भैरहवा विमानस्थल : आए जहाज, आएनन् आउनैपर्ने कार्यालय 

भैरहवा विमानस्थल : आए जहाज, आएनन् आउनैपर्ने कार्यालय 


११ मंसिर, बुटवल । २ जेठ २०७९ मा उद्घाटन भए पनि अन्तर्राष्ट्रिय उडान नियमित र पर्याप्त नहुँदा साढे दुई वर्षसम्म सुनसान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा केही साता चहलपहल बढेको छ ।

अहिले भैरहवाका लागि कतार एयरवेज र फ्लाई दुबईले दैनिक एक, नेपाल वायुसेवा निगमले सातामा पाँच, जजिरा एयरवेजले सातामा तीन र थाई एयर एसियाले सातामा दुई उडान गरी सातामा २४ उडान गरिरहेका छन् ।

थाई एयर एसिया र जजिराले आफ्नो देशबाट भैरहवा सिधा उडान गरेका छन् । अन्य वायुसेवा कम्पनीले भैरहवालाई ट्रान्जिट बनाएर उडान गरेका छन् ।

पाँच अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका उडान सुरु भएपछि भैरहवा र सिंगो रुपन्देहीका व्यवसायी र नागरिकमा व्यवसायमा सुधार हुने र बजार गुल्जार हुने आशा पलाएको छ । उद्घाटनको लामो समयसम्म नियमित उडान नहुँदा रोकिएका र पूरा हुन नसकेका विमानस्थल लक्षित व्यवसायमा फेरि लगानी थपेर सञ्चालनमा ल्याउने उत्साह पनि जागेको छ ।

तर, आशाभन्दा धेरै शंका छन् । यहाँका व्यवसायीको बुझाइ काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मत सुरु भएकाले त्यो पूरा हुँदासम्म भैरहवा विमानस्थलबाट उडान हुने र त्यसपछि यसअघि जस्तै अन्तर्राष्ट्रिय उडान बन्द हुने हो कि भन्ने डर छ ।

एकातिर आवश्यक सरकारी कार्यालय स्थापना नहुनु र अर्कातिर पुस–माघमा बाक्लो हुस्सु लागेर ‘भिजिबिलिटी’ नपुग्दा कतै लामो समय अन्तर्राष्ट्रिय उडान प्रभावित हुने त होइन भन्ने शंका र चिन्ता पनि छ ।

जहाजलाई उडान गर्न १ हजार ८ सय मिटर भिजिबिलिटी चाहिन्छ । जाडो महिनामा हुस्सु लाग्दा भिजिबिलिटी कम हुन्छ । १ हजारभन्दा पनि कम भिजिबिलिटीमा पनि उडान गर्न ‘इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम’ (आईएलएस) विमानस्थलमा जडान छ । तर, ‘एयर स्पेस इस्यु’ का कारण भारतीय पक्षले नमान्दा त्यो सञ्चालन हुन सकेको छैन ।

भैरहवा विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले भने भिजिबिलिटी समस्या समाधान गर्न आईएलएसको विकल्पमा ‘आरएनपी एआर’ विधि लागु गर्ने तयारी भएको बताए ।

अन्तर्राष्ट्रिय विमानस्थल लक्षित गरी भैरहवा र आसपासमा निजी क्षेत्रले होटल, रेस्टुरेन्ट लगायत पर्यटन पूर्वाधारमा करिब १ खर्ब रुपैयाँ लगानी गरेका कारण व्यवसायीले प्रतिफल पाउन दिगो सञ्चालन अपेक्षा गरेका छन् ।

व्यवसायीले श्रम स्वीकृति, मेडिकल जाँच, भिसा सेन्टर, कार्गो, विदेश पढ्न जाने विद्यार्थीका लागि ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी ) लेटर, ठूला ट्राभल एजेन्सीका कार्यालय स्थापना र बौद्धमार्गी बाहुल्य देशबाट सिधा उडान पहल गर्न सरकारसँग माग गरेका छन् ।

भैरहवा विमानस्थल कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि पनि नजिक र पायक पर्ने भएकाले दुवै प्रदेशबाट भैरहवामा हुने उडान थप गर्न पनि व्यवसायीले माग गरेका छन् ।

श्रम स्वीकृति नवीकरण अनलाइनबाट हुने भए पनि पहिलो पटकको श्रम स्वीकृति, मेडिकल जाँच, भिसा, कार्गोजस्ता सेवा भैरहवामा नहुँदा श्रमिक र व्यवसायीलाई काठमाडौं नै धाउनुपर्ने बाध्यता छ ।

यस्तै अन्तर्राष्ट्रिय उडानका लागि हवाई टिकट बिक्रीमा काठमाडौंकै ट्राभल एजेन्सीका प्रभुत्व र सिन्डिकेट जस्ता कारण रुपन्देहीका व्यवसायीमा अन्तर्राष्ट्रिय उडान दिगो हुनेमा आशाभन्दा शंका बढी भएको हो ।

सरकारी कार्यालय छिटो स्थापना गर्नुपर्ने

सिद्धार्थनगर उद्योग वाणिज्य संघ अध्यक्ष ठाकुरकुमार श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लक्षित गरेर बनाइएका जस्तै सबै सरकारी कार्यालय भैरहवामा पनि पूर्ण क्षमतामा स्थापना गर्नुपर्ने बताए ।

भैरहवा विमानस्थल : आए जहाज, आएनन् आउनैपर्ने कार्यालय 
ठाकुरकुमार श्रेष्ठ ।

भैरहवामा श्रम कार्यालय, म्यानपावर कम्पनीका कार्यालय, विदेश जानेको स्वास्थ्य परीक्षण, अभिमुखीकरण र भिसा सेन्टरका शाखा भैरहवामा स्थापना नभएका कारण यात्रु आकर्षित हुन नसकेको उनको भनाइ छ ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले साढे दुई वर्षअघि विमानस्थल उद्घाटन गरेलगत्तै भैरहवामा श्रम स्वीकृति सहज तुल्याउन कार्यालय स्थापना गरिएको थियो । उक्त कार्यालय नाम मात्रको भएको श्रेष्ठले बताए ।

‘पहिलो पटक श्रम स्वीकृति लिन, मेडिकल जाँच र विद्यार्थीलाई चाहिने एनओसी लेटरका लागि अहिले पनि काठमाडौं धाउनुपर्छ,’ उनले भने, ‘सबै काम काठमाडौंबाट गर्नुपर्ने भएपछि यात्रुहरू उतैबाटै टिकट काट्छन्, यहाँ किन आउँछन् ?’

सरकारले भैरहवामा आवश्यक सरकारी कार्यालय तत्काल स्थापना नगर्ने हो भने त्रिभुवन विमानस्थल मर्मतपछि यहाँबाट अहिले भइरहेका उडान उतै डाइभर्ट हुने शंकाले व्यवसायी ढुक्क हुन नसकेको उनले प्रष्ट पारे । विमानस्थलमा बनेको कार्गो सेवा तत्काल सञ्चालनमा ल्याउन पनि उनले माग गरे ।

बौद्धमार्गी बाहुल्य देशबाट सिधा उडान हुनुपर्छ

ट्राभल व्यवसायी सागर अधिकारीले विमानस्थल दिगो सञ्चालन गर्न बौद्धमार्गी बाहुल्य देशबाट भैरहवामा सिधा उडान हुनुपर्ने बताए ।

भैरहवा विमानस्थल : आए जहाज, आएनन् आउनैपर्ने कार्यालय 
सागर अधिकारी ।

अहिले भइरहेका उडानमध्ये थाई एयर एसिया र जजिराले मात्र आफ्नो देशबाट भैरहवामा सिधा उडान गरेको र अरूले ट्रान्जिटमात्र बनाएकाले पर्याप्त नभएको उनको भनाइ छ ।

विमानस्थल दिगो सञ्चालन गर्न लुम्बिनीमा बौद्धमार्गी बाहुल्य देश चीन, भियतनाम, म्यानमार, श्रीलंका, भुटान, जापान लगायतबाट सरकारले सिधा उडानको उच्चस्तरीय पहल गर्नुपर्ने उनको सुझाव छ ।

अहिले विदेशबाट नेपाल आउनेमध्ये अधिकांश वैदेशिक रोजगारीबाट घर फर्किने कामदार मात्र रहेकाले उनीहरूबाट मात्रै व्यवसायमा सुधार नआउने अधिकारीको ठहर छ ।

‘बौद्धमार्गी बाहुल्य देशबाट सिधा उडानको पहल अहिलेबाट गर्नुपर्छ,’ अधिकारीले भने, ‘यो हुन सके लुम्बिनीमा बुद्धिस्ट पर्यटक आकर्षित हुन्छन्, तब मात्रै विमानस्थल र व्यवसाय दुवै गुल्जार हुन सक्छन्, अहिलेका उडानबाट उत्साहित भइहाल्ने अवस्था छैन ।’

हरियो प्लेटका सवारीसाधन पर्यटक सुविधाका लागि हो । त्यसैले अरू निजी सवारी जस्तो बढी कर लगाउन नहुने र ट्राभल व्यवसायीलाई लगाइएको दोहोरो तेहोरो कर हटाउनुपर्ने उनको माग छ ।

टिकट बिक्रीमा काठमाडौंको एकाधिकार हट्नुपर्छ

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)–लुम्बिनी अध्यक्ष चन्द्र थापाले एयरलाइन्सको टिकट बिक्रीमा काठमाडौंका ट्राभल एजेन्सीहरूको मिलेमतो र एकाधिकार भएका कारण भैरहवाले  पर्याप्त यात्रु दिन नसकेको बताए ।

भैरहवा विमानस्थल : आए जहाज, आएनन् आउनैपर्ने कार्यालय 
चन्द्र थापा ।

भैरहवामा ल्यान्डिङ, पार्किङ शुल्क नभएकाले टिकट सस्तो हुनुपर्नेमा सेटिङमा काठमाडौंभन्दा भैरहवामा महँगो पर्ने बनाइएको उनको दाबी छ ।

‘काठमाडौं केन्द्रित ठूला ट्राभल एजेन्सीले अन्तर्राष्ट्रिय हवाई टिकटमा कार्टेलिङ गरेकाले ४–६ प्रतिशत मात्र टिकट हिस्सा भैरहवाको छ, उनीहरूले एयरलाइन्ससँग सेटिङमा टिकट बेच्ने गरेका छन्,’ थापाले गुनासो गरे, ‘पहिले सजिलै टिकट काट्दै आएकोमा अहिले विमानस्थल चलेपछि टिकट काट्न नै पाइएको छैन, उनीहरूले बल्क गरेर एकमुष्ट टिकट बेचेको देखाएर भैरहवाबाट टिकट काट्न खोज्नेलाई महँगो पर्ने बनाएका छन् ।’

नेपाल एयरलाइन्सको टिकट बुकिङ समेत नियन्त्रित रहेकाले टिकट बुकिङ र बिक्रीमा भइरहेको बदमासीको सूक्ष्म अनुगमन गर्न उनले माग गरेका छन् । टिकटमा कार्टेलिङ र कालोबजारी रोक्न मुख्यमन्त्रीलाई पटक–पटक भने पनि सुनुवाइ नभएको थापाले गुनासो गरे ।

दुईतर्फी टिकट बेच्न पाइएन

पर्यटन व्यवसायी सञ्जय बजिमय भैरहवाबाट उडान गर्ने सबै एयरलाइन्सको टिकट काउन्टर र सम्पर्क कार्यालय विमानस्थलमा हुनुपर्ने बताउँछन् ।

भैरहवा विमानस्थल : आए जहाज, आएनन् आउनैपर्ने कार्यालय 
सञ्जय बजिमय ।

अहिले नेपाल एयरलाइन्स र जजिरा एयरवेजको टिकट मात्रै भैरहवाबाट सहज काट्न पाइएको तर अरूले टिकट बुकिङ पोर्टल नदिएको उनले बताए ।

‘टिकट बुकिङ अहिले काठमाडौं नियन्त्रित छ, भैरहवाबाट उडान गर्ने सबै एयरलाइन्सको दुईतर्फी टिकट काट्न पाइएको छैन,’ बजिमयले भने, ‘अहिले जजिराको मात्र जाने र आउने टिकट बेच्न पाइएको छ, केहीको जानेमात्र र केहीको दुईतर्फी नै बेच्न पाइएको छैन ।’

टिकट बिक्रीमा भइरहेको कार्टेलिङ अहिलेकै अवस्थामा रहे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल दिगोरूपमा सञ्चालन हुनेमा शंकैशंका रहेको बजिमयले बताए ।

बेलहिया नाकाको अध्यागमन कार्यालय पनि आधुनिक प्रविधिमैत्री र पर्याप्त जनशक्तियुक्त नहुँदा पर्यटकले सास्ती पाएकाले सुधार गर्न उनले माग गरे ।

सडक सञ्जाल महत्त्वपूर्ण

होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारी विमानस्थलको दिगो सञ्चालनमा सडक सञ्जाल पनि महत्त्वपूर्ण हुने बताउँछन् । विमानस्थलसम्म पुग्न सहज सडक यातायात सुविधा हुनुपर्ने उनले सुझाए ।

भैरहवा विमानस्थल : आए जहाज, आएनन् आउनैपर्ने कार्यालय 
लेखनाथ भण्डारी ।

‘सडक सञ्जालको सहज पहुँच हुनुपर्छ, कम्तीमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका मान्छे भैरहवा आउँदा दुई–तीन ठाउँमा गाडी परिवर्तन गर्न नपरोस्, यसका लागि निजी क्षेत्रले पनि स्तरीय बसमार्फत सिधा सेवा दिनुपर्छ,’ भण्डारीले भने, ‘रुपन्देहीका होेटल तथा रेस्टुरेन्ट व्यवसायीले भैरहवा विमानस्थलबाट यात्रा गर्ने यात्रुलाई टिकट देखाएर खाना र कोठामा कम्तीमा २५ प्रतिशत छुट दिएर आकर्षित गर्नुपर्छ ।’

गन्तव्य प्रवर्द्धनमा जोड दिनुपर्छ

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक तिवारीका अनुसार विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि खासै समस्या नभएको बताउँछन् ।

भैरहवा विमानस्थल : आए जहाज, आएनन् आउनैपर्ने कार्यालय 
प्रतापबाबु तिवारी ।

विमानस्थलका लागि आवश्यक श्रम, मेडिकल, भिसा लगायत  धेरैजसो काम यहीँबाट हुने तिवारीले बताए ।

‘एयर रुटमा समस्या छैन, इन्ट्री रुट अधिकांश सिमरा प्वाइन्टबाट छ, निस्किने बिन्दु धेरै छन्, अझै सहजताका लागि भारतसँग महेन्द्रनगर वा नेपालगञ्जको इन्ट्री प्वाइन्ट मागेका छौं, त्यसो भए सहज सिधा हुन्थ्यो भन्नेमात्र हो,’ तिवारीले भने, ‘तर, उडान प्रभावित हुने गरी रुटको समस्या छैन, लो भिजिबिलिटीमा पनि ल्यान्ड गर्न सहज बनाउन सक्ने गरी भूउपग्रह प्रणाली रुट बनेको छ, परीक्षण गर्न बाँकी छ । कतार एयरवेजलाई अनुरोध गरेका छौं, प्रक्रिया केही लामो र जटिल  हुन्छ हतार गर्नु हुँदैन ।’

तिवारीले अब निजी क्षेत्रले भैरहवा गन्तव्य प्रवर्द्धन गर्नु महत्त्वपूर्ण भएको सुझाए । ‘विमानस्थल र सम्पदा प्रचार गरौं, यात्रु पर्याप्त बनाऔं, पर्यटक बसाइ लम्ब्याऔं,’ तिवारीले भने, ‘विमानस्थल दिगो सञ्चालनका लागि निजी क्षेत्रले पनि योगदान गर्नुपर्छ ।’

यात्रुलाई होटलमा आकर्षक छुट दिएर, एयरलाइन्सलाई छुट दिन लगाएर पर्याप्त संख्यामा यात्रु तयार गर्न सके विमानस्थल सञ्चालनमा समस्या नहुने तिवारीको भनाइ छ ।



Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School