरूले पनि धिक्कारिरहेका छन् होला– ए मनुवा, मेरो मासु खाएर तैंले उत्सव मनाउने ? आजसम्म मजस्ता कति प्राणी मारिस् ? मजस्तै कति आत्माले तँलाई सरापिरहेका छन्, थाहा छ ? एकैछिनको मोजमस्तीका लागि हाम्रो प्राण हरण गर्ने अधिकार तँलाई कसले दियो ? यसको नतिजा तैँले अवश्य भोग्नेछस्।
केही दिन अगाडिको काठमाडौंको व्यस्त सडकछेउको दृश्यले मलाई यही सन्दर्भ सम्झायो। झन्डै बीस–तीस जनाजति थिए होलान्, मैतीदेवीको सडकछेउबाट बाजा बजाउँदै हिँडिराखेका थिए। बाँसुरी, झ्याली, ट्याम्को, मादलजस्ता वाद्यवादनमार्फत परम्परागत धुन निस्किरहेको थियो।
सबैभन्दा अगाडि एक जनाले एउटा बोको डोर्याइरहेको थियो, त्यसभन्दा पछाडि धुप, बत्ती, केही खाद्यान्न, ठेकीमा रक्सी एक एक जनाले लिएर हिँडिरहेका थिए। मेरा आँखा सबैभन्दा अगाडि हिँडिरहेको बोकोमै गडे।
त्यो रमाइलो माहोलमा आफ्नो मालिकजस्तै मान्छेसँग ढुक्कले हिँडिरहेको थियो बोको। मलाई थाहा भएन, त्यो बोकालाई पूजा गर्न, सम्मान गर्न, भोजन गराउन अगाडि अगाडि हिँडाएर लगेका पनि हुन सक्छन्। तर मेरो मनले भनिरह्यो– बाजागाजासहित उत्सवजस्तो माहोलमा झुक्याएर तिनीहरूले बोकामाथि जघन्य अपराध गर्नेछन्। पुण्य कमाउन हिँडेका मान्छे अपराध गरेर फर्कनेछन्। रगतमाथि संस्कारको विभत्स नाटक मञ्चन हुनेछ। त्यहाँ नाटकको दुःखान्तक पात्र बन्नेछैन स्वार्थी मान्छे, त्यस्तो पात्र बन्नेछ अबोध, निस्वार्थी अनि निर्दोष बोको।
भनिन्छ, कामरूपी बोको, क्रोधरूपी राँगो, लोभरूपी बिरालो, मोहरूपी भेडो, मात्सर्यरूपी ऊँट, मदरूपी मान्छे। यो कथनले पनि मान्छे खानपानमै मस्त छ भन्ने बुझाउँछ। फेरि मान्छेले धर्मका नाममा अनेक कर्म गरिरहेको हुन्छ। सबै प्राणी बाँच्नका लागि बनेको साझा संसार हो यो। यहाँ सबैले बाँच्ने ठाउँ पाउनुपर्छ। संसारमा सबैभन्दा ठुलो पाप अरूलाई काटमार गर्नु वा हत्या गर्नु नै हो।
बलिको वास्तविक अर्थसन्दर्भ हो– आफूमा भएको काम, क्रोध, लोभ, मोह, मद, मात्सर्यजस्ता पशुतालाई बलि चढाएर आफू गुणवान् व्यक्तिमा रूपान्तरण हुनु। हिंसालाई संसारका प्रायः सबैजसो धर्ममा निन्दा गरिएको पाइन्छ।
अहिंसा परम धर्म हो, हिंसा ठुलो पाप हो। महर्षि पतञ्जलिको योगसूत्रमा यमनियमअन्तर्गत अहिंसालाई पहिलो अनुशासनका रूपमा राखिएको छ। बुद्धद्वारा प्रतिपादित पञ्चशीलको पहिलो शील नै अहिंसा हो।
बौद्ध धर्मअनुरूप अष्टाङ्गमार्गअन्तर्गत हिंसालाई गर्न नहुने कर्म बताइएको छ। जेमा हित छ त्यही नै सत्य हो। त्यसलाई बिर्सेर मान्छे पशुलाई बलि चढाउनतर्फ लाग्यो। कसैको हत्या गरेर धर्म हुने भए अधर्म भनेको के हो ? पुण्य भनेको के हो ? काट्नु मार्नुलाई कुनै पनि धर्मशास्त्रले कहींकतै धर्म मानेको छैन।
अर्कालाई मारेपछि प्राप्त हुने मासु कसरी प्रसाद हुन्छ ? संस्कारका ठेकेदारले देवीदेवतालाई खुवाएजस्तो गरी आफूले खान बनाएका नियम हुन् यी। यस्तै भुँडीभोर ठेकेदारका कारण बदनाम हुनेहुन् पवित्र धर्म र तिनका शास्त्र।
आफ्नो पेट भर्न अरूको पेटमा नकुल्चौं, आफू बाँच्न अरूलाई नमारौं।
प्रकाशित: २ चैत्र २०८१ १९:३१ शनिबार