हिजोआज
१. हिजोआज केमा व्यस्त हुनुहुन्छ ?
एउटा फिल्मको स्क्रिप्ट लेखिरहेको छु । फिल्म लेख्दाखेरी देश–विदेशका टन्नै फिल्म हेर्ने र राम्रा लागेका फिल्महरू कसरी लेखिएका रहेछन् भन्ने जान्नका लागि तिनका स्क्रिप्टहरू डाउनलोड गरेर पढ्ने पनि गर्दैछु ।
२. हालैको कुन कुरा वा समाचारले खुशी बनायो ?
त्यस्तो ठूलो कुरो त केही छैन । आफ्नै जीवनको सानातिना कुराले खुशी बनाउँछ । राम्रो किताब पढ्दा र राम्रो फिल्म हेर्दा पनि खुशी भइन्छ । यो सोच्दा लाग्छ– सिनेमा, साहित्य, संगीत र राम्रा मान्छेसँग भेटघाट अनि संगत नहुने हो भने जिन्दगी शतप्रतिशत दुःखी हुन्थ्यो होला !
३. के कुराले दिक्क बनायो ?
८० प्रतिशत समाचार दुःखी बनाउने छन् ।
४. अबका योजना के छन् ?
‘इजोरिया’ पछि एउटा उपन्यास लेख्नुपर्छ भन्ने छ । अहिले लेखिरहेको फिल्म स्क्रिप्ट सकेर फेरि अर्को सिनेमा लेख्ने ऊर्जा पनि आइरहेको छ । यो अरूका लागि लेखिरहेको छु । अबको चाहिं आफ्नै लागि, आफूलाई चित्तबुझ्ने गरी समय लगाएर लेखौं भन्ने छ । अनि एउटा कविता–संग्रह निकाल्ने पनि योजना छ । आधा काम गरिसकेको छु । कविता मेरो प्रिय विधा हो ।
५. आजका मितिमा तपाईंको जीवनमा सबैभन्दा महत्वपूर्ण कुरा के हो ?
मेरो परिवार पक्कै महत्वपूर्ण हो । त्यसबाहेक आफ्नो करिअर होला । कसरी मिठो लेख्ने, धेरैभन्दा धेरै मान्छेको मन जित्ने र आफूलाई कसरी निरन्तर प्रेरित गरिरहने भन्ने नै होला । म यस्तै कुरामा बढी घोत्लिइरहेको हुन्छु ।
६. अचेल सबभन्दा रोचक लागेको विषय वा व्यक्ति ?
सिनेमा प्रतिको मेरो रुचि एकदम बढिरहेको छ । विभिन्न जनरा र भाषाका सिनेमा एक्सप्लोर गरिरा’छु । अनि के पनि महसुस भइरहेको छ भने १० वर्षमा मान्छेको रुचि र समझमा निकै ठूलो परिवर्तन आउँदो रहेछ । १० वर्षअघि गजब लागेका फिल्म, साहित्य अहिले हेर्दा ‘यस्तो पनि कसरी मन पराइएछ’ भन्ने हुँदोरहेछ । तैपनि ती एउटा सिंढी हुन्, मेरो रुचिलाई माथि उठाइदिने भन्ने सम्झेर तीप्रति कृतज्ञ पनि छु ।
७. नेपाली समाजको सबभन्दा राम्रो र नराम्रो पक्ष के लाग्छ ?
विदेशतिर जाँदा मान्छेलाई एक्लो देख्छु । यहाँ समाज र साथीभाइ छन् । साँझ–बिहान चियापसलको भेला, रेस्टुरेन्टको जमघट, पारिवारिक भेटघाट, अर्कालाई डिस्टर्ब होला कि भन्ने नसोची गरिने फोनकलमा हार्दिकता रहेछ । बाहिर मान्छे व्यस्त हुन्छन्, हामी अरूलाई समय दिन सक्ने रहेछौं । यो मलाई राम्रो लाग्यो ।
नराम्रो कुराचाहिं अहिलेको समाजमा जबर्जस्ती आफ्नो विचार थोपर्छौं । अरूको कुरा नसुनी, मेरै कुरा सही भन्ने भएको छ । अरूको विचार र दर्शनको सम्मान गर्न नसकेको हो कि जस्तो लाग्छ । फरक विचारलाई पनि ठाउँ दिनुपर्छ । कसैले विरोध गर्दा वा आलोचना गर्दा उत्तेजित भइहाल्ने, ‘मैले भने जस्तो किन भन्दैनस्’ भन्ने गरिन्छ । यो राम्रो होइन ।
८. पत्रपत्रिका र अनलाइन कत्तिको हेर्नुहुन्छ ? पत्रकारिता तपाईंलाई कस्तो लाग्छ ?
पत्रपत्रिका एकदमै कम पढिन्छ । अनलाइन नै धेरै पढिन्छ । त्योभन्दा पनि बढी सोसल मिडियाले हामीलाई बढी निर्देशन गरिरहेको छ । मचाहिं मिडियादेखि अलि बाहिर बसेर के सही के गलत छ त भनेर हेर्ने पनि गर्छु । म विचार र आग्रहहरूमा तर्क र तथ्य नै खोज्छु । पत्रकारितामा पनि कतिपय तर्कहीन कुरा आइरहेको देख्छु ।
९. इतिहासमा फर्किएर आफूले गरेको कुनै काम फेरि गर्न पाए वा सुधार गर्न पाए कुन कामलाई सुधार गर्नुहुन्थ्यो ?
गर्न पाए हुन्थ्यो भन्ने त धेरै छ । कसैको चित्त दुखाएको, गल्ती गरेको, नभनेको भए हुन्थ्यो भन्ने कुराहरू त छन् । त्यस्तो नभनेको भए हुन्थ्यो भन्ने जस्ता कुराहरू मेरो मनमा आइरहन्छ । स्कुल पढ्दादेखिकै कुरा आउँछन् । यसले बारम्बार झस्काइ पनि रहन्छ । तर फेरि टाइम ट्राभलर सिनेमा हेरेर के थाहा भयो भने– एउटा टाल्दा अर्कातिर भ्वाङ पर्ने रहेछ । टाल्न सम्भव छैन भन्ने थाहा भयो । त्यसैले जे छ, त्यही रहन दिऊँ ।
हामीले ड्रोन भ्यूमा माथि–माथिबाट कथा र समाजलाई हेरिरहेका छौं जस्तो लाग्छ । अलि क्लोज अपमा जानुपर्छ जस्तो लाग्छ । मैले पनि सकेको छैन । मैले पनि पाठक के चाहन्छन्, के बिक्छ भनेरै धेरै लेखेको छु ।
१०. आउँदो पुस्तालाई सोचेर आजको पुस्ताले नगरी नहुने काम के हो ?
अहिले विश्वभर पर्यावरणको समस्या छ । हाम्रो र पछिको पुस्तालाई पनि हुने गरी वातावरणीय सचेतना महत्वपूर्ण छ । प्लास्टिक प्रयोग कम गर्ने, रूख जोगाउने र कंक्रिट प्रयोग कम गर्ने काम गर्नुपर्छ । वातावरणमा ‘थिंक ग्लोबल्ली, एक्ट लोकल्ली’ भनेर अहिलेदेखि नै सोच्नुपर्छ जस्तो लाग्छ ।
हामी राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्षहरूमा जाँदा त्यहाँ पनि प्लास्टिक फालेर विद्रुप बनाएको देख्छौं । यसबारे बच्चाहरूलाई स्कुलदेखि नै सिकाउनुपर्छ जस्तो लाग्छ । हामीले सिनेमा, साहित्यमा पनि यो कुरा देखाउनुपर्यो । यसले ठूलो काम गर्छ जस्तो मलाई लाग्छ ।
उदाहरणका लागि अहिले चर्चामा रहेको वेवसिरिज ‘पञ्चायत’मा एउटा दृश्य छ– गुट्खा खाएर बाटोमा फाल्न लागेको तर नफालेको । त्यस्ता दृश्यहरूले प्रभावकारी रूपमा सन्देश प्रवाह गर्छन् भन्ने लाग्छ । स–साना कामले ठूलो प्रभाव पार्छन् भनेर बुझाउनु पर्यो ।
किताब
१. पढ्ने बानी कसरी बस्यो ?
मेरो घरको माहोल नै पढ्ने थियो । मेरो ममी, दाइ, दिदीहरू पढ्नु हुन्थ्यो । मेरो ममी महाभारत, रामायण, वेद, उपनिषद् पढ्नुहुन्थ्यो । बनारस गएर गीताप्रेसका प्रकाशनहरू ल्याएर पढ्ने माहोल हाम्रो घरमा थियो । त्यसले मेरो १–२ कक्षादेखि नै कथा पढ्ने बानी भयो । अलिकति ठूलो भएपछि म रेडियो नेपालको बाल कार्यक्रमहरूमा कविता पढ्न जान थालें ।
छनोट भएको कविता वाचन गरिन्थ्यो । नौ कक्षामा पुग्दा किशोरावस्था आएर स्वर धोद्रो नहुँदासम्म मैले वासुदेव मुनालको बाल कार्यक्रम र हातेमालोमा कविता भनें, नाटकमा अभिनय गरें । वासुदेव मुनाल दाइको आइतबार रेकर्ड हुन्थ्यो । उहाँले कार्यक्रम–नाटकको स्क्रिप्ट दिनुहुन्थ्यो ।
हामीले चार घण्टा जति पढ्थ्यौं, कण्ठ पारेपछि रेकर्ड हुन्थ्यो । त्यसपछि मैले टेलिभिजनतिर पनि अभिनय गरें । ट्वाक्क टुक्क मा बालकलाकार भएर पनि अभिनय गरें । त्यसले विस्तारै अध्ययनतिर तानिंदै गइयो । अनि दाइ–दिदीका किताबहरू पढ्न थालियो ।
२. पढ्न मनपर्ने विधा ?
राम्रो चिज सबै मनपर्छ । धच गोतामे र खगेन्द्र संग्रौला जस्ता लेखकका संस्मरणहरू मन पर्छ । राम्रा संस्मरणले हल्लाइदिन्छ । कविता मन पर्छ । तर, साह्रै थोरै । पढेकामा १ प्रतिशत मात्रै कविता मन पर्छ ।
राम्रा लेखकले आख्यानमै कविता लेखिदिन्छन् । यात्रा र निबन्ध पनि रमाइलो लाग्छ । नाटक चाहिं पढ्न भन्दा हेर्नै बढी मन पर्छ । लेखन भनेको कस्तो चिज हो भने, राम्रो लेखेको छ भने त एउटा स्टाटस र ट्विटले पनि आनन्द दिन सक्छ ।
३. सबभन्दा मनपरेको वा प्रभाव पारेको पुस्तक ?
धेरै किताब छन् । हालसालै चाहिं ‘अ लिटिल लाइफ’ ले धेरै नै छोयो । अर्कोचाहिं सिल्भिया प्लाथको ‘द बेल्जार’ । धच गोतामेका ‘सम्झनाका गल्छेडा’ र ‘कालान्तर’ । अर्कोचाहिं भवानी भिक्षुको ‘आगत’ ।
४. निराश बनाएको पुस्तक ?
धेरै छन् । नाम लिन अप्ठेरो हुन्छ । कति किताब सय पेज पढेर छोडेको छु । त्यस्तोमा म आफैं खराब पाठक हुँ कि जस्तो पनि लाग्छ । फेरि अरूले पनि त्यस्तै भन्छन् अनि ढुक्क हुन्छु । फेरि एक समय मन नपरेको किताब अर्को समयमा पढ्न मन पर्न पनि सक्दोरहेछ । पहिले पढ्दा मन नपरेको सर्पदंश पछि पढ्दा मनपर्यो ।
५. पुस्तकहरू ज्ञानको प्रसारका लागि लेखिन्छन् कि नियन्त्रणका लागि ?
ज्ञान प्रसारकै लागि हो । ज्ञानमाथि नियन्त्रण भन्ने कुराचाहिं सत्तासँग जोडिन्छ जस्तो लाग्छ । समाजमा मान्छे पढ्ने नहुन्, बाठा नहुन् भन्नेले चाहिं नियन्त्रण पनि राख्न सक्छन् ।
६. नेपालमा के कस्ता विषयमा पुस्तक लेखिनुपर्छ ?
लेखिन बाँकी विषय धेरै छन् । हामी धेरै सामाजिक यथार्थवादकै वरपर घुमिरा’छौं । नयाँ धार, नयाँ जनरा पकड्ने जोखिम लिन नसकेको हो कि जस्तो लाग्छ । लेखकहरूले यस्तो जोखिम लिनुपर्छ । भयंकर कथा र क्यानभास मात्र होइन, सूक्ष्म लेखन हुनुपर्छ जस्तो लाग्छ । हरेक समाज, समुदाय र भूगोलमा अनगिन्ती कथा छन् । तिनलाई ल्याउन सक्नुपर्यो ।
हामीले ड्रोन भ्यूमा माथि–माथिबाट कथा र समाजलाई हेरिरहेका छौं जस्तो लाग्छ । अलि क्लोज अपमा जानुपर्छ जस्तो लाग्छ । मैले पनि सकेको छैन । मैले पनि पाठक के चाहन्छन्, के बिक्छ भनेरै धेरै लेखेको छु । इजोरिया मा चाहिं मैले त्यो जोखिम लिएरै लेखेको हुँ ।
७. तपाईंका प्रिय लेखकहरू ?
विश्वेश्वरप्रसाद कोइराला, धच गोतामे, ध्रुवचन्द्र गौतम, पारिजात, विजय मल्ल, गोविन्द मल्ल गोठाले । कविमा मनु मञ्जिल । विदेशी लेखकमा चाहिं सिल्भिया प्लाथ, मार्गरेट मिसलको लेखन मन पर्छ । हारुकी मुराकामीको एकदमै इनगेजिङ लेखन गज्जब लाग्छ । भारतीय गुलजारका कथा र कविता बढी मनपर्छ ।
८. लेखक बन्न चाहनेहरूले पढ्नुपर्ने पुस्तक ?
यो र त्यो भन्नुभन्दा पनि सबैथोक पढ्नुपर्छ । समाचार पनि पढ्नुपर्छ । समाचारमा आख्यानको बीउ लुकेको हुन्छ । फिक्सन, ननफिक्सन सबै पढ्नुपर्छ । लेखनलाई परिष्कार गर्ने पढाइले नै हो । आख्यान लेख्नेले आख्यान नै पढ्नुपर्छ भन्ने लाग्दैन । सबैथोक नै पढ्नुपर्छ । भाषाका लागि कविता र शैलीका लागि निबन्ध पढ्नुपर्छ ।
९. एक दिन बिताउन पाए कुन जीवित वा मृत लेखक वा कुन पात्रसँग बिताउनुहुन्थ्यो ?
बीपी कोइराला । उहाँसँग एक दिन कुरा गर्दै बस्न पाए हुन्थ्यो भन्ने छ । ममा उहाँको प्रभाव एकदम धेरै छ । कुनै घटना भयो भने म यसमा बीपीले कसरी सोच्नुहुन्थ्यो होला भनेर सोच्छु । म बीपीलाई प्रेम र श्रद्धा गर्छु । कुनै हलिउडको स्टारभन्दा बढी मलाई बीपी मन पर्छ । बीपीसँग आठ वर्ष सुन्दरीजल जेलमा बस भन्यो भने पनि म तयार छु ।
सिनेमा
१. पहिलोचोटि फिल्म हेर्दाको सम्झना कस्तो छ ?
पहिलोचोटि ‘सम्झना’ भन्ने नै फिल्म हेरेको सम्झना छ । कुमारी हलमा स्कुलबाट भागेर एक जना अपरिचित मानिसको पछिपछि लागेर हलमा पुगेर, फिल्म हेरेको सम्झना छ । फिल्मले निकै प्रभाव पनि पार्यो ।
२. कस्ता फिल्म हेर्न मन पर्छ ?
मलाई विशेषगरी मानवीय सम्बन्धमाथि बनेका, संवेदना बोल्ने फिल्महरू मन पर्छ । म स्वैरकल्पना र साइफाइ पनि हेर्छु तर यथार्थको धरातलमा टेकेको नै बढी मनपर्छ । उदाहरणका लागि सिनेमा प्याराडिसो टाइपका । हेर्न त सबै खालका हेर्छु । एनिमेसनतिर चाहिं म त्यति प्रवेश गरिसकेको छैन ।
३. साह्रै मन परेका फिल्म ?
डेनमार्कको कोपनहेगनबाट नर्वेको ओस्लो जाने गरी गरेको रातभरिको क्रुज यात्रा सबभन्दा स्मरणीय छ । ‘समर लभ’मा क्रुज यात्रा लेखेको थिएँ । यसमा जान मन थियो । पछि कोपनहेगनबाट गएँ । लेखिसकेको ठाउँमा पुग्नुको आनन्द पनि लिएँ ।
सिनेमा प्याराडिसो, प्रसिद्ध कवि पाब्लो नेरुदामाथि बनेको फिल्म एल पोस्तिनो । हालसालै हेरेको स्विडिस फिल्म जाग्टिन । यसको अंग्रेजी नाम द हन्ट हो । यसले २०१२ मा कान्स फिल्म फेस्टिभलमा उत्कृष्ट फिल्मको अवार्ड जितेको थियो ।
इटलीको फिल्म ह्याप्पी एज लजारो र फ्रेन्च ट्रिलोजी थ्री कलर्स पनि मेरा फेवरेट हुन् । नेपालीमा साँघुरो, नुमाफुङ, ऐना झ्यालको पुतली र जारी ।
४. चर्चा सुनेका तर हेर्दा खासै नलागेका कुनै फिल्म छन् ?
धेरै छन् । हेर्दा हेर्दै छोडेका पनि छन् । झुर लागेको भन्दा राम्रो लागेकै मेरो दिमागमा बढी छन् । मान्छेले धेरै चर्चा गरेका फिल्म धेरैजसो खास लागेका छैनन् । हालै हेरेको साउथ इन्डियन फिल्म हाइ नाना त्यस्तै थियो ।
धेरैजसो ठूला स्टारहरूका हिन्दी एक्सन फिल्मले निराश बनाएका छन् । पठान ले शाहरूख खानको कमब्याक भनेर एउटा उत्सवको माहोल सृजना गरेको थियो तर फिल्म चाहिं खास लागेन । यो वर्ष साह्रै निराश बनाएको फिल्म एनिमल पनि हो ।
५. हेर्ने फिल्म कसरी छान्नुहुन्छ ?
मुख्यचाहिं म आईएमडिबी रेटिङ हेर्छु । सातभन्दा तलको रेटिङ भएको फिल्म छुनै मन लाग्दैन । केही फिल्मको रेटिङ थोरै भए पनि राम्रा हुन्छन् त्यसैले समीक्षा पनि पढ्छु । अ गुड इयर आईएमडिबीमा ६ भन्दा तल छ । तर, मैले हेरिरहने फिल्म हो । विक्की क्रिस्टिना बार्सिलोना र अन्डर द टस्कान सन को पनि रेटिङ थोरै छ तर मलाई मन परेका हुन् । त्यसैले फिल्म छान्न जान्नुपर्ने रै’छ ।
६. मन परेका कलाकार वा फिल्ममेकर ?
फिल्ममेकरमा एउटा चाहिं हलिउडका अल्फ्रेड हिचकक । उनका सबै फिल्म राम्रा लाग्छन् । इन्डियामा बासु चटर्जी, ऋषिकेश मुखर्जीको जनरा मन पर्छ । एक्टरमा अमोल पालेकर । जेम्स स्टेवार्ट पनि मन पर्छ ।
७. नेपालमा कस्ता फिल्म बनुन् जस्तो लाग्छ ?
सबै खालका बन्नुपर्छ । ठूलै चिज बनाउनुपर्छ भनेर वाइड क्यानभास लिनुपर्छ भन्ने छैन । सानो विषयमा पनि हुन्छ । विफोर साइराइज, विफोर सनसेट टाइपका फिल्म पनि बन्नुपर्यो । मान्छेलाई कनेक्ट गर्ने, छुने बनाउनु पर्यो । तर, यो एकदमै कठिन कुरा हो ।
महेश भट्टले आफ्नै जीवनलाई कोट्याएर बनाए जस्ता फिल्म बनाउन सकिन्छ । राम्रो स्टोरी टेलिङ भएका फिल्म चल्छन् पनि । नेपालमा बनेको साँघुरो एउटा उदाहरण हो । न्यारो प्लटले केही फरक पर्दैन । कथा सामान्य भए पनि हुन्छ । कथा हाम्रै जीवनमा छ, भन्न मात्रै सक्नुपर्यो । रोमा फिल्ममेकरले आफ्नो मेडलाई ट्रिब्युट दिन बनाएको फिल्म थियो । त्यसैले हामीले आफ्नै कथा भन्दा हुन्छ ।
८. सिनेमाले मानिसलाई यथार्थसँग साक्षात्कार गराएको ठिक कि एकछिन भए पनि अर्कै संसारमा पुर्याएको ?
दुइटै कुरा ठिक हो ।
घुमफिर र सोख
१. घुमफिर गर्न कत्तिको रुचाउनुहुन्छ ?
एकदम मन पर्छ । गाडी चढेर हिंड्नेभन्दा पनि हाइकिङ र ट्रेकिङ मनपर्छ । म हिंड्छु पनि । शिवपुरीको डाँडोमा म माकुराले जालो बुने जसरी धेरैतिरबाट हिंडेको छु ।
२. सबभन्दा धेरै गएको र जान मन भएको ठाउँ ?
सबभन्दा धेरै गएको चाहिं शिवपुरी नै हो । जान मन भएको चाहिं युरोपका धेरै ठाउँ छन् । युरोप एकचोटि गएँ, स्वाद बसेको छ तर जान सधैं मौका मिलेको छैन । विशेषगरी इटलीका विभिन्न ठाउँ जान मन छ । त्यताका धेरै फिल्म हेरेर पनि यस्तो रुचि जागेको होला ।
३. सबभन्दा मन परेको ठाउँ वा यात्रा ?
डेनमार्कको कोपनहेगनबाट नर्वेको ओस्लो जाने गरी गरेको रातभरिको क्रुज यात्रा । ‘समर लभ’मा क्रुज यात्रा लेखेको थिएँ । यसमा जान मन थियो । पछि कोपनहेगनबाट गएँ । लेखिसकेको ठाउँमा पुग्नुको आनन्द पनि लिएँ ।
४. गीत कत्तिको सुन्नुहुन्छ ? सबभन्दा मन परेका गायक ?
एकदमै धेरै पारखी त होइन तर सुन्छु । त्यस्तो विशेष भन्ने छैन, सबै नै मन पर्छन् ।
५. आजभोलि कस्ता गीत, कसको गीत सुनिरहनुभएको छ ?
मलाई अलिकति सेन्टिमेन्टल र सुफी शैलीका कैलाश खेर, अरिजीत सिंहका गीत मनपर्छ । बाहिरका चाहिं मलाई कन्ट्री रोड… सारै मन पर्छ । लोरेटा लिन भन्ने गायिका मनपर्छ । यिनको एउटा कोलमाइन्स डटर भन्ने कन्ट्री सङ् छ । त्यो म निकै सुन्छु । नारायणगोपालका गीत त सदाबहार फेवरेट हुन् । उनका गीत साहित्यिक लाग्छन् ।
६. विशेष सोख भएको कुरा के छ ?
म त्यस्तो सोखिन मान्छे होइन । भ्रमण नै मेरो सोख हो । मेरो अधिकांश समय लेखन र पठनका लागि घरभित्र बित्छ, त्यसले गर्दा कुण्ठित पनि छु । त्यसैले हिंड्न मनपर्छ । मान्छे हिंडेर थाकें भन्छन्, म नहिंडेर थाक्छु ।
७. खानाको कत्तिको सोखिन हुनुहुन्छ ? मन पर्ने परिकार ?
खानाको सोखिनै छु । मिठो जसलाई पनि चाहिन्छ । अलिकति मिठो भएन भने केही एक्स्ट्रा बनाएर पनि खान्छु । घरमा अरूले चाहिं चित्त बुझाएर खान्छन् । ननभेज पकाउने सोख पनि छ, माछामासु । बन्दा काउली पकाउनेचाहिं सोख छैन । मासुका परिकार बढी मन पर्छ ।
राजनीति
१. नेपालको राजनीतिलाई एक वाक्यमा भन्नुपर्दा ?
एक वाक्य होइन, शब्दमै भनौं– भद्रगोल ।
२. हाम्रो राजनीतिको मुख्य समस्या के देख्नुहुन्छ ?
मुख्य समस्या जवाफदेही नहुनु हो । कसैमा पनि जवाफदेही भए जस्तो लाग्दैन । व्यक्तिगत इच्छा, स्वार्थ र सत्ताको दौड बढी भइरहे जस्तो लाग्छ ।
३. नेताहरूको एउटा गुण वा चरित्र सुधार्न मिल्ने भए के सुधार्नुहुन्थ्यो ?
एउटा मात्रै ?
४. मनपरेका वा प्रभाव पारेका नेता/राजनीतिज्ञ ?
साहित्यबाट बढी हावी भएर आएको हो कि चाहिं थाहा छैन, बीपी कोइराला मन पर्छ । म कांग्रेसचाहिं होइन है !
सिंगापुरका लि क्वान यु पनि मनपर्छ । उनले जसरी सिंगापुर बनाए, त्यसले प्रभाव पारेको छ । हाम्रोमा पनि त्यस्तो नेता हुनुपर्छ, आउनुपर्छ जस्तो लाग्छ । र, आउँछ जस्तो पनि लाग्छ ।
५. मानौं तपाईं प्रधानमन्त्री हुनुभयो, सबभन्दा पहिला के काम गर्नुहुन्थ्यो ?
धेरै होलान् गर्नुपर्ने । सफा छवि भएका विज्ञहरूसँग बसेर राम्ररी परामर्श गरेर योजना बनाउने काम पहिले गर्थें होला ।
६. एक दिन बिताउनुपर्यो भने नेपालको/संसारको कुन नेता छान्नुहुन्छ ?
रोज्न त म यसमा पनि बीपी नै रोज्थें । तर, उनलाई साहित्यकारका रूपमा रोजेकोले यसमा नेल्सन मण्डेला ।
सामाजिक सञ्जाल
१. दिनको कति घण्टा मोबाइल र सञ्जालमा बिताउनुहुन्छ ? बढी चलाउने कुन ?
सामाजिक सञ्जालमै चाहिं दिनको दुई घण्टा जस्तो बित्छ होला । केही पढ्ने, लिंकहरू खोलेर भिडियो हेर्ने भएकाले मोबाइल बढी चलाइन्छ । फिल्म पनि ल्यापटपमा हेर्ने भएकाले स्क्रिन टाइप बढी छ । सञ्जालचाहिं कम चलाउँछु । बढी चलाउने फेसबुक र इन्स्टाग्राम ।
२. बिहान उठ्नासाथ र राति सुत्नेबेला फोन हेर्ने बानी छ कि छैन ?
छ । उठ्ने बित्तिकै मोबाइलमा नोटिफिकेसन हेरिन्छ । राति सुत्ने बेला पनि हेरिन्छ ।
३. सञ्जालको राम्रो र नराम्रो पक्ष के लाग्छ ?
भीडलाई पछ्याउने हुँदा समाजमा सही र गलतको परिभाषा नै मेटिए जस्तो भयो । अल्पमतको आवाज नै दबिन थाल्यो । सञ्जालमा लोकतन्त्र हराउँदै गए जस्तो लाग्दैछ । यो खतरनाक पक्ष हो ।
राम्रो पक्ष सूचनै हो । संसारभरिका कुरा थाहा पाइन्छ । यो ठूलो क्रान्ति पनि हो । थाहा पाउनका लागि मानिसको ठूलो संघर्ष थियो । नराम्रो चाहिं सञ्जालले नै मान्छेलाई नियन्त्रण गर्न थाल्यो । मान्छेले सोचेको कुरा लेख्नै नसक्ने हुनथाल्यो ।
बहुमत र भीडले दबाउन थाल्यो जस्तो लाग्छ । सही–गलत छुट्टिनै नसक्ने जस्तो भयो । भीडलाई पछ्याउने हुँदा समाजमा सही र गलतको परिभाषा नै मेटिए जस्तो भयो । अल्पमतको आवाज नै दबिन थाल्यो । सञ्जालमा लोकतन्त्र हराउँदै गए जस्तो लाग्दैछ । यो खतरनाक पक्ष हो ।
४. सामाजिक सञ्जालले अभिव्यक्ति स्वतन्त्रता र वैकल्पिक सूचना सञ्जालको काम बढी गरेको छ कि गलत सूचना फैलाउने र मान्छेलाई भुलाउने काम बढी गरिरहेको छ ?
दुइटै कुरा गरेको छ । सही सूचना दिएर बाटो देखाएको पनि छ । भ्रम पनि चाँडै फैलिने ठाउँ भएको छ । भाइरल संस्कारचाहिं बढेको छ ।
५. सामाजिक सञ्जालले किताब र पत्रपत्रिकालाई विस्थापित गरिरहेको छ वा गर्नेछ भन्ने गरिन्छ । त्यस्तो लाग्छ ?
किताबलाई विस्थापितै त नगर्ला । पढ्ने मान्छेलाई यसले रोक्न सक्दैन । तर, महिनामा तीनोटा पढ्नेले एउटा वा दुइटा पढ्ला । समयचाहिं किल गरिरा’छ । मेरै पनि त्यसरी किल भइरा’छ । म हिजो कति पढ्थें र आज कति पढ्छु भनेर हेर्यो भने अहिले घटेको छ ।
धेरै मिडिया कन्टेनहरू रिल र भिडियोमा गइरहेको छ । यसले गर्दा पढाइ–लेखाइमा दिनुपर्ने समय पनि सञ्जालमा दिनु परिरहेको छ । तर, पढ्ने मान्छे नै हराएर जान्छन् भन्ने चाहिं लाग्दैन ।
पेशा/व्यवसाय
१. लेखक हुनुको सबभन्दा राम्रो र नराम्रो कुरा के छ ?
राम्रो कुरा भनेको लेखनले ऊर्जा र सन्तुष्टि दिन्छ । हजारौं, लाखौं पाठकले तपाईंको लेखन, किताब मन पर्यो भनेको सुन्न पाउनु ठूलो कुरा हो । सगरमाथा चढ्नेलाई शिखरमा पुगे जस्तो हो । बोरिङ चाहिं लाइफस्टाइल मोनोटोनस हुन्छ ।
एउटै ठाउँमा बसेर लेख्नु, ल्यापटपको अगाडि बसिरहनु चाहिं बोरिङ हुन्छ । अलि एक्लो पनि भइन्छ । १०–५ को अफिस जस्तो बेलाबेला ब्रेक लिनु, साथीभाइसँग हाँसोठट्टा गर्दागर्दै चियासिया खाने भए हुन्थ्यो जस्तो पनि लाग्छ ।
२. कुन समयमा तपाईंलाई यही काम गर्नुपर्छ भन्ने लाग्यो ?
लेखक बन्ने सपना दुई–तीन कक्षामा पढ्दादेखि नै थियो । त्यो कसरी आयो भन्ने चाहिं थाहा छैन । मेरो दोस्रो किताब समर लभ चलेपछि लेखनलाई पेशा बनाएर बाँच्न सकिन्छ कि जस्तो लाग्यो । त्यतिबेला लोकसेवा दिनलाई दुई–तीन वर्ष बाँकी थियो । तर अब नदिने भनेर थान्को लागेर बसें ।
३. लेखक नबनेको भए के बन्नुहुन्थ्यो होला ?
काम त के गर्थें थाहा छैन, एनआरएन चाहिं बन्थें होला । अमेरिका वा क्यानडातिर हुन्थें होला । वातावरणीय विज्ञानमा पीएचडी गरिरा’को हुनसक्थें । मेरो विषय त्यही हो । मेरा कति साथीहरूले पीएचडी गरिरा’छन्, कतिले गरिसके ।
४. तपाईंको कोही रोलमोडल छ ?
त्यस्तो रोलमोडल त छैन । टुक्रा–टुक्रा कुरा धेरैको मन परेको हुन्छ । मान्छे कोही पनि पूर्ण वा सर्वगुणसम्पन्न हुँदैन । त्यसैले धेरै मान्छेबाट एक–एक भाग निकालेर नयाँ मान्छे ‘एसेम्बल’ गर्न पाएदेखि त्योचाहिं रोलमोडल हुन्थ्यो होला !