बुझाइ

बुझाइ


१) कदम

ऊ साथीसँग फोनमा कुरा गर्न व्यस्त थिई। ऊ भन्दै थिई, “छोरी हुर्किसकी भनेर बाउआमाले कुरा बुझे पो? खालि पढेर आफ्ना खुट्टामा उभिनुपर्छ भन्न मात्र जानेका छन्। आफूलाई कस्तो रहर लागिसक्यो, बिहे गर्न! बिहे गरेर पनि त पढिन्छ भन्ने कुरा म कसरी बुझाऊँ?”

छोरीको कुरा बाबुआमाले सुने तर छोरीले पत्तो पाइन। बाबुआमा निकैबेर घोरिए। “उमेर त पुगिसक्यो। एउटै सन्तान कसरी टाढा पार्नु र?”

दुवैबिच कुराकानी भयो। बिहे नगरिदिंदा पनि नहुने। छोरीले तलमाथि गर्ने हो कि भन्ने सोचेर घरमा लमी बोलाए। एकपछि अर्को गर्दै लमीले केटा देखाए तर छोरीलाई देखाउनुअगाडि नै एउटा न एउटा दोष लगाएर बाउआमाले अस्वीकार गरिदिए।

लमी रिसाउँदै कराउन लागे, “होइन, कस्तो ज्वाइँ खोजौं, हजुरहरूलाई? डाक्टर, पाइलट, शिक्षक, हाकिम सबै त देखाएँ। कोही मोटो, कोही छोटो, कोही जात र कोहीसँग हैसियत मिलेन रे? ल म भोलि आउँछु।”

भोलिपल्ट लमीले अन्तिमपटक भन्दै केटो लिएरै गए। सधैंझैं सोधखोज भयो। “धनै नभा’को यस्तो गरिबले हाम्री छोरी के पाल्छन् होला र?”

उनीहरू टार्न खोज्दै थिए तर हठात् छोरी अगाडि बढेर भनिन्, “म यो केटासँग नै बिहे गर्छु।”

छोरीको इच्छाअगाडि आमाबाबु लाचार भए। बिहे भयो। पहिलो रातमा नै केटाले भन्यो, “गजबको कदम चाल्यौ नत्र यति सहजै हाम्रो बिहे कहाँ हुन्थ्यो र?”

मस्किंदै उसले भनी, “मैले लमीको कान फुकेको कुरा न त कसैलाई सुइँको भयो न त हाम्रो प्रेमगाथा!”

२) आरोप

“एक गिलास पानी देऊ न।”अफिसबाट फर्केपछि कोठाभित्र छिर्नासाथ उनले पानी मागे। रमाले पानी लिएर आउँदासम्म उनले लुगा फेरिसकेका थिए। उनले हातको कागजात र मोबाइल हत्तपत्त लुकाए। केही दिन यही क्रम चलिरह्यो। रमाको मनमा चिसो पस्यो। एक दिन लुकेर ढोकामा बसिन्। उनले मोबाइल झिकेर भने, “घर आइपुगें। अब कल नगर्नू है।”

लोग्नेमा आएको परिवर्तनलाई रमाले चियो गर्न थालिन्। उनी घरमा एक्लै बस्न र बाहिर पनि एक्लै हिंड्न रुचाउन थाले। बिदाको दिन पनि प्रायः घर बस्दैनथे। सोध्यो भने उल्टै झम्टिन्थे। मोबाइल पनि छुन दिंदैनथे।

“कसलाई के भन्नु?”, रमाको छटपटाहट र चिढ्चिढापन बढ्दै गयो।

उनले आमालाई फोन गरिन् र भनिन्, “म हजुरबिना एक मिनेट पनि यहाँ बस्न सक्दिनँ। अब त्यहीं आउँछु।”

उनले भयाङ उक्लँदै गर्दा कल सुने। उनले झम्टँदै आई मोबाइल खोसेर रमालाई हकारे, “मेरो अनुपस्थितिमा यत्रो षड्यन्त्र? कुनचाहिँ प्रेमी हो?”

मौका पाउनासाथ रमाले जवाफ दिइन्, “मान्छेले आफू जस्तो छ, अर्कालाई पनि त्यस्तै देख्छ है?”

रमाले लोग्नेको हातबाट मोबाइल खोसिन्। मोबाइल खोस्दा छरपस्ट भई खसेका कागजातहरू हतारहतार टिपेर पढ्न थालिन् अनि उत्तिखेरै क्वाँक्वाँ रुन थालिन्।

उनले सम्झाउँदै भने, “मलाई पहिलो अवस्थाको क्यान्सर हो रे। चिन्ता नगर। डाक्टरले ठिक हुन्छ भनेका छन्। बरु पैसाको जोहोचाहिं कसरी गर्ने होला?”

३) प्रभाव

बडो उत्साहका साथ उद्घोषकले भने, “आजका अन्तिम सहभागी मञ्चमा आउँदै हुनुहुन्छ, नवप्रतिभा रिना शर्मा!”

दर्शकदीर्घाबाट समर्थकहरूको कोलाहल मच्चियो। वातावरण तातेर उधुम भयो। भर्खर सत्र वसन्त टेकेकी रिनाले छमछम नाचिरहँदा सबै लट्ठ परिरहेका थिए। नाच्दै गर्दा उनी अचानक लडिन्। कोही बोक्न तम्सिए। कोही पानी छ्याप्न आए। कोही भने आआफ्नै अनुभवको खेती गर्न थाले।

-भोकै थिइन् होला।

-खुसी र भिडले उत्तेजित भइन्।

-हिस्टेरिया होला आदि।

एकछिनपछि उनी जसै बौरिइन्, सबैले एकै स्वरमा सोधे, “के भयो?”

उनले लामो सास फेर्दै भनिन्, “खुट्टा लुलो भएर लडेछु अनि केही थाहा भएन।”

प्रश्न तेर्सियो, “पहिला पनि यस्तो भएको थियो र?”

उनले निकै समय लिएर मुख खोलिन्, “बेलाबेलामा हुने गर्छ। छोरी भनेर थाहा पाएपछि आमाले गर्भ फ्याल्न धेरै औषधीहरू खाएकी थिइन् रे! त्यसको असर हो।”

४) बुझाइ

“कत्ति हेप्न सकेकी, म बुढी केही गर्न सक्दिनँ भन्ने ठानेकी होली?”, आमाको कर्कशासँगै भाउजूको आर्तनाद पनि सुनेँ। म माइतीघरको मूल गेटमै पुगेकी थिएँ।

महाभारतको रणभूमिमा छिरूँ या फिरूँ दोधारमा परेँ। दाइ बाहिरबाट गेटमै भेटिनुभयो। मेरो अनुहार पढ्नुभयो र भन्नुभयो, “सासूबुहारी सधैं यस्तै हुन्। हिंड, भित्र जाऔं।”

आमाले अनुहार उज्यालो पार्नुभयो। मैले लगेको कोसेली खोल्दै आमाले भन्नुभयो, “लु कान्छी! यो स्याउ काटेर ले। भोक लागेको छ। रक्तचाप भएकी बुढी चाँडै मरोस् भनेर होला, तेरी भाउजूले तरकारीमा नुन खन्याइछे।”

म भान्सातिर जाँदै थिएँ, भाउजू दाइसँग भन्दै थिइन्, “कि छुट्टै बसौं कि आमालाई वृद्धाश्रममा राखौं। अब भने सँगसँगै बस्न सकिन्न।”

आमा खुसी भएको बेला पारेर मैले सम्झाएँ, “आमा! घरकी बुहारीलाई माया र सम्मान दिंदा घरको संस्कार राम्रो बस्ने थियो।”

आमा रनन्न तात्नुभयो, “लुगा धोई भने साबुनै राख्छे। खानेकुरो दिई भने मुखमा हाल्न सकिंदैन। बिरामी भयो कि मार्नलाई दबाई मात्रै ख्वाउँछे। चोकमा छिल्लिनका लागि चिटिक्क परेर किनमेलका लागि जान्छे। यस्ती चण्डाल्नीलाई केको माया? केको सम्मान?”

आमाको बुहारीप्रतिको सोचले म आक्रोशित भएँ र ठुलै स्वरमा भनें, “आमा! एकछिन आएर आमाको अनुहार चाट्ने छोरी के काम? सधैं खट्ने बुहारीलाई माया गरे पो सुख हुन्छ।”

५) माग

‘मुर्दावाद ! मुर्दावाद !!’ को नारा सुनेर यमराजका कान ठाडा भए।

‘मेरो राज्यभित्र अशान्ति मच्चाउने को होलान्? पहिलोपटक सुन्दै छु, आन्दोलनका आवाजहरू।’ वस्तुस्थिति बुझ्न भनी उनले दूतहरूलाई यथास्थानमा खटाए।

आवाज बन्द गर्न प्रमुख दूत पड्कियो, “हे, मरेका लासहरू! तिमीहरूको किन यत्रो फुर्ती? चुपचाप समयलाई पर्ख। नत्र सबैलाई नरकको बास बनाउँला नि!”

मुर्दाहरू एक स्वरले बोले, “हामी अन्यायमा परेका छौं, हजुर! यतिका वर्ष बितिसक्दा पनि हामीले मोक्ष पाउन सकेनौं।”

उनले धैर्य गर्न आग्रह गर्दै भने, “सङ्ख्यामा एकैपटक धेरै आएका तिमीहरूको व्यवस्थापन गर्न अझै कति समय लाग्छ, पत्तो छैन? तर पाप धर्मको लेखाजोखा नगरी निर्णय दिन पनि हाम्रो विधानले मान्दैन।”

बिन्तीभाउमा मुर्दाहरूले अपिल गरे, “देश र जनताका लागि बन्दुक बोक्यौं। हामीलाई न पार्टीले हेर्यो  न सरकारले सहिद मान्यो, न त हाम्रा परिवारलाई कुनै क्षतिपूर्ति र राहत नै मिल्यो। हामी अलपत्र परेका छौं । हामीलाई न्याय चाहियो।”

एउटा दूतले जवाफमा भन्यो, “यहाँ हल्ला र आन्दोलन गरेर न्याय पाइँदैन। यहाँ त कर्मअनुसार न्यायअन्याय छुट्याई सजाय दिइन्छ।”

खबर लिई दूतहरू यमराजकहाँ पुगे। यमराजले प्रश्न गरे, “आवाज चर्काउने को रहेछन् त?”

उनीहरूले जानकारी गराए, “नेपाल भन्ने देशका बहुसङ्ख्यक मुर्दाहरू, न्यायका लागि कराएका रहेछन्। ठेगान लगाउनुपर्यो, महाराज!”

(कथाकार केसीकाे तेस्राे लघुकथासङ्ग्रह सफलतामा सङ्गृहीत।)

प्रकाशित: २८ वैशाख २०८१ ०९:५४ शुक्रबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School