बैंकिङ क्षेत्र अत्यन्तै प्रतिस्पर्धात्मक, दबाबपूर्ण र समयसापेक्ष क्षेत्र हो । बैंकिङ क्षेत्रलाई आधुनिक समाजको मेरुदण्डका रूपमा मानिन्छ। जहाँ वित्तीय प्रवाहको सुनिश्चितता, सुरक्षित लगानीको माध्यम आर्थिक स्थायित्वको जिम्मेवारी रहेको हुन्छ ।
नेपालको आर्थिक र वित्तीय प्रणालीको प्रमुख आधार मानिए तापनि यस क्षेत्रमा देखिने चुनौतीपूर्ण कार्य समय, अन्य संगठनभन्दा उच्च प्रतिस्पर्धात्मक र परिवर्तित वातावरण तथा प्रविधिको अवस्थाले गर्दा बैंकिङ कर्मचारी दबाबयुक्त भई जीवन सन्तुलन बनाउन चुनौतीपूर्ण छ । अरू क्षेत्रभन्दा थप समय दिनुपर्ने भए पनि ग्राहकको अपेक्षा अनुसार ग्राहकमुखी सेवा प्रदान गर्न, दैनिक, मासिक तथा वार्षिक लक्ष्य प्राप्त गर्न, प्रशासनिक कार्य, अभिलेख व्यवस्थापन कार्य लगायत अन्य चुनौतीपूर्ण कार्यको सामना गर्नुपर्ने भएकाले बैंकरहरूको व्यक्तिगत जीवन असन्तुलन हुँदै गएको छ ।
यो लेखमा वर्तमान अवस्थामा बैंकिङ क्षेत्रको कार्यजीवन सन्तुलनका समस्या र तिनको समाधान गर्ने प्रमुख रणनीति तथा सुझावबारे व्याख्या गरिएको छ ।
बैंकिङ क्षेत्रको कार्यजीवन सन्तुलन समस्याले यस क्षेत्रमा कार्यरत कर्मचारी शारीरिक, मानसिक स्वास्थ्य र आत्मसन्तुष्टिमा प्रतिकूल असर पुर्याइरहेको पाइन्छ । प्रायः दैनिक ९ देखि १२ घण्टा वा अझै बढी समय काम गर्नुपर्ने परिपाटी सामान्य जस्तै भइसकेको अवस्थामा लामो समयको कार्यभारले गर्दा थकान, तनाव महसुस गर्ने जसले गर्दा विभिन्न किसिमका दीर्घकालीन रोग, उच्च रक्तचाप, सुगर, नसा तथा हाडजोर्नी समस्याबाट ग्रसित हुने बढी दबाब दिई लक्ष्य पूरा गर्नुपर्ने वस्तुपरक कार्यसम्पादनको आधार प्रभावकारी रूपमा नहुँदा कर्मचारीको कार्यक्षमता र सन्तुष्टिसँगै बैंकिङ व्यवसाय वृद्धिमा समेत नकारात्मक असर देख्न सकिन्छ ।
अत्यधिक कार्यसमय र कार्यदबाबका कारण कर्मचारीको पारिवारिक भेटघाट, व्यक्तिगत कार्य तथा करिअरमा बढोत्तरी लगायत थुप्रै व्यक्तिगत जीवनमा प्रतिकूल असर पुर्याइरहेको पाइन्छ । बैंकिङ क्षेत्रका कर्मचारीमा कार्य जिम्मेवारी प्राथमिकतामा हुने हुँदा व्यक्तिगत सीप विकास र करिअरमा सुधार गर्न समय दिन कठिन भइरहेको पाउन सकिन्छ। जसका कारण बैंकिङ क्षेत्रबाट कर्मचारी पलायन हुने टर्नओभर हुने दर उच्च हुँदै गएको र लामो समयसम्म कार्यमा रहँदा देखिने थकान, कार्यदबाब र पारिवारिक असन्तुलनले कर्मचारीलाई बैंकिङ क्षेत्रमा स्थायित्व कायम राख्न कठिन बनाउँदै गएको छ ।
कार्यजीवन सन्तुलन समस्या समाधान जिम्मेवारी निकाय
नेपालको बैंकिङ क्षेत्रमा कार्यजीवन सन्तुलनका समस्या दिनप्रतिदिन जटिल बन्दै गएको सन्दर्भमा यस्तो समस्या समाधानका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने जिम्मेवार निकायका रूपमा नेपाल राष्ट्र बैंक, बैंकहरूको आन्तरिक व्यवस्थापन, श्रम तथा रोजगार मन्त्रालय, श्रमिक संघ–संगठन, युनियन, तालिम तथा अनुसन्धान संस्था रहनुपर्ने देखिन्छ ।
नेपाल राष्ट्र बैंक नेपालको बैंकिङ क्षेत्रको सर्वोच्च नियामक निकाय, केन्द्रीय निकाय भएकाले राष्ट्र बैंकले मानव संसाधन व्यवस्थापन गर्न, कार्यजीवन सन्तुलन समस्या कम गर्न ऐन, नियम, परिपत्र जारी गरी नीतिगत रूपमै जोड दिनुपर्ने देखिन्छ। जस्तै, हप्तामा दुई दिन बिदा, लचकदार कार्यसमय वातावरण निर्माण, तनाव व्यवस्थापन कार्यक्रम अनिवार्य लागू गर्नुपर्ने निर्देशन तथा कर्मचारी सन्तुष्टि सर्वेक्षण सर्वे गरी कार्यजीवन सन्तुलन भए–नभएको जानकारी लिन सकिन्छ ।
अन्तर्राष्ट्रिय अभ्यास हेर्दा जापानमा कैरोसी (कामबाट मृत्यु) समस्या सम्बोधन गर्न, त्यस देशको सरकारले कार्य समयमा सुधार गरी मानसिक स्वास्थ्यमा जोड दिएको पाइन्छ । नेपाल राष्ट्र बैंकले पनि कर्मचारीको स्वास्थ्य र जीवन सन्तुलन प्राथमिकतामा राखेर नीति निर्माण पूर्णरूपमा पालना भए–नभएको परिपत्र जारी गरी बैंकहरूको आन्तरिक व्यवस्थापन, कर्मचारी विनियमावली, कार्य विश्लेषण, भर्ना तथा छनोट मध्यनजर गरी सोही अनुसार कार्य जिम्मेवारी दिने परिपाटी विकास गर्नुपर्दछ ।
बढ्दो प्रतिस्पर्धा, नवीन प्रविधि आत्मसात् गर्नुपर्ने अवस्थाले गर्दा अधिकांश बैंकले लक्ष्यमा आधारित कार्य गर्ने प्रणाली अपनाउनुपर्ने बाध्यात्मक अवस्थाका कारण कर्मचारीमा हुने दबाब, प्रभाव कम गर्न व्यवस्थापनले अतिरिक्त कामको बोझ हटाउन आवश्यकता अनुसार थप कर्मचारी भर्ना गर्ने, सिफ्ट अनुसार कार्य गर्ने वातावरण मिलाउन सक्नुपर्दछ ।
उदाहरणका लागि नर्वे र डेनमार्कले ‘पारिवारिकमैत्री कार्यस्थल नीति’ लागू गरेर कर्मचारीको सन्तोषजनक कार्यजीवन र उच्च उत्पादकत्व, सन्तुष्टिमा सुधार गरी ग्राहकमैत्री बैंकिङ सेवा सुधार गरेको पाइन्छ ।
यसैगरी नेपालको श्रम तथा रोजगार मन्त्रालयले श्रमिकको अधिकारका लागि चासो देखाए पनि बैंकिङ क्षेत्रमा ऐनको प्रभावकारी कार्यान्वयन भए–नभएको मूल्यांकन गर्ने, समस्या छलफल गरी ऐनमार्फत सुधार गरेर लैजाने प्रणाली विकास गरेको पाइँदैन ।
भारतमा श्रम मन्त्रालयले ‘वर्किङ आवर रिफर्म’ लागू गर्दै बैंकिङ क्षेत्रका श्रमिकको अधिकार सुनिश्चित गर्न ठोस कदम चाले अनुरूप नेपालले पनि यस्तै सुधारात्मक पहल गर्दै बैंकिङ कर्मचारीको कामको समय र सुविधा सुनिश्चित गर्न नीति निर्माणमा जोड दिनुपर्ने देखिन्छ । नेपालमा बैंकिङ क्षेत्रमा श्रमिक संघ–संगठनको उपस्थिति बलियो भए पनि यिनले कर्मचारीको व्यक्तिगत जीवन र कार्यसन्तुलन सुधार गर्ने पहल प्रभावकारी गरेको पाइँदैन ।
यस्ता संघ तथा युनियनले व्यवस्थापनसँग छलफल गरी बिदाको थप व्यवस्था, कार्यसमयमा लचकपना, कर्मचारीलाई उपचार तथा परामर्शका लागि छुट्टै वित्तीय अस्पताल तथा स्वास्थ्य सम्बन्धी कार्यक्रम लागू गर्न अनिवार्य दबाब दिनुपर्दछ । दक्षिण कोरियामा श्रमिक संगठनहरूले कर्मचारीको मानसिक स्वास्थ्य ख्याल गर्ने कार्यक्रम लागू गर्न व्यवस्थापनलाई बाध्य पारेको पाइन्छ। नेपालका विभिन्न सक्रिय संघ–संगठनले पनि यस्तो पहलकदमी सुधारको भूमिका खेल्नु अति आवश्यक, अपरिहार्य देखिन्छ ।
नेपालमा बैंकिङ तालिम दिने संस्थाहरूले प्राय:जसो प्राविधिक सीप, प्रशासकीय सीपलाई मात्र ध्यान दिने गरेको पाइन्छ, जसलाई परिमार्जन तथा थप गरी तनाव व्यवस्थापन, समय व्यवस्थापन, आध्यात्मिक र ध्यानयोगको व्यवस्था, परिवर्तित वातावरण अनुकूल नेतृत्व सीप तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिन्छ । अन्तर्राष्ट्रियस्तरमा हेर्दा अमेरिकामा ‘कर्पोरेट वेलनेस प्रोग्राम’ सञ्चालन गरेर कर्मचारीको शारीरिक र मानसिक स्वास्थ्य सुधारमा जोड दिए जस्तै नेपालमा पनि यस्ता कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने देखिन्छ ।
माथि उल्लेखित सुझावको प्रभावकारी कार्यान्वयन गर्न सबै निकायको परस्पर समन्वय नीतिगत मन्थन व्यवस्थापकीय रूपमा कार्यान्वयन लगायत नेपाल राष्ट्र बैंकले समयसापेक्ष थप नीति निर्माण निर्देशन जारी गर्ने र त्यस्तो नीति कार्यान्वयन गरेर बैंकहरूको मानवस्रोत व्यवस्थापनलाई प्रोत्साहन गर्नुपर्दछ ।
त्यसैगरी श्रम मन्त्रालयले कानुन कार्यान्वयनमा कडाइसाथ श्रमिक संगठनहरूले व्यवस्थापन र कर्मचारीबीच संवादलाई पुलका रूपमा कार्य गर्नुपर्दछ ।
बैंकहरूले वार्षिक, अर्धवार्षिक कर्मचारी सन्तुष्टि सर्वेक्षण अनिवार्य लागू गर्दा कर्मचारीको कार्यजीवन सन्तुलनमा सुधार ल्याउन महत्त्वपूर्ण आधार प्रदान गर्दछ । साथै, यस्ता सुधार लागू गर्न आवश्यक विभिन्न स्रोत–साधन र बजेट व्यवस्थापनका लागि राज्यले प्रमुख प्राथमिकता दिन सके समग्र नेपालको बैंकिङ क्षेत्रमा कार्यरत कर्मचारीको कार्यजीवन सन्तुलनमा सुधार गर्न र दीर्घकालीन मानवस्रोत सम्बन्धी समस्या न्यूनीकरण गर्न सहयोग पुग्दछ ।
यस्ता सुधारात्मक कदमले कर्मचारीको कार्यजीवन सन्तुष्टिमा सुधार गर्नुका साथै समग्र बैंक तथा वित्तीय संस्थाको उत्पादकत्व बढाउन, सम्पूर्ण वित्तीय सरोकार निकायसँग आपसी सुमधुर सम्बन्ध निर्माणमा सहयोग गर्दछ ।
(लेखक अवस्थी नेपाल बैंक लिमिटेड कैलाली शाखामा कार्यरत छन् ।)