बाँचुन्जेल स्याहार कि मरेपछि सम्मान?


मृत्युको सत्यलाई आत्मसात् गर्न सक्नु निकै गाह्रो कर्म हुन जान्छ। श्रीमद्भगवद्गीतामा श्रीकृष्णले अर्जुनलाई जन्म हुनेको मृत्यु र मृत्यु हुनेको पुनर्जन्म निश्चित छ भनी सम्झाएको सत्रौं श्लोकको सहारा लिन आवश्यक छ:

जातस्य हि धु्रवोर्मृत्यु धु्रवजन्म मृतस्य

चतस्मादपरिहार्यऽर्थे न त्वं शोचितुमर्हसि।

मानिसले बुझ्नुपर्ने सत्य यही हो र बुझेको पनि हुन्छ तर आफ्ना निकटस्थको मृत्युमा क्षणिक शोकले वशीभूत गरी सारा अन्य कुरा बिर्साइदिन्छ। त्यस आवेगलाई जितेर धैर्यधारण गर्न सक्नु नै मानव जीवनको परीक्षामा उत्तीर्ण हुनु हो। मानिसले यही चिन्तनको अनुशरण गरेको पाइन्छ। हुन त जन्मेपछि मृत्यु निश्चित छ। मृत्युपछि जन्म पनि निश्चित छ।

मृत्युपछिको सम्मानभन्दा बाचुन्जेलको स्याहार हजार गुना वेश हुन्छ। त्यसकारण यसमा शोक गरेर केही छैन भन्ने गरिन्छ। हामी आफ्ना बाआमाप्रति कति उदार छौं। उनीहरूलाई बाचुन्जेल कस्तो व्यवहार गरिरहेका छौं ? प्रश्न यहीं अडेको छ। सरल जीवनयापन गर्ने स्वावलम्बी मानिसको मृत्युले परिवार, आफन्त, इष्टमित्र र साथीभाइ भावविह्वल हुनु स्वाभाविक हुन्छ।

गुमाएका बाआमाका स्मरणमा कति कविता÷काव्य लेखिएका छन्, स्मृति पुस्तक छापिएका छन्, चित्र कोरिएका छन्, पाटीपौवा निर्माण गरिन्छन् र चौतारा चिनिन्छन्। विद्यालय, पुस्तकालय वा गुठी तथा प्रतिष्ठान खोलिन्छन्। आजकल झन् यसको गतिमा निकै वृद्धि भइरहेको छ। कति संस्था देख्दा, उनीहरूको उद्देश्य र राखिएका पुरस्कार देख्दासुन्दा त बाँचुन्जेल तिनले बाआमालाई केही कमी हुन दिएनन्, उनीहरूप्रति निकै गर्वबोध गरेझैं लाग्छ तर वास्तविकतामा जीवनको उत्तरार्द्धमा तिनले पाएका दुःख, तिनका आँखाबाट बगेका आँसुका स्मरण मानसपटलमा आउँदा भावविह्वल हुन पुगिन्छ। त्यस्ता साहित्यकार हुन् या समाजसेवीको नारकीय अवस्था र पीडादायी मृत्युबोधले झस्काउँछ घरिघरि। जे होस् बाँचुन्जेल दुई छाक खान नपाए पनि मृत्युपछि चाहिँ बाआमाले निकै सम्मान पाएकै देखिन्छ। आजकल आमाबाको नाममा खोलिएका अनगिन्ती संस्था छन्। मृत्युपछिको गुनगान निकै छ।

समय निकै अघि बढेको हो कि के हो, आजकल देशमा वृद्धाश्रम निकै खुलेका छन् र बस्ने बाआमाहरू खचाखच भरिएकै छन्। त्यसकै दाँजोमा मृत्युपछि बाआमाका नाममा खोलिएका प्रतिष्ठानको पनि कमी पाइन्न। हिजोआज थुप्रै सम्पत्ति भएका बाआमा परिवारबाट त्यागिएका छन् या बेवारिसे जीवन बाँच्न विवश छन्।

वृद्धाश्रममा आँसुसँगै जीवन व्यतीत गरिरहेछन्। नैतिक शिक्षा र असल संस्कार भएका सन्तान भए सम्पत्ति किन चाहियो ? यो संसार अझै पनि सम्पत्तिमै लुछाचुँडी गरिरहेछ तर बाआमा त्यागिरहेछ। बुढेसकालका सबैभन्दा नजिकका साथी छोराछोरी होइनन्, अर्धाङ्गिनी हुन् तर अबुझ, अज्ञानी अर्धाङ्गिनी भइन् भने सबैभन्दा बढी दुःख हुन्छ। त्योभन्दा अझैं दुःख वैधव्य वा विधुर हुँदा हुन्छ। वृद्ध मनोविज्ञान बुझ्न निकै कठिन छ।

परम्परागत सोच र सांसारिक चेतना नहुँदा बाबुआमाकै कारणले घर युद्धभूमि पनि बनेकै छ। समयलाई दोष दिँदै पहिले जस्तो कहाँ हुन्छ भनेर आफ्नो दायित्वबाट पन्छिने बहानामा आफ्ना छोराछोरी र श्रीमती च्यापेर अलग हुने छोराबुहारीले पछि आफ्नो छोराले वास्ता गरेन भन्नु पनि त जायज नहोला नि।

सङ्घर्षमय जीवनबाट सिक्नुपर्ने धेरै कुरा हुन्छन्। विडम्बना, सिकौंला भन्दाभन्दै कहिल्यै भ्याइँदो रहेनछ, किताबका कुराभन्दा पनि भोगेका अनुभव र अनुभूति हजार गुना सत्य र साँचा हुन्छन्। हामी जान्न र बुझ्न ढिलो गरिरहेका छौं। समयचक्र आफ्नै रफ्तारमा कुदिरहेकै हुन्छ, पटक्कै पर्खंदैन। बाँचुन्जेल वास्ता नगरे पनि मृत्युपछि समयमा गर्न नसकेको कर्मबोध गरी पश्चातापमा हामी थकथक मानिरहन्छौंं।

हामी बाआमाको स्मरणमा टोहोलिन्छौं। म अहिले पनि बा र आमालाई सम्झेर एकोहोरो हुन्छु। हाम्रो पुख्र्यौली घरघडेरी मन्दिरका नाममा सबैका नाम उल्लेख गरेर दिने उहाँहरूको निर्णयलाई हामीले साथ दियौं तर संरक्षणका लागि जुन प्रयत्न हुनुपथ्र्यो, त्यो हुन सकिरहेको छैन। उहाँले देखाएको बाटोमा म कति हिँड्न सकुँला ? मेरो बाटोमा मेरा सन्तान, दरसन्तान कति हिँड्लान् ? तर सत्य र समाजसेवाको बाटोमा, सहयोग र निस्वार्थको बाटोमा उहाँका अविचल पाइला बाँचुन्जेल निरन्तर चलिरहे।

अझै पनि बाकै नामबाट चिनिएका छौं हामी। उहाँका हजारौं चेलाहरूद्वारा बडाबा वा गुरुबाकै अंशका रूपमा बोलाइन्छौं हामी। उहाँले गर्नुभएको सामाजिक काम सांस्कृतिक धरोहर बनेर उभिएको छ। विद्यालय, मठ, मन्दिर, पाटीपौवा, धारामा बाआमाको पसिनाको अंश देख्छु। बाआमा गुमाए पनि गर्नुपर्ने कर्तव्य र संस्कार गर्नैपर्छ तर त्यति गरेर दायित्व सकिने होइन। यस ब्रह्माण्डमा जन्म लिएर आएपछि आफ्नो नियति भोग्नैपर्ने रहेछ। जीवनभोग सिद्धिएपछि जानैपर्ने रहेछ। विद्वान् विदुषीलाई समेत थाहा छैन, पीडामा सहजै रोइदिन्छन् भने चेतनामा अचेत हुँदै जीर्ण शरीरबाट सूक्ष्म शरीरको विभाजन बाआमालाई कसरी थाहा होला ?

हुन त जन्मेपछि मृत्यु निश्चित छ, मृत्युपछि जन्म पनि निश्चित छ। त्यसकारण यसमा शोक गरेर केही छैन भन्ने गरिन्छ। आखिर जन्मेपछि मर्नै पर्छ, पुरानो पात झर्ने र नयाँ पात पलाउने प्रक्रिया हो भनेर सबैले सम्झाउँदा पनि मन थामिएको छैन। मातृस्नेह, मातृवात्सल्य उर्फ आमाको माया भन्ने कुरा अथाह समुद्र जस्तो निर्मल, निराकार भयरहित उठेको छालजस्तो हुँदो रहेछ। मानौं माकुराको जालोमा किराफट्याङ्ग्रा जेलिएजस्तो माया र मोहको लट्टाईमा बेरिएको धागोजस्तै बनेका छौं। यो स्नेहशील क्षणभङ्गुर संसार केवल मोहमै अडेको छ। मोहभङ्ग हुन निकै कठिन पनि छ।

वर्तमान वैश्विकीकरणको समयमा वैदेशिक रोजगारी, अध्ययन र भ्रमणले कति सन्तान आफ्ना जन्मदाताको मृत्युमा प्रत्यक्ष उपस्थित हुन नसक्दा वेदना र ग्लानिको सामना गर्नुपर्छ। भोगेको जस्तै गरी घटनाको चित्र आफ्ना मस्तिष्कमा खिच्न सक्दा ‘भर्चुअल संसार’ले दिने शान्ति देला कि ! हुन त भिडियो खिचेर सेयर गर्ने प्रचलन बढ्दैछ, अहिले मृत्युको पनि।

मृत्युसंस्कारपछि पहिलो दिनदेखि तेह्रौँ दिनसम्म चल्ने मृत्युपछिका कर्मको र गरुड पुराणको वर्णनले हाम्रो संस्कार बुझ्न सघाउ पुर्‍याउँछ। योे विश्वासमा संस्कारपालना गर्नुपर्ने देखिन्छ। हरेक दिन मृत वियोगमा कल्पेको र संसार निसार भएको अभिव्यक्तिले केही हदसम्म सान्त्वना दिन्छ। हरेक व्यक्तिको आमाबासँग बितेको बाल्यावस्था स्मरणले सुखानुभूति ल्याउने गर्छ। म पनि पटकपटक बाआमाको घटना सम्झन्छु।

विगतका स्मृति, आफू डुलेको रनवन, बाटाघाटा, विद्यालयको सेरोफेरो र आफ्नो घरको सजीव चित्रले बाल्यकालमा फर्काइदिन्छ। तर आफ्नो विवशता अनि छहारी गुमेको अवस्थामा बाआमाप्रतिको अगाध श्रद्धा र कर्तव्यपरायणता अनि संस्कारप्रति विश्वसनीयताले उहाँहरूप्रति कर्तव्यबोधमा लीन गराउनुको सट्टा केही बाँकी रहँदैन।

बाचुन्जेल गर्नुपर्ने कर्म र दायित्वबोध गर्नुको सट्टामा समाज र संस्कारलाई देखाउन गोहीको आँसु चुहाउनुको कुनै मूल्य रहँदैन। हुन त कुनै वस्तु आफूसँग हुँदा मूल्यहीन र गुमाइसकेपछि मूल्यवान् हुने कुरालाई मस्तिष्कमा च्यापेर हिँडेकालाई सम्झाउन निकै कठिन छ।

हो, मृत्युपछि गरिने कर्म, संस्कार गर्नुपर्छ तर त्यसो भन्दैमा बाँचुन्जेल बाआमाको जीवनलाई सहज बनाउन आफूले गर्न सकिने जति सबै कर्म गर्नुपर्दैन त? मरेपछि उहाँहरूका नाममा खोलिने संस्था, देखावटी समाजसेवाको ढोङभन्दा वृद्धावस्थाको हेरचाह, स्याहारसुसार र सेवा नै महान् कर्म हो, मानवीय धर्म हो। गुमाइसकेपछि बाआमाको चर्चा, भाषण, मठमन्दिरभन्दा पनि ज्युँदो रहँदा गर्न सक्नेजति सेवा गर्न सके हुन्थ्यो भन्ने लाग्छ।  

प्रकाशित: १३ पुस २०८१ ०७:१७ शनिबार





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School