भविष्य जोगाउन भूमि पुनर्स्थापना

भविष्य जोगाउन भूमि पुनर्स्थापना


प्राकृतिक वासस्थान विनाश र जैविक विविधता संकटको सन्दर्भमा सन् १९९२ मा प्रख्यात जीव वैज्ञानिक प्राध्यापक एडवार्ड विल्सनले आफ्नो पुस्तक ‘द डाइभर्सिटी अफ लाइफ’ मा प्रष्ट भनेका छन्– ‘जैविक विविधता नाश रोक्न पुनर्स्थापना एउटा महत्वपूर्ण साधन हो र अब आउने शताब्दी पर्यावरण विज्ञानमा पुनर्स्थापनाको युग हुनेछ ।’

प्राध्यापक विल्सनले भने जस्तै अहिले भूमि पुनर्स्थापना एउटा महत्वपूर्ण अन्तर्राष्ट्रिय वातावरणीय मुद्दा बनेको छ । जलवायु संकट, जैविक विविधताको विनाश, प्रदूषण जस्ता मुख्य वातावरणीय संकट समाधान गर्ने एउटा महत्वपूर्ण कडी बनेको छ, भूमि पुनर्स्थापना ।

विश्व वातावरण दिवसको शुभकामना दिने क्रममा यस वर्ष राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भने, ‘हामी पुनर्स्थापना पुस्ता हौं ।’ ‘हाम्रो भूमि हाम्रो भविष्यः हामी पुनर्स्थापना पुस्ता’ भन्ने नाराका साथ मरुभूमीकरण रोक्ने र खडेरीको प्रभावसँग जुध्नको लागि भूमि पुनर्स्थापनाको महत्व बारेमा चर्चा गर्दै यस वर्षको विश्व वातावरण दिवस मनाइँदैछ ।

भूमि पुनर्स्थापना भनेको बिग्रिएको भूमिको समग्र अवस्था सुधार्ने कार्य हो । त्यो भूमि वनदेखि कृषिसम्मको प्राकृतिक र मानवीय क्रियाकलापले परिवर्तन गरिएको सबैखाले हुनसक्छ । भूमि होस् वा अन्य कुनै प्राकृतिक प्रणाली (जस्तै वन, सिमसार) वा वासस्थानको पुनर्स्थापना एक बृहत् अवधारणा हो, जसमा त्यस्तो भूमि वा प्रणालीको प्राकृतिक अवयव र गुणहरू बिग्रनु भन्दा अगाडिको अवस्थामा फर्काउने कार्य गरिन्छ । उदाहरणको लागि वर्षौंसम्म खेती गरेर प्राङ्गारिक पदार्थ कम भएको माटोमा प्राङ्गारिक मल, बोटबिरुवा, जीव वा गड्यौला जस्ता मित्र जीवहरूको प्रयोग गरेर प्राङ्गारिक पदार्थ बढाउने कार्य पुनर्स्थापना हो । त्यसैगरी फडानी गरिएको वनमा रूख बिरुवा हुर्काउने कार्य पनि पुनर्स्थापना हो ।

पुनर्स्थापनाः प्रमुख वातावरणीय दायित्व

जमिन र सिमसार क्षेत्र पुनर्स्थापनाको कुरा आज मात्र उठेको भने हैन । सन् १९५० यताका वातावरणीय आन्दोलनहरूले वृक्षरोपण गर्दै वन पुनर्स्थापना गर्ने काममा जोड दिए । अर्को यसरी औपचारिक रूपमा अन्तर्राष्ट्रिय अभियान बन्नु भन्दा पहिले नै विभिन्न रूपमा पुनर्स्थापनाका पहलहरू यत्रतत्र सुरु भइसकेका थिए, तर पुनर्स्थापनामा भएका पहलहरू अलि साँघुरा र रूखले ढाकेको क्षेत्र बढाउने कुरामा मात्र बढी केन्द्रित भएको हुँदा समग्र वातावरणीय दृष्टिले यो पर्याप्त थिएन ।

जर्मन सरकारको पहलमा सुरुवात गरिएको बोन च्यालेन्जले सन् २०३० सम्ममा पैंतीस करोड हेक्टर जमिन पुनर्स्थापना गर्ने महत्वाकांक्षी योजना बनाएको छ । त्यसैगरी संयुक्त राष्ट्रसंघले सन् २०२१ देखि २०३० सम्मको दशकलाई पुनर्स्थापना दशकको रूपमा घोषणा गरेर सदस्य राष्ट्रहरूलाई पुनर्स्थापना प्रतिबद्धतामा काम गर्न प्रोत्साहन गर्दैछ । राष्ट्रसंघले हालै पारित गरेको विश्व जैविक विविधता रूपरेखा अनुसार सन् २०३० सम्म क्षयीकरण भएको ३० प्रतिशत भूमि पुनर्स्थापना गर्ने लक्ष्य राखिएको छ ।

यसभन्दा अगाडि चाहिं जैविक विविधता लक्ष्य अनुसार पृथ्वीको १७ प्रतिशत भूमि संरक्षण गर्ने लक्ष्य राखिएको थियो । त्यसैगरी क्षयीकरण भएको भू-भागको पुनर्स्थापना दिगो विकास लक्ष्यहरूमा पनि समेटिएको देखिन्छ ।

विगतमा विकासको नाममा भएका विभिन्न मानवीय क्रियाकलापले पृथ्वीको वायु, पानी र जमिनमा अपूरणीय क्षति पुर्‍याएका छन् ।

जीवनको आधारका रूपमा रहेका यी तीनवटै प्रणालीहरूमा विकासका डोबहरू प्रष्ट छ । जसको असर आज मात्र हैन लामो समयसम्म रहन्छ । वायुमण्डलमा बढेको कार्बनडाइअक्साइड लगायत हरित ग्याँसको प्रभावले पृथ्वीको तापमान निरन्तर बढ्दैछ ।

जलवायु परिवर्तन मामुली वातावरणीय समस्यामा सीमित रहेन । यो त मानव सभ्यता नै नामेट पार्न सक्ने चुनौतीको रूपमा देखा पर्दैछ । सबै खालको जमिन क्षयीकरण र मरुभूमीकरण हुँदैछ ।

बाराको हलखोरिया दहमा पानी सुक्दा जमिनमा फाटेको धाँजा

जमिनको क्षयीकरण र मरुभूमीकरणले गर्दा तत्कालको उत्पादकत्व बढ्ने मात्र हैन जलवायु संकटलाई पनि बढावा दिन्छ । भूमिको पुनर्स्थापनाले कृषि, वन र सिमसारको उत्पादकत्व बढाउने मात्र हैन जलवायु परिवर्तन कम गर्न र जलवायु परिवर्तनका जोखिमहरू अनुकूलनमा समेत सकारात्मक योगदान पुर्‍याउँछ ।

भूमिको क्षयीकरणले कार्बनडाइअक्साइड उत्सर्जन बढ्ने मात्र हैन जमिनले कार्बन सञ्चय गर्ने प्राकृतिक क्षमता र गुण समेत ह्रास हुन्छ । भूमि पुनर्स्थापना जलवायु परिवर्तन र जैविक विविधता विनाश कम गर्ने एउटा महत्वपूर्ण साधन भएको हुनाले नै अहिलेको वातावरणीय संकटसँग जुध्ने भूमि पुनर्स्थापना एउटा महत्वपूर्ण वातावरणीय मुद्दा बनेको छ ।

नेपालमा पुनर्स्थापना सफलतासँगैको अर्को पाटो

सहभागितामूलक वन व्यवस्थापन विशेषगरी सामुदायिक वन व्यवस्थापन मार्फत वन पुनर्स्थापनामा नेपालले उदाहरणीय काम गरेको छ । सन् ७० को दशकतिरका नांगा पाखा हरियाली भएका छन्, खुला ठाउँ र पोथ्रा भएको ठाउँ रूखले ओगटेका छन् । फलस्वरूप आज देशको ४५ प्रतिशत भूभाग वन क्षेत्रले ओगटेको छ ।

पुनर्स्थापना सफलताको यो एउटा महत्वपूर्ण र अपूर्ण पाटो हो । वन क्षेत्र पुनर्स्थापित हुँदै गर्दा वन क्षेत्रमा जमिन क्षयीकरण हुने प्रक्रिया भने रोकिएको छैन । वन तथा चरण क्षेत्रको एक तिहाइ भन्दा बढी भूमि भूक्षयको कारणले क्षयीकरण हुँदैछ ।

भविष्य जोगाउन भूमि पुनर्स्थापना
दाङ जिल्लामा राप्ती नदीको कटान

वन, रूख र हरियाली बढाउने कार्यमा सफलता मिलेता पनि वन पुनर्स्थापनामा नयाँ–नयाँ चुनौती थपिंदै छन् । बढ्दो खडेरी र मिचाहा प्रजातिको विस्तारले वन डढेलोको जोखिम बढ्दैछ, जसले वर्षेनि ठूलो जनधनको क्षति हुने गर्दछ । त्यसैगरी हाम्रा वन जंगलको विविधता नजानिंदो तरिकाले लोप हुँदैछ । पुनर्स्थापनाको क्रममा मिश्रित प्रजातीय हुनुपर्ने वनहरू एकल प्रजातिको बाहुल्यका बन्दैछन् ।

वन पुनर्स्थापना सफलतासँगै मानव वन्यजन्तु द्वन्द्व बढ्दो छ । पुनर्स्थापना सही ढंगले हुन नसक्दा पनि वन्यजन्तुको समस्या बढ्नेतर्फ हामीले ध्यान दिनुपर्छ । एउटा उदाहरण हेरौं, पूर्वी नेपालमा एकातर्फ प्राकृतिक वन विनाश भयो भने अर्कोतर्फ टिक र मसला जस्ता बाह्य प्रजातिहरू वृक्षरोपणको प्राथमिकतामा परे । त्यस क्षेत्रको मानव–हात्ती द्वन्द्वमा यी दुवै प्रक्रियाले समस्या समाधान गर्न भन्दा बढाउन सहयोगी हुन्छन् । पछिल्लो दुई दशकमा त्यस क्षेत्रमा वनले ढाकेको क्षेत्र बढेको भएता पनि वनमा हात्तीको लागि घाँसका रूख र लाथ्रा निकै कम छन् ।

नेपालको सन्दर्भमा भूमि पुनर्स्थापनाको अपरिहार्यता

हाम्रो सन्दर्भमा पुनर्स्थापना गर्नुपर्ने धेरै ठाउँ कहाँ-कहाँ छन् । सरसर्ती हेर्‍यौं भने हरेकजसो प्रणालीहरू कुनै न कुनै रूपमा पुनर्स्थापना गर्नुपर्ने छन् । चुरेको विनाशले दक्षिणी क्षेत्रमा पारेको असर चिन्ताजनक छ ।

चुरे र यसको फेदी एवं सँगैको भावर क्षेत्रको भूमिको उचित पुनर्स्थापनाबाट मात्र दक्षिणी क्षेत्रमा पानीको पुनर्भरण र बाढीको जोखिम कम गर्न सकिन्छ । तराईमा त नदी तटको पुनर्स्थापनालाई चुरे क्षेत्रकै व्यवस्थापनको अंग बनाउनुपर्छ । विभिन्न स्तरमा क्षयीकरण भएका वन पुनर्स्थापना पनि उत्तिकै जरूरी छ । तराई क्षेत्रमा विगतमा गरिएका मसला र टिकको वृक्षरोपणलाई रैथाने प्रजाति र प्राकृतिक पुनरुत्पादन मार्फत पुनर्स्थापना गर्न सकिन्छ ।

हाम्रा खर्कहरूको स्वास्थ्य पनि त्यति ठिक देखिंदैन । जैविक विविधता र बहुमूल्य जडीबुटीले सम्पन्न खर्कहरूको भू-जैविक अवस्थामा गिरावट आउँदैछ । हिमाली क्षेत्रका घाँसे मैदानहरूमा विस्तारै चुत्रो र गुराँस फैलिंदै छन् । यस्ता बुट्यानहरू विकट र कठिन भूगोलमा बल्लतल्ल जीविका धानेका गोठाला र चौपाया हैरानीको कारण बनेका छन् ।

भविष्य जोगाउन भूमि पुनर्स्थापना
गोरखा जिल्लाको दूधपोखरी क्षेत्रमा काँडा र रूखले अतिक्रमण गर्दा अवस्था बिग्रेको खर्क

हाम्रा सिमसारहरू बढ्दो सुक्खापन, अवैज्ञानिक व्यवस्थापन र असंवेदनशील विकासको शिकार बन्दैछन् । सिमसार सुक्ने क्रम तराई र पहाड जताततै देखिन्छ । सिमसार पुनर्स्थापनाको नाममा गहिरो बनाउने र डुंगा चलाइहाल्ने योजनाले सिमसार पुनर्स्थापना हुन सक्दैनन् । विद्यमान सिमसार सुधारले सिमसारको व्यवस्थापन गर्न सक्दैनन् ।

त्यसैगरी हाम्रो कृषि भूमिमा पनि प्रांगारिक पदार्थ निकै कम रहेको र माटोको क्षयीकरण तीव्र हुँदैछ । रासायनिक मल र विषादीमा निर्भरता बढ्दा माटोको उर्वरा शक्ति घट्दो र कृषि लागत बढ्दो छ । कृषि भूमिमा माटोको जैविक, भौतिक र रासायनिक तीनै आयाममा क्षयीकरण भएको छ ।

माटो क्रमशः मर्दै गएको छ । माटोको जैविक गुणमा ह्रास आउँदा उत्पादकत्वमा ह्रास आउने मात्र हैन यसले मानव स्वास्थ्यमा समेत प्रतिकूल असर पर्छ भन्ने कतिपयको तर्क छ ।

भूमिको क्षयीकरणका असरहरू बहुआयामिक हुन्छन् । भूमिको क्षयीकरणले वन, खर्क र कृषि क्षेत्रको उत्पादन घट्ने, जैविक विविधतामा प्रतिकूल असर पर्ने, प्राकृतिक विपत्तिहरूको जोखिम बढ्ने, पानीको उपलब्धता घट्ने जस्ता असरहरू पर्दछ ।

भविष्य जोगाउन भूमि पुनर्स्थापना
सालको वनमा मिचाहा प्रजातिको बढ्दो प्रभुत्व

पानीको अभाव, खडेरी र भूमि क्षयीकरणले दैनिक जीवन र स्वास्थ्यमा मात्र असर पार्दैनन्, ठूला-ठूला द्वन्द्वहरू समेत निम्त्याउन सक्छन् भन्ने उदाहरण अफ्रिकी महादेशको मरुभूमीकरण हुँदै गरेका क्षेत्रमा देख्न सकिन्छ । नेपालको तराई क्षेत्रमा नदीहरूले आफ्नो फैलावट बढाइरहँदा वर्षेनि सयौं बिघा जमिन बगर भएको छ । परिणामस्वरूप हजारौं किसान जमिनबाट बेदखल भएका छन् ।

पुनर्जीवनशील प्रकृति र पुनर्स्थापना

आजको शुभकामना सन्देशमा राष्ट्रसंघीय वातावरण कार्यक्रमकी प्रमुख इंगर एन्डरसनले भने जस्तै प्रकृति पुनर्जीवनशील छ र वन तथा भूमिको पुनर्स्थापनाले एकसाथ जलवायु परिवर्तन, जैविक विविधता ह्रास र मरुभूमीकरण एवं प्रदूषण जस्ता विश्वव्यापी वातावरणीय समस्याहरूको गति कम बनाउन सक्छ ।

भूमि पुनर्स्थापना सही तरिकाले हुन सक्यो भने यसले जैविक विविधता जोगाउने मात्र हैन जलवायु परिवर्तनका असर कम गर्दै अनुकूलनमा समेत योगदान पुर्‍याउँछ ।

भूमि पुनर्स्थापना वायुमण्डलमा रहेको अतिरिक्त कार्बनडाइअक्साइड ग्यासलाई माटो र रूख बिरुवामा संग्रह गर्न एउटा महत्वपूर्ण साधन हो भन्ने कुरामा दुईमत छैन । पुनर्स्थापनाको आवश्यकता र तौरतरिका स्थानविशेष अनुसार फरक हुन सक्छन् । कतिपय ठाउँमा रूख हुर्काउनु पुनर्स्थापना हो भने कतिपय ठाउँमा रूख काट्नु पनि पुनर्स्थापनाको अत्यन्त जरूरी काम हुन सक्छ । तर हाम्रा पुनर्स्थापना योजना एक ठाउँको नक्कल गर्ने वा सोलोडोलो खालका छन् । स्थानीय स्तरमा नै पुनर्स्थापना योजना र रणनीति बनाएमा बढी नतिजामुखी हुन्छ ।

आजको भूमि पुनर्स्थापना ठूला र चामत्कारिक प्रविधिको विकासले गर्छ भन्ने भ्रम पालियो भने यसले थप क्षति गर्नेछ । यस कार्यमा हामीले हाम्रा सामान्य लाग्ने परम्परागत अभ्यास र तिनमा आधारित ज्ञानबाट निकै लाभ लिन सकिन्छ ।

बहुप्रजातीय कृषि वन प्रणाली, साना किसानलाई प्रवद्र्धन र स्थानीय वातावरण मैत्री उत्पादन र उपभोग, कृषि र वनको टुट्दै गएको सम्बन्धको सबलीकरण आदिले नै हाम्रो पुनर्स्थापना दिगो बनाउँछ ।

हाम्रो परम्परागत कृषि प्रणालीसँग अन्तर्निहित बाली चक्र र बहुप्रजातीय खेतीले माटोको माथिल्लो तह जोगाउने मात्र हैन उर्वरा शक्ति समेत जोगाउन सहयोगी हुन्छ । खर्कहरूमा परम्परागत व्यवस्थापनमा आगो र चरिचरनले त्यहाँको विविधता कायम राखेको हुन्छ ।

भविष्य जोगाउन भूमि पुनर्स्थापना
सालको वनमा मिचाहा प्रजातिको बढ्दो प्रभुत्व

आगो र चरिचरन कसरी व्यवस्थित गर्ने भन्ने निर्णय गर्ने संस्था र प्रक्रिया समेत स्थानीय समुदायमा हुन्छ । खर्क पुनर्स्थापनामा यी दुई भन्दा अन्य उपाय निकै महँगो हुने कुरा अन्यत्रको अनुभवबाट सिक्न सकिन्छ । आदिवासी र स्थानीय समुदायको ज्ञान वन तथा अन्य प्रणालीहरूको पुनर्स्थापनामा निकै महत्वपूर्ण हुन्छ ।

जलवायु संकट र जैविक विविधता विनाशले मानव अस्तित्वलाई नै चुनौती दिने निश्चित छ । वैज्ञानिकहरूको सुझाव तथा चेतावनीका वाबजुद जैविक विविधता र जलवायु संकट समाधानमा अहिले भएका पहलहरू अपर्याप्त र निकै सुस्त छन् । विगतमा प्रकृति दोहनमा आधारित विकासले सृजना गरेको वातावरणीय संकटसँग जुध्नु हाम्रो र भावी पुस्ताको नियति बन्ने प्रष्ट छ ।

तसर्थ हाम्रो पुस्ताले विगतमा भएका गलत अभ्यास सच्याउन त सक्दैनौं तर केही सुधारको पहल पक्कै गर्न सक्छौं । खनिज, ऊर्जा र प्रकृति दोहन कम गर्दै भूमि पुनर्स्थापना गर्न सकेमा जलवायु संकटसँग जुध्न, प्राकृतिक विपत्तिको असर कम गर्न र खाद्य सुरक्षा समेत सुनिश्चित गर्न सकिन्छ ।

अब भूमि पुनर्स्थापनाको यो दायित्व आइपुगेको छ पुनर्स्थापना पुस्ताको काँधमा । यो समस्या अरू कसैको कारणले सिर्जित हो भनेर गुनासो गरेर मात्र हैन यो समस्या समाधानमा नेतृत्व गर्ने र भूमिको पुनर्स्थापनामा विकसित राष्ट्रलाई जिम्मेवार बनाउने र पुनर्स्थापनामा लगानी बढाउन दबाब दिने दायित्व पनि पुनर्स्थापना पुस्ताकै हो ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School