बालविवाहको भयावह नतिजा : २ लाख सुत्केरी आमा १९ वर्ष मुनिका

बालविवाहको भयावह नतिजा : २ लाख सुत्केरी आमा १९ वर्ष मुनिका


४ साउन, काठमाडौं । मध्य असारको सोमबार, थापाथलीस्थित प्रसूति गृहको बेड नम्बर २५७ । बेडमा सुतिरहेकी छिन्, सानिता तामाङ । छेउमा सासूआमा शकुन्तला बसिरहेकी छिन् । टाउकोमा कपडा बेरिएको छ । मलिन मुद्रामा एकोहोरो हेरिरहेकी छिन्, सानिता ।

चिकित्सकले अहिले कस्तो छ भनेर सोध्छन् ? उनको बोली फुट्दैन, मुन्टो तलतिर घोप्टाउँछिन् । आफैंले लगाएको कपडाको तुना यसो मिलाए झैं गर्छिन् । उभिइरहेका श्रीमान् सुशील पाख्रिनले जवाफ दिन्छन्– आज अलिकति पातलो झोल खाइन् ।

उनी १६ वर्षीया सुत्केरी आमा हुन् । सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ की सानिताले १३ असारमा शल्यक्रिया गरेर छोरो पाइन् । हामीले उनीसँग कुरा गर्ने प्रयास गर्‍यौं । तर उनले घोसेमुन्टो लगाइन् । ‘सरहरू भएर लजाएको हो कि क्या हो !’ सुशीलले जिस्काए । तर उनी बोलिनन् ।

८ कक्षामा पढ्दै भागी बिहे

२०८० असारमा भागेर बिहे गर्दा सानिता कक्षा ८ मा पढ्दै थिइन् । पछि परिवारकै संस्कार अनुसार बुहारी बनिन् । उमेर भर्खरै १५ वर्ष पुगेको थियो । विवाह भएको तीन महिनापछि नै गर्भवती भइन् । सुशीलका अनुसार त्यसबेला परिवार नियोजनको साधन प्रयोग गर्नुपर्छ भन्ने हेक्का समेत भएन । ख्यालख्यालैमा बच्चा बस्यो ।

‘उनी ८ कक्षामा पढ्दै थिइन् । सानैदेखि नै चिनजान थियो’ सुशीलले बिहे गर्दाको दिन सम्झिए, ‘सानै उमेरमा विवाह गर्दा गाउँमा कानुन लाग्छ भन्न थाले अनि भागेर विवाह गर्‍यौं ।’

२० वर्षीय सुशीलको घरबाट थोरै दूरीमा सानिताको माइती घर छ । सानिताकी आमा दोस्रो विवाह गरेर १३ वर्ष अगाडि जुगल गाउँपालिकामा आएकी थिइन् । सानिता पनि आमासँगै आएकी थिइन् । उनका एक भाइ र एक बहिनी छन् ।

सात कक्षामा पढ्दै गर्दा सुशीलसँग देखाभेट भयो । भेटघाट बाक्लो हुनथाल्यो । ‘विवाह भएपछि एक पटक मात्रै महिनावारी भयो । त्यसपछि उनको पेट बसेछ’ सुशीलले सुनाए, ‘विवाह भइसकेपछि उनले पढाइ छाडिन् ।’

सुशीलले दुई वर्ष अगाडि एसईई दिएका थिए, उत्तीर्ण हुन सकेनन् । घरको आर्थिक अवस्थाले बनिबुतो गरेर पालिनुपर्ने अवस्था छ । उनी गाउँघरतिर ज्यामी काम गर्छन् । बाँकी समय खेतबारीमा काम गर्छन् ।

‘गाउँमा अरू के नै काम हुन्छ र ! ज्याला, मजदुरी गरेर भए पनि पालिनै पर्‍यो’, उनी भन्छन् ।

गर्भ बसेपछि स्थानीय स्वास्थ्य संस्थामा परीक्षण भयो । घरमै व्यथाले च्यापेपछि श्रीमान्ले स्थानीय स्वास्थ्य संस्थामा पुर्‍याए । दुई रात बस्दा पनि नर्मल डेलिभरी हुन सकेन । अवस्था जटिल बन्दै गएपछि स्वास्थ्यकर्मीले प्रसूति अस्पताल ‘रेफर’ गरे ।

‘कलिलो उमेरमा बच्चा पाउँदा धेरै गाह्रो हुने रहेछ । उनी धेरै छट्पटाइन्, आत्तिइन् । डर पनि लाग्यो’ प्रसव वेदनामा श्रीमतीलाई देखेको श्रीमान्ले समस्या सुनाए, ‘दुई दिनदेखि टोलाइरहेकी छिन्, राम्रोसँग खानेकुरा पनि खाएकी छैनन् ।’

उनले यसो भनिरहँदा १६ वर्षीया सानिता भित्तामा ज्यान अड्याएर छोरो काखमा लिंदै खुुट्टा सुम्सुम्याइरहेकी थिइन् ।

*****

मन्द मुस्कान शैलीमा फिस्स हाँस्दै, चिकित्सकलाई दुई हात जोड्दै नेहाले भनिन्, ‘पेट दुखिरहेको छ, चक्कर लागिरहेको अनुभव भएको छ ।’

चिकित्सकले टेबुलमा राखिएको रिपोर्ट हेर्दै भनिन्, ‘आत्तिनुपर्ने केही छैन । विस्तारै ठीक हुन्छ ।’ उमेरले १८ वर्ष टेकिन् । तर बोली भने परिपक्व थियो ।

नेहा घर्ती प्रसूति गृहको बेड नम्बर ‘५३’ मा अडेस लागेर छोरीलाई दूध खुवाउने कोसिस गरिरहेकी थिइन् । तर दूध आइरहेको थिएन । उनले पुनः प्रश्न गरिन्– ‘जति गर्दा पनि दूध आएन, के गर्ने होला खै ?’

बच्चाले दूध तानेपछि आउँछ भन्दै चिकित्सक पनि खुवाउने तरिका सिकाउन लागिन् ।

श्रीमान्, किरण घर्ती छेउमै मुडामा बसिरहेका थिए । बागलुङकी नेहाले २०८० भदौमा भागेर विवाह गरेकी हुन् । गाउँकै दिदी मार्फत सामाजिक सञ्जालमा किरणसँग जोडिएको छोटो समयमै प्रेम बस्यो । घरपरिवारले मान्छन्, मान्दैनन् थाहा थिएन । त्यसैले उनीहरू दुवैले भागेर विवाह गरे ।

कलिलै उमेरमा कसरी भयो त प्रेम ? किरणले भन्न लजाए । नेहाले पनि लजाउँदै भनिन्, ‘मैले पनि मन पराउँथें । उहाँले पनि मन पराउनुहुँदोरहेछ । कुराकानी हुन थालेको तीन महिनामै विवाह भयो ।’

नेहा कक्षा ९ मा पढ्दै गर्दा बिरामी भइन् । पढाइ पनि छुट्यो । निरन्तरता दिन सकेकी थिइनन् । गएको भदौमा विवाह भयो । कात्तिक महिनातिर अचानक उनको पेट र कम्मरको भाग दुख्न थाल्यो । स्वास्थ्य संस्थामा परीक्षण गर्दा गर्भ रहेको पुष्टि भयो ।

‘असोजमै गर्भ बसिसकेको रहेछ । दशैं परेकाले महिनावारी रोकिने औषधि खाएकी थिएँ’ नेहाले भनिन्, ‘परिवारले पहिलो सन्तान नफाल्न सुझाव दिनुभयो ।’ बिहे गरेपछि भोग्नुपर्ने समस्याको अन्दाज नै उनलाई थिएन, कलिलो मानसपटलले माया मात्रै देखिरहिन् ।

६ महिना अघिदेखि दुवै जना काठमाडौंमा डेरामा बस्दै आएका छन् । किरण निजी कम्पनीमा काम गर्छन् । हतारमा बिहे गरेकोमा र उमेर नपुगी सन्तान जन्माएकोमा नेहा खिन्न छिन् । उनी पढाइलाई निरन्तरता दिन चाहन्छिन् । ‘तर के गर्नु ? त्यति बेला बिहे गरे के–के न हुन्छ भन्ठानियो’ उनले गुनासो गरिन्, ‘अहिले आएर केही वर्षपछि मात्रै विवाह गरेको भए हुन्थ्यो भन्ने लागिरहेछ ।’

‘१४ प्रतिशत किशोरी गर्भवती’

कलिलै उमेरमा गर्भवती हुने ठूलो संख्यामध्ये सानिता र नेहा दुई जना पात्र हुन् । नेपालको कानुनले २० वर्षभन्दा मुनिको बिहेलाई गैरकानुनी मान्छ । कानुन अनुसार २० वर्षमा विवाह हुँदा पनि छिट्टै बच्चा जन्माउँदा महिलाको उमेर कम्तीमा २१ वर्षको हुनुपर्ने हुन्छ ।

तर, समाजमा यस्तो कानुनको खुलेआम अवज्ञा भइरहेको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको तथ्यांकले देखाउँछ । अस्पतालका अनुसार, वार्षिक रूपमा यो अस्पतालमा मात्र १८०० को हाराहारीमा १९ वर्षभन्दा मुनिका किशोरीहरूको डेलिभरी हुने गर्छ ।

बालविवाहको भयावह नतिजा : २ लाख सुत्केरी आमा १९ वर्ष मुनिका

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस) २०२२ ले १५ देखि १९ वर्ष उमेर समूहका १४ प्रतिशत किशोरीहरू गर्भवती हुने गरेको देखाएको छ । यसलाई राष्ट्रिय जनगणना २०७८ को किशोरीको संख्या (१४ लाख ७१ हजार) सँग तुलना गर्दा यो अंक २ लाख ६ हजार हुन आउँछ ।

कलिलै उमेरमा विवाह गर्ने र गर्भवती हुने बहुआयामिक कारण छन् । वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदीका अनुसार, सानो उमेरमा विवाह हुने प्रमुख कारणमा शिक्षाको कमी, गरिबी, सामाजिक प्रचलन, बेरोजगारी सहितका पक्ष जोडिएर आउँछन् ।

‘पछिल्ला वर्षमा किशोरी उमेरमै गर्भवती हुने दर घट्न सकेको छैन’ सुवेदीले भने, ‘देशभर १४ प्रतिशत किशोरी गर्भवती हुनुले अहिले पनि कलिलैमा सन्तान जन्माउने आमाको भयावह अवस्थाको चित्रण गर्छ ।’

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सा समाजशास्त्री प्रा.डा. मधुसूदन सुवेदी किशोरी उमेरमा गर्भधारण भइरहेको विषयलाई विभिन्न पक्षसँग जोडेर हेर्नुपर्ने बताउँछन् । उनका भनाइमा, अझै पनि नेपालमा परम्परागत सोच कायम नै छ ।

‘जात, स्थानविशेषमा अझै पनि चाँडै विवाह गर्नुपर्छ भन्ने चलन छ । आमा, हजुरआमाले चाँडै विवाह गरेका थिए । छोरीहरूको पनि चाँडै विवाह गराइदिनुपर्छ भन्ने मानसिकता अझै छ’, डा. सुवेदीले थपे ।

कर्णाली र मधेश : सबैभन्दा धेरै  

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण अनुसार सबैभन्दा धेरै समस्या कर्णाली प्रदेशमा छ । कर्णालीमा १५–१९ वर्ष उमेर समूहका २१ प्रतिशत किशोरी गर्भवती हुने गरेको सर्वेक्षणमा उल्लेख छ । यस्तैगरी मधेश प्रदेशमा यो संख्या २० प्रतिशत छ । गण्डकी, कोशी र सुदूरपश्चिममा १३/१३, लुम्बिनीमा १० र बागमतीमा ८ प्रतिशत किशोरी कम उमेरमै गर्भवती हुने गरेको उक्त अध्ययनमा उल्लेख छ ।

यस्तो डरलाग्दो तथ्यांक आउनुमा प्रमुख रूपमा सामाजिक पक्षले प्रभाव पारिरहेको स्वास्थ्य सेवा विभाग अन्तर्गतका परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेककुमार लालको बुझाइ छ । त्यसैले कम उमेरमै बिहे हुनु र गर्भवती हुनुको कारण खोजिनुपर्ने उनको भनाइ छ ।

घरको पारिवारिक अवस्थाले पनि छिट्टै विवाह गर्नुपर्ने, विद्यालय उमेरमै बिहे गर्ने र पढाइ छाड्ने, गर्भवती भइसकेपछि पढ्न नजाने, जस्ता कारणले पनि यो विषयको सामाजिक अर्थ रहेको उनको भनाइ छ । ‘किशोरी अवस्था विस्तारै शारीरिक र मानसिक रूपमा परिपक्व हुने उमेर हो । आमा बन्न तयार नभइसकेको अवस्था भएकोले यसले दीर्घकालीन समयसम्म शारीरिक र मानसिक असर पर्छ’, डा. लाल भन्छन् ।

बालविवाहको भयावह नतिजा : २ लाख सुत्केरी आमा १९ वर्ष मुनिका

यस्तै बालविवाहको तथ्यांक पनि डरलाग्दो छ । ३ प्रतिशत किशोरीहरू र १ प्रतिशत हाराहारीका किशोरले १५ वर्ष उमेर नपुग्दै विवाह गर्ने गरेका हुन्छन् । सर्वेक्षणले १५ वर्ष नपुग्दै वा १५ वर्ष उमेर हाराहारीमा २ प्रतिशत किशोर र किशोरीले यौनसम्पर्क गरिसक्ने तथ्य उजागर गरेको छ । यस्तै १८ वर्षमै एक तिहाइ किशोरीले यौन सम्पर्क राख्ने गरेको सर्वेक्षणले देखाएको छ ।

औपचारिक शिक्षा नलिएका किशोरीमा बढ्यो गर्भधारण

सन् १९९६ मा गरिएको एनडीएचएसको तथ्यांकसँग अहिले तुलना गर्दा नेपालमा किशोरावस्थामै गर्भाधारण गर्ने किशोरीको संख्या घटेको देखिन्छ । २० वर्षभन्दा कम उमेर समूहका किशोरीको गर्भधारण प्रतिशत सन् १९९६ मा २३.९ प्रतिशत थियो । २६ वर्षपछि सन् २०२२ मा १० प्रतिशतले घटेर १३.६ प्रतिशतमा झरेको एनडीएचएस सर्वेक्षणले देखाएको छ ।

तर, औपचारिक शिक्षा नलिएको समूहमा पर्ने किशोरीहरूमा भने गर्भधारण हुने प्रतिशत उकालो लागेको छ । सन् १९९६ को एनडीएचएसको तथ्यांक अनुसार १५ देखि १९ वर्ष उमेर समूहका ३१.८ प्रतिशत अशिक्षित किशोरीले गर्भधारण गरेका थिए । २६ वर्षपछि सन् २०२२ मा आउँदा यो दर ३२.७ प्रतिशत पुगेको छ ।

सन् २००१ मा औपचारिक शिक्षा नलिएका किशोरीको गर्भधारण हुने प्रतिशत ३१.५ थियो । सन् २००१ बाट सन् २००६ मा आइपुग्दा बढेर ३२.७ प्रतिशत पुग्यो । त्यसपछि सन् २०११ मा ३१.६, सन् २०१६ मा ३२.६ प्रतिशत पुगेको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणको तथ्यांकले देखाउँछ ।

बालविवाहको भयावह नतिजा : २ लाख सुत्केरी आमा १९ वर्ष मुनिका

‘केही समय अगाडि मकवानपुरको चेपाङ समुदायमा गरिएको एक अध्ययनले अधिकांश किशोरी १९ वर्ष अगाडि नै विवाह गरेको देखाएको थियो’ चिकित्सा समाजशास्त्री डा.सुवेदी भन्छन्, ‘पढ्ने–लेख्ने वातावरण नपाएका, घरको कमजोर आर्थिक अवस्था, बुबा–आमाबाट माया नपाएका किशोरीले छिट्टै भागी विवाह गरेको देखिन्छ ।’

यस्तै परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीका अनुसार नेपाली समाज अझै पनि छोरीलाई २० वर्षभन्दा माथि घरमै राखियो भने भागेर बिहे गर्ने र परिवारको इज्जत जाने, छोरी गतिछाडा हुने भन्ने भ्रम छ । पुरुषवादी सोचका कारण परिवारको करकापले उनीहरूको कलिलै उमेरमा विवाह हुन्छ ।

एनडीएचएस तथ्यांकलाई लिएर ‘हर्ड इन्टरनेशनल’ ले गरेको विश्लेषणमा जातीय रूपमा हेर्दा किशोरी अवस्थामै गर्भधारण हुने समस्या विशेषगरी मुस्लिम र दलित समुदायमा बढी छ । एनडीएचएसको सन् २०२२ को तथ्यांक अनुसार १९ वर्षभन्दा कम उमेरमै गर्भधारण भएका मध्ये २२ प्रतिशत मुस्लिम समुदायका किशोरी छन् ।

मुस्लिम समुदायपछि सबैभन्दा बढी कम उमेरमै विवाह गर्नेमा दलित पर्छन् । कम उमेरमै विवाह गरेकामध्ये २०.७ प्रतिशत दलित किशोरीले गर्भधारण गर्ने गरेको सर्वेक्षणले देखाएको छ । मुस्लिम तथा दलित समुदायका किशोर–किशोरीले चाँडै विवाह गर्नुको मुख्य कारण चाहिं गरिबी र अशिक्षा नै रहेको अध्ययनले देखाएको छ ।

त्यसपछि मधेशी समुदायमा १३.५ प्रतिशत, जनजातिमा १२.९ प्रतिशत र क्षेत्री–बाहुनमा भने ७.८ प्रतिशत किशोरी गर्भवती हुने गरेको एनडीएचएसको तथ्यांकमा उल्लेख छ । ‘आर्थिक हिसाबले सम्पन्न भएको तराईको बाहुन समुदायमा कलिलै उमेरमा विवाह गरिदिने संस्कार झनै व्याप्त छ’ समाजशास्त्री सुवेदी भन्छन्, ‘यो उमेरमा विवाह गरेका धेरैको सम्बन्धविच्छेद हुन्छ ।’

नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर १ मा १७ वर्षकी किशोरीले दुई वटा बच्चा पाइसकेको उदाहरण पनि छ । अधिकांशले २० वर्षसम्ममा त एक भन्दा बढी बच्चा पाइसकेको हुने ओखरपौवा स्वास्थ्यचौकी इन्चार्ज दामोदर खनाल बताउँछन् ।

किन कम उमेरमै विवाह गर्छन् ? भन्ने प्रश्नमा खनाल भन्छन्, ‘यहाँको चलन नै यस्तै छ । परिवारकै करकाप तथा योजनामा र कतिपय अवस्थामा भने केटा–केटी मन पराएर भागेर पनि कलिलैमा विवाह गर्छन्’, खनालले भने ।

‘परम्परावादी सोच छ । ५० प्रतिशत किशोरीको १४/१५ वर्षमै विवाह भइसकेको हुन्छ’ खनालले भने, ‘१७ वर्षको उमेरमा त कतिपयको दुईवटा बच्चा समेत भइसकेको हुन्छ ।’ स्वास्थ्य चौकीमा प्रत्येक महिनाको १२ गते खोप क्लिनिक सञ्चालन हुन्छ । त्यस दिन मात्रै १५ जना हाराहारी किशोरी गर्भ परीक्षण गर्न आउने खनालले बताए ।

‘यहाँका धेरैको बच्चा जन्मिसकेर मात्रै विवाह दर्ता हुन्छ’, खनाल भन्छन् ।

स्वास्थ्यमा असर, यौन र श्रमशोषण

बालविवाह र सानै उमेरमा गर्भवती हुँदा त्यसले किशोरीको स्वास्थ्यमा प्रत्यक्ष नकारात्मक प्रभाव पार्छ । ‘सानैमा बिहे गरेपछि केही वर्षमै बच्चा भइहाल्छ । कतिपय त बिहेपछि मात्रै महिनावारी भएका पनि हुन्छन्’ स्त्री रोग विशेषज्ञ डा. सुवेदी भन्छन्, ‘कलिलै उमेरमा बच्चा जन्माउँदा आमा र शिशु दुवै स्वस्थ हुँदैनन् ।’

किशोरी उमेरमा मानसिकसँगै शारीरिक विकास विस्तारै हुँदै जान्छ । विज्ञका अनुसार, किशोरी मानसिक रूपमा पनि आमा बन्न तयार भएकी हुँदिनन् । किनकि, किशोर–किशोरी उमेरमा शारीरिक मानसिक परिपक्वता आइसकेकै हुँदैन । आफ्ले निर्णय गर्ने क्षमताको विकास भएको हुँदैन ।

डा. अधिकारीका अनुसार, यो अवस्थामा गर्भवती हुनु भनेको स्वास्थ्यको हिसाबले अत्यन्तै खतरा हो । ‘शारीरिक रूपमा पूर्ण रूपमा तयार नहुँदै आमा बन्दा बच्चा र आमा दुवैलाई जोखिम हुन्छ’ डा. अधिकारी भन्छन्, ‘कलिलो उमेरको आमाबाट जन्मिने शिशुहरूको वृद्धि विकास कम हुन्छ । बच्चालाई समेत दीर्घकालीन असर निम्तिन सक्छ ।’

डा. सुवेदीका भनाइमा चाहिं कलिलो उमेरमै बच्चा जन्माउँदा गर्भपतनको जोखिम उच्च हुन्छ । मानसिक रूपमा पनि तयार नहुने हुनाले मानसिक समस्या समेत हुन सक्छ । उनी भन्छन्, ‘यस्तो वेला घरपरिवारको सहयोग पुगेन र लामो समय पीडाबाट गुज्रिनुपर्‍यो भने मानिस डिप्रेसनमा जान सक्छ ।’

किशोरीको हड्डीको बनावट पूर्ण विकास भइसकेको हुँदैन । जोर्नी पनि ठूलो बनेको हुँदैन । बच्चा बस्ने पाठेघर पनि सानो हुन्छ’ डा. अधिकारी भन्छन्, ‘जसले गर्दा बच्चा जन्माउने बेलामा जोखिम लिनुपर्ने हुन्छ । सुत्केरी हुँदा आमाको मृत्यु हुने सम्भावना पनि धेरै हुन्छ ।’

बालविवाहको भयावह नतिजा : २ लाख सुत्केरी आमा १९ वर्ष मुनिका
परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारी

किशोरी आमाहरूबाट जन्मिएका बच्चाको तौल कम हुने तथा सन्तुलित खानपान बारेमा जानकारी कम हुने भएकाले कुपोषित बच्चा जन्मने सम्भावना धेरै हुन्छ । किशोरी आमाले पेटमा हुँदा बच्चालाई ख्याल नगरेको अवस्थामा नर्मल रूपमा विकास हुनुपर्ने कम तौलको शिशु जन्मिन सक्छ ।

चिकित्सकका अनुसार सामान्यतः नेपाली बच्चा जन्मिंदा ३ केजीका हुन्छन् । तर कलिला आमाबाट जन्मिएका बच्चा १.५ केजी र २ केजीका जन्मिन्छन् । यस्ता बच्चा शारीरिक अपांग तथा मानसिक रूपमा कमजोर समेत हुन्छन् ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस) सन् २०२२ ले  विवाह भएका १५ देखि १९ वर्षसम्मका ९ प्रतिशत किशोरीलाई घरपरिवारबाट दबाब आउने गरेको देखाएको छ । यस्तै यौन र स्वास्थ्य सम्बन्धी निर्णय लिंदा किशोरी उमेर समूहको सहभागिता सबैभन्दा न्यून छ । सर्वेक्षणले १५ देखि १९ वर्षका किशोरीको ३७ प्रतिशत मात्रै सहभागिता रहेको देखाउँछ । यस्तै श्रीमान् तथा प्रेमीबाट नै २१ प्रतिशत किशोरी महिलामाथि यौन दुव्र्यवहार हुने सर्वेक्षणको तथ्यांक छ ।

‘किशोरी उमेर समूह नै जोखिममा हुन्छ । चुनौतीमा हुन्छ । उनीहरूलाई हुने समस्या हामीले बुझेका छैनौं’ डा. लाल भन्छन्, ‘यौन, प्रजनन् सम्बन्धी सूचना, परामर्श दिनसकेका छैनौं । किशोर–किशोरी मैत्री सेवा राम्रो बनाउन चुकिरहेका छौं ।’

यस्तै सानैमा बच्चा जन्माउँदा कामकाजी उमेरमा आम्दानी भन्दा घरधन्दामै समय बित्ने गर्छ । पढाइ प्रभावित हुन्छ, गर्भवती हुँदा काममा जान नसक्ने भएकाले किशोरी आर्थिक रूपमा घरपरिवारको भर पर्नुपर्ने हुन्छ ।

चिकित्सा समाजशास्त्री प्रा.डा. सुवेदी पनि कानुनमा बिहेवारी २० पारि भने तापनि कानुन एकातिर समाज अर्कोतिर हुँदै आएको टिप्पणी गर्छन् । वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सुवेदी बालविवाहलाई रोक्नका लागि किशोरकिशोरीलाई स्कुल नछोड्ने वातावरण बनाउनुपर्ने तर्क गर्छन् ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार योेजना तथा प्रजनन् स्वास्थ्य शाखाका प्रमुख समिला दाहाल पौडेल सुरक्षित यौन सम्पर्कको विषयमा जनचेतना फैलाउन जरूरी भएको बताउँछिन् । उनी भन्छिन्, ‘परिवार नियोजनको साधन कहाँ पाइन्छ ? कसरी प्रयोग गर्ने लगायत विषयमा समयमै जानकारी दिनसकेमा यो समस्या केही हदसम्म कम हुन्छ ।’

बालविवाह र कलिलैमा गर्भवती हुने समस्या अन्त्य गर्न सरकारले धेरै काम गर्न बाँकी रहेको अधिकारी बताउँछन् । ‘हामी सबैले सोच्नुपर्ने बेला आएको छ । कानुनी, प्राविधिक र व्यावहारिक हिसाबले हामीले २० वर्ष भनिरहेका छौं’ डा. अधिकारी भन्छन्, ‘समाजमा बालविवाहलाई रोक्न सकेका छैनौं । सामाजिक पाटो केलाउन जरूरी छ ।’

फोटो/भिडियो : आर्यन धिमाल/अनलाइनखबर





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School