कुनै अनुसन्धानकर्ताको सिद्धान्त वा विचार नीतिका रूपमा लागू हुँदै गर्दा अनेक भावनात्मक महाभारतमा पर्दछ । कुनै परिणाम दिनुपूर्व नै अर्को वैचारिक बहसको द्वन्द्व बनिसक्छ । नेपालको वर्तमान अवस्थाको यथार्थता के छ भने हरेकले अरूलाई मात्र सुधार्न खोजिरहेको छ ।
वास्तवमा आफ्नो वरिपरिको परिस्थिति आफू अनुकूल बनाउन खोज्नु अल्पकालीन परिदृश्य भए पनि दीर्घकालमा हरेकले बदलिंदो समय अनुसार आफूलाई बदल्नै पर्दछ, जुन प्रक्रिया देशको शिक्षा व्यवस्थामा जोडिएको हुन्छ ।
शिक्षालाई जीवनको समग्र सिकाइ तथा त्यसको चिन्तन प्रक्रिया र बोधका रूपमा लिने हो भने संस्थागत औपचारिकता भन्दा धेरै माथि उठ्नुपर्ने हुन्छ । शिक्षाको गुणस्तरीयताको मापन पनि शान्ति, सामाजिक सुव्यवस्था र समृद्धिबाट गरिनुपर्दछ । आज दुनियाँ जहाँ पुगेको छ, त्यसको जस र अपजस दुवै मानवीय चेतना र यसको अभिवृद्धि गरिरहने शिक्षालाई जान्छ ।
कसैले मानव सभ्यता स्वर्णिम युगमा पुगेको देख्छ भने त्यो मानवको ज्ञान आर्जनको देन हो वा यो सभ्यता विनाशको नजिकै पुगेको कसैले देख्छ भने त्यो पनि इतिहासदेखि मानव शिक्षा आर्जनले नै गरेको हो ।
मानिसको जीवन पूर्ण रूपमा प्रकृतिमा निर्भर भएको समयदेखि प्रकृति मानव क्रियाकलापमा भरपर्दै गइरहेको समयसम्म आइपुग्दा हामी कतातिर किन गइरहेका छौं भन्ने मत दुई विपरीत ध्रुवमा बाँडिएको छ ।
अझै थप शब्दहरूमा हेर्दा निराशामा डुबेको मानिसले संसारलाई कठोर, पापी र विनाशतिर गइरहेको देख्छ र बितेको समयभन्दा भविष्यमा आउने समय एकदमै नराम्रो भइरहेको अनुभूत गर्छ । यदि उसले यो सबैको कारण खोजेमा मानिसले लिनेदिने शिक्षालाई यसको जरोमा देख्नेछ । ठीक यहींनेर आशावादी पक्षको दृष्टिकोणले हेर्दा आजको मानव सभ्यता शिक्षाकै योगदानले यहाँ पुगेको पनि स्पष्ट छ ।
यसलाई अझै राम्रो बनाउँदै लैजान अझै गुणस्तरीय शिक्षा आवश्यक हुन्छ नै । तर पहिलो कथनलाई केवल निराशावाद वा विगतको सुखद् स्मृतिका रूपमा मात्र नहेरेर अहिलेको समग्र विश्व मानसिकतालाई दुईतिर विभक्त भएको मान्ने हो भने शिक्षा तथा यसको अर्थ र उपादेयताको एउटा फरक धार सुरु हुन जान्छ ।
मेसिन र आर्टिपसियल इन्टेलिजेन्सको जालमा जकडिंदै गएको मानिस ‘लेफ्ट बे्रेन डोमिनेन्ट’ भइरहेको छ । एकातिर मानवीय भावनाहरू कम हुँदै गई सद्गुणहरू हराउँदै गइरहेका छन् भने अर्कोतिर मानिसको प्रकृतिसँगको लय बिग्रिसकेको छ र विज्ञानले प्रमाणित गरेको तथ्य अनुसार वातावरणीय खतरा बढ्दै गएको छ । यसर्थमा विकसित देशका कैयौं मानिस मानसिक शान्ति र प्रकृतिको सान्निध्य खोज्न छट्पटिइरहेका छन् ।
अब अनुमान गर्न सकिन्छ कि केही दशकपछि नै संसारको गति दुई ओटा विपरीत धु्रवमा अगाडि बढिरहेको हुनेछ । त्यसकारण शिक्षालाई बुझ्ने वा लिने र दिने तथा व्यवहारमा लागू गर्ने पनि वैकल्पिक बाटो खोजिएको हुन सक्छ ।
बिहानै उठेर खेत खन्नुपर्ने बाध्यता भएको किसानको जीवनको एउटै सपना छ कि कुनै दिन उसले पनि बिहानै उठेर चिया पिउँदै गफ गर्न पाओस् । उसले अनेक संघर्ष गरेर त्यो अवस्था प्राप्त गरिसकेपछि उसको शारीरिक स्वास्थ्यको बाध्यताले बिहानै उठेर स्वाँ-स्वाँ गर्दै दौडिनुपर्ने वा बारी खन्नुपर्ने बाध्यता बनाउँछ। मानिसको समृद्धिको यात्रा उसको जैविक धर्मका कारण जहाँबाट सुरु भयो, त्यहीं आएर टुङ्गिन्छ ।
वंशाणुगत गुणहरू, पारिवारिक अवस्था, सामाजिक अवस्था र पर्यावरणीय अवस्थासँगै जन्मेदेखि नै मानिस एउटा यात्रामा धकेलिन्छ । उसको शारीरिक स्वास्थ्य र मानसिक वृद्धिसँगै आजको शिक्षा व्यवस्थाको मार्गमा उसको यात्रा बाध्यकारी बन्न जान्छ । जीवन एक युद्ध जस्तै अगाडि बढ्दा मानिस विरोधाभासमा लडिरहन्छ ।
आफूलाई अरूबाट जे चाहिन्छ अरूलाई आफूले त्यो दिन हुँदैन । जस्तै, उसलाई थाहा छ सोझो रूख काटिन्छ, बाङ्गो नबनी जीवन चल्दैन तर उसले अरूबाट सोझोपनको अपेक्षा गरिरहन्छ । यो मूलभूत रूपमा उसले आर्जन गरेको शिक्षाको दोष हो किनभने विद्यालयमा पढ्दा उसले सबैलाई जित्नै पर्छ । अरूलाई हराउनुपर्छ तर सबैले उसलाई सहयोग गर्नुपर्दछ । यही प्रत्येक व्यक्तिको व्यक्तिगत अन्तद्र्वन्द्व हुन्छ ।
विद्यालयले बालकलाई एउटा अन्त्यहीन दुःखदायी दौडको घोडा बनाउँछ, जीवनको सफलतालाई मापन गर्ने यो दौड एकले अर्कोलाई उछिनेर सम्भव छ हरेकले आफ्नो हित खोज्दा सबैको हित हुन्छ भन्ने एडम स्मिथको अदृश्य हात अब असन्तुलित भइसकेको छ, आजको शिक्षा व्यापारले मानिसले आफू अगाडि जानु भनेको अरूलाई पछाडि धकेल्नु भनेर बुझायो ।
कम्तीमा कसैको खुट्टा नतानी माथि गइन्छ भन्ने कुनै उदाहरण बाँकी रहेन । फलतः खुट्टा तान्ने सिकाइ र सबैभन्दा छोटो बाटोको खोज नै शिक्षाको सार बन्दै गयो ।
देश एकदमै अस्वाभाविक गतिमा अत्यन्त छोटो समयमा भौतिक र अभौतिक उन्नतिको यो शिखरमा पुर्याइन्छ भनेर मात्र नेता बनिने र शक्ति हात पर्ने आजको राजनीतिले मानिसहरूलाई यस्तो मृगतृष्णामा फसायो कि उसले कर्ममा विश्वास गर्न छोड्यो । सपनाको स्वादमा बाँचिरहँदा र प्राप्त हुन नसक्दा सामाजिक, राजनीतिक परिवर्तन माथि परिवर्तनहरू खोजिने भए ।
जति ठूलो भनिएको परिवर्तन त्यति ठूलै आशपछि त्यति नै निराशा र विक्षिप्तता र पुनः परिवर्तन यो दुश्चक्रमा देश फसिरहने भयो । विद्वान् र पत्रकारहरू झन्ठूला आगोका घिउहरू भए, यो हुँदै भएन, यसरी हुँदै हुँदैन बाहेक अरू कुनै मनोभाव र चेतना नै छैन ।
विश्वव्यापीकरण र उदार अर्थतन्त्रको खुलापनले नेपालमा केही छैन, विदेशमा मात्र सबै थोक छ भन्ने मनोदशा बलियो बनायो । विदेशबाटै कमाउने विदेशी वस्तुमै खर्च गर्ने नेपाल एक साँझपख चिया खाने रेस्टुरेन्ट जस्तै बन्दै गएको छ ।
नेपाली बालबालिकाले जब नेपालको माटोमा लडीबुडी खेल्न पाउँदैनन्, नेपाली नदीनालासँगै सुसेल्न, नेपाली वन–पाखामा गीत गाउँदै गाईबाख्रा चराएको अघिल्लो पुस्ताको याद ताजा गराउँदैन ।
केवल चौबीस घण्टे मेसिनरी जीवन बाँचिरहेको हुन्छ । उसले सानैदेखि नेपाल छोडेर विदेश उड्ने सपना मात्र देख्छ । यसबाट के नेपालमा पनि शिक्षाको वैकल्पिक अवधारणा आवश्यक भइसकेको छ भन्ने सिद्ध हुँदैन र ?
यहाँनेर किन र कसरी भनेर व्याख्या त गरिंदैन तर उपर्युक्त समस्याका शिक्षाको कोणबाट दुई ओटा मुख्य विकल्पहरू मात्र छन्, विकसित देशका लागि अनस्कुलिङ वा होम स्कुलिङ र विकासोन्मुख देशका लागि शिक्षाको राष्ट्रियकरण तर एकदमै न्यून विकसित देशका लागि भने अझै पनि शिक्षामा निजीकरण नै आवश्यक रहेको हुन सक्छ ।
नेपालका लागि भने यो चरणमा शिक्षा र स्वास्थ्यको पूर्ण जिम्मा राज्यले लिने तथा शिक्षाको गुणस्तरको पुनर्परिभाषा गर्ने अनिवार्य कदम बनेको छ । केही मात्रामा होमस्कुलिङ वा खुला शिक्षा पनि अति नै लाभकारी सिद्ध हुन सक्नेछ ।
नेपालमा शिक्षाका बारेमा बहस तातिरहेको यस सन्दर्भमा विद्यालयको संस्थागत स्वरूपलाई लिएर थप अध्ययनका लागि एउटा फरक प्रसंग यहाँ उठाइन्छ । मूलतः शिक्षाको भौतिक पक्ष काम गर्ने वा कमाउने र अभौतिक पक्ष ज्ञान तथा शान्तिमा उपलब्ध हुने माध्यमका रूपमा लिने हो भने, के यो कुरा विद्यालय विना सम्भव छैन ? अहिले आएको फरक कोण भनेको एउटा भवनभित्र रहेको बालबालिकाको हुलको रूपमा रहेको विद्यालय विनाको शिक्षा आर्जन हो ।
विश्वका धेरै देशहरूबाट चलिरहेका अनेक किसिमका विद्यालयविहीन ढाँचाहरूमध्ये विद्यालयस्तरको शिक्षा लिनका लागि घरमै शिक्षक राख्ने वा परिवारका सदस्यबाटै सिक्ने, अथवा व्यावहारिक परिस्थितिबाट सिक्ने मुख्य तरिकाहरू उल्लेख छन् ।
एउटा कुनै विद्यालयको सार्थकता भनेको त्यहाँ प्रदान गरिने गुणस्तरीय शिक्षालाई मानिएको छ । प्रश्न यहींनेर शुरु हुन्छ कि गुणस्तरीयताको मापन प्रणाली के हुने ? वर्तमान नेपालमा गुणस्तरहीन शिक्षा छ भन्ने आधार के हो ? त्यसका लागि शिक्षाले लिएको उद्देश्यमा टेक्नुपर्ने हुन्छ । यद्यपि शिक्षा आर्जनका व्यक्तिगत उद्देश्य भिन्न–भिन्न हुनसक्छन् । गुणस्तरीय शिक्षाको त्यस मापदण्डमा पुग्नका लागि आवश्यक पाठ्यक्रम र त्यस अन्तर्गत अपनाइएको मूल्यांकन प्रणाली र कक्षा कोठाका क्रियाकलापहरू कस्ता हुनुपर्नेछ ?
यी सबै कुराहरूको आधारमा शिक्षाको एउटा फरक दर्शनलाई समातेर कक्षाकोठाको शिक्षा र जीवन दर्शनको तादात्म्य खोजिरहँदा हिन्दु समाजको प्राचीन गुरुकुल र वर्णव्यवस्थाको सन्दर्भ आउन सक्छ ।
तथापि वर्तमान विश्वमा बढिरहेको वैकल्पिक शिक्षा व्यवस्था सम्बन्धी साहित्य विस्तृत अध्ययन गर्नुपर्ने हुन्छ । त्यसैले आजको विद्यालय जे. कृष्णमूर्तिले परिकल्पना गरेको जस्तो वा दक्षिण भारतको कलयुवा माने जस्तो हुनु आवश्यक छ । एउटा खोरमा बालबालिकालाई थुनेर सर्कसका शेर बनाउने नभई हरेक बालकको स्वतन्त्र उन्नयनलाई मलजल गर्नु आवश्यक छ ।