भारत हुँदै बिनाभिसा नेपाल छिर्न खोज्ने अमेरिकी नागरिक सुनौलीमा पक्राउ



प्रकाशित मिति : ३१ असार २०८३, बुधबार

text

फोटो: ग्लोबल रेसिडेन्स इन्डेक्स

अवैध रूपमा नेपाल प्रवेश गर्न खोज्ने एक अमेरिकी नागरिकलाई भारतीय सुरक्षा बलले नेपाल-भारत सीमावर्ती सहरबाट पक्राउ गरेको छ। भारतको उत्तर प्रदेशस्थित महाराजगञ्ज जिल्लाको सुनौली नाकाबाट ती अमेरिकी नागरिकलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा क्यालिफोर्नियाका ३६ वर्षीय जोर्डन ब्राउन रहेका छन्। सीमा सुरक्षा बल (एसएसबी) ले शनिबार ब्राउनलाई बिना कुनै वैध कागजपत्र नेपालतर्फ आउँदै गर्दा नियन्त्रणमा लिएको थियो।

प्रहरी अनुसन्धानका अनुसार ब्राउन अवैध रूपमा श्रीलंका हुँदै भारत प्रवेश गरेका थिए र सन् २०२५ नोभेम्बरदेखि भारतको पर्यटकीय राज्य गोवामा बस्दै आएका थिए। एएसपी सिद्धार्थले सार्वजनिक गरेको भिडियो बयान अनुसार ब्राउन सुरुमा पर्यटक भिसामा थाइल्याण्ड पुगेका थिए, जहाँ उनले आफ्नो राहदानी हराएको दाबी गरेका थिए।

त्यसपछि उनी समुद्री मार्ग हुँदै श्रीलंका पुगे र त्यहाँबाट फेरि समुद्री मार्ग प्रयोग गर्दै २ नोभेम्बर २०२५ मा भारत प्रवेश गरे। केही समय गोवामा बिताएपछि उनी स्थलमार्ग हुँदै नेपाल छिर्ने प्रयासमा थिए। “उनीसँग नेपाल प्रवेश गर्नका लागि कुनै पनि वैध यात्रा दस्तावेज वा परिचय पत्र थिएन,” प्रहरी अधिकारीले बताए।

प्रहरीका अनुसार ब्राउनले सुरुमा आफू अमेरिकी जलसेना यूएस नेभीमा ६ वर्ष काम गरेको र दुई वर्षअघि मात्र जागिर छाडेको दाबी गरेका थिए। तर, पछि उनले यो कुरा झूटो भएको स्वीकारेका छन्।

ब्राउनले बयानका क्रममा कुरा फेरिरहे पनि अहिलेसम्म उनको कुनै शंकास्पद वा आपराधिक संगठनसँगको आबद्धता भने पुष्टि नभएको प्रहरीले जनाएको छ। हाल उनीविरुद्ध राहदानी ऐन र विदेशी नागरिक ऐन अन्तर्गत जालसाजी र अवैध घुसपैठको मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ।

भारतमा अमेरिकी नागरिक अवैध गतिविधिमा पक्राउ परेको यो पहिलो घटना भने होइन। यसअघि गत मार्च महिनामा म्यानमार सीमा नजिकैबाट म्याथ्यू भ्यानडाइक नामका अर्का अमेरिकी नागरिक ६ जना युक्रेनी लडाकु भाडाका सिपाही सहित पक्राउ परेका थिए। भारतको राष्ट्रिय अनुसन्धान एजेन्सीको नियन्त्रणमा रहेका भ्यानडाइक हाल दिल्लीको तिहार जेलमा छन्।





Source link

Leave a Comment