बदलिँदो भूराजनीतिको नेपाल असर अध्ययन गर्दै सेना


नेपाली सेनाले बदलिँदो अन्तर्राष्ट्रिय परिस्थिति र त्यसले नेपालमा पार्ने प्रभावबारे अध्ययन थालेको छ। शक्तिराष्ट्रले लिइरहेका नयाँ नीतिले नेपाललाई प्रभाव पार्न सक्ने सम्भावनाबारे ‘बृहद् रणनीतिक कार्ययोजना’ भित्र राखेर अध्ययन थालेको हो।

पछिल्लो पटक अमेरिकी सरकारले लिएको नीतिले नेपाललाई प्रभाव पार्न सक्ने सम्भावना र त्यसको दीर्घकालीन असरबारे सेना मौन बस्न सकिरहेको छैन। संयुक्त राष्ट्रसंघअन्तर्गत शान्ति मिसनका लागि नियमित बजेटमध्ये अमेरिकाको करिब २७ प्रतिशत लगानी छ।

विभिन्न द्वन्द्वग्रस्त मुलुकका शान्ति स्थापना कार्यका लागि योगदान गर्ने सबैभन्दा ठुलो पंक्ति नेपाली सेनाको छ। अमेरिकी सहयोगअन्तर्गत विभिन्न तालिम पनि नेपाली सेनालाई प्राप्त भइरहेको अवस्थामा अमेरिकामा आएको नयाँ सरकारले लिएको नीतिले नेपाललाई पनि प्रभाव पार्न सक्ने सेनाका उच्च अधिकारीहरूको दाबी छ।

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै उनले लिएका नीतिका कारण बहुआयामिक प्रभाव पर्ने भन्दै त्यसलाई सेनाले नजिकबाट अध्ययन–विश्लेषण गरिरहेको सैनिक मुख्यालयले जनाएको छ। सैनिक दिवसका अवसरमा आयोजित पृतनापति सम्मेलनमा पनि यो विषयमा छलफल र बहस भएको थियो।

पृतनापति सम्मेलनका बेला जारी विज्ञप्तिअनुसार रक्षामन्त्री मानवीर राईले विश्वको बदलिँदो भूराजनीतिक परिवेश र ध्रुवीकरणले हालको अन्तर्राष्ट्रिय परिवेश तथा विभिन्न स्थानमा चलिरहेको द्वन्द्वहरूले नेपालमा पनि कुनै न कुनै रूपमा प्रभाव पार्ने बताएका थिए। त्यसक्रममा प्रधानसेनापति अशोकराज सिग्देलले पनि हालको विश्व सुरक्षा परिस्थिति बहुआयामिक दृष्टिकोणले थप संवेदनशील, जटिल र अन्योलपूर्ण बन्दै गइरहेको अवस्थामा आन्तरिक र बाह्य परिस्थितिमा आउन सक्ने उतारचढावले नयाँ प्रकृतिका सुरक्षा चुनौतीहरू सिर्जना हुने सम्भावना रहेको चर्चा गरेका थिए।

रक्षामन्त्री राईकै उपस्थितिमा प्रधानसेनापति सिग्देलले भविष्यका सुरक्षा चुनौतीहरूलाई सामना गर्न विभिन्न रणनीति तथा समन्वय प्रणालीलाई समयानुकूल विश्लेषण गरी प्रभावकारी उपायहरू पहिल्याउन सम्मेलन सहयोगी सिद्ध हुने बताएका थिए।

सेनाले यो विषयलाई निरन्तर रूपमा अध्ययन गरिरहेको थप पुष्टि भएको छ। सेना दिवसको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा पनि यो विषयलाई सेनाले महŒव दिएको थियो। ‘विभिन्न शक्तिराष्ट्रले लिएका नीति र क्षेत्रीय रूपमा विकसित परिस्थिति, राजनीतिकदेखि आर्थिक गतिविधिले कत्तिको प्रभावित हुन्छौं भन्ने कुरा धेरै अनुमान लगाउन सकिन्छ,’ आइतबार पत्रकार सम्मेलनमा युद्धकार्य विभागका महानिर्देशक प्रेमध्वज अधिकारीले भने।

 उनका अनुसार नेपाली सेना र सैनिक नेतृत्व बदलिँदो परिस्थितिमा बृहत् रणनीति कार्ययोजनामा पर्ने सम्पूर्ण सुरक्षा सरोकारका विषयहरूलाई कसरी सम्बोधन गर्ने भन्नेमा सैनिक मुख्यालय चिन्तनमनन गरिरहेको छ। ‘बदलिएको परिस्थितिमा नेपालको क्षमता र स्रोतसाधनलाई कसरी अगाडि बढाउने भन्ने विषयमा पनि रणनीति तयार पार्ने काम भइरहेको छ,’ उपरथी अधिकारीले भने। सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका प्रमुख सहायक रथी गौरवकुमार केसीले नेपाली सेनाले अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय स्तरमा भएका गतिविधिलाई छलफल गर्ने, बुझ्ने र रणनीति बनाउने कुरा स्वाभाविक भएको बताएका छन्। ‘यो विषयमा नयाँ चिज आयो भने बुझ्नु, अध्ययन गर्नु, छलफल गर्नु स्वाभाविक हो,’ सहायक प्रवक्ता केसीले भने।

शान्ति मिसनमा ६ हजार सेना

संयुक्त राष्ट्रसंघअन्तर्गत विश्वमा शान्ति स्थापनाका लागि नेपाली सेना पहिलो वा दोस्रो नम्बरमा पर्ने गरेको छ। शान्ति मिसनमा अदलीबदली हुँदा कहिले पहिलो र कहिले दोस्रो हुने गरेको छ। यसक्रममा नेपाली सेनाले महिला र पुरुष दुवैलाई शान्ति सैनिक पठाउने राष्ट्रको सूचीमा नेपाल अग्रणी रहेको छ। सेनाका अनुसार हाल ११ वटा मिसनमा नेपाली सेनाका महिला सैनिक ६ सय ४२ सहित कुल पाँच हजार नौ सय १३ जना शान्ति सैनिकको सहभागिता छ।

 यस्तै संयुक्त राष्ट्रसंघको छातामुनि रही विश्वशान्ति कार्य र स्थायित्वका लागि सुरुदेखि हालसम्म विभिन्न ४४ वटा विभिन्न मिसनमा एक लाख ५४ हजार तीन सय ४० नेपाली शान्ति सैनिक खटाइसकिएको छ। यस कार्यको दौरान ७३ सैनिकले मृत्यु भएको र ६९ जना सैनिकहरू घाइते भई आजीवन असहज जीवनयापन व्यतीत गरिरहेको सेनाले जनाएको छ।

३२ वटा सडक आयोजना सम्पन्न

नेपाली सेनाले आफूले जिम्मेवारी पाएकामध्ये हालसम्म ३२ वटा सडक आयोजना सम्पन्न गरिसकेको जनाएको छ। त्यसक्रममा एक हजार चार सय किलोमिटरभन्दा बढी सडकको पाइलट ट्र्याक खोली नेपाल सरकारलाई हस्तान्तरण गरिएको सेनाको भनाइ छ।

यस्तै हाल चार सडक आयोजना (खाँदबारी–किमाथांका सडक, बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक, कर्णाली कोरिडोर सडक र दार्चुला–टिंकर सडक) अन्तर्गत दुई सय किलोमिटरभन्दा बढी सडक निर्माण भइरहेको सेनाले आइतबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ।

राष्ट्रिय गौरवका आयोजनाहरूलाई तोकिएकै मितिमा निर्माण कार्य सम्पन्न गर्न नेपाली सेनाले प्राथमिकतासाथ कार्य गरिरहेको समेत पत्रकार सम्मेलनमा जानकारी दिइयो। जसअनुसार काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) सडक आयोजना काम भइरहेको सेनाले जनाएको छ।

सो आयोजना निर्माण तथा व्यवस्थापनको जिम्मेवारी सेनाले २०७४ वैशाख २१ गते पाएको थियो। कुल ७०.९७७ किलोमिटर लम्बाइ रहेको सो आयोजनाको भौतिक प्रगति ३८.२६ प्रतिशत र वित्तीय प्रगति ३९.८४ प्रतिशत रहेको सेनाले जनाएको छ।

त्यसैगरी आयोजनाअन्तर्गतका सात सुरुङमध्ये दुईवटा छिचोलिइसकेका छन् भने दुईवटा सुरुङ निर्माणाधीन आस्थामा छन्। यस्तै अन्य तीनवटा सुरुङको डिजाइन तथा पूर्वतयारीका कार्य भइरहेका छन्। विविध कारणले गर्दा सडक आयोजनाको भौतिक प्रगति अपेक्षाअनुसार नभए पनि लक्ष्यअनुसार कार्य सम्पन्न गर्न कोसिस रहने सेनाले जानकारी दिएको छ।

कल्याणकारी कोषमा ८७ अर्ब

सैनिक कल्याणकारी कोषमा ८७ अर्ब एक करोड रूपैयाँ बचत रहेको नेपाली सेनाले जनाएको छ। आइतबार पत्रकार सम्मेलन गर्दै सेनाले २०३२ सालमा स्थापना भएको कोषमा झन्डै ५० वर्षको यो अवधिमा ८७ अर्ब बढी रूपैयाँ जम्मा भएको जानकारी दिएको हो। २०३२ सालमा एक करोड २४ लाख रूपैयाँ जम्मा गर्दै कोषको सुरुआत गरिएको थियो।

२०८१ पुस मसान्तसम्म कोषमा बचत ८७ अर्ब एक करोड रूपैयाँ पुगेको सेनाको भनाइ छ। बचतमध्ये बैंक तथा वित्तीय संस्थाहरूमा ७९ अर्ब २८ करोड ५६ लाख रूपैयाँ नगद मौज्दात रहेको बताउँदै सेनाले सात अर्ब ७२ करोड ४४ लाख रूपैयाँ विभिन्न परियोजनामा लगानी रहेको बताएको छ। लगानीमध्ये नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा दुई अर्ब ३० करोड ९४ लाख र कल्याणकारी भवन तथा त्रिचन्द्र मिलिटरी हस्पिटलमा एक अर्ब ६० करोड ६० लाख रूपैयाँ परिचालन गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो।

प्रकृति संरक्षणमा ९ हजार सेना

नेपाली सेनाले प्रकृति संरक्षणमा आफ्ना नौ हजारभन्दा बढी फौज परिचालन भएको जनाएको छ। नेपाली सेनाले हाल १२ वटा राष्ट्रिय निकुञ्ज, एउटा वन्यजन्तु आरक्ष, एउटा सिकार आरक्षका साथै चुरे क्षेत्र संरक्षणका लागि उक्त संख्यामा फौज परिचालन भएको जनाएको छ। नेपाली सेनाका आठवटा गण, दुईवटा वन तथा पर्यावरण सुरक्षा गण र सातवटा अनाश्रित गुल्म गरी नौ हजार ४६ जना फौज प्रकृति संरक्षणमा खटिएको जनाइएको छ।

प्रकृति संरक्षणमा सेना संलग्न भएपछि सन् २००९ मा एक सय २१ को संख्यामा रहेका बाघ हाल तीन सय ५५ भन्दा बढी र सन् २००५ मा चार सयको संख्यामा रहेको लोपोन्मुख एकसिङे गैंडा सात सय ५२ भन्दा बढी भएको सेनाको दाबी छ।

राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति तथा नेपाली सेनाको सहकार्यमा आर्थिक वर्ष २०७२/७३ देखि हालसम्म १६ लाख १८ हजारभन्दा बढी बोटबिरुवा वृक्षरोपण गरी जंगल वृद्धि गरिएको पनि सेनाले जनाएको छ।

यस्तै २०७६ सालबाट सुरु गरिएको ‘सफा हिमाल अभियान’अन्तर्गत सरोकारवाला निकायहरूको समन्वयमा हालसम्म ११९ टन फोहोर, १२ वटा मानव शव र चारवटा मानव अस्थिपञ्जर संकलन गरी व्यवस्थापन गरिएको सेनाले बताएको छ।

प्रकाशित: १२ फाल्गुन २०८१ ०६:२९ सोमबार





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School