बाढी र डुवान पीडितहरु संक्रामक रोगको जोखिममा

बाढी र डुवान पीडितहरु संक्रामक रोगको जोखिममा


१४ असोज, काठमाडौं । अविरल वर्षापछिको बाढी र पहिरोका कारण काठमाडौं उपत्यका, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, धादिङलगायतका जिल्लामा धेरै मानिसहरु प्रभावित भए ।

उनीहरु अहिले दूषित खानेपानी र खानेकुराका कारण संक्रामक रोगको जोखिममा रहेका छन् ।

जनस्वास्थ्यविद्हरू प्राकृतिक विपद्लगत्तै महामारीको जोखिम सधैं उच्च रहने भन्दै केही दिनभित्रमै संक्रामक रोग फैलिनसक्ने चेतावनी दिन्छन् ।

गृह मन्त्रालयको पछिल्लो विवरण अनुसार बाढी, पहिरो र डुबानका कारण २०० भन्दा बढीको मृत्यु भएको छ, ४१ जना बेपत्ता छन् भने ४५ जनाको उपचार भइरहेको छ । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले एक हप्ताको बीचमा विभिन्न सरुवा रोगको प्रकोप फैलिन सक्ने बताए ।

‘बाढीका कारणले पानीजन्य रोग झाडापखाला, हैजा, इकोलाई संक्रमण लगायतका सरुवा रोग फैलिन्छन् । हाल झाडापखाला, हैजा, डेंगु पूर्ण रुप हटेको छैन’, डा. पुनले अनलाइनखबरसँग भने, ‘अब प्रकोपको रुपमा फैलिने सम्भावना उच्च छ ।’

विज्ञका अनुसार बाढीपछि टाइफाइड, डेंगु हैजा, लेप्टोस्पाइरोसिस, भाइरल हेपाटाइटिस ए र इ, इकोलाई संक्रमण, झाडापखाला र ज्वरो, छालारोग जस्ता संक्रामक रोगहरू फैलिने उच्च जोखिम रहन्छ ।

जनस्वास्थ्य विशेषज्ञहरुका अनुसार, काठमाडौं उपत्यकाको अव्यवस्थित शहरीकरण, उचित ढल निकासको अभाव र खानेपानी आपूर्ति प्रणालीको अपर्याप्तताले असुरक्षित पानीको प्रयोग गर्नुपर्ने बाध्यता छ । यस्तो परिस्थितिले संक्रामक रोगहरु फैलिन अनुकुल वातावरण सिर्जना गर्छ ।

बाढीले गर्दा शहरका विभिन्न भागमा पानी जम्ने समस्या बढेको छ । यस्तो जमेको पानीमा लामखुट्टेले सहजै प्रजनन गर्न सक्ने भएकाले डेंगु जस्ता लामखुट्टेजन्य रोगको जोखिम बढेको छ ।

जनस्वास्थ्यविज्ञ डा. बाबुराम मरासिनी पनि आगामी केही हप्ता संक्रामक रोगहरु फैलिने भन्दै अत्यन्त संवेदनशील हुनपर्ने बताउँछन् । उनका अनुसार बाढीपछि पानीजन्य तथा फोहोरजन्य रोगका बिरामी बढ्छन् ।

‘काठमाडौंमा ढल र खानेपानी पाइप एकै ठाउँमा रहेको छ । यसले गर्दा पानी प्रदूषित हुने सम्भावना बढी छ’, डा. मरासिनी भन्छन्, ‘बाढीले फोहोर बगाएर ल्याएको छ । जसले गर्दा गाउँ गाउँमा पानीको मुहान दूषित हुन्छ ।’

वर्षायामको समयमा थुप्रिने फोहोरले पानी दूषित गर्ने र त्यसको कारण सरुवाजन्य रोगहरु फैलिन्छन् ।

‘बाढीमा विभिन्न फोहोर जीवाणु हुन्छन् । जुन फैलिएर हावा तथा पानीको मुहान दूषित हुन्छ’, डा. मरासिनी भन्छन्, ‘जसले गर्दा खानेकुरा र श्वासप्रश्वासको माध्यमबाट शरीरमा संक्रमण फैलिन्छ ।’

जनस्वास्थ्य विज्ञका अनुसार बाढी आएका बेला पानीको स्रोतमा विभिन्न किसिमका केमिकल र रसायन पदार्थहरु मिसिएका हुन्छन् । यसबाट झाडापखाला, टाइफाइड, जन्डिस जस्ता सरुवा रोगहरु मात्र नभई छालासम्बन्धी समस्या र केही नसर्ने रोगहरु पनि लाग्न सक्छ ।

विशेषगरी बाढी पश्चात लेप्टोइस्पाइरोसिस रोग देखिने गर्छ । यो ब्याक्टेरियाका कारण हुने एक प्रकारको संक्रमण हो र खासगरी संक्रमित जनावरको पिसाबबाट सर्ने गर्दछ । यो पानी र माटोमा हप्तौं वा महिनौंसम्म पनि रहने गर्दछ ।

डा. पुनका अनुसार मानिस संक्रमित पिसाब मिसिएको पानी वा माटोको सम्पर्कमा आएमा लेप्टोइस्पाइरोसिस सर्छ ।

‘शरीरमा घाउ भएमा, छाला काटिएर खुल्ला वा संक्रमित पानी पिएमा संक्रमण मानिसमा छिट्टै फैलिनसक्छ’, डा. पुन भन्छन्, ‘यो रोग बाढी पहिरो जाँदा फैलिने गरेको छ ।’

बाढी र डुवान पीडितहरु संक्रामक रोगको जोखिममा

चिकित्सकका अनुसार लेप्टोइस्पाइरोसिस टाइफाइडसँग मिल्दोजुल्दो हुन्छ । कामज्वरो आउनु, टाउको दुख्नु, मांशपेशीका तथा जोर्नी दुख्नु, आँखा रातो हुनु, पेट दुख्नु, पखाला लाग्नु र शरीरमा बिबिरा देखिनु यसका केही मुख्य लक्षणहरु हुन् । यी लक्षणहरु संक्रमण भएको दुईदेखि एक महिनासम्ममा देखिने गर्दछ ।

रोगको अवधि बढ्दै जाँदा र उपचार नगरे आँखा पहेंलो हुने (कलेजोमा समस्या आउने), मिर्गौलामा तथा स्नायु प्रणालीमा पनि असर पार्ने र मानिसको मृत्यु समेत हुन्छ ।

डा. मरासिनी बाढीका कारण टाइफाइड अझ फैलनसक्ने अनुमान गर्छन् । संक्रमितको दिसाले खानेपानी प्रदूषित हुन गई टाइफाइडको संक्रमण हुने गर्छ । समयमा उपचार नपाए आन्तरिक रक्तस्राव कारणले मृत्यु समेत हुनसक्छ ।

‘घर भत्किएका छन्, शौचालय छैनन् । जहाँको पायो त्यही खानेपानी खानुपर्ने हुन्छन्’, डा. मरासिनी भन्छन्, ‘टाइफाइड खानेकुराबाट पनि सर्छ । पानीका मुहान प्रदूषित भएका छन्, हैजा फैलिन्छ । बाढीपछि सरुवा रोग फैलिएका यसअघिका थुप्रै घटना छन् ।’

यस्तैगरी, बाढीमा हैजा प्रमुख रुपमा नै फैलिन्छ । हैजाको ब्याक्टेरिया पनि संक्रमितको दिसाबाट पानीमा मिसिएर फैलने गर्छ । यसबर्ष बर्खामा पनि काठमाडौं उपत्यका लगायतका देशका विभिन्न ठाउँमा सयौंको संख्यामा हैजा पुष्टि भइसकेको छ । बाढीका कारण थप प्रकोपको रुपमा फैलिनेसक्ने चिन्ता बढेको सरुवा रोग विशेषज्ञहरु बताउँछन् ।

‘बाढी आएसंगै खानेपानी प्रदूषित भई हैजाको जोखिम पनि बढेको छ’, डा. पुुन भन्छन्, ‘अहिले पनि हैजाका केस देखिरहेको छन् । अहिलेको बाढीले थप प्रकोपको रुपमा फैलिनसक्ने देखाएको छ ।’

अचानक चौलानी पानी जस्तो दिसा जानु, बान्ता हुनु, पेट दुख्नु, मांशपेशीका बाँउडिनु हैजाका मुख्य लक्षण हुन् ।

संक्रमण भएको १२ घण्टादेखि ५ दिनसम्ममा बिरामीमा हैजाका लक्षण देखिन्छन् । जटिल खालको हैजाको संक्रमण भएमा समयमा उपचार हुन नसके बिरामीको मृत्युसमेत हुन्छ ।

पानीमार्फत थुप्रिएको फोहोरबाट रसाएको पानी बगेर नदी र पानीको मुहानसम्म पुग्ने र दूषित पानीका कारण विभिन्न सरुवा रोग सर्छ ।

‘पानी पर्दा थुप्रिएको फोहोर कुहिन्छ र फोहोरबाट निस्कने रस वर्षाको पानीले बगाएर लग्छ । इनार वा पानीको मुहानमा संक्रमण मिसिँदा हैजा फैलिरहेको छ’, डा. मरासिनी भन्छन्, ‘इनार सफा नगरी अब पानी खान योग्य हुँदैन ।’

बाढी र डुवान पीडितहरु संक्रामक रोगको जोखिममा

वर्षापछिको समयमा डेंगु पनि फैलनसक्ने जनस्वास्थ्यविज्ञ बताउँछन् । खुला ठाउँका खाल्डाखुल्डीमा पानी जम्ने, घरमा पनि ड्रम वा बाल्टिनमा लामो समय पानी राख्दा यस्तो पानीमा लामखुट्टेले सहजै आफ्नो वृद्धि र विकास गर्ने हुँदाडेंगु फैलिनसक्ने डा. पुन बताउँछन् ।

काठमाडौंमा बाढी आएसंगै धेरै ठाउँमा लामो समयसम्म पानी जम्मा भएको छ । यस्तो जमेको पानीमा लामखुट्टेले सहजै आफ्नो वृद्धि विकास गर्न सहयोग गर्ने पुनले बताए ।

यस्तैगरी, छालाको संक्रमणले पनि बढी सताउने गर्छ । छालारोग विशेषज्ञ डा. डा. प्रज्ज्वल पुडासैनी वर्षायाम दिनहुँ जस्तो पानी पर्दा जमिनको सतह ओसिलो भएको हुन्छ । जहाँ ढुसीहरू पलाउने र विकास हुने गर्छ । जमिनमा ओसिलोका कारणले मात्र नभई शरीर भिज्दा पनि ढुसी आउन सक्छ । पानीले भिजिरहने खुट्टा, जुत्ता र लुगा भिजे पनि नफेरी बस्ने, चिसै लुगा लगाउने गर्दा ढुसी शरीरमा फैलिन सक्छ ।

धेरैलाई छाला चिलाउने, पोल्ने र बिमिरा आउने लक्षणहरू देखिएका छन् । यी लक्षण फंगल इन्फेक्सन (ढुसीजन्य संक्रमण)को कारणले हुन्छ । वर्षामा फंगसको सक्रियता बढ्छ । जुन छालामा टाँसिएर असर गर्न थाल्छ ।

‘फंगस भनेको एक प्रकारको परजीवी (जीवाणु) हो । यो बासी, सडेगलेका खानेकुरा, कुहिएको वस्तु र ओसिलो क्षेत्र (भिजिराख्ने ठाँउ)मा सक्रिय हुन्छ’, डा. पुडासैनी भन्छन् ।

सरकारले तुरुन्तै स्वास्थ्य संस्था तथा स्थानीय तहमा तुरुन्तै रोकथामका लागि काम गर्नुपर्ने जनस्वास्थ्यविद् डा. मरासिनी बताउँछन् ।

‘सरुवा रोग फैलनसक्ने ठाउँको सम्भाव्यतालाई अध्ययन गर्नुपर्छ । स्थानीय तहका संस्थामा कुनै रोगका विरामी देखिएका छन् भन्ने तुरुन्तै रोकथामको काम गर्दा धेरै मात्रामा रोग फैलिन पाउँदैन’, डा. मरासिनीले भने ।

चिकित्सक भन्छन्, ‘खानेकुरामा ध्यान दिनू’

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. यदुचन्द्र घिमिरेले सरुवा रोग नियन्त्रणका लागि विशेष कार्ययोजना तयार पारिएको र सबै सरोकारवाला निकायलाई समन्वयात्मक रूपमा काम गर्न निर्देशन दिइएको बताए ।

‘यसविषयमा सम्बन्धित निकायसँग छलफल समेत गरिसकेका छौं । कहाँ कहाँ फैलिनसक्छ आंकलन गछौं’, डा. घिमिरेले भने, ‘त्यसलाई हामी छिट्टोभन्दा छिट्टो स्थानीय तहको समवन्यमा रोकथाम गर्नतर्फ लाग्छौं ।’

स्वास्थ्य विशेषज्ञ रोगबाट बच्चका लागि स्वच्छ खानेपानी तथा खाद्य पदार्थको प्रयोग गर्न र सतर्कता अपनाउन आग्रह गर्छन् ।

डा. पुन कुनै पनि संक्रमणका लक्षणहरु देखिएमा तत्काल चिकित्सकीय परामर्श लिन पनि आग्रह गर्छन् ।

सरकारी निकायले बाढी प्रभावित क्षेत्रहरुमा स्वास्थ्य सेवाहरु सुदृढ पार्न र संक्रामक रोगहरुको रोकथाम तथा नियन्त्रणका लागि आवश्यक कदमहरु चाल्नुपर्ने डा. मरासिनी बताउँछन् ।

डा. मरासिनीका अनुसार हात, खानेकुरा र पानी सफा भएमा सरुवा रोगबाट बच्न सकिन्छ ।

‘धेरै सरुवा रोग फोहोरबाटै सर्छ । हामीले हात सफा राख्यौं अनि सफा उमालेको पानी एवं सफा ताजा खानेकुरा मात्र धेरै रोगबाट बच्न सकिन्छ’, डा. मरासिनी भन्छन् ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School