बीस करोडको आगो


१) घडेरी

” विदेश जाने खर्च माग्दैछ छोराले।” बुढीले सुत्ने बेलामा भनी।

“म आफ्नो खुट्टामा आफै बन्चरो हान्न सक्दिन बुढी।” बुढाले उखानबाट स्पष्ट पार्न खोजे।

” किन?” बुढीले नबुझेर सोधी।

“किनभने उतै बस्ने,पछि नहेर्नेलाई किन सिरिखुरी सक्नु?”

” तपाईं जति पुग्नुभयो यही हो तपाईंको भविष्य अब मिटेर पनि छोराछोरीको भविष्य हेर्नुपर्छ।”

“अझै कति बाँच्नु छ? यति त सास रहुन्जेल आफ्नो कब्जामा राख्नैपर्छ।”

“यो सम्पत्ति त केही होइन ज्यानकै बाजी पनि लगाउनुपर्छ, छोराछोरीको लागि।”

तैले व्यवहार बुझेकी छैनस्। भावुक भएर हेर्छेस्। पछि सडकमा निस्किनुपर्छ अनि थाहा हुन्छ।”

बुढाले जति भने पनि छोराको माया र बुढीको दबाब थेग्न सकेनन्।

भोलिपल्ट मालपोत गएर एउटा भएको घडेरीलाई पनि खुरुखुरु ल्याप्चे लगाइदिए।

२) परिभाषा 

“आज लघुकथाको नया परिभाषा दिन्छु म।” लघुकथा प्रशिक्षणमा विज्ञले भने। 

” भन्नुस् सर!” एक सहभागीले भने।

“पहिले तपाईंहरूले जानेको कुरा भन्नुस् त।” उनले सहभागीतर्फ फर्केर भने।

“संक्षिप्त हुनुपर्छ।” एकजनाले भने।

“रहस्यमय हुनुपर्छ जुन समापनमा मात्र खोलिनुपर्छ।” अर्काले भने।

“द्वन्द्व पनि हुनुपर्छ।” एकातिरबाट आवाज आयो।

“एकोन्मुखता हुनुपर्छ।”अलिक जान्नेले भने।

“के हो सर यो भनेको? ” हलबाट प्रश्न आयो।

“तपाईं नै भन्नुस् त।” सरले जान्ने भनिएकोलाई सोधे।

“उनले भने घटना, उद्देश्य र परिवेश तीन कुरा एउटै हुनुपर्छ।”

“ठिक भन्नुभयो,ल अरूले थप्नु त।” 

अरू केहीले केही केही थपे। एकछिनपछि सबै चुप लागे।

सहभागीबाट अब आउँदैन जस्तो लागेर उनले रहस्य खोल्ने तरिकाले भने, “लघुकथा भनेको भित्री जस्तो होइन बाहिरी जस्तो हो, शुरू भयो कि अन्त्य गर्न हतार भइहाल्ने।”

३) बीस करोडको आगो

उसले यताउती हेर्यो तर आगो बाल्ने कुनै सामग्री देखेन। दाउरा, झासझुस, पत्ता, कर्ची कतै केही थिएन। छेउमा प्यारी छोरी चिसोले कक्रिएकी थिई। चिसोबाट बचाउन धेरै कोशिश गर्यो  तर त्यो अनकण्टार गुफामा केही भेटेन।

ऊ स्वास्नी र छोरी लिएर दुई हप्तादेखि त्यो गुफामा लुकेर बसेको थियो। बैंकबाट बीस करोड रुपैयाँ लुटेर फरार भएको डाँकाको आरोपमा पुलिसले उसलाई शिकारी कुकुरझैं खोजिरहेको थियो।

छोरीलाई चिसो बढिरहेको थियो। बाहिर हिउँ परिरहेको थियो। त्यसको चिसोको प्रभाव लगातार बढिरहेको थियो। छोरीलाई सास फेर्न गाह्रो भइरहेको थियो।

उसलाई चिन्ता लाग्यो। कसरी छोरीको ज्यान बचाउने? केही उपाय नलागेपछि चुरोट निकालेर सल्कायो।

पुन: गुफा बाहिर भित्र हेर्यो। श्रीमती छोरीलाई च्यापेर बसेकी थिई। छोरीको हालत झन्झन् खराब हुँदै गैरहेको थियो।

अब उसले केही सोचेन। एक झटकामा सुटकेश खोल्यो र सबै पैसालाई भुइँमा पोखिदियो।

मानौं त्यो करोडौं रुपैयाँ होइन कागजको खोस्टो हो। श्रीमती आश्चर्यले हेर्दै थिई।

उसले लाइटर बालेर त्यो बीस करोड रुपैयाँलाई आरामले सल्काइदियो।

४) बुर्लुक्क

पहाडबाट तालिममा आएका एक नेपाली शिक्षकले कक्षा सातलाई शब्दको शुद्ध उच्चारण पढाउने क्रममा कालोपाटीमा लेखे “बुर्लुक्क।”

विद्यार्थीलाई पालैपालो उच्चारण गर्न लगाए तर कसैले पनि सही उच्चारण गर्न सकेनन्।  उनले शब्दलाई टुक्रा गरेर उच्चारण गर्न सिकाए।

त्यतिखेरै एउटा विद्यार्थी जुरुक्क उठेर शिक्षकलाई आँखा तर्दै नसोधी बाहिर निस्कियो। शिक्षक कराउँदै थिए तर विद्यार्थीले नसुनी हेर्दाहेर्दै गेट बाहिर पुग्यो। किन यो एकाएक निस्कियो उनले केही भेउ पाउन सकेनन्।

शिक्षक पढाएर अफिस पुग्छन् त त्यो विद्यार्थीले अभिभावकसहित चारपाँच जना लठेत ल्याएको रहेछ।

विद्यार्थीले यै हो भनेर शिक्षकतिर देखायो।

“तँ विद्यार्थीलाई गल्ती पढाउने?” एउटा अभिभावक झम्टियो। अर्को शिक्षकले नसमातेको भए उसले हातै हाल्न सक्थ्यो। यो ठाउँको लागि नया भएकाले ती शिक्षकले केही गर्न सकेनन्।

उनीहरू यो शिक्षकले जे पायो त्यही पढायो भनेर उफ्रेका थिए। उनीहरूले कसैको कुरा सुनेनन्। प्रअको कुरा पनि सुनेनन्। सबैलाई गाली गर्दै उनीहरूले गेटमा ताला लगाइदिए। सबै विद्यार्थी कक्षाबाट बाहिर निस्किए। हंगामा मच्चियो। गाउँका मानिसहरू पनि के भएछ भनेर हेर्न स्कुलतिर दौडिए। स्कुलमा ताला लाग्यो भन्ने कुरा जिल्ला शिक्षा कार्यालयसम्म पनि पुग्यो। कार्यालयले श्रोत व्यक्ति खटाउनुपर्यो । उनी स्कुल पुगेर कुरा बुझे।

के भएको रहेछ भने पहाडबाट तालीम केन्द्रमा तालिम लिन आएका शिक्षकले एक हप्ते विद्यालय शिक्षणको क्रममा  तराईको त्यो स्कुलमा नेपाली पढाउने क्रममा बुर्लुक्क शब्द उच्चारण गर्न सिकाउँदा दुई टुक्रा (बुर्+ लुक्क= बुर्लुक्क) बनाएर सिकाएका थिए। शुरूको टुक्राको अर्थ मैथिलीमा अश्लील हुँदोरहेछ। अनि गाली सिकायो भनेर उधुम गरेका रहेछन्। कुरा बुझेपछि अभिभावकहरू चित्त बुझाएर घर गए।

श्रोत व्यक्तिले शिक्षकहरूलाई राखेर भने, “स्थानीय भाषा बुझेर मात्र अध्यापन गर्नुपर्छ भनेको यस्तै कारणले रहेछ।”

५) किताबको मोल 

“दाइले लेखकको पचास किताब किनेर आमाको सम्झनामा वितरण गरेछ।” लोग्नेले भन्यो।

 ” कसरी थाहा भयो।”

“अनलाइनमा अन्तर्वार्ता आएको छ।”

“गर्न दिनु न त। दाइको पैसा सस्तो छ गर्नुहुन्छ।”

“त्यसो होइन लाटी। यो कामले दाइ भाइरल भएछ। अन्तर्वार्ता समेत आइसक्यो।”

“अब गरेपछि हुन्छन् त। “

“कस्ती अबुझ रहिछे। यो भन् न। दाइभन्दा म कसरी भाइरल हुनु।” लोग्नेको आँखामा इर्ष्यापूर्ण चमक थियो।

” ए त्यसो पो।” स्वास्नी सोचमा परेर भनी, “तपाईंले के सोच्नुभएको छ?”

“दाइले पचास किन्नुभयो म सय किनिदिन्छु। सय के सबै  नै किनिदिन्छु।”

“के गर्नुहुन्छ त्यत्रो?”

“किनेको फोटो खिंचेर पानीमा बगाइदिन्छु।

“लौ, जे मनमा आउँछ त्यही गर्नु।” स्वास्नीले तर्क गर्न चाहिन।

ऊ लेखक भए ठाउँमा गयो र आफ्नो इच्छा जाहेर गर्दै छापिएका सबै किताबहरू माग्यो।

 तर लेखकले उसको इच्छा विपरीत सशक्त भएर भने,”तपाईलाई पानीमा बगाउन म किताब बेच्दिन किनभने फाइदाको लागि म आफ्नो इमान बेच्न सक्दिन।”

रमेन्द्र कोइराला ( कथाकार काेइरालाकाे लघुकथासङ्ग्रह “डोरी” मा संगृहीत।)

प्रकाशित: १० माघ २०८१ १३:३९ बिहीबार





Source link

Leave a Comment