प्रकाशित मिति : १७ असार २०८३, बुधबार
फोटो : एएफपी/रासस
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रिप्टोकरेन्सीसँग सम्बन्धित व्यवसायबाट मात्रै करिब १ अर्ब ४३ करोड अमेरिकी डलर आम्दानी गरेका छन्। ट्रम्पले सार्वजनिक गरेको अनिवार्य वार्षिक वित्तीय विवरणमा यो आम्दानी उल्लेख गरिएको हो।
९२७ पृष्ठ लामो वित्तीय विवरणअनुसार ट्रम्पले ‘सेलिब्रेसन कोइन्स’ नामक संस्थाबाट ६३ करोड ५० लाख डलर रोयल्टी प्राप्त गरेका छन्। त्यसैगरी, आफ्ना छोराहरू तथा विशेष दूत स्टिभ विटकफको परिवारले स्थापना गरेको क्रिप्टोकरेन्सी कम्पनी ‘वर्ल्ड लिबर्टी फाइनान्सियल’ बाट ट्रम्पले ५० करोड डलरभन्दा बढी आम्दानी गरेको विवरणमा उल्लेख छ।
वित्तीय विवरणअनुसार ट्रम्पको क्रिप्टोकरेन्सीसम्बन्धी कुल आम्दानी १ अर्ब ४३ करोड ३९ लाख डलरभन्दा बढी पुगेको छ। यसैबिच, ट्रम्पको गत वर्षको कुल आम्दानी कम्तीमा २ अर्ब २० करोड अमेरिकी डलर पुगेको देखिएको छ। यो सन् २०२४ को वित्तीय विवरणमा देखाइएको करिब ६० करोड डलरको आम्दानीको तुलनामा निकै उच्च हो।
ह्वाइट हाउसले भने राष्ट्रपति ट्रम्पले आफ्नो पदको दुरुपयोग गरी कुनै पनि आर्थिक लाभ नलिएको स्पष्ट पारेको छ। ट्रम्पका व्यवसायहरू उनका छोराहरूले व्यवस्थापन गर्ने ट्रस्टमार्फत सञ्चालन भइरहेकाले यसमा कुनै पनि प्रकारको स्वार्थको द्वन्द्व नभएको दाबी गरिएको छ।
ह्वाइट हाउसकी उप–प्रेस सचिव एना केलीले राष्ट्रपति ट्रम्पले अमेरिकालाई विश्वकै “क्रिप्टोकरेन्सीको राजधानी” बनाउने अभियान अघि बढाएको बताइन्। राष्ट्रपति ट्रम्प र उनको प्रशासनका सबै निर्णय अमेरिकी जनताको हितका लागि मात्र गरिएका हुन् भन्ने दाबी ह्वाइट हाउसको छ।
आफ्नो आम्दानीबारे बोल्दै ट्रम्पले आफूले कमाएको रकम सेयर बजारको वृद्धिसँग सम्बन्धित भएको बताएका छन्। उनले भनेका छन्, “राष्ट्रपति बन्नुअघि नै मैले धेरै पैसा कमाइसकेको थिएँ। उनीहरूले मेरो पैसा लगानी गर्छन् र म उनीहरूसँग त्यसबारे कुनै छलफल गर्दिनँ।”
कुनै समय ट्रम्पले सन् २०२१ मा बिटकोइनलाई “ठगी” र “विनाश निम्त्याउने माध्यम” भन्दै कडा आलोचना गरेका थिए। तर, सन् २०२४ को राष्ट्रपतीय चुनाव अभियानका क्रममा उनले आफ्नो धारणा बदल्दै अमेरिकालाई “विश्वकै क्रिप्टोकरेन्सीको राजधानी” बनाउने प्रतिबद्धता व्यक्त गरे।
राष्ट्रपति बनेपछि उनले क्रिप्टो उद्योगको जिम्मेवार विकासलाई प्रोत्साहन गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरे सँगै डिजिटल सम्पत्तिसम्बन्धी नीतिमा पनि सहजता ल्याइएको छ।
यद्यपि, पूर्वराष्ट्रपति जर्ज डब्लु बुसका ह्वाइट हाउसका पूर्वसल्लाहकार रिचर्ड पेन्टरले ट्रम्पले क्रिप्टोकरेन्सीबाट एक अर्ब डलरभन्दा बढी आम्दानी गर्नु “असाधारण” भएको टिप्पणी गरेका छन्। उनले यसले स्पष्ट रूपमा स्वार्थको द्वन्द्व देखाउने दाबी गरेका छन्।
