देशको नेतृत्व कुर्सीको स्वार्थमा लाजपचाएर दन्तबजान गरिरहँदा, स्टन्टमा रमाइरहँदा र ठूलो युवा जनशक्ति विदेश पलायनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिनहुँ बोर्डिङ पास लिन व्यस्त भइरहँदा एउटा अभियानको खाँचो देशलाई माया गर्नेहरूले चलाउनुपर्ने हो, आत्मनिर्भर नेपालको अभियान । तर, सुकिलोमुकिलो भएर संघ र प्रदेशका राजधानीतिर, स्थानीय चोकतिर अनि चियापसलतिर पनि कार्यक्रममा भाषण दिन र फाल्तु बसाइमा पनि गफ दिन भ्याई–नभ्याई छ हामी सबैलाई। विदेश जानेका कथा अर्कै छन्- आफ्नो र परिवारको पापी पेटका लागि घण्टा गनेर म्यानेजर र सुपरभाइजरका चित्त बुझाउन व्यस्त छौं हामी।
कर्मचारीको तलब पाकेकै छ। योजना बनाउने, कार्यक्रम बनाउनेहरू सिंहदरबार भित्रैबाट कालो कुर्सीमा घुमेर भनसुनकै भरमा कम्प्युटरमा कार्यक्रमका प्राथमिकता काँटछाँटमै व्यस्त छन्। तर गाउँ, दूरदराजको अवस्था विकराल, टिठलाग्दो छ। उब्जेको अपर्याप्त अन्नले धेरैमा कुपोषण छ। कतिलाई आफ्ना बच्चा स्कूल पठाउनै धौ-धौ छ। पठाएकालाई पनि १०-१२ पास भएपछि कालापहाड या खाडी कता लखेट्ने हो त्यही चिन्ता छ।
स्थानीयस्तरमा नङ्ग्रा खियाएर बेची-खानेहरूको उत्पादन बिचौलियाको फन्दामा छ। निरीह बनाइएका जनता स्थानीय सरकारको मुख ताकेर बाटो हेरेर बसिरहेका छन्। स्थानीय तहको प्राथमिकता प्रत्यक्ष आय आर्जनका लागि शिक्षा र सर्वसुलभ स्वास्थ्यसँग कमै जोडिएका छन्।
पाँच वर्षमा आफ्ना जनताको प्रतिव्यक्ति आय कति बनाउने ? कतिलाई रोजगारी दिने ? कति नयाँ उद्योग खोल्ने या देशमै कच्चा पदार्थ प्रशस्त भएर पनि बन्द भएका कति उद्योग खुलाउने ? कतिलाई स्वयं आत्मनिर्भर बनाउने ? सीपमूलक तालिम कतिलाई दिने ? आफ्नो स्थानीय तहमा कति प्राविधिक शिक्षालयहरू बनाउने वा थप्ने ? यसका अलावा अनुसन्धान विकासको मेरुदण्ड भन्ने बुझेर अनुसन्धानका विभिन्न क्षेत्रमा बजेट कति छुट्याउने हो, यस्ता खाले बहस निकै कम सुनिन्छन् संघ, प्रदेश र स्थानीय तहमा पनि।
यस सन्दर्भमा बहुमूल्य जडीबुटीहरूको तथा आर्थिक महत्वका रूख प्रजातिको व्यापार एवं खेतीबाट पनि जनतालाई सबल, सक्षम र आत्मनिर्भर बनाउन सकिन्छ भनेर सुरु गरिएको सचेतनाको यो पहलकदमीमा यसपटक विश्व बजारका महँगा साबुन र स्याम्पु बनाउन प्रयोग गरिने मूल्यवान् तर हामीले कौडीको भाउमा रमाएर बेचिराखेको रिट्ठाको खेती र बजार सम्भावनाको बारे व्याख्या गरिएको छ।
वानस्पतिक परिचय
वैज्ञानिक नाम स्यापिन्डस मुकोरोसीले चिनिने रिट्ठा स्यापोन्डेसी परिवारमा पर्ने पतझड प्रकृतिको सानो तथा मझौला प्रकारको रूख हो। भित्रीमधेशको ५०० मिटरदेखि १५०० मिटरसम्म राम्रो हुर्किने र फल्ने रिट्ठा दक्षिण र पश्चिम फर्केका सुख्खा पाखा मन पराउने बहुउपयोगी गुणको हुन्छ। घाम लाग्ने रापिलो ठाउँ पाए दुई हजार मिटरसम्म पनि हुर्केको भेटिन्छ।
प्रयोग तथा खेती
तीन करोड जनताको खपतलाई ख्यालमा राखेर एउटा प्रजाति रिट्ठा प्रयोग गरेर साबुन र स्याम्पू बनाई देशलाई साबुनमा आत्मनिर्भर बनाउन सके तथा जनतालाई स्वस्थ राख्न सके कति अर्ब राष्ट्रको ढुकुटी जोगिंदो हो ? चलिराखेका उद्योग बेच्नेहरू तथा केमिकल संसारमा रमाइराखेको जगतलाई यो कथा सुनाउनुको कुनै तुक होला र ?
नेपालमा परम्परादेखि माछा मार्न विषको रूपमा प्रयोग गरिंदै आएको यो वनस्पतिको फल पछिल्ला दिनहरूमा साबुन, स्याम्पु, आयुर्वेदिक औषधि, कस्मेटिक सामान लगायतका वस्तुहरू उत्पादन गर्न प्रयोग गर्ने मुख्य कच्चा पदार्थ हो। उदयपुर लगायत पूर्वतिर उत्पादित रिट्ठा पनि नेपालका विभिन्न शहर हुँदै भारतसम्म बढी निकासी हुने गरेको पाइन्छ। अहिले यसको माग समेत बजारमा बढेको छ।
युरोप र अमेरिकामा केमिकल मिसिएका साबुन प्रयोग नगर्न नेचुरल बाथका लागि रिट्ठा उनीहरूको रोजाइमा पर्ने गर्छ। कपडा धुँदा पनि सीधै वासिङ मेसिनमा रिट्ठाको बोक्रा हालेर धुने गर्छन्। यो भन्न सकिन्छ कि नेपालमा पहिले पहिले गाउँघरमा प्रयोग हुने विधि विकसित देशहरूले केमिकलबाट बच्न बल्ल अहिले अपनाउँदै छन् ।
बंगलादेशमा हुने यसको बढी प्रयोग बहने माछा मार्नलाई हो। विशेषगरी माछा मार्न प्रयोग गरिने गड्यौला बस्ने प्वालमा रिट्ठा मिसिएको झोल राखिदिएर गड्यौला बाहिर निकाल्ने र त्यसलाई माछा मार्न प्रयोग गर्ने गरेको बंगलादेशमा सुगन्धित तेल तथा रिट्ठा निकासी गर्दै आउनुभएका व्यवसायी गोविन्द खनाल बताउँछन्।
आजभोलि देशका विभिन्न जिल्लाका किसान वन पैदावार अन्तर्गत पर्ने रिट्ठाको व्यावसायिक खेती गर्न आकर्षित हुँदै गएका छन् । नेपालको पूर्वदेखि पश्चिमसम्म पहाडी क्षेत्रका वन र पाखो बारीमा पाइने रिठ्ठो चार दशक अघि गाउँघरमा डाले घाँस र नुहाउनका लागि प्रयोग हुने गर्दथ्यो तर अहिले भने वनमा कम र निजी जग्गामा बढी हुन थालेको छ पैसा फलाउने रूख बनेर।
एकपटक बिरुवा रोपेर हुर्काएपछि २०औं वर्षसम्म निरन्तर फलिरहने हुँदा किसान थप आकर्षित हुँदैछन्। प्रदेश ६ र ७ का पहाडी जिल्लाहरू रिट्ठाका लागि उर्बर भूमि साबित भएका छन्।
बजार मूल्य
सरकारी तथा गैरसरकारी तथ्यांक अनुसार देशबाट विश्वका विभिन्न मुलुकमा रिट्ठा निर्यात भइरहेको छ। रिट्ठाको मुख्य निकासी हुने देश भारत हो। भारत बाहेक बङ्गलादेश, आसपासका अन्य देश हुँदै युरोप र अमेरिकामा पनि यसको माग बढ्दो छ। युरोप र अमेरिकातिर प्रायः बोक्रा मात्रै जान्छ।
खाद्य बाली उत्पादन नहुने भिरालो, खरबारी र बाँझो जमिन पनि सदुपयोग गर्दै वातावरण संरक्षणमा समेत सहयोग पुग्ने गरी रिट्ठाको खेती गर्न सकिने भएकोले बेरोजगार, पढेर स्वरोजगार हुन चाहने, देशमै हुने, विदेशमा भएर पनि देशमा केही गर्न चाहने तथा फर्केर देशमै आत्मनिर्भर हुन खोज्ने सबैको रोजाइ बन्न सक्छ रिट्ठा खेती
नेपालमा गाउँघरमा प्रतिकिलो रु.२५-३० मूल्य रहेको रिट्ठा बजारसम्म आइपुग्दा प्रतिकिलो रु.५० देखि ६०-७० सम्म पुग्छ। व्यापार तथा निकासी प्रवर्धन केन्द्रको तथ्यांक अनुसार आर्थिक वर्ष २०७२/७३ मा नेपालबाट विश्वका १४ देशमा रिट्ठा निर्यात भएको रेकर्ड छ। उक्त वर्ष ती देशमा २ करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख १५ हजार ७८० किलो रिट्ठा निर्यात भएको थियो। त्यसयता रिट्ठाको निर्यात बढ्दो छ, घट्दो छैन।
दुई वर्षअघि जडीबुटी व्यवसायीले गरेको अध्ययनमा दुई हजार टन रिट्ठा निकासी भएको पाइएको थियो। बजार मूल्यमा हेरियो भने यो १२ देखि १४ करोड हुन आउँछ। आव २०७५/७६ यता पश्चिम नेपालबाट १०० टनभन्दा बढी भारत निर्यात हुने जडीबुटीमा रिट्ठा पहिलो नम्बरमा छ।
नेपाल चुकेको विषय
नेपालमा चिउरी लगायत अन्य जडीबुटीमा आधारित केही साबुन फ्याक्ट्री भए पनि रिट्ठालाई कच्चा पदार्थ बनाएर खोलिएका फ्याक्ट्री छैनन् भन्दा पनि हुन्छ। जति साबुन र स्याम्पू फ्याक्ट्री छन् धेरै केमिकलमा आधारित छन्। हामीले यताबाट (केही मात्र आफूले प्रयोग गरेर) रिट्ठाको फल कौडीको भाउमा रमाएर बेचिराखेका छौं। उताबाट महँगा साबुन स्याम्पू र औषधि बनेर हाम्रै घरमा भित्रिइराखेको छ।
तीन करोड जनताको खपतलाई ख्यालमा राखेर एउटा प्रजाति रिट्ठा प्रयोग गरेर साबुन र स्याम्पू बनाई देशलाई साबुनमा आत्मनिर्भर बनाउन सके तथा जनतालाई स्वस्थ राख्न सके कति अर्ब राष्ट्रको ढुकुटी जोगिंदो हो ? चलिराखेका उद्योग बेच्नेहरू तथा केमिकल संसारमा रमाइराखेको जगतलाई यो कथा सुनाउनुको कुनै तुक होला र ? दु:ख लाग्छ।
सानो लगानीमा खोल्न सकिने लघु उद्यमबाट पनि प्राकृतिक साबुन र स्याम्पू उत्पादन सजिलै सम्भव भएकोले स्थानीय तहको हस्तक्षेपकारी लगानी अबको मुख्य कदम हुनुपर्दछ।
खेतीका लागि सरकारी सहयोग
वन तथा वातावरण मन्त्रालय अन्तर्गतका वनस्पति विभाग, वनस्पति विभाग अन्तर्गतका अनुसन्धान केन्द्र र डिभिजन/सब डिभिजन वन कार्यालयहरूले रिट्ठाको खेती गर्नका लागि कृषकहरूलाई प्रोत्साहन र व्यावसायिक उत्पादन गर्ने किसानलाई सहयोग गरिरहेका छन्। रिट्ठाको व्यावसायिक उत्पादन गर्ने किसानलाई सामुदायिक वन समूह तथा जडीबुटी समूह मार्फत विभिन्न अनुदान, सहुलियत र प्राविधिक सहयोग उपलब्ध गराउने गरिन्छ। देशैभर केही गैरसरकारी संस्थाहरूले पनि आय आर्जनका रूपमा रिट्ठा लगायतका जडीबुटी खेतीलाई प्रवर्धन गरेको देखिन्छ।
खेती गर्न चाहने किसानलाई वनस्पति विभाग र सो अन्तर्गतका सात वनस्पति अनुसन्धान केन्द्रहरूले वैज्ञानिक सल्लाह एवं तालिम पनि दिंदै आएका छन्। विशेषत: वनस्पति अनुसन्धान केन्द्र सल्यानले बीसौं वर्षयता रिट्ठाको खेती प्रवर्धन तथा प्राविधिक सहयोग गर्दै आइरहेको छ।
दाङ, रोल्पा, प्युठान तथा तल्लो कर्णालीका रुकुम, सल्यान आसपास हुनुहुन्छ वा यी जिल्लाहरूमा खेती गर्न चाहनुहुन्छ भने रिट्ठाको खेतीका लागि केन्द्रमा सम्पर्क गर्न सकिन्छ। सुदूरपश्चिमका जिल्लाका लागि वनस्पति अनुसन्धान केन्द्र कैलालीमा सम्पर्क गर्न सकिन्छ। अनुसन्धान केन्द्र कैलालीले पकेट क्षेत्र विस्तारको रूपमा अछाम, दार्चुला र बाजुरासम्म पनि आफ्ना कार्यक्रम लगेको छ।
अन्त्यमा, खाद्य बाली उत्पादन नहुने भिरालो, खरबारी र बाँझो जमिन पनि सदुपयोग गर्दै वातावरण संरक्षणमा समेत सहयोग पुग्ने गरी रिट्ठाको खेती गर्न सकिने भएकोले बेरोजगार, पढेर स्वरोजगार हुन चाहने, देशमै हुने, विदेशमा भएर पनि देशमा केही गर्न चाहने तथा फर्केर देशमै आत्मनिर्भर हुन खोज्ने सबैको रोजाइ बन्न सक्छ रिट्ठा खेती।
तसर्थ, १०० बोट टिमुर, सुगन्धकोकिला, रिट्ठा तथा अन्य महत्वपूर्ण रूख या जडीबुटी हुर्किने जमिन छ भने मन कुँडाएर विदेशको चर्को घाम खाइरहनुपर्दैन। आँट गर्नुहोस् हामी साथमा छौं ।