अमेरिकी टेलिभिजन नेटवर्क न्यूजम्याक्सले मानहानिको मुद्दा मिलाउन ६७ मिलियन डलर तिर्ने



प्रकाशित मिति : भाद्र २, २०८२ मंगलबार


अमेरिकी टेलिभिजन नेटवर्क न्यूजम्याक्सले मानहानिको मुद्दा मिलाउन ६७ मिलियन डलर तिर्न सहमति जनाएको छ।

सन् २०२० को अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पविरुद्ध धाँधली भएको भन्ने झूटा दाबी न्यूजम्याक्सले प्रसारण गरेको आरोप मतदान मेसिन निर्माण कम्पनीले लगाएको थियो।

डेनभरस्थित कम्पनी डोमिनियनले २०२१ मा मुद्दा दायर गरेको थियो। कम्पनीले न्यूजम्याक्सले “झूटा आरोपहरू” प्रसारण गरी ठूलो आर्थिक क्षति पुर्‍याएको दाबी गरेको थियो।

न्यूजम्याक्सले सम्झौता भएको घोषणा गरे पनि आफ्नो समाचार सामग्री “न्यायपूर्ण र सन्तुलित” रहेको बताएको छ।

डोमिनियनले करिब १.६ बिलियन पाउन्ड क्षतिपूर्ति दाबी गरेको थियो। कम्पनीले सन् २०२० को चुनावपछि अन्य मिडिया संस्थाविरुद्ध पनि यस्तै मुद्दा दायर गरेको छ।

डेलावेयर सुपीरियर कोर्टका न्यायाधीश एरिक डेभिसले यस मुद्दामा न्यूजम्याक्सले डोमिनियनको मानहानि गरेको ठहर गरिसकेका थिए।

तर, न्यूजम्याक्सले जानाबुझी गलत नियतले यस्तो गरेको हो वा होइन भन्ने कुरा र क्षतिपूर्ति रकम तोक्ने जिम्मा जुरीलाई छाडिएको थियो। उक्त मुद्दाको सुनुवाइ अक्टोबरमा सुरु हुने तय भएको थियो।

न्यूजम्याक्सले भने आफूले मुद्दा मिलाउने निर्णय गर्नुको कारण “न्यायिक प्रक्रिया निष्पक्ष नहुने” विश्वास रहेको जनाएको छ।

अमेरिकी टेलिभिजन नेटवर्क न्यूजम्याक्सले मानहानिको मुद्दा मिलाउन ६७ मिलियन डलर तिर्ने

कम्पनीले अदालतले लगातार विपक्षी पक्षलाई फाइदा हुने गरी निर्णय गरेको र त्यसले आफूलाई निष्पक्ष सुनुवाइ नहुने ठान्न बाध्य बनाएको दाबी गरेको छ।

यसअघि न्यूजम्याक्सले अर्को मतदान मेसिन कम्पनी स्मार्टम्याटिकसँग पनि ४० मिलियन डलरमा मानहानि मुद्दा मिलाएको थियो।

त्यस्तै, फक्स न्युजले पनि सन् २०२३ मा डोमिनियनसँग ७८७.५ मिलियन डलर तिर्ने गरी सम्झौता गरेको थियो।

सन् २०२० को चुनावपछि “ट्रम्पको मत हराइयो” भन्नेदेखि लिएर कम्पनीमाथि राजनीतिक प्रतिद्वन्द्वीहरूले प्रभाव पारेको जस्ता झूटा आरोपहरू व्यापक रूपमा फैलिएका थिए।

न्यूजम्याक्सले डोमिनियनलाई दिने रकम तीन किस्तामा तिर्ने बताएको छ। पहिलो २७ मिलियन डलर शुक्रबार भुक्तानी भइसकेको छ। अर्को किस्ता २० मिलियन जनवरी १५, २०२६ मा र अन्तिम किस्ता २० मिलियन जनवरी १५, २०२७ मा तिर्ने उल्लेख छ। कम्पनीले यो रकम आफ्नै आम्दानीबाट तिर्ने जनाएको छ।

सम्झौताको खबर सार्वजनिक भएपछि न्यूजम्याक्सको सेयर मूल्य न्युयोर्क स्टक एक्सचेन्जमा करिब १५ प्रतिशत बढेको थियो।

राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत पत्रमार्फत हुने मतदान र “विवादास्पद मतदान मेसिन” हटाउने घोषणा गरेका छन्। तर, उनले कुन कम्पनीका मेसिनबारे भने प्रष्ट पारेनन्।





Source link

Leave a Comment