प्रधानमन्त्री केपी शर्मा ओलीले भर्खरै (मंसिर १७-२०) मित्रराष्ट्र चीनको औपचारिक भ्रमण सम्पन्न गर्नुभएको छ । चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा बेइजिङ पुगेका ओलीको चौथो प्रधानमन्त्रित्वकालको यो पहिलो द्विपक्षीय वैदेशिक भ्रमण थियो । द्विपक्षीय राजनीतिक सम्बन्धकै पृष्ठभूमिमा विकसित उच्चस्तरीय वार्ता र द्विपक्षीय एजेन्डाका कोणबाट हेर्दा प्रधानमन्त्री ओलीको बेइजिङ भ्रमण अत्यन्त सफल र ऐतिहासिक रहेको छ । चिनियाँ र नेपाली अधिकारीले बीआरआईको कार्यान्वयन गर्ने सम्बन्धमा जुन सहमति जुटाउन सफल भए त्यो पक्कै पनि ऐतिहासिक रहेको छ र यसबाट नेपालले चिरकालसम्म लाभान्वित हुने अवस्थाको सिर्जना भएको छ ।
त्यसरी हेर्दा, भ्रमण सफल भएको छ । बीआरआईमा देखिएको यो नेपाली टोलीको परिपक्वता र दूरगामी दृष्टिकोणले ओली टिमले यो सफलता प्राप्त गर्न सफल भएको हो । जुन नेपालको विदेश नीति र त्यसको सञ्चालनका लागि एउटा ऐतिहासिक मोड भएको छ ।
यस लेखमा म ती सबै एजेन्डाका सन्दर्भमा छलफल चलाउन गइरहेको छैन, यद्यपि, चिनियाँ विकास सम्बन्धी परियोजनामा नेपालले सात वर्षअघि नै सहमति जनाइसकेको थियो । राजनैतिक उतारचढाव, शक्तिराष्ट्रको अनावश्यक दबाब तथा हस्तक्षेप र नेतृत्वको अनिच्छाले त्यसको कार्यान्वयन अघि बढेन । बरु भूराजनीतिक शक्तिहरूद्वारा सिर्जित ‘डेब्ट ट्रयाप’ को अनावश्यक बहसमा केही बुद्धिजीवी र नेताहरूले यसलाई उचाली व्याख्या गरी बीआरआईलाई प्रचारबाजीको ‘ट्रयाप’ मा पारियो ।
अन्ततः बेइजिङमा ‘फ्रेमवर्क फर बीआरआई कोअपरेसन’ समझदारी पत्रमा हस्ताक्षर भएको छ र अब यो कार्यान्वयनमा जानुपर्दछ ।
मैले यहाँ बीआरआईमा छानिएका १० परियोजना मध्ये विज्ञान र प्रविधिको क्षेत्रमा आवश्यक उच्चस्तरीय दक्ष र विश्वस्तरीय जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ स्थापना गर्न लागिएको मदन भण्डारी विश्वविद्यालयको सन्दर्भमा केही बहस चलाउन उचित सम्झी सुरु गरेको छु ।
नेपालको शैक्षिक विकासमा नवीनतम आयाम थप्ने उद्देश्य सहित स्थापना गरिएको मदन भण्डारी विश्वविद्यालय विज्ञान र प्रविधिका क्षेत्रमा उच्चस्तरीय दक्ष जनशक्ति उत्पादन गर्ने महत्वाकांक्षी संस्थाका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । तसर्थ हामीले विगतका गल्ती र कमि–कमजोरीलाई यहाँँ सुधार्नु जरूरी हुन्छ । विश्वविद्यालयले आधुनिक युगको मागलाई ध्यानमा राख्दै अन्तर्राष्ट्रिय मापदण्डका पाठ्यक्रम र शिक्षण विधिहरूलाई अंगीकार गर्नुपर्दछ । जसको लागि सोही अनुरूपको योजना, त्यसलाई कार्यान्वयन गर्ने समूह र प्रतिबद्धताको आवश्यकता पर्दछ ।
यस विश्वविद्यालयको मुख्य उद्देश्य भनेको विज्ञान, प्रविधि र व्यावसायिक शिक्षामा आधारित गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्नु हो । विश्वविद्यालयले विद्यार्थीसँग केवल सैद्धान्तिक ज्ञान प्रदान गर्ने मात्र नभई तिनीहरूलाई व्यावहारिक अनुभव र अनुसन्धानका माध्यमबाट समस्या समाधान गर्ने क्षमता प्रदान गर्न जोड दिएको छ । आधुनिक शिक्षण विधि र नवीनतम प्रविधिको प्रयोग गर्दै विद्यार्थीलाई सशक्त बनाउनु यसको प्राथमिकता हो । जसबाट देशले ठूलो लाभ लिन सक्दछ । नेपालले विश्वस्तरीय संस्थाको रूपमा विकास गरी एशियाकै मुख्य शैक्षिक तथा अनुसन्धानको केन्द्र बनाउने गरी अगाडि बढाउनुपर्दछ । अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यले प्रेरित, यो विश्वविद्यालयले अनुसन्धानको माध्यमबाट स्थानीय र वैश्विक चुनौतीको समाधान खोज्न सक्रिय भूमिका निर्वाह गर्ने गरी यसलाई विकास गरिनुपर्दछ ।
मदन भण्डारी विश्वविद्यालय नितान्त अध्ययन–अध्यापन गराउने परम्परागत विश्वविद्यालयको रूपमा नभएर ज्ञानलाई कर्मसँग जोड्दै, विश्व जगतलाई नवीनतम मार्गदर्शन गराउने गरी ज्ञानको ज्योति बाँड्ने प्रकाश पुञ्जको रूपमा विकास गरिनुपर्दछ । नेपालीको परम्परागत दक्षतालाई परिष्कृत गरी, सीपलाई उत्पादनसँग जोड्ने र उद्योग र शैक्षिक संस्थाबीच सहकार्य गर्ने क्षमतामा केन्द्रित रहने गरी विकास गर्न सक्दा मात्र हामीले सही रूपमा यो विश्वविद्यालयको स्थापनाको उद्देश्यलाई न्याय गर्न सक्छौं ।
विद्यार्थीलाई रोजगारमुखी बनाउन र तिनका सीप र ज्ञानलाई विश्वव्यापी मान्यता सहित प्रस्तुत गर्न विश्वविद्यालयले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उद्योग र संस्थाहरूसँग सहकार्य गर्ने, त्यो अनुरूपको गुणस्तरीय अध्ययन–अनुसन्धान गराउन सक्ने टिमको व्यवस्थापन गर्ने गर्दा मात्र हामीले सो अनुरूप यसलाई अगाडि बढाउन सक्छौं ।
अनुसन्धान र नवप्रवर्तनका क्षेत्रमा विशेष ध्यान दिने यो विश्वविद्यालयले आफ्ना विद्यार्थीलाई वैज्ञानिक खोज र प्रविधि विकासमा सहभागी गराउने उद्देश्य राख्नुपर्दछ । तसर्थ हामीले सुरुका दिनदेखि नै सही ढंगले योजना बनाउने, राष्ट्रिय आवश्यकता र विश्व परिवेशलाई नेतृत्व गर्ने गरिको पाठ्यक्रम निर्माण गर्ने, अध्ययन–अनुसन्धानलाई सहज बनाउन विद्यमान नीति–नियमको पुनरावलोकन गरी सहज बनाउने र केही गर्ने हुटहुटी भएका, आफ्नो क्षेत्रमा विद्वत्ता हासिल गरेका र देशमा बसेर नै सेवा गर्छु भन्ने युवाहरूलाई अगाडि बढाउन आवश्यक छ ।
मदन भण्डारी विश्वविद्यालय केवल एउटा शिक्षण संस्था मात्र नभई नेपाललाई आधुनिक युगसँग जोड्ने महत्वपूर्ण प्रविधि केन्द्रको रूपमा यसलाई स्थापित गर्नुपर्ने हुँदा हामीले यसलाई अत्यन्तै सावधानीपूर्वक हरेक निर्णय गर्नुपूर्व गहन विमर्श गरी सही निर्णय लिनुपर्ने हुन्छ । यसको शैक्षिक प्रयासहरूले नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय समुदायमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने, विदेशी अनुसन्धानदाता तथा विद्यार्थीलाई आकर्षित गर्ने, एशियाको प्रमुख केन्द्र बनाउने तथा नेपालको विकासमा योगदान पुर्याउने उद्देश्य राखिएको हुँदा सोही अनुरूप यसलाई विकास गर्न जरूरी छ ।
मानव स्वास्थ्य र कल्याणका लागि भूस्थानिक प्रविधिको उपयोगमा मदन भण्डारी विश्वविद्यालयको एक अग्रणी पहल हुनुपर्दछ । यसले केवल स्वास्थ्य र पर्यावरणीय समस्या समाधान गर्न सहयोग गर्ने मात्र नभई, नेपाललाई आधुनिक प्रविधिको उपयोगमा सशक्त राष्ट्रका रूपमा स्थापित गर्न पनि मद्दत गर्नेछ
नेपाल जस्तो विविध भौगोलिक बनावट भएको देशका लागि भूस्थानिक प्रविधिको महत्व अत्यन्त उच्च छ । यस प्रविधिको माध्यमबाट देशको भौगोलिक, पर्यावरणीय, सामाजिक र आर्थिक क्षेत्रका धेरै जटिल समस्या समाधान गर्न सकिन्छ । भूस्थानिक प्रविधिमा जीपीएस अर्थात् ग्लोबल पोजिसनिङ सिस्टम, जीआईएस अर्थात् जिओग्राफिक इनफर्मेशन सिस्टम र रिमोट सेन्सिङ जस्ता प्रविधि समावेश छन्, जसले भूभागको अध्ययन, डाटा विश्लेषण र समस्या समाधान गर्न सहयोग पुर्याउँछ ।
नेपालमा भूस्थानिक प्रविधिको प्रयोग मुख्यतः भौगोलिक योजना, पर्यावरणीय संरक्षण, विपद् व्यवस्थापन, सार्वजनिक स्वास्थ्य र पूर्वाधार विकास जस्ता क्षेत्रमा अलिअलि सुरु गरिएको छ । तथापि यसको प्रयोगले हामीले अथाह लाभ लिन सक्दछौं त्यसमा हामी पछि परिरहेको अवस्था छ । जबकि हाम्रै छिमेकी देश चीनले यो प्रविधिबाट अनेकन् फाइदा लिइरहेको छ । जसको प्रयोगबाट हामी विभिन्न जटिल समस्याको वैज्ञानिक दृष्टिकोणमा आधारित निर्णयहरू लिन र रणनीतिहरू बनाउन मद्दत गर्दछ ।
नेपालको आधुनिक शैक्षिक परिप्रेक्ष्यमा वैज्ञानिक अनुसन्धान र प्रविधिको प्रयोगलाई प्रभावकारी बनाउँदै, मदन भण्डारी विश्वविद्यालयले मानव कल्याण र स्वास्थ्यको क्षेत्रमा भूस्थानिक प्रविधिको उपयोगलाई प्राथमिकतामा राख्न सकेमा भूस्थानिक प्रविधिले हाम्रो देशमा रहेको स्वास्थ्यको जुन समस्या छ त्यसलाई वैज्ञानिक तथा व्यावहारिक ढंगले समाधान गर्नमा सहयोग पुर्याउनुका साथै भूस्थानिक प्रविधि प्रयोग गरेर नयाँ–नयाँ समस्यासँग जुध्न सक्दछौं ।
भूस्थानिक प्रविधिलाई मानव स्वास्थ्य र कल्याणका लागि उपयोग गर्ने योजना, आधुनिक विज्ञान र प्रविधिको दिगो उपयोगका लागि एउटा उत्कृष्ट उदाहरण हो । विश्वविद्यालयले भूस्थानिक प्रविधिको माध्यमबाट स्वास्थ्य सम्बन्धी डाटा सङ्कलन, विश्लेषण र समाधान निर्माण गर्ने दिशामा नवीनतम कार्यक्रमहरू सञ्चालन गर्न सकिन्छ । विशेषगरी, महामारी नियन्त्रण, पर्यावरणीय जोखिम मूल्याङ्कन र स्वास्थ्य सेवाको पहुँच सुधार जस्ता क्षेत्रहरूमा यसको ठोस प्रयोग र उपयोग हुँदै आइरहेको छ ।
भूस्थानिक प्रविधिको प्रभावकारिता प्रकोप व्यवस्थापनमा विशेष रूपमा महत्वपूर्ण छ तर सीमित स्रोत–साधन र जनशक्तिको अभावले हामीले नेपालमा यसलाई प्रभावकारी रूपमा उपयोग गर्न सकिरहेका छैनौं । पछिल्लो समयमा २०७२ को विनाशकारी भूकम्पपछि पुनर्निर्माण र प्रकोप व्यवस्थापनका लागि जोखिम नक्शा तयार गर्न यो प्रविधिको अधिकतम प्रयोग गरिएको थियो । यसले विपद् नियन्त्रण र पूर्वतयारीमा सहजीकरण गरेपछि अन्य क्षेत्रमा यसको उपयोगको सम्भावना अझ उजागर भयो । यसका साथै, वन व्यवस्थापन र जैविक विविधता संरक्षणमा पनि भूस्थानिक प्रविधिले ठोस योगदान दिएको छ । स्याटेलाइट डाटाको माध्यमबाट वन क्षेत्रको अनुगमन, वन कटान नियन्त्रण र जैविक विविधता संरक्षणका प्रयासहरू सहज भएका छन् ।
कृषि र भूमि उपयोगको सुधारका लागि पनि भूस्थानिक प्रविधिको उपयोग व्यापक हुँदै गएको छ । माटोको गुणस्तर विश्लेषण, जलवायु अनुकूलन र उपयुक्त खेती क्षेत्र पहिचान गर्न यस प्रविधिले महत्वपूर्ण भूमिका खेलेको छ । यो प्रविधिको प्रयोगबाट ग्रामीण र शहरी क्षेत्रको योजनामा सुधार गर्न सकिने सम्भावना समेत रहेको छ । थप रूपमा, स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न, महामारी नियन्त्रण गर्न र स्वास्थ्य सम्बन्धी डाटाको विश्लेषणका लागि भूस्थानिक प्रविधिले योगदान पुर्याएको छ ।
तर, नेपालमा भूस्थानिक प्रविधिको उपयोगसँगै विभिन्न चुनौती पनि छन् । आधुनिक उपकरण र तालिम प्राप्त दक्ष जनशक्तिको अभावले यसको प्रभावकारी प्रयोगमा बाधा पुगेको छ । गुणस्तरीय डाटा व्यवस्थापन र सरकारी तथा गैरसरकारी संस्थाहरूबीच सहकार्यको अभावले पनि प्रविधिको उपयोगलाई सीमित बनाएको छ । यद्यपि, भविष्यमा भूस्थानिक प्रविधिको प्रभाव विस्तार गर्न शिक्षालयहरूमा यस सम्बन्धी पाठ्यक्रम सञ्चालन, दक्ष जनशक्ति विकास र नीति निर्माणको आवश्यकता छ ।
नेपालको विकासमा भूस्थानिक प्रविधिले कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार र पर्यावरणीय व्यवस्थापनका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउन सक्छ । यसको प्रभावकारी उपयोगले दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न मद्दत गर्दै, नेपाललाई समृद्ध र प्रगतिशील मुलुकका रूपमा स्थापित गर्न सहयोग गर्नेछ । भूस्थानिक प्रविधि नेपालको भविष्यका चुनौतीको सामना गर्न र नयाँ अवसरहरूको ढोका खोल्न एक प्रभावकारी माध्यम बन्न सक्ने सम्भावना बोकेको छ ।
भूस्थानिक प्रविधिले स्वास्थ्य सम्बन्धी समस्या समाधान गर्न भू–डाटा र जीआईएस जस्ता उपकरणहरूको प्रयोग मार्फत ठोस समाधान प्रस्तुत गर्दछ । मदन भण्डारी विश्वविद्यालयले मानव जीवनका विविध पक्षहरू, जस्तै स्वास्थ्य सेवा, पर्यावरणीय स्वच्छता र प्राकृतिक प्रकोपहरूको नियन्त्रणमा अति उपयोगी हुने यस्ता नवीनतम प्रविधिको क्षेत्रमा आफूलाई अब्बल बनाउन जरूरी छ, तसर्थ पाठ्यक्रम विकास गर्दा यसलाई ध्यानमा राख्न जरूरी छ । विशेष रूपमा, ग्रामीण तथा दुर्गम क्षेत्रका मानिसहरूलाई स्वास्थ्य सेवाको पहुँचको मूल्याङ्कन, स्वास्थ्य सेवाको वितरण प्रणालीको अनुगमन र सार्वजनिक स्वास्थ्यमा प्रकोप व्यवस्थापनका लागि भूस्थानिक प्रविधिलाई सशक्त उपकरणका रूपमा प्रयोग गरिनेछ ।
यसले केवल स्वास्थ्य सेवाको पहुँच सुधार गर्ने मात्र नभई, नेपाल जस्ता देशका विविध भौगोलिक चुनौती समाधान गर्न पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । मानव स्वास्थ्य र कल्याणका लागि भूस्थानिक प्रविधिको उपयोगमा मदन भण्डारी विश्वविद्यालयको एक अग्रणी पहल हुनुपर्दछ । यसले केवल स्वास्थ्य र पर्यावरणीय समस्या समाधान गर्न सहयोग गर्ने मात्र नभई, नेपाललाई आधुनिक प्रविधिको उपयोगमा सशक्त राष्ट्रका रूपमा स्थापित गर्न पनि मद्दत गर्नेछ ।
भूगोलविद् न्यौपाने चीनस्थित युनिभर्सिटी अफ चाइनिज एकेडेमी अफ साइन्सेसमा विद्यावारिधि गर्दैछन् ।