अहिले जस्तो थिएन पहिलेको पोखरा । दशैंको लागि सामान ल्याउन पनि अहिलेजस्तो सुलभ र सहज थिएन । २०२९ सालतिर पृथ्वीराजमार्ग बन्नुभन्दा धेरै साल पहिले २००८ सालमै पोखरामा जहाज ओर्लिएको हो । जब पृथ्वीराजमार्गले काठमाडौंसँग जोड्यो तब पोखरा सहरको विकास तीव्र रूपमा हुन थालेको देखिन्छ ।
विमानस्थल चलिरहेको र पृथ्वीराजमार्गले पनि जोडेपछि पोखरालाई भविष्यको सहरका रूपमा हेर्न थालिएको हो । बिस्तारै सिद्धार्थ र भूपीशेरचन राजमार्ग पनि जोडिएपछि तत्कालीन गण्डकी, धौलागिरी र लुम्बिनी अञ्चलका विभिन्न जिल्लाबाट थातथलो छोडेर मानिसहरू पोखरा बसाइँ सर्ने क्रम बढ्यो ।
२०३१ सालमा आधुनिक पोखराको सहरी विकास योजना अगाडि बढ्न थालेपछि आसपासका जिल्लाका मानिसले पोखरालाई प्राथमिकतामा राख्न थाले । पोखरामा बस्न पाए हुन्थ्यो, एउटा घर बनाउन पाए हुन्थ्यो भन्ने मानिसको महत्वकांक्षा बढ्दै जान थाल्यो । अहिले त पोखरामा ७७ वटै जिल्लाका नागरिक छन् भने झण्डै ६८ जिल्लाबाट मानिसहरू त बसाइँसराइ गरेरै आएको पाइन्छ ।
अहिले पोखराका रैथानेभन्दा बाहिरबाट आएका कर्मशील मान्छेहरूको संख्या बढ्दो छ । सहरी विकासक्रम नै यस्तै हुनेरहेछ, आदिवासी वा सोही ठाउँमा बसिरहेका मानिसहरूको प्रभाव कम हुँदै र नयाँ बसाइँसराइ गरेर आएका मानिसहरूले प्रभाव बढ्दै जान्छ । यो प्रक्रिया पोखरामा एकदमै तीव्र गतिमा चलिरहेको छ ।
पोखरामा २५० वर्षभन्दा पहिले आएका नेवार वा अरु समुदायहरू कहाँ गए, किन सेलाए भन्ने खालका टिप्पणी आज पनि चल्छ । यो त क्रमशः सहरी विकासक्रममा हुँदै जाने प्रक्रिया हो । त्यसैले २५०/६० वर्ष पहिले वा त्योभन्दा अझै पहिलेदेखि बस्दै आएका मानिसहरू बिस्तारै अन्त जान्छन् र नयाँ मान्छेहरू आउने क्रम र प्रभाव बढ्दै जान्छ । यो भनेको बसाइँसराइको प्रक्रिया नै रहेछ । बसाइँ सरेर आउने मान्छेहरूले नै बढी सहरको विकास गरिरहेको हुन्छ भन्ने हामीले बुझेका छौं ।
नालाकोमुखदेखि बगालेटोल, सिमलचौर, बैदामसम्म अर्कोतिर कुँडहरदेखि विजयपुरसम्म, बगर हुँदै केआइसिंह पुलसम्म, विन्ध्यवासिनी, टुँडिखेलदेखि याम्दीसम्मको नेरोघेरोभित्र पोखरा थियो । भदौरेदेखि पुँडीटार वा भगवतीटारसम्म, अर्मलाको डाँडादेखि प्युरी दोभानसम्म अहिले भूगोलका हिसाबले पोखरा महानगर फैलिएको छ । मैले जान्दा २०१४ सालतिर पोखराको जनसङ्ख्या २ हजार ६०० हाराहारीमा मात्र थियो । आज पोखरा महानगरमा ५ लाख हाराहारीमा मानिस बस्ने तथ्यांकले देखाइरहेका छन् ।
पोखरामा आज घर थपिंदै जाने क्रमलाई विकास मान्नुस् वा सडक बन्दै गएकोलाई विकास मान्नुस्, तीव्र गतिमा यस्तो विकास फैलिइरहेको छ । मानिसहरू आउने क्रम बढेको छ । यद्यपि आर्थिक रूपमा जसरी विकास हुनुपर्ने हो, त्यो गति भने नबढेको हामीले अनुभव गरेका छौं । मान्छेहरू बढे जसरी नै पोखराको आर्थिक विकास बढ्न सकेन । पोखरा आज कहीँ न कहीँ असजिलो अवस्थामा आइपुगेको छ ।
मानव सभ्यतालाई कसरी सहरी विकाससँग जोड्ने, कसरी यहाँका मान्छेहरूलाई थातथलोमै राख्ने भन्ने योजनाबद्ध हिसाबले चल्न नसकेको महसुस गरेका छौं । आज पोखरा अन्य सहरको तुलनामा अव्यवस्थित सहर बन्दै गइरहेको छ, यो हाम्रो कल्पनाभन्दा धेरै परको कुरा थियो । हाम्रा प्रशासन, जनप्रतिनिधि र यहाँका नागरिक समाजले पोखरालाई व्यवस्थित बनाउँदै मानव सभ्यता, संस्कार–संस्कृति र प्रकृतिलाई समेत जोड्न सकेनौं ।
हामी अझै अव्यवस्थित सहरतर्फ उन्मुख छौं र यस्तो अव्यवस्थित सहरले धेरै कुरा जोगाएर राख्न सक्दैन । यो पोखरालाई अलिकति परसम्म स्याटेलाइट सहरको विकास गर्ने क्रम अगाडि बढ्छ भन्ने मलाई लाग्छ । पोखरादेखि चारैतिर अब नयाँ सहरको विकासको क्रम अगाडि बढ्छ भन्ने देखिन्छ ।
विवाह नगर्ने मात्रै होइन, बच्चा एकदमै कम जन्माउने संस्कृति बढिरहेको छ । विवाह गरिसकेपछि पनि धेरै सम्बन्धविच्छेद हुने अगुवा सहर पनि पोखरा नै बनेको छ । अरुको मतलब नगर्ने तर आफू विन्दास बाँच्ने, हेर्दा सानदार देखिए पनि यसले मानिसहरू बीचमै आत्मीयता कमजोर हुँदै गइरहेको संकेत गर्छ ।
अहिलेको पोखरा महानगरपालिका आवश्यकता छ भन्ने कुराको तयारी, बोध नगरीकन राजनीतिक निर्णयबाट बनेको हो । राजनीतिक हिसाबले भोट बैंकका रूपमा महानगर बनाएको यहाँका नागरिकले महसुस गरेका छन् ।
महानगरका निम्ति हाम्रो तयारी, आवश्यकता बारे छलफलै भएन । पोखरा महानगरकै गाउँहरू आज रित्तो हुँदै गइरहेका छन् । महानगरकै ग्रामीण बस्तीहरूबाट मानिसहरू ‘कोर सिटी’ तर्फ झरिरहेका छन् ।
आधुनिक र पुरातन समिश्रणबाट अगाडि बढ्नुपर्नेमा पोखरा त्यसबाटै विचलित हुँदै गइरहेको छ । आज पोखरामा एकातर्फ यहाँका युवायुवतीको विवाह संस्कृति कमजोर भइरहेको छ । विवाह नगर्ने मात्रै होइन, बच्चा एकदमै कम जन्माउने संस्कृति बढिरहेको छ । विवाह गरिसकेपछि पनि धेरै सम्बन्धविच्छेद हुने अगुवा सहर पनि पोखरा नै बनेको छ । अरुको मतलब नगर्ने तर आफू विन्दास बाँच्ने, हेर्दा सानदार देखिए पनि यसले मानिसहरू बीचमै आत्मीयता कमजोर हुँदै गइरहेको संकेत गर्छ ।
बढ्दो जनसंख्या र सहरीकरणसँगै पोखरा लागु औषधको हब बन्दै गइरहेको दिनहुँ प्रहरीले सार्वजनिक गर्ने प्रेस नोटले देखाइरहेको छ । मानव बेचविखनको विकृति पनि सतहमै देखिइरहेको छ । पोखरालाई आक्रान्त पारेका यस्ता विकृतिलाई न्यूनीकरण गर्दै, हाम्रो परम्परा, संस्कृति र मौलिकलाई जोड्दै नजाने हो भने पोखरा अपराधयुक्त सहर बन्दै जाने जोखिम छ ।
दशैंलगायत हाम्रा चाडपर्व र संस्कृतिहरू पनि यी कुराबाट प्रभावित हुँदै गइरहेको छ । सहरी विकास र समयसँगै हाम्रा चाडपर्वहरू पनि बदलिंदै जान्छन्, जसरी बद्लिंदो पोखरामा पनि बद्लिइरहेको छ दशैं संस्कृति ।
मैले जान्दा त्यो कि खच्चडबाट कि जहाजबाट सरसामान ल्याइन्थ्यो । त्योभन्दा पनि अगाडि पोखरामा व्यापारीले बोकाएरै पनि सामान ल्याउँथे । पोखरामा झण्डै एक महिना अगाडिदेखि नै दशैंका लागि व्यापारीहरूले सरसामानको जोहो गर्न थाल्थे ।
दशैंका लागि भनेरै पोखरा र आसपासका ग्रामीण भेगका जनताले पैसाको जोहो गर्थे र दशैं अगाडि किनमेललका लागि बजार झर्थे । पैसाको जोहो गर्नका लागि आफूसँग भएका विभिन्न बाँसका सामग्री, काठका ठेकी, जौ, बदाम, सालको पातलगायत सामग्रीदेखि पशुचौपायासम्म बिक्रीका लागि ल्याउँथे र दशैंको सरसामान लिएर फर्किन्थे ।
बाबियो, राडीपाखी, काम्लो, गुन्द्री लिएर गाउँबाट किसानहरू झर्थे । दशैंमा कम्तिमा एक जोर नयाँ लुगा लगाउनुपर्छ भनेर सिलाउने चलन थियो । अहिलेजस्तो प्रशस्त रेडिमेट कपडाको खासै चलन थिएन । एक/डेढ महिना अगाडिदेखि नै दशैंको जोहो गर्ने ध्याउन्नमा मानिसहरू हुन्थे ।
गाउँ–गाउँबाट खसीबोका बेच्न ल्याउँथे । अहिलेजस्तो लस्करका लस्कर च्याङ्ग्राहरू आउने थिएनन् । पोखरामै दशैंअघि कमेरो, रातो माटो ल्याएर घर लिपपोत गर्ने चलन थियो । घरमा रातो माटो र कमेरो पोत्न थालेपछि दशैं आएको आभास हुन्थ्यो । लाउरेहरू ताँती लागेर घर आएसँगै दशैं आउँथ्यो । दशैंमा नै पोखरा आर्थिक हिसाबले चलायमान हुन्थ्यो । सबैजसो मान्छे व्यस्त हुन्थे । सबैले दशैंका निम्ति केही न केही अर्थोपार्जनको काम पाएकै हुन्थे ।
अहिले पोखरा सहरीकरण भएको छ र दशैंको त्यो रौनकता, मौलिकता पनि अतिक्रमित हुन पुगेको छ । दशैं त आउँछ तर त्यो आत्मीयता र रौनकता आउँदैन । हामी कोहीसँग लाइट हुन्थ्यो, कोही लालटिन र मैनटोल हुन्थ्यो । बाल्यकालमा घटस्थापनादेखि नै हिंडेर तालबाराहीदेखि अकला मन्दिरसम्म, विन्ध्यवासिनीदेखि भद्रकाली मन्दिरसम्म पुग्थ्यौं । टोल टोलको समूह हुन्थ्यो । तर, त्यो संस्कृति नै हराइसक्यो । घटस्थापनासँगै विद्यार्थीहरू चंगा उडाउन सुरु गर्थे । पोखरामा प्रशस्त खुला चौर र पाटनहरू थिए । ती दशैं साँच्चिकै रमाइला थिए ।
हामी आधुनिक पोखराको परिकल्पना त गरिरहेका छौं तर अधकल्चो अवस्थामा छौं । मिश्रित रूपमा गुज्रिरहेका छौं, न नयाँ हुन सकेका छौं न हिजोको परम्परालाई पनि छोड्न सकेका छौं, न परिमार्जन नै गर्न सकेका छौं ।
अहिले हामी आधुनिकतामा पुग्यौं भन्छौं तर, त्यो आधुनिकता पनि होइन र परम्परा तथा संस्कृतिलाई निर्वाह पनि गर्न सकिरहेका छैनौं । अहिले अधकल्चो अवस्थाबाट पोखरेली समाज गुज्रिरहेको छ । सायद यो पोखरेलीमात्रै होइन, नेपाली समाजकै कथा हो ।
ठाउँ ठाउँमा लिंगे, रोहोटे, चम्रेली पिङ हालिन्थे । बैदान क्षेत्रमा दशैंको मेला नै लाथ्यो । टुँडिखेलमा हाटबजार लाग्थ्यो, किनमेल गर्ने गतिलो थलो थियो । मानिसहरू सँगसँगै मिलेर फूल खोज्न जान्थे । दशैंमा ससुराली जाँदा होस् या अन्त आफन्तकहाँ, केरा, अनदीको चामल, घ्यूलगायत कोसेली लिएर जाने चालन थियो ।
अहिले दशैं केवल औपचारिकतामा सीमित हुन पुगेको छ । त्यो बेला एक मोहर, एक सुका पाउँदा पनि ठूलो उत्सव हुन्थ्यो, आज दशैं पैसामा जोखिन थालेको छ ।
हामी आधुनिक पोखराको परिकल्पना त गरिरहेका छौं तर अधकल्चो अवस्थामा छौं । मिश्रित रूपमा गुज्रिरहेका छौं, न नयाँ हुन सकेका छौं न हिजोको परम्परालाई पनि छोड्न सकेका छौं, न परिमार्जन नै गर्न सकेका छौं । आज सके टीका लगाउन जाऔंला नत्र फोनबाटै कुरा गरौंला भन्ने कुराको पनि विकास भइरहेको छ । यो शुभसंकेत होइन ।
दशैं आत्मीयता र मानसम्मानको पर्व हो, जुन आज अभाव हुँदै गइरहेको छ । दशैं समाज र परिवारलाई एकतामा जोड्ने परम्परा होे, त्यो आज तोडिँदै गइरहेको छ । औपचारिकतामा सीमित हुँदै गइरहेका हाम्रा सांस्कृतिक पर्व भोलिका दिनमा अझ असहज परिस्थितिबाट गुज्रने देखिएको छ ।