भैंसेपाटी हनीट्र्याप प्रकरण : एसपी थापाद्वारा मुख्य योजनाकारसँग भेटेको स्वीकार, हनीट्रयाप अस्वीकार


१० मंसिर, काठमाडौं । युवती प्रयोग गरेर एक व्यवसायीलाई बलात्कार मुद्दामा फसाउन खोजेको आरोपमा प्रहरी प्रभाग भैंसेपाटीकी तत्कालीन इन्सपेक्टर बिनु कुमारी शाहीसहित ६ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

‘भैंसेपाटी हनीट्र्याप प्रकरण’का रुपमा चर्चित यो घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को प्रतिवेदनका आधारमा आइतबार जिल्ला अदालत ललितपुरमा मुद्दा दायर भएको हो । यो घटनामा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले आपराधिक लाभ र संगठित अपराधको कसुरमा ६ जनालाई प्रतिवादी बनाएको छ ।

मुद्दामा भैंसेपाटी प्रहरी प्रभागकी तत्कालीन इन्सपेक्टर बिनु शाही र दर्शन पोखरेललाई फरार प्रतिवादी बनाइएको छ । भैंसेपाटीकै सहायक हवल्दार महेन्द्र हमाल, सुनसरीको इटहरीका सुष्मा विक, ताज स्लाम र भीमादेवी थापा पक्राउ परेका छन् । ताज स्लाम घटनाको मुख्य योजनाकार रहेको प्रहरीको भनाइ छ ।

यसअघि यो घटनाको अनुसन्धान जिल्ला प्रहरी परिसर ललितपुरले गरेको थियो । अनुसन्धानका क्रममा एसपी कमल थापा समेत मुछिएको पाइएपछि थप अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई दिइएको थियो ।

तर, सीआईबीले भने एसपीमाथि अनुसन्धान जारी रहेको भन्दै उनलाई मुद्दा चलाउन सिफारिस गरेन । सीआईबीका प्रवक्ता होविन्द्र बोगटी भन्छन्, ‘उनी (एसपी कमल थापा) माथि अनुसन्धान जारी छ । सकिएपछि के–कुन कसुर आकर्षित हुन्छ, सोही अनुसार गर्छौं ।’

एसपी थापा र मुख्य योजनाकारबीच भएको थियो आधा घण्टा भेट

घटनामा मुछिएको आरोप लागेका एसपी थापाले भने घटनाका मुख्य योजनाकारसँग भेटेको स्वीकार गरेका छन् ।

एसपी थापा र ताजले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडिको एक रेष्टुरेन्टमा भेटेको सीसीटीभी फुटेज उनलाई देखाएर सीआईबीले बयान लिएको थियो । त्यसपछि एसपी थापाले ताजलाई भेटेको स्वीकार गरेका हुन् । उनीहरुबीच ७ असोजको साँझ साढे ६ बजेदेखि करिब आधा घण्टा भेटघाट भएको फुटेज सीआईबीले प्राप्त गरेको थियो ।

भैंसेपाटीमा उजुरी पर्नुअघि फोन सम्पर्क हुनु र काम भइसकेपछि पनि रेष्टुरेन्टमा आधा घण्टासम्म कुराकानी हुन शंकास्पद देखिएको भन्दै अनुसन्धान अघि बढाइएको थियो । घटनाका मुख्य योजनाकार ताजसँग भेटेको विषय एसपी थापाले समेत स्वीकार गरेका छन् ।

यस्तो छ एसपी थापाले दिएको बयान–

मुख्य योजनाकार भनिएका ताज भनिने तजम्मुल इस्लाम र प्रहरी निरीक्षक बिनु कुमारी शाहीसँगमात्र मेरो चिनजान छ अन्यसँग छैन । ताज इस्लाम भन्ने व्यक्ति म जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत रहँदा राष्ट्रिय अनुसन्धान कार्यालयमा सूचकको रुपमा काम गर्थे । सो क्रममा सुराकी दिने भएकाले चिनजान भएको हो ।

ऊसँगको सम्बन्धमा धेरै निकटता र शत्रुता दुवै छैन । इन्सपेक्टर बिनु र म जिप्रका कञ्चनपुरमा कार्यरत रहँदा चिनेको हुँ । मैले चिनेका व्यक्तिहरुले नेपालभर नै केही समस्या पर्‍यो भने भन्ने गर्छन् । त्यस्तो बेलामा मैले उपयुक्त सल्लाह दिने गरेको छु ।

प्रतिवादी सुस्मा विक र पीडित व्यक्तिको समस्याका बारेमा मैले प्रहरी प्रभाग भैंसेपाटी जाऊ भनेको छैन । तर महिला बालबालिका सम्बन्धी समस्या आउँदा सम्बन्धित जिल्ला/इलाकाहरु र काठमाडौंमा भए प्रहरी वृत्त कालिमाटी वा ललितपुरमा जानू भन्ने सल्लाह म सबैलाई दिने गर्छु ।

मैले उल्लिखित मितिमा ताजले फोन गर्दा कुनै प्रहरी कार्यालयमा तोकेर जानू भनेको छैन । सो विषय के थियो, वारदात कहाँ थियो, को–कोसँग सम्बन्धित विषय थियो र कानूनी उपचारको विषय के थियो भनी मसिनो गरेर सोधपुछ वा छलफल नभई मैले अन्य कुरा भन्न सक्ने अवस्था पनि हुँदैन ।

कसैले कुनै समस्या लिएर आए पनि सम्बन्धित कार्यालय र निकायमा पुगिसकेपछि त्यसभित्रको अन्तरनिहीत कुराहरुलाई पुनः मलाई सोधिएको भन्ने विषय आफैंमा बेअर्थको छ । आपसी सहमतीको विषय छलफलमा बसेको व्यक्तिहरुलाई मात्रै थाहा हुने भएकाले कुन प्रसंगमा पैसाको कुरा आएको हो त्यो मलाई थाहा भएन ।

मैले त्यस्तो कुरामा राय दिनुको पनि कुनै अर्थ हुँदैन । मेरो स्मरणमा यस्तो छैन । कुनै प्रयोजनका लागि मैले ताजलाई कुनैसँग चिनजान गराएको छैन । भैंसेपाटी बस्ने गणेश उप्रेतीसँग उहाँहरुको के सम्बन्ध हो ? के–के व्यवहार भएको थियो मलाई थाहा छैन ।

विदुर शर्मा, सुदिप कार्की, दर्शन पोख्रेल नामक व्यक्तिहरु कसैसँग मेरो चिनजान, नाता, दुश्मनी र मित्रता केही पनि छैन । गणेश उप्रेतीलाई चिनजान गराएको कुरा निज गणेशलाई सोध्न सकिन्छ ।

म अख्तियारको कार्यालयमा थिएँ । सुनसरीको एक स्थानीय तहको बाटो निर्माणको अनियमितताको उजुरी कसरी गर्ने भन्ने उसको प्रश्न थियो । यही विषयमा पनि कुरा भएको हुन सक्दछ ।

इन्सपेक्टर बिनुसँग दुवै नम्बरमा मेरो नियमित सम्पर्क हुने गर्थ्यो । कञ्चनपुरमा सँगै रहेकाले उनको परिवारसँग चिनजान र सम्पर्क समेत हुन्थ्यो ।

म अख्तियारमा कार्यरत रहँदा मेरो बसाइँ पेप्सीकोलातिर भएको हुँदा कार्यालय ६ बजे छुटेपछि घर पुग्नु अगाडि बिचको भाग एयरपोर्ट नजिक पर्दछ । त्यसैले म छोटो समय कसैलाई भेट्न र कफी खान त्यता रहने गर्थें । सो फुटेजमा भएको सेतो सर्ट, सेतो पाइन्ट लगाएको व्यक्ति म र अर्को कालो पाइन्ट र सेतो सर्ट लगाएको व्यक्ति ताज/ताजमुल भन्ने तजम्मुल इस्लाम हो । उक्त होटल (चिकेन स्टेसन) मा यसअघि र पछि म जाने गर्थें ।

मलाई प्रविधिको अलिअलि जानकारी छ । त्यसैले कुनै गलत कार्य गर्नुपर्ने भएको भए सीसीक्यामेराको सामुन्ने कसैसँग भेटघाट गर्ने थिइनँ । उक्त दिन ताजसँगको भेट एउटा कफी खाउन्जेल मात्र भएको हो । त्यो समय कुनै पनि मुद्दा सम्बन्धी कुरा भएको थिएन । सामान्य हालखबरका कुराहरु भएको थियो ।

त्यो भेटेको समय उसको फोनहरु आइरहने भएकोले कुनै विषयमा सिलसिलेवार गफ भएको थिएन । त्यो दिन हनीट्र्याप सम्बन्धी कुनै कुरा भएको छैन ।

पीडित भनिएका व्यक्ति र सुस्मा विकको उजुरी सम्बन्धमा के–कस्तो विषय थियो र के–कसरी सहमती भयो (मिल्यो) भन्ने मैले जानकारी पनि पाइनँ ।

एसपी थापाले हनी ट्रयापबारे अस्वीकार गर्दै आफूले प्रहरी प्रभाग भैंसेपाटी जान समेत नभएको दाबी गरेका छन् । तर घटनाका मुख्य योजनाकार ताजले भने एसपी थापाको भनाइअनुसार नै आफूहरु भैंसेपाटी प्रभाग गएर उजुरी दिएको बताएका छन् ।

उनका अनुसार सुरुमा सुस्मा विक र व्यवसायी बीचको सम्बन्धका बारेमा आफूलाई दर्शन पोखरेलले बताएको ताजको भनाइ छ । ‘दर्शनले बताएको सबै घटना एसपी थापालाई ह्वाट्स एपमा फोन गरी बताएको थिएँ,’ ताजले भनेका छन्, ‘उहाँले त्यो मान्छे कुन एरियामा बस्छ भनी सोध्नु भयो । एकान्तकुना एरियामा बस्छ भनेपछि भैंसेपाटी प्रभाग जाऊ, मेरो मान्छे छ, त्यहाँ म भन्दिन्छु भनेपछि हामी भैंसेपाटी गएका हौं ।’

के थियो भैंसेपाटी हनीट्र्याप प्रकरण ?

सुस्मा विक मोरङको एक होटलमा काम गर्थिन् । त्यहीक्रममा त्यहाँका एक व्यवसायीसँग उनको चिनजान भएको थियो । सुस्मा र ती व्यवसायीबीचको सम्बन्ध थाहा पाएपछि ताज स्लामको समूहले तिनै सुस्मालाई प्रयोग गरेर व्यवसायीसँग रकम असुलेको थियो ।

त्यसका लागि उनीहरूले आफू अनकूल ठाउँको खोजी गरेका थिए । त्यसपछि उनीहरू प्रहरी प्रभाग भैंसेपाटीकी इन्सपेक्टर बिनु शाहीसम्म पुगेको प्रहरीको निष्कर्ष छ । भैंसेपाटीकी इन्सपेक्टर शाहीम्म पुग्ने वातावरण भने एसपी थापाले मिलाइदिएको आरोप छ । यद्यपि यस विषयमा अझै पनि अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

हनी ट्रयापमा फसाउने योजना अनुसार सुनसरीबाट ताज र दर्शन हवाईजहाज चढेर तथा सुष्मा र भीमा गाडी चढेर काठमाडौं आएका थिए । र, ७ असोजमा शान्ति सुरक्षामा असर पारेको भन्दै ती व्यवसायीविरुद्ध प्रहरी प्रभाग भैंसेपाटीमा निवेदन दिएका थिए । त्यसपछि व्यवसायीलाई ब्ल्याकमेलिङ गर्दै सुरु भएको थियो पैसा असुल्ने खेल ।

शान्ति सुरक्षाको निवेदन जिल्ला प्रशासन कार्यालयमार्फत प्रहरीकोमा आउनुपर्नेमा सुरुमै प्रहरीमा दर्ता गराइएको थियो । अर्कोतर्फ शान्ति सुरक्षाको निवेदन भनिए पनि आरोपित भनिएका व्यवसायीसँग शान्ति सुरक्षाका विषयमा नभई बलात्कारको विषयमा छलफल गराएर रकम असुलिएको खुलेको थियो ।

घटनाबारे छानबिन गर्न ललितपुर प्रहरी परिसरले डीएसपी नरहरि अधिकारीको नेतृत्वमा समिति गठन गरेको थियो । उक्त समितिले हनी ट्र्याप प्रकरणका मुख्य योजनाकार ताज स्लामको मोबाइल र १० लाख रुपैयाँको चेक समेत गायब बनाइएको निष्कर्ष निकालेको थियो ।

ती व्यवसायीले नगद २० लाख रुपैयाँ भीमादेवीको खाताा जम्मा गरेका थिए भने १० लाखको चेक दिएका थियो । सबै काम इन्सपेक्टर बिनुको रोहबरमा भएको अनुसन्धानबाट खुलेपछि उनलाई पनि प्रतिवादी बनाइएको हो ।

सहायक हवलदार हमालमाथि युवतीको प्रयोग गरेर व्यवसायीबाट असुल गरिएको रकम दुई पटक आफैंले बैंकमा जम्मा गर्न लगाएको आरोप छ ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School