१४ कात्तिक, काठमाडौं । लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु समुदायस्तरमा व्यापक रुपमा फैलिएपछि ललितपुर महानगरपालिकाले कात्तिक ४ गतेबाट निशुल्क ‘फिबर क्याम्प’ चलाइरहेको छ । समुदायस्तरमै डेंगु संक्रमण फैलिन थालेको भन्दै ललितपुर महानगरले २९ वटै वडामा नि:शुल्क स्वास्थ्य शिविर चलाउन बाध्य बन्यो ।
विज्ञका अनुसार डेंगु नियन्त्रण गर्नका लागि ‘खोज तथा नष्ट’ अभियान प्रत्येक हप्ता दुई पटक गर्न आवश्यक छ । तर, यसवर्ष पनि स्थानीय तहहरुले अभियानलाई प्राथमिकतामा राखेनन् ।
डेंगु संक्रमणको प्रकोप भयावह बन्दै गएपछि सरकारले अन्ततः नियन्त्रणका लागि राष्ट्रव्यापी अभियान घोषणा गर्यो । मन्त्रिपरिषद्को बैठकले गत बिहीबारमात्रै हरेक शुक्रबार बिहान १० बजे लार्भा नष्ट अभियान सञ्चालन निर्णय गर्यो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत अभियानमा सहभागी हुन सबै नागरिकलाई आह्वान गरेका छन् । उनले भिडियो सन्देश र स्टाटसमार्फत लामखुट्टे र तिनका प्रजननस्थल नष्ट गर्न आग्रह गरेका हुन् ।
‘लामखुट्टेबाट सर्ने डेंगु रोग केही जिल्लाहरूमा अझै कायमै छ,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘यसको रोकथामका लागि लामखुट्टेलाई टोक्न नदिनु र प्रजननस्थल नष्ट गर्नु जरुरी छ ।’
पछिल्लो १० महिनाभित्र डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या १२ जना पुगको छ । यो अवधिमा संक्रमित हुने संख्या २८ हजार नाघेको छ । कात्तिक मध्य समय भइसक्दासमेत डेंगुको संक्रमण र जोखिम टरेको छैन । सरकारी लापरवाहीकै कारण यसवर्ष डेंगु संक्रमण बेलैमा नियन्त्रण आउन नसकेको आरोप लगाउँछन् ।
विज्ञका अनुसार अनुसार डेंगुका ८० प्रतिशत बिरामी लक्षणविहीन हुन्छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. यदुचन्द्र घिमिरे यसवर्ष ४ लाखको हाराहारीमा डेंगु संक्रमित भएको अनुमान लगाउँछन् ।
‘८० प्रतिशत लक्षण विहिन हुने हिसाबले हेर्दा २ लाख ५० हजार संक्रमित भएको छन् । कतिपय समान्य लक्षण हुँदा पनि घरमै बसेर आराम गरेका छन्, ‘डा. घिमिरेले अनलाइनखबरसँग भने, ‘हामीले यसवर्ष चार लाखको हाहारीलाई संक्रमण भएको अनुमान लगाएका छौं ।’
स्वास्थ्य मन्त्रालय मूकदर्शक
विज्ञहरुले यो वर्ष पनि भयावह अवस्था आउन सक्ने चेतावनी दिइरहँदा स्वास्थ्य मन्त्रालय भने मूकदर्शक नै भएर बस्यो । मन्त्रालयका अधिकारी डेंगु नियन्त्रण गर्ने जिम्मेवारी स्थानीय तहको रहेको भन्दै दोषारोपण गर्दै बसे ।
विज्ञका अनुसार डेंगु नियन्त्रणका लागि मनसुन सुरू हुनुभन्दा अगाडि नै लार्भा खोज तथा नष्ट अभियान’ तीव्र रुपमा सञ्चालन गर्नुपर्छ । तर, सरकारले डेंगु फैलिसकेपछि मात्रै ‘लार्भा खोज तथा नष्ट अभियान’ सुरू गर्ने गरेको छ । यसवर्ष पनि सरकारले त्यही गल्ती दोहोर्यायो । ढिला सुरु गरिएको अभियान पनि प्रभावकारी रुपमा सञ्चालन गरेको छैन ।
स्वास्थ्य मन्त्रालयका उच्च अधिकारी पनि नियमित काममै चित्त बुझाएर बसिरहेको देखिन्छ । डेंगु रोकथाममा कुनै देखिने खालको काम हुन सकेको छैन । बरु तल्लो तहलाई दोष थोपरेर उन्मुक्ति लिन खोजेको छन् ।
डेंगु नियन्त्रणमा स्वास्थ्य मन्त्रालयको कमजोर नेतृत्व र लापरवाहीपूर्ण व्यवस्थापनका कारण संक्रमण तीव्र गतिमा फैलिएको विज्ञ बताउँछन् ।
‘मनसुन सुरु हुनासाथै खोज तथा नष्ट अभियान व्यापक बनाउनुपर्थ्यो । लार्भा अवस्थामै नियन्त्रण गरिएको भए यस्तो अवस्था आउने थिएन,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा. बाबुराम मरासिनी भन्छन्, ‘तर सरकार डेंगु फैलिसकेपछि मात्र झारा टार्ने काम गरिरहेको छ ।’
स्वास्थ्य मन्त्रालयका उच्च अधिकारी पनि नियमित काममै चित्त बुझाएर बसिरहेको देखिन्छ । डेंगु रोकथाममा कुनै देखिने खालको काम हुन सकेको छैन । बरु तल्लो तहलाई दोष थोपरेर उन्मुक्ति लिन खोजेको छन् ।
एडिस एजेप्टाई र एडिस एलल्वौपेक्टस नामक लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु संक्रमण नेपालमा पहिलो पटक २००४ मा चितवनमा आएका एक विदेशी नागरिकमा भेटिएको थियो ।
त्यसपछि २००६ मा तराई र भित्री मधेशका केही जिल्लामा डेंगुका बिरामी भेटिएका थिए । २०१६ मा चितवन, झापा र रूपन्देहीमा महामारीकै रूपमा डेंगु देखियो ।
२०२० मा धरानबाट फैलिएको डेंगुबाट १८ हजार मानिस संक्रमित भए, ४३ जिल्लामा फैलिएको डेंगुले १२ जनाको मृत्यु भयो । त्यसयता क्रमशः डेंगु संक्रमितको संख्या मात्रै बढेन संक्रमण अन्य जिल्लामा समेत फैलियो ।
सन् २०२२ मा आइपुग्दा डेंगु संक्रमित ७७ वटै जिल्लामा फैलिँदा ५४ हजारभन्दा बढी संक्रमित भए । उनीहरूमध्ये ८८ जनाको मृत्यु भएको थियो ।
२०२३ मा भने कोशी प्रदेशमा डेंगु फैलिएको थियो । २० जना मृत्यु हुँदा ५२ हजारभन्दा बढी संक्रमित भएका थिए । ईडीसीडीको तथ्यांक अनुसार संक्रमितमध्ये ३१ प्रतिशत सुनसरीका थिए ।
पछिल्ला वर्षमा दुई–तीन वर्षको अन्तरमा डेंगुले प्रकोपकै रूपमात्रै देखा परेको छैन, विस्तारै चिसो ठाउँ भनिएका पहाडी जिल्लामा पनि उक्लिँदै गइरहेको छ । डेंगुको जोखिम बर्सेनि बढिरहँदा इडीसीडीका अधिकारीहरु भने एकै किसिमको बनिबनाउ जवाफ दिने गर्छन्, ‘डेंगु नियन्त्रणको लागि रणनीति बनाएर स्थानीय पालिकासम्म पुर्याइएको छ । बजेट दिएका छौं । केही स्वास्थ्यकर्मीलाई तालिम दिएका छौं ।’
विज्ञका अनुसार केन्द्रबाट नै खोज तथा नष्ट अभियान प्रभावकारी बनाउँदासम्म डेंगु नियन्त्रणमा राख्न सकिँदैन ।
डेंगुको अति जोखिममा परेका यी ६ जिल्ला
अहिलेसम्मको तथ्यांकललाई हेर्दा डेंगुको अति जोखिममा ६ वटा जिल्ला परेका छन् । जसमध्ये गण्डकी प्रदेश सबैभन्दा धेरै प्रभावित भएको छ । डेंगुका कारण गण्डकी प्रदेशका आठ जनाको मृत्यु भएको छ । देशभरि फेला परेका संक्रमित संख्यामध्ये झण्डै ५० प्रतिशत संक्रमित गण्डकी प्रदेशका छन् ।
गण्डकी प्रदेशमा मात्रै १३ हजार ८ सय ९८ संक्रमित भएका छन् । प्रदेशभित्र सबैभन्दा धेरै संक्रमित कास्कीमा ७ हजार १ सय ६१ र तनहुँमा २ हजार २ सय २६ जना संक्रमित भएका छन् ।
जिल्लागत विवरण हेर्दा कास्की सर्वाधिक प्रभावित जिल्ला हो । तनहुँ अतिप्रभावित १० जिल्लामध्ये तेस्रो स्थानमा छ । काठमाडौंमा ४ हजार ३ सय १३, पर्वतमा १ हजार ६ सय ७७, ललितपुरमा १ हजार १सय ११ र चितवनमा १ हजार ९९ संक्रमित रहेका छन् ।
टेकु अस्पतालका चिफ कन्सल्टेन्ट फिजिसियन डा. विमल शर्मा चालिसे अनुसार केही बिरामीहरूलाई दोहोरो संक्रमणका कारण आईसीयूमा राखेर उपचार गर्नुपरेको छ ।
इडिसिडीका अधिकारीका अनुसार १२ जनामध्ये मृत्यु हुनेहरू अधिंकाश दीर्घरोगी छन् । उच्च रक्तचाप, मधुमेह, मुटुको समस्या भएका वा अन्य हिसाबले रोग प्रतिरोथी क्षमता कम भएकाहरूको बढी मृत्यु भएको डा. घिमिरेले बताए ।
यसवर्ष किन गण्डकी बढी प्रभावित भयो ?
यसवर्ष गण्डकी प्रदेशको तीन जिल्ला ‘हटस्पट’ बने । अघिल्लो वर्ष पनि तनुहँमा हजारौं मानिस संक्रमित भएका थिए ।
इडिसीडीका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहाल अघिल्लो वर्ष संक्रमित लामखुट्टेले पारेको अण्डा विकसित भएर डेंगु फैलिएको अनुमान लगाउँछन् ।
‘अघिल्लो वर्ष तनँहु (दमौली) बजारका नागरिक संक्रमित भएका थिए । तर यसवर्ष त्यहि वरपरका पालिका, वडामा केस देखिएको छ,’ डा. दाहालले भने, ‘अघिल्लो वर्ष नै डेंगुले पारेको अण्डा विकसित भएर डेंगु फैलिएको हो ।’
माघ, फागुनतिरको तथ्यांकले पनि गण्डकी प्रदेशमा डेंगु फैलिने संकेत पाएकाले गण्डकीका स्थानीय तहलाई बढी प्राथमिकतामा राखेर काम गरेको डा. दाहालले बताए ।
‘ठ्याक्कै कुन क्षेत्रमा डेंगु फैलिन्छ भनेर एकीन गर्न सकिँदैन । तर फागुन चैततिरको केस आउने संख्याले असार, साउनतिर कहाँ बढी देखिनसक्छ भनेर अनुमान लगाउन सकिन्छ,’ डा. दाहाल भन्छन् ।
डेंगु संक्रमणको दोहोरो प्रकोप
नेपालमा डेंगुका चारै प्रकारका सेरोटाइप (टाइप १, २, ३ र ४) देखिएका छन् । कुनै एकथरी भाइरसबाट संक्रमित भएका मानिसलाई अर्को पटक अर्कोथरि सेरोपाइपको संक्रमण भएमा समस्या जटिल बन्न सक्ने चिकित्सक बताउँछन् ।
यसवर्ष पनि संक्रमित संख्या बढ्दै जाँदा दोहोरो संक्रमणले थप जटिलता बिरामीमा देखियो । टेकु अस्पतालका चिफ कन्सल्टेन्ट फिजिसियन डा. विमल शर्मा चालिसे अनुसार केही बिरामीहरूलाई दोहोरो संक्रमणका कारण आईसीयूमा राखेर उपचार गर्नुपरेको छ ।
अस्पतालमा भर्ना हुने बिरामीहरूमा अत्यधिक उल्टी, फोक्सो र पेटमा पानी जम्ने, गिजा तथा पिसाबबाट रक्तस्राव जस्ता जटिल लक्षण देखिएको डा. चालिसेले बताए ।
उनका अनुसार, डेंगुको एक प्रकारको सेरोटाइपले मानिसमा संक्रमण गरेमा जीवनभर त्यही सेरोटाइपको अर्को संक्रमण हुँदैन । मानिसको शरीरले त्यो सेरोटाइपविरुद्ध लड्ने प्रतिरोधात्मक क्षमता बलियो बनाइसकेको हुन्छ । तर फरक प्रकारको सेरोटाइपको संक्रमण भएमा जटिलता बढेर बिरामीको मृत्यु समेत हुनसक्छ ।
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले पहिलो पटकको भन्दा फरक सेरोटाइपको संक्रमण भएमा स्वास्थ्य जटिलता बढ्ने जोखिम उच्च रहने बताए । ‘एउटै सेरोटाइपको पुनः संक्रमणमा जटिलता कम हुन्छ । तर फरक सेरोटाइपको संक्रमणले गम्भीर समस्या निम्त्याउन सक्छ,’ उनले भने ।
पहिलो पटकको संक्रमणले शरीरमा रोग प्रतिरोधात्मक क्षमता विकास गरिसकेको हुन्छ । तर फरक खालको सेरोटाइपको संक्रमण हुँदा शरीरले प्रतिक्रिया देखाउने गर्छ । अनियन्त्रित रुपमा भाइरसको वृद्धि हुँदा मानिसमा भएको रोग प्रतिरोधात्मक क्षमता नै घटेर जान्छ जसका कारण बिरामीमा जटिलता देखापर्छन् ।
डा. पुनका अनुसार यस वर्ष अघिल्ला वर्षहरूको तुलनामा बिरामीहरूले बढी पीडा महसुस गरिरहेका छन् । ‘यो वर्ष पनि डेंगुको संक्रमण अप्रत्याशित रूपमा बढ्यो । बिरामीको संख्या बढ्दै जाँदा मृत्यु हुने जोखिम पनि बढ्दै जान्छ,’ डा. पुन भन्छन् ।
देशव्यापी कसरी फैलियो डेंगु ?
करीब दुई दशकअघि मात्रै नेपालमा देखा परेको डेंगु अहिले भने देशभर नै फैलिएको छ । पहिला तराईमा मात्रै भेटिने डेंगु अहिले माथि उठेर पहाडी र हिमाली क्षेत्रसम्म पुगेको छ । स्वास्थ्य विज्ञहरूले यसको प्रमुख कारणको रूपमा जलवायु परिवर्तन र तीव्र शहरीकरणलाई औंल्याउँछन् ।
ईडीसीडीका निर्देशक डा. घिमिरेका अनुसार तराईमा मात्र सीमित रहेका लामखुट्टे अहिले पहाडी र हिमाली वातावरणमा समेत अनुकूलन हुँदै गएका छन् । ‘विगतमा चिसो क्षेत्रमा नदेखिने यी लामखुट्टेहरू अब बढ्दो तापक्रमसँगै हिमाली क्षेत्रसम्म पुगेका छन्,’ उनले भने ।
विशेषज्ञका अनुसार डेंगु सार्ने लामखुट्टेहरू १२–१३ डिग्री सेल्सियस जस्तो कम तापक्रममा पनि जीवित रहन सक्षम छन् । जसको कारण उच्च पहाडी क्षेत्रमा समेत डेंगुको जोखिम बढेको हो ।
शहरीकरण र जलवायु परिवर्तनको असर
जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीले शहरी क्षेत्रमा डेंगु फैलिनुको प्रमुख कारण जल र अव्यवस्थित फोहोर व्यवस्थापन रहेको बताए । उनका अनुसार पानी जम्मा गर्न राखिएका ड्रम र बाल्टीहरू, पुराना टायर र फोहोरमैला, कौसी खेतीका गमला, खुला खाल्डाखुल्डीमा जमेको पानी स्थानहरू एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस प्रजातिका लामखुट्टेका लागि प्रजनन स्थल हुन् ।
सन् १८५९ मा १४ डिग्री सेल्सियस रहेको औसत तापक्रम अहिले १५.१ डिग्री पुगेको छ । यो १.१ डिग्रीको वृद्धिले कीटजन्य रोगको प्रसार तीव्र बनाएको छ ।
जलवायु परिवर्तन र तीव्र शहरीकरणले नेपालमा डेंगु संक्रमणको जोखिम बढाएको उनी बताउँछन् । विगत एक दशकमा तराईदेखि पहाडी जिल्लासम्म फैलिएको यो रोग अहिले जनस्वास्थ्यको प्रमुख चुनौती बनेको छ ।
करिब १५ वर्षअघि वीरगञ्जमा देखिएको डेंगु प्रकोपले ४०० भन्दा बढी मानिसलाई संक्रमित बनाएको थियो । त्यस बेला डा. मरासिनी नेतृत्वको टोलीले गरेको अध्ययनले मधेश आन्दोलनका क्रममा सडकमा थुपारिएका टायरमा जमेको पानी डेंगु फैलाउने लामखुट्टेको प्रमुख वासस्थान बनेको देखाएको थियो ।
‘आन्दोलनकारीले सडक अवरोधका लागि राखेका टायरमा वर्षातको पानी जमेपछि लामखुट्टेको वृद्धि भयो,’ डा. मरासिनी भन्छन्, ‘तर पछि ती टायर जलाइएपछि संक्रमण उल्लेख्य रूपमा घट्यो ।’
विज्ञहरूका अनुसार औद्योगिक क्रान्तिपछि वायुमण्डलको तापक्रममा आएको वृद्धि डेंगु फैलनुको प्रमुख कारण हो । सन् १८५९ मा १४ डिग्री सेल्सियस रहेको औसत तापक्रम अहिले १५.१ डिग्री पुगेको छ । यो १.१ डिग्रीको वृद्धिले कीटजन्य रोगको प्रसार तीव्र बनाएको छ ।
सरुवा रोग विशेषज्ञ पुन पनि बढ्दो शहरीकरणलाई पनि डेंगु फैलनुको कारण मान्छन् । ‘शहरी क्षेत्रमा पानी संकलन गर्ने ड्रम, बाल्टी, ग्यारेजका टायर र कौसी बगैंचाका गमलामा जमेको पानीमा लामखुट्टेले सजिलै फुल पार्छन्,’ उनले भने ।
डेंगुको संक्रमण रोक्नका लागि लामखुट्टेले फुल पार्न सक्ने सम्भावित घरभित्र र वरपरका पानी जमेको ठाउँहरू र पानी राख्ने भाडाहरू खोजी खोजी सफा गर्ने र लामखुट्टेको फुल नष्ट गर्नुपर्दछ ।
पानी राख्ने भाँडाहरु जस्तै ट्यांकी, ड्रम, बाटा, बाल्टिन आदिलाई लामखुट्टे नछिर्नेगरी राम्ररी छोपेर राख्नुपर्छ । शरीर ढाकिने लुगा लगाउनुपर्छ । सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नुपर्छ । साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनुपर्छ ।
त्यसैगरी, कोठाभित्र लामखुट्टे भगाउने धुप बाल्ने र लामखुट्टेको टोकाइबाट बच्ने मलम लगाउनुपर्छ । पूरै शरीर ढाक्ने लुगा उपयुक्त हुन्छ । लामखुट्टेले फुल पार्नसक्ने सम्भावित घर र विद्यालयभित्र र वरपरका पानी जम्ने सबै ठाउँहरू र पानी राख्ने भाडाहरु खोजी खोजी सफा गर्नुपर्छ ।