बालबच्चालाई अस्पताल लैजानु नपरोस्, औषधि खुवाउन नपरोस्, उपचार गराउन नपरोस् । उनीहरु सधै निरोगी होस्, तन्दुरुस्त होस्, तगडा होस्, खुसी र सुखी पनि होस् । हरेक आमाबुवाले गर्ने सदीक्षा हो यो ।
किनभने हामीलाई आफ्नो सन्तान प्यारो लाग्छ । उनीहरुलाई हामी भनेजति माया–ममता दिएर हुर्काउने यत्न गर्छौं । तर, कहिले काहीँ माया पनि उल्टो हुदोरहेछ ।
माया कसरी उल्टो हुन्छ ? म आफ्नो अनुभवबाट यसको रहस्य खोतल्छु ।
मेरो जेठो छोरो मावलीतर्फका पहिलो नाती । पहिलो नातानातीलाई मावलीको अत्याधिक माया हुदोरहेछ । सबैले बोक्नुपर्ने, सबैले खेलाउनुपर्ने, सबैले मीठो–मीठो खुवाउनुपर्ने । कसैले चकलेट दिने, कसैले चिजबल । यस्तो खानेकुरा पाएपछि बच्चा दंग पर्ने नै भयो । खाने पनि खुसी, दिने झनै खुसी ।
तर, छोरो हुर्कदै गएपछि त्यो ‘माया’को नतिजा देखिन थाल्यो । डेढ बर्षको उमेरमै छोरोको दाँत दुख्न थाल्यो । त्यो समस्या यति बढ्दै गयो कि, जरासम्म उपचार गर्दा १ लाख ६० हजार रुपैयाँ खर्च गर्नुपर्यो ।
आठ–दश वटा दाँतको आरसिटी र सम्पूर्ण उपचार गर्दा पैसा मात्र खर्च भएन, उत्तिकै समय पनि बर्बाद भयो । तनावको त हिसाब किताब नै छैन । बालक छोरो दाँत दुख्यो भन्दै रुने, हामी उनलाई बोकेर अस्पताल धाउने । यो उपक्रम धेरै समयसम्म चल्यो ।
बालरोग विशेषज्ञ र बाल अस्पताललाई पानी पँधेरो जस्तो बनाउँदा–बनाउँदा हामी हत्तु हैरान भइसकेका थियौं । मैले यसो विचार गरें, ‘आखिर किन छोरोको दाँतले हामीलाई यति धेरै सतायो ?’
खोज्दै, बुझ्दै जाँदा उनले सानैमा धेरै चकलेट, बिस्कुट वा गुलियो खानेकुरा खाएका रहेछन् । पहिलो सन्तान भएकाले हामीले पनि उनलाई जंकफूड, फास्टफुड, कोल्ड ड्रिंक दिएछौं । जबकि यसले दोहोरो घाटा लगाउने रहेछ ।
एकातिर पैसाको सत्यनास त भयो नै अर्कोतिर घरमा रोगले प्रवेश गर्ने । आलमारी एन्टिबायोटिक र अरु औषधिले भरिने ।
म आजित भएपछि एउटा कठोर निर्णय गरें, ‘अबदेखि मेरो घरमा चिनीजन्य खानेकुरा पटक्कै राख्न दिनेछैन । चिनीजन्य मात्र होइन च बाट नाम आउने अधिकांश खानेकुरा हाम्रो घरमा निषेध गरिनेछ ।’
त्यसबेला मेरो कान्छो छोरो जन्मिसकेका थियो । ठूलो छोरोलाई जस्तो सानो छोरोलाई पनि रोग नलागोस् भनेर म निकै सर्तक थिएँ । एन्टिबायोटिक खान नपरोस्, बालरोग विशेषज्ञको नाम र फोन नम्बर कण्ठ गर्नु नपरोस् । मेरो भित्रैदेखिको कामना थियो ।
तर, मेरी सासुआमा त्यसबेला प्रतिनिधिसभा सदस्य हुनुहुन्थ्यो । उहाँले जहिले पनि नातीको लागि घरमा आउँदा चकलेटको पोकापन्तुरो नै ल्याउनुहुन्थ्यो । उहाँलाई भेट्न आउनेहरुले पनि त्यस्तै कोसेली ल्याइदिने ।
अब हरेक आगन्तुकलाई ‘यो ल्याइदिनु, त्यो नल्याइदिनु’ भन्ने कुरा भएन । त्यसरी भन्दा अलि अशोभनिय लाग्ने । त्यसैले मैले के गरें भने गेटमा एउटा सूचना बोर्ड राखिदिएँ । त्यसमा लेखिएको थियो, ‘तपाईं यस घरमा आउँदा कृपय हामीलाई माया गरेर चबाट नाम आउने चिजबल, चिप्स, चोकोफन जस्ता खानेकुरा नल्याउनु होला । यदि ल्याउनु नै हुन्छ भने ताजा मौसमी फलफूल ल्याउनुहोला ।’ त्यस सूचनासँगै नमस्कार भावमा हात जोडेर उभिएका दुई छोराको फोटो पनि राखें ।
यसको नतिजा के भयो भने, हाम्रो घरमा जतिपनि आगन्तुक आउथे उनीहरुले चिजबल, चाउचाउ, चकलेट जस्ता खानेकुरा ल्याउनै छाडे । सासुआमाले झोलामा ल्याउनु भएको थियो होला सायद, झोलामै घर फर्काउनुभयो ।
मेरी एकजना दिदी हुनुहुन्थ्यो, शुसिला । उहाँले पनि मेरो घरमा आउँदा झोलाभरी त्यस्ता खानेकुरा ल्याउनुभएको रहेछ । त्यो झोलामै बोकर फर्कनुभएछ । मलाई उहाँले फोन गर्नुभयो, ‘तैंले किन गेटमा नै टाँसेको ? मैले बाबुहरुको लागि खानेकुरा ल्याइदिएको थिएँ, घरमै फर्काएँ ।’
एकदिन मेरी भान्जी पर्नेले कोक, ड्युहरु बोकेर आइन् । मैले उनकै अघिल्तिर त्यो पोखाइदिएँ र भने, ‘यस्तो कुरा तिमी पनि नखानु, हामी पनि नखाने । यसले धेरै दुःख दिन्छ है ।’
झट्ट सुन्दा र बुझ्दा मेरो व्यवहार रुखो जस्तो लाग्न सक्थ्यो । मेरो व्यवहार अलि टर्रो लाग्न सक्थ्यो । तर, यति नगरेसम्म परिवर्तन हुँदैन भन्ने मैले बुझिसकेको थिएँ । किनभने हाम्रो समाज सजिलै गल्ने खालको छैन । गल्तीबाट पाठ सिक्ने र त्यसलाई सुधार गर्ने प्रवृत्ति पनि छैन ।
त्यसैले उक्त समयमा म अलि कठोर र रुखो भएँ । यसकारण भएँ कि, अस्पताल र औषधिसँग नाता गाँस्नु नपरोस् ।
यसरी सुरु भयो ‘च’ सूत्र
चना, चिउरा जस्ता केही खानेकुरालाई अपवादको रुपमा छाडेर हेर्दा के पाएँ भने ‘च’ बाट नाम सुरु हुने अधिकांश खानेकुरा विषालु रहेछन् ।
यसलाई मैले सूचिकरण नै गरें–चाउचाउ, चिजबल, चिप्स, चोखोपन, चकलेट, चिसो (कोल्ड ड्रिंक) ।
यी च जन्य खानेकुरा चटक्कै छाड्नुपर्ने रहेछ । यदि त्यसो गरिएन भने बालबच्चा चकचके, चुलबुले, चन्चले हुने रहेछ । रोगी र कमजोर हुने रहेछ । उनीहरुले दुःख खेप्नुपर्ने रहेछ । आमाबुवाले सास्ती खेप्नुपर्ने रहेछ ।
यो कुरा मैले मात्र थाहा पाएर हुँदैन, मेरो परिवारलाई थाहा हुनुपर्छ । मेरो परिवारमात्र होइन, मेरो छर–छिमेक, इष्टमित्र, समाज सबैलाई थाहा हुनुपर्छ । यही तथ्य बोध गरेर मैले ठाउँ ठाउँमा स्वास्थ्य शिविर गर्दा ‘च सूत्र’ बताउन थालें ।
यसका लागि मैले एउटा प्रेजेन्टेशन नै तयार गरेको थिएँ । त्यसमा कुन कुन च जन्य खानेकुरा खाँदा के कस्ता रोग लाग्छ भन्ने स्पष्टसाथ देखाइदिएँ ।
हाम्रो आफ्नै विद्यालय पनि छ । हामीले आफ्नो विद्यालयमा च जन्य खानेकुरा पूर्णत निषेध गरिदियौं । म जहाँ जहाँ पुग्छु, बालबच्चालाई च सूत्रबारे भन्छु । उनीहरुको आमाबुवालाई च सूत्रबारे भन्छु ।
अहिले के देखिन्छ भने बच्चा आमाको दूध छुट्न पाएको हुँदैन, उनको मुखमा चिजबल कोचिदिने । अनि चिजबलको स्वाद मीठो लाग्न थालेपछि बच्चाले न दूध खान्छ, न लिटो–पीठो । उनीहरु चिजबल, चिप्सको स्वादमा रमाउन थाल्छ । यसले उनीहरुलाई पोषण त पुग्दैन नै अरु थुप्रै रोग पनि लाग्न थाल्छ ।
त्यसैले यदि च सूत्र लागु नै गर्ने हो भने आफ्नो बच्चालाई जन्मिएदेखि नै यस्ता खानेकुराबाट अलग राखौं । उनीहरुलाई ताजा, पोषिलो र प्राकृतिक खानामा बानी पारांैं । त्यसो गरियो भने उनीहरुलाई च वाला खानाप्रति कुनै मोह नै हुँदैन ।
चल्ला खाँदै नखानु
त्यससँगै अर्को च हो, चल्ला । चल्लाको मासु पनि खाँदै नखानु । चल्ला अर्थात बोइलर । अण्डाबाट बाहिर निस्किएको ४५ दिनमा हामी त्यसलाई खान योग्य ठानेर खान्छौं । हेर्दा त्यो ठूलो त भइसकेको हुन्छ तर विचरा त्यो चल्ला नै हो । एउटा कुखुराको चल्ला प्राकृतिक वा स्वभाविक रुपमा हुर्कन परेमा कति दिन लाग्छ ? ४५ दिनमा त्यो दुई–तीन केजीको कसरी हुन्छ ?
कसरी भने, त्यसलाई भोक लाग्ने औषधि खुवाइन्छ ।
एउटा रमाइलो कुरा सुनाउँछु । एउटा अनुसन्धानले के देखायो भने नेपालमा भोक लाग्ने औषधि अत्याधिक विक्री हुँदो रहेछ । नेपाल जस्तो देश, जहाँ मान्छेहरुलाई मनग्ये खान पुगेको छैन । कति त भोकमरीमा छन् । यस्तो देशमा भोक लाग्ने औषधि अत्याधिक विक्री हुनु आफैमा हाँसउठ्दो र गंभिर कुरा हो ।
खासमा कुरा के रहेछ भने भोक लाग्ने औषधि बोइलर कुखुरालाई खुवाइन्छ । भोक लागेपछि टन्न खाने भयो । टन्न खाएपछि चल्ला नै माउ हुनेभयो ।
ग्रोथ हर्मोन र एन्टिबायोटिक अत्याधिक प्रयोग गरिन्छ, बोइलर कुखुरामा । त्यसको मासु खाँदा हामीलाई त्यसैको असर पर्न थाल्छ । अन्ततः पछि कुनैदिन बिरामी भएर अस्पताल पुगियो भने एन्टिबायोटिकले हाम्रो शरीरमा काम नै गर्दैन । सोच्नुहोस् त, एन्टिबायोटिकले नै काम गरेन भने के होला ?
विषादी, हर्मोन र रसायन मात्र भएको खानेकुरा छ हामीकहाँ । त्यस्तो खानेकुरा खाएकाले त हो, नेपालमा अस्पताल भरिभराउ छ । औषधि र उपचारको बजार उत्कर्षमा छ ।
चिल्लोले रोगी बनाउँछ
चिल्लो अर्थात फ्याट शरीरलाई जरुरी पोषक तत्वमध्येको एक हो । यसका प्राकृतिक स्रोतहरु छन् । शुद्ध तोरीको तेल, बदाम, सिलाम जस्ता हामीकहाँ पाइने थुप्रै कुरा राम्रो फ्याटका समृद्ध स्रोत हुन् ।
तर, अधिकांश नेपालीले खराब चिल्लो खान्छन् । यो कुरा तपाईंले मुटुरोग विशेषज्ञकहाँ जानुभयो भने अझ प्रष्टसँग थाहा पाउनुहुन्छ । उच्च रक्तचाप, कोलेस्टेरोलदेखि मुटुरोगसम्म रोगको जड खराब चिल्लो हो ।
किनभने हामी बजारको तेल खान्छौं । बजारमा उपलब्ध अधिकांश तेलको शुद्धता र गुणस्तरमाथि शंका गर्नुपर्ने हुन्छ । किनभने धेरैजसो नेपालीलाई तेलकै कारण रोग लागेको पाइन्छ ।
लेखक नयाँ बानेश्वरस्थित होलिस्टिक हर्ब्स एन्ड हस्पिटलका सञ्चालक हुन् ।