काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मन्त्री फेर्न नसके बालुवाटारबाट डेरा सर्न सुझाव दिएका छन् । नटेर्ने मन्त्रीहरू फेर्नका लागि सुझाव दिँदै थापाले यदि नटेर्ने मन्त्रीहरू फेर्न नसक्ने हो भने प्रधानमन्त्री स्वयंले बालुवाटारबाट डेरा सर्नुपर्ने पनि सुझाएका छन् ।
प्रतिनिधिसभा बैठक: प्रधानमन्त्री प्रचण्डलाई थापाको सुझाव
प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा बोल्दै थापाले यस्तो सुझाव दिएका हुन् । संसदमा गत हप्ता प्रधानमन्त्री प्रचण्डले बजेट निर्माणमा आफूलाई मन्त्रीहरूले नटेरेको जवाफ दिएका थिए । ३ करोडभन्दा कमको कार्यक्रम नराख्न निर्देशन दिए पनि मन्त्रीहरूले १ लाखका आयोजनासमेत राखेपछि उठेको प्रश्नमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले आफूलाई मन्त्रीले नै नटेरेको बताएका थिए ।
‘समानीकरण अनुदान स्थानीय सरकारको संवैधानिक हक हो भने संघीय सरकारको संवैधानिक दायित्व हो, तर संघीय सरकारले स्थानीय सरकारलाई दिने यो जिम्मेवारीको कुरा बकस दिएको जस्तोगरी आएको छ, मानौं यो तजबिजी अधिकार हो, यसपालि पनि यस्तै भयो,’ महामन्त्री थापाले भने, ‘अहिले आएर सरकारले निर्णय ग¥यो अरे भन्ने सुनियो, तर दिने अनुदानमा ७ प्रतिशत घटाउने अरे भन्ने पनि सुनियो, किनकी छैन भन्ने कुरा आयो, वडाको क्षेत्राधिकारभित्र पर्ने कुरामा बजेट हाल्न नलजाउने ? अनि स्रोत छैन भनेर अनुदान कटौती गर्ने ? यो अस्वीकार्य छ, यो असंवैधानिक छ ।’उनले यही विषयलाई लिएर स्थानीय सरकारका प्रमुखहरूले प्रधानमन्त्री प्रचण्डलाई भेटेको पनि स्मरण गराए । स्थानीय सरकारका प्रमुखहरूले अनुदान शतप्रतिशत नै चाहिन्छ भनेर कुरा राख्दा प्रधानमन्त्री प्रचण्डले आफूले त मन गरेको तर मन्त्रीले मानेनन् भनेको कुरा उल्लेख गर्दै थापाले नटेर्ने मन्त्रीहरू फेर्नका लागि पनि प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिए ।
‘प्रधानमन्त्रीलाई कतिपटक भन्ने हो यो,’ थापाले भने, ‘यो त संसदीय व्यवस्था हो, यसमा के हुन्छ भने नटेर्ने मन्त्री फेर्ने अनि फेर्न नसक्ने हो भने बालुवाटारबाट आफैं डेरा सर्ने, धन्यवाद ।’
यस्तै, कांग्रेसका अर्का महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईलाई पक्राउ गर्न किन ढिलाइ भएको भन्दै गृहमन्त्री रवि लामिछानेसँग प्रश्न गरेका छन् । सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछाने नै संलग्न रहेको उनले बताए । गृहमन्त्रीले जीबी राईको लोकेसन पत्ता लागिसक्यो भनेर मिडियामा बिस्कुन लगाउने काम गरेको तर पक्राउ गर्न नचाहेको शर्माको आरोप छ ।
‘गत ६ असारमा माननीय गृहमन्त्रीजीले चितवनमा पुगेर भन्नुभयो कि मलेसियाका गृहमन्त्रीसँग सम्पर्कमा छु, र जीबी राईको लोकेसन पत्ता लागिसकेको छ, पोइन्ट टु बी नोटेड भन्छ नि सभामुख महोदय, म भन्न चाहन्छु एउटा फरार अभियुक्त कहाँ छन् भने मुलुकले खोजिरहेका बेलामा अर्को मुलुकको गृहमन्त्रीले हामीले लोकेट गरिसक्यौं भन्छन्,’ शर्माले भने, ‘सामाजिक सञ्जाल चलाउन उनलाई पनि आउँछ, सामाजिक सञ्जालमा नेपालका गृहमन्त्रीसँग कुरा भएको भनेर लेख्छन्, गोपनीयता खोल्दैनन्, तर हाम्रो गृहमन्त्रीले त गोप्य सूचनाको (राजपत्रमा प्रकाशित गर्नबाहेक) मिडियामा बिस्कुन लगाउनुहुन्छ, यो कुरा संसारलाई थाहा छ कि गोरखा मिडियाका दुई जना मालिकमध्ये एक जना फरार छन्, एक जनाचाहिँ गृहमन्त्री हुनुहुन्छ, सहकारी ठगीमा फरार भएका व्यावसायिक साथीलाई सहकारी ठगीमै अनुसन्धानको दायरामा रहेका गृहमन्त्रीले गिरफ्तार गर्नुछ, त्यसैले लोकेसन पत्ता लागिसक्यो भनेर माइकबाटै फुकेर के अर्थ हुन्छ ? अभियुक्त पक्रने नयाँ शैली हो ? केटाकेटीपन हो ? या भगाउने नियत हो ?’
शर्माले मुलुकलाई जीबी राईको लोकेसन नभएर जीबी राई चाहिएको बताउँदै भने, ‘अब त्यो लोकेसनमा गेट बनाएर कार्पेट ओछ्याएर अनि दुई पक्षीय वार्ता हुने हो ? म प्रश्न गर्न चाहन्छु ।’ लोकेसन पत्ता लागिसकेपछि जीबी राई पक्राउ गर्न चार दिन किन लाग्यो भन्दै उनले प्रश्नसमेत गरे । उनले सूर्यदर्शन सहकारी प्रकरणको अनुसन्धान प्रक्रियामा सहभागी प्रहरी अधिकारीलाई सरुवा गरिएकामा आपत्ति प्रकट गरे ।
एमालेका प्रमुख सचेतक महेश बर्तौलाले मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१४ का सुकबहादुर तितुङलाई पर्सा वन्यजन्तु आरक्षणको मध्यवर्ती क्षेत्रमा यही ७ असारमा बिनाअपराध गोली प्रहार गरी हत्या गरिएको आरोप लगाउँदै सो घटनाको छानबिन गर्न माग गरे ।
सांसद प्रदीप पौडेलले संघीय संसद्का कर्मचारीले राखेका माग सम्बोधन गर्न सरकारसँग माग गरे । उनले चुरे संरक्षणको माग राख्दै लामो समयदेखि आन्दोलनमा रहेका नागरिकको माग पूरा गर्न सदन र सरकारको ध्यानाकर्षण गराए । सांसद पौडेलले चुरे संरक्षण गर्न मुलुकभर वृक्षारोपण अभियान सञ्चालन गर्नुपर्ने बताए । उनले गमलामा रूख रोपेर चुरेको संरक्षण हुन नसक्ने बताए ।
सांसद उमरावती देवीले आफ्नो निर्वाचन क्षेत्र बारा २ मा कुनै पनि बजेटको योजना नपरेको भन्दै विभागीय मन्त्रीलाई व्यंग्यात्मक रूपमा धन्यवाद दिइन् ।
सांसद किरणकुमार साहले काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन शाहले अदालतको आदेशलाई लत्याएर कवाडी व्यवसायीमाथि अत्याचार गरेको आरोप लगाएका छन् । संसद्को महिला, बालबालिका तथा सामाजिक समितिका सभापतिसमेत रहेका सांसद साहले बालेनको अत्याचारमा सरकार लम्पसार परेको टिप्पणी गरे ।
‘कवाडी व्यवसायीमाथि महानगरको अत्याचारले सीमा नाघ्यो, मेयर बालेनले अदालतको आदेशलाई पालना गरेनन्, उल्टै लत्याए, यस्तो हुँदा पनि सरकार उनीसँग लम्पसार प¥यो,’ उनले भने ।
सांसद जुलीकुमारी महतोले अहिले वर्षायामको सुरुवात भएको र मुलुकका अधिकांश ठाउँमा बाढी तथा पहिरोले मानवीय तथा भौतिक क्षति पु¥याएको उल्लेख गर्दै पीडितहरूलाई तत्काल राहतको व्यवस्था गर्न माग गरेकी छन् ।
सांसद अब्दुल खानले रुसी सेनामा भर्ती भएका ६ नेपाली युवा युक्रेनी सेनाको नियन्त्रणमा पुगेका विषयमा संसद्मार्फत सरकारको ध्यानाकर्षण गराए । रुसी सेनामा कार्यरत नेपाली स्वदेश फिर्ताका लागि पहल गर्न उनले माग गरे ।
सांसद अम्मरबहादुर थापाले क्रमागत प्रकृतिका सडक आयोजनाका लागि न्यून बजेट विनियोजन गरिएको भन्दै काम सुरु भइसकेका आयोजनाका लागि पर्याप्त बजेट विनियोजन गर्न सरकारसँग माग गरे ।
सांसद अम्बरबहादुर रायमाझीले मुलुकका विभिन्न स्थानमा भएका आगलागीपछि पीडितका लागि राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न माग गरे ।
सांसद अर्जुननरसिंह केसीले नुवाकोट दरबार पुनःनिर्माण हुन नसक्दा खण्डहर बनेको विषयमा सरकारको ध्यानाकर्षण गराए । नुवाकोट दरबार निर्माण गर्न चीन सरकारले सहयोग गर्ने विषयलाई तत्काल वार्ताद्वारा टुंगो लगाउनुपर्ने उनको माग छ ।
सांसद अशोककुमार चौधरीले कमजोर साइबर सुरक्षाका कारण बैंक खाता ह्याक गरेर पैसा लुट्ने घटना बढिरहेकामा सरकारको ध्यानाकर्षण गराए । सांसद अस्माकुमारी चौधरीले नागरिकको रोजगारको हक सुनिश्चित गरी मुलुकभित्रै रोजगार पाउने अवस्था सिर्जना गर्न बैठकमा माग गरिन् । सांसद असिम शाहले काठमाडौंस्थित घण्टाघरको घडीले समय देखाउन छोडेको विषय संसद्मा उठाए ।
सांसद डा. आरजु राणा देउवाले महिला महिनावारी भएका बेला छाउगोठमा बस्नुपर्ने अवस्था अझै कायम रहेको र त्यसरी असुरक्षित रूपमा बस्नुपर्दा बलात्कारका घटना बढिरहेका’bout सरकारको ध्यानाकर्षण गराइन् ।
सांसद ईश्वरी घर्तीले २ सय ३७ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेको विषयमा सरकारको ध्यानाकर्षण गराइन् । स्थानीय तह निमित्तका भरमा चलिरहँदा उनीहरूलाई आगामी आर्थिक वर्षको बजेट ल्याउन समस्या भएको सांसद घर्तीले बताइन् । संघीय निजामती सेवा ऐन चाँडो ल्याउन पनि उनले माग गरिन् ।
सांसद ईश्वरीदेवी न्यौपानेले मुलुकका विभिन्न स्थानमा स्वाइनफ्लु फैलिएकाले रोग नियन्त्रणको कदम चाल्न र पीडित किसानलाई क्षतिपूर्ति दिन सरकारसँग माग गरिन् । उनले संसद् सचिवालयका कर्मचारीको माग सम्बोधन गर्नुपर्ने बताइन् ।
सांसद उर्मिला माझीले अग्निपीडितको समस्यालाई राज्यले बेवास्ता गरेको विषय उठाइन् । अग्निपीडितको उपचारका लागि अस्पतालमा आवश्यक स्रोतसाधन र जनशक्ति अभाव रहेका विषयमा पनि उनले संसद्मार्फत सरकारको ध्यानाकर्षण गराइन् ।
सांसद कल्पना चौधरीले प्यूठानको स्वर्गद्वारी मन्दिरको जग्गाको विवाद सुल्झाउनुपर्ने र त्यहाँ बसोबास गरिरहेका नागरिकलाई जग्गाधनी पुर्जा उपलब्ध गराउन माग गरिन् । सांसद कुसुमदेवी थापाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट विनियोजनमा कुशलता नदेखिएको र जथाभावी बजेट बाँडिएको बताइन् । रुकुमपूर्वका लागि पर्याप्त बजेट विनियोजन नभएको उनको आरोप छ ।
सांसद गणेश पराजुलीले नेपालभित्र विद्युत् उत्पादन पर्याप्त भए पनि अझै सबै स्थानमा विद्युतीयकरण हुन नसकेको र विभिन्न औद्योगिक क्षेत्रमा अहिले पनि विद्युत् कटौती हुने गरेको विषय उठाए । सांसद गोमा लाभ सापकोटाले विभिन्न खाद्यवस्तुको आयातमा सरकारले लगाएको अग्रीम आयकरका कारण बजारमा कालोबजारी र मूल्यवृद्धि देखिन थालेको विषय संसद्मा उठाइन् ।
सांसद चन्दा कार्कीले स्टाफ नर्सले भोगिरहेका समस्या संसद्मा उठाउँदै समाधानका लागि सरकारको ध्यानाकर्षण गराइन् । उनले स्वास्थ्य संस्थामा कार्यरत नर्सले पर्याप्त सेवासुविधा नपाएको, नर्सको वृत्तिविकास हुन नसकेको, मुलुकभित्र अवसर नपाउँदा बिदेसिनुपरेको लगायत समस्या उठाइन् ।
सांसद चन्द्रबहादुर विश्वकर्माले संविधानको मर्म र भावनाअनुसार विभिन्न संस्थागत संरचना निर्माण हुन नसकेको बताए । कर्णाली प्रदेशमा तालिम केन्द्र स्थापना हुन नसकेको उनले बताए । सांसद चित्रबहादुर केसीले सरकारमा सहभागी मन्त्रीहरू संसद्प्रति जवाफदेही हुन नसकेको र केही मन्त्रीले बजेट विनियोजनमा मनोमानी गरेको आरोप लगाए ।
सांसद छिरिङ डम्डुल लामाले चीनको हिल्सा नाका जोड्ने सडक निर्माण गर्न पर्याप्त बजेट विनियोजन हुन नसकेको बताए ।
(Visited 28 times, 28 visits today)