१५ साउन, काठमाडौं । ठीक ३ वर्षअघि केही बैंकको सेयर खरिद गरेर दोस्रो बजार प्रवेश गरेका साना लगानीकर्ता पुष्कर थपलियाको पोर्टफोलियो अझै घाटामै छ ।
लामो समयसम्म सेयर होल्ड गरेर दिक्क मानेका उनले पाँच दिन दिनअघि मात्रै एउटा बैंकको सेयर घाटामै बेचे । प्रतिकित्ता ४७५ रुपैयाँमा सेयर किनेका उनले ३२५ रुपैयाँमै बेचे । ‘घटेका बेला २५० रुपैयाँमा झरेको थियो, फेरि घट्ला र किनौंला भनेर बेचिहालेँ, अहिले साढे ३ सय नाघ्यो’ उनले भने ।
दुई साता बजार लगातार बढेपछि उनीजस्ता धेरैले घट्ने आशमा सेयर बेचे । तर बजार नघटेपछि, कतिपयले थप महँगोमा खरिद गरे भने कोही करेक्सन पर्खाइमै छन् ।
अर्का साना लगानीकर्ता महेश्वर गुरागाईंले एक महिनाअघि नेप्से परिसूचक २१ सय हुँदा प्रतिकित्ता १५० रुपैयाँका दरले दुई बैंकको सेयर किनेका थिए । उनले किनेपछि दुबै बैंकको मूल्य पनि बढ्यो ।
एक साताअघि ती दुबै बैंक प्रतिकित्ता करिब १८० रुपैयाँ हाराहारीमा बेचे । ‘म नेप्से हेरेर बसिरहेको हुन्छु, कारोबारका क्रममा उतारचढाव देखेपछि घट्ने डरले नाफा बुक गरिहालेँ, तर सोमबार तिनै बैंक २३० रुपैयाँ पुग्दा किनेँ,’ उनले भने । प्रतिकित्ता ३० रुपैयाँ नाफा बुक गर्दा उनले अर्को ५० रुपैयाँ गुमाए ।
यी दुई पात्रले अधिकांश लगानीकर्ताको प्रतिनिधित्व गर्छन् । बजार बढ्दो क्रममा रहँदा धेरैले सानो नाफा बुक गर्ने तर ठूलो नाफा गुमाउने गरेको लगानीकर्ता तथा प्राविधिक जानकार सुवासचन्द्र ढुंगाना बताउँछन् । नेपालमा मात्रै नभइ विश्वव्यापी रुपमा बढ्दो बजारमा लगानीकर्ताबाट यस्ता गल्ती हुने गर्छन् ।
बढ्दो बजारमा लगानीकर्ताले गर्ने गल्तीहरू
सानो नाफा बुक गर्ने, पछि महँगोमा किन्ने
सेयर लगानीकर्ताले गर्ने यो गल्तीबाट धेरै नाफा गुम्ने गरेको देखिन्छ । ‘साइडवेजबाट बुलमा बजार लाग्दा लगानीकर्तामा साइडवेजकै भावना रहिरहन्छ, जसले गर्दा थोरैथोरै नाफा छिटो बुक गर्ने गरेका हुन्छन्’ लगानीकर्ता सुवासचन्द्र ढुंगानाले भने ‘बजार बुलमा लागिसकेपछि बेच्नका लागि धैर्य हुनुपर्छ ।’
उदाहरणका लागि, एबीसी कम्पनीको सेयर २०० मा किन्यो, केही दिनमै २३०/२४० पुग्दा बेचिहाल्ने वा बजार एक–दुई दिन घट्दा आत्तिएर जति आउँछ त्यतिमै बेच्ने । पछि जब त्यहीं कम्पनी ३०० पुग्छ फेरि किन्ने । ‘जब मूल्य धेरै बढिसक्छ, त्यसपछि ओहो किन्नुपर्ने रैछ भन्ने सोच आउँछ, त्यसपछि करेक्सन देखियो भने बेच्दा नाफा गुम्ने जोखिम हुन्छ’ ढुंगानाले भने ।
बुल बजार भन्दैमा लगातार बढ्ने हुँदैन । बेलाबेला ठूलै अंकले बजार घट्न सक्ने हेक्का राख्नुपर्ने उनले बताए । बजार घटेर न्यूनतम् बिन्दुमा झरेका बेला खातामा सेयर नहुने, तर बजार बढेर उच्चतम विन्दुमा पुगेका बेला सेयर थप्दै जाने बानी पनि हटाउनुपर्ने ढुंगाना बताउँछन् ।
कम्पनीको मूल्य जति बढ्दै जान्छ, करेक्सन वा गिरावटको संभावना त्यति धेरै बढ्दै जान्छ भन्ने हेक्का धेरैले बेवास्ता गर्ने गरेका छन् ।
केही दिन बजार घटे पनि फेरि बढ्छ भन्ने मान्यता बुल बजारमा राख्नुपर्छ । अझ कतिपय कम्पनी त सस्तोमा किनेर सस्तोमै बेच्ने हुँदा पछि महँगो हुँदा त्यति नै कित्ता सेयर थप्न पनि मुस्किल पर्दछ वा अरु थप रकम चाहिन्छ ।
जुनमा १० प्रतिशत मूल्य बढ्छ, त्यही कम्पनी किन्ने
आज १० प्रतिशत मूल्य बढेका कम्पनी भोलि, पर्सि पनि १० प्रतिशत नै बढ्छ भन्ने गलत बुझाई धेरैमा रहेको ढुंगाना बताउँछन् । यो बुझाइलाई बजारले धेरैपटक उल्टो प्रतिक्रिया दिएको छ ।
उदाहरणका रुपमा, आइतबार १० प्रतिशत मूल्य बढेका केही बैंक सोमबार नै ४ प्रतिशतभन्दा धेरै घटे । तर कतिपय लगानीकर्ता भने १० प्रतिशत मूल्य बढेकै दिन किन्न खोज्ने तर ४ प्रतिशत मूल्य घट्दा नकिन्ने बरु भएको सेयर बेच्ने गरेका छन् । लगानीकर्ताले गर्ने यो ठूलो गल्ती रहेको स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष धर्मराज सापकोटा बताउँछन् ।
‘बढिसकेको सेयरमा हानाथाप गर्ने प्रवृत्ति नयाँ र साना लगानीकर्तामा धेरै देखिन्छ, तर त्यहीं कम्पनीको सेयर धेरै घट्यो भने किन्नेतिर होइन कि बेच्नतिर लागेको पाइन्छ’ सापकोटाले भने ।
आज १० प्रतिशत मूल्य बढ्नु भनेको भोलि करेक्सनको सम्भावना बढी हुनु हो भन्ने बुझाइ लगानीकर्तामा विकास हुनु जरुरी छ । कुनै पनि कम्पनी लगातार १० प्रतिशत बढ्ने वा घट्ने हुँदैन भन्ने मनसाय बनाउनुपर्छ ।
‘बुल बजारमा आफूले आफैलाई सम्हाल्ने हो, छिटोछिटो किनबेच गरिरहनुको साटो धैर्य हुन सिक्नुपर्छ,’ सापकोटाले भने । आज १० प्रतिशत मूल्य बढेको कम्पनी किन्ने, दुई दिनपछि त्यहीं कम्पनीमा करेक्सन देखिँदा बेच्ने र फेरि १० प्रतिशत मूल्य बढेको अर्को कम्पनी किन्ने गरेका लगानीकर्ता पनि धेरै हुने गरेको उनी बताउँछन् । यसो गर्दा कमाउनुको साटो झन् गुमाउने जोखिम रहन्छ ।
जुन सेक्टर बढ्दै जान्छ, त्यही सेक्टरमा घुमिरहने
एकदिन एउटा सेक्टर राम्रोसँग बढ्यो भने भोलि त्यहीं सेक्टरमा करेक्सन आउन सक्छ भन्ने हेक्का धेरैले राख्दैनन् ।
‘आज कुनै सेक्टर उच्च दरले बढ्यो भन्दैमा त्यही सेक्टरमा मरिहत्ते गर्नु हुँदैन’ सापकोटाले भने ‘कम्पनीलाई बुझेर, विगतको लाभांश, कारोबारको स्थिति, प्राविधिक जानकारी लिएर मात्रै निर्णय गर्नुपर्छ ।’
एक दिन कुनै सेक्टर बढ्दैमा त्यही सेक्टर लगातार बढ्छ भन्ने गलत बुझाइले पनि नाफा गुम्न सक्छ । भएभरको पैसा एउटै समयमा, एउटै सेक्टरमा खन्याउने कार्य पनि गर्न नहुने अनुभवी बताउँछन् ।
यसलाई बजारले पनि पुष्टि गरेको छ । गत बिहीबार माइक्रोफाइनान्स समूहको सूचक सबैभन्दा धेरै ६.८ प्रतिशत बढ्यो तर त्यहीं समूहको सूचक आइतबार पनि घट्यो, सोमबार पनि घट्यो ।
आइतबार दुई पटक पोजेटिभ सर्किट ब्रेक लागेर बैंकिङ सूचक १० प्रतिशत बढेको बजारमा समेत माइक्रोफाइनान्स रातो रह्यो । त्यस्तै आइतबार बैंकिङ समूह करिब १० प्रतिशत बढे पनि सोमबार नै यो समूह घट्यो । सेक्टर बढेका कारण बिहीबार माइक्रोफाइनान्स किन्ने, आइतबार बैंक किन्नेको सेयर सोमबार नै मूल्य घटिसक्यो ।
धैर्य गर्नेले आइतबार १० प्रतिशत मूल्य बढेका वाणिज्य बैंक खरिद गरेनन्, तर सोमबार तिनै कम्पनी ४ प्रतिशत घटेर किन्न पाए, अरु घटेमा थप किन्नेगरी रकम व्यवस्था गरे ।
भ्रमपूर्ण मार्केट डेप्थमा भर पर्नु
मार्केट डेप्थमा लगानीकर्तालाई झुक्याइने गरेको छ । बिक्री वा खरिदका लागि ठूलो परिमाणको अर्डर देखाउने, जब मूल्य म्याच हुने अवस्थामा आइपुग्छ, त्यसपछि अर्डर नै क्यान्सिल गरेर ठूला लगानीकर्ताले झुक्याउने गरेका छन् ।
‘हरेक लगानीकर्तालाई अर्डर हाल्ने र बीचमै क्यान्सिल गर्ने अधिकार छ, तर अरुले त्यहीं अर्डर देखेकै भरमा लगानी खरिद वा बिक्रीको निर्णय गर्नु हुँदैन’ अध्यक्ष सापकोटाले भने ।
बिक्री अर्डर ठूलो देखिँदा सो कम्पनीको सेयर बेच्नेहरु धेरै रहेछन् भन्ने भ्रम वा खरिद अर्डर ठूलो देखिँदा खरिद गर्ने धेरै रहेछन् भन्ने भ्रम राख्न नहुने लगानीकर्ता ढुंगाना बताउँछन् ।
उदाहरणका लागि : एबीसी कम्पनीको मार्केट डेप्थ
खरिद मूल्य | सेयर संख्या | बिक्री मूल्य | सेयर संख्या |
२५० | १,७०० | २५२ | १,४०० |
२४९ | १,६०० | २५६ | १,५०० |
२४८ | १,३०० | २५७ | १,००० |
२४७ | ५०,००० | २६० | २,५०० |
कुल | ५४,६०० | ६,४०० |
यसमा खरिदतर्फ २४७ रुपैयाँमा ५० हजार किन्न खोज्ने ठूला लगानीकर्ता भन्ने ठानेर धेरैले खरिदका लागि आदेश दिन सक्छन्, वा बिक्रीकर्ताकै मूल्यमा खरिद गर्न सक्छन् ।
तर जब माथिको खरिद सकिँदै जान्छ र मूल्य घट्दै २४८ मा आइपुग्छ, त्यसपछि ५० हजार कित्ता अर्डर राख्नेले क्यान्सिल गरिदिन सक्छ । यसकारण मार्केड डेप्थका आधारमा खरिदबिक्रीको निर्णय पनि जोखिमपूर्ण हुन्छ ।
सामान्य प्राविधिक ज्ञानको उल्झन
बजार बढ्दै जाँदा प्राविधिक सिकाइतिर पनि ध्यान जाने गर्दछ । प्राविधिक रुपमा जानकारी लिनु र सोअनुसार लगानी निर्णय गर्नु राम्रो हो । बजार बढ्दा सामाजिक सञ्जाल तथा मिडियामा अनेक प्राविधिक विज्ञ उदाएका हुन्छन् ।
प्राविधिक जानकारहरुले पनि विगतको अंक, भोल्युमका आधारमा सिर्जना गरिएका प्राविधिक टुल्स हेरेर सम्पन्न भइसकेको कारोबारलाई व्याख्या गर्ने मात्रै हो, त्यसकारण सम्पन्न भइसकेको कारोबारकै आधारमा भोलिको स्थिति नमिल्न सक्छ भन्ने विषय लगानीकर्ताले बुझ्नुपर्छ ।
‘सम्पन्न भइसकेको कारोबारका आधारमा विश्लेषण हुने हो, त्यो विश्लेषणबाट वर्तमान अवस्थामा लगानीकर्ताको मनोभाव बुझ्नलाई सघाउ पुग्छ, तर त्यो विश्लेषण भोलिको बजारमा नमिल्न सक्छ’ प्राविधिक रुपमा विश्लेषण समेत गर्दै आएका ढुंगानाले भने ।
प्राविधिक रुपमा हेरिने एउटा टुल्स हो– आरएसआई (रिलेटिभ स्ट्रेन्थ इन्डेक्स) । आरएसआई ८० कटेपछि बेच्नुपर्ने प्राविधिक मान्यता छ । तर बढ्दो बजारमा आरएसआईले ८० देखायो भनेर बेच्दा धेरै नाफा गुम्ने जोखिम हुन्छ ।
उदाहरणका लागि असार ३० गते आरएसआई ८० मा पुगेको थियो, जतिबेला नेप्से २२५७ अंकमा थियो । तर त्यसयता बजार १७.८ प्रतिशत बढेर २६६१ अंकमा पुगिसकेको छ । आरएसआई ८० पुग्दा बेच्नेहरुले अहिले ठूलो नाफा गुमाए । तर अहिले आरएसआई ८५ मा छ ।
बढिरहेको बजार कहिले ठूलो दरमा घट्छ, त्यो कसैले पनि भन्न सक्दैन । अर्थात् सेयर बजारमा कोही पनि विज्ञ हुँदैन भन्ने विषय बुझ्नु जरुरी छ । कसैले भोलिको बजार वा कम्पनीको मूल्य प्रक्षेपण गरेर मिल्न गएमा त्यो संयोग हो । त्यसकारण कसैलाई विज्ञ ठानेर त्यसकै आधारमा कारोबार गर्नु ठूलो गल्ती हो ।
वित्तीय स्थिति नहेर्ने, हल्लाकै भरमा निर्णय गर्ने
बढ्दो बजारमा कतिपयले हल्लाकै भरमा निर्णय गर्ने गरेको ढुंगाना बताउँछन् । ‘बढ्दो बजारमा यो कम्पनी पनि बढिहाल्छ नि भनेर किन्ने गर्दा, त्यसबाट धेरै नाफा आउन नसक्ने अवस्था हुन्छ’ उनले भने ।
बजार बढ्दै जाँदा हल्ला पनि धेरै हुने गरेको छ । तर वित्तीय विवरण राम्ररी हेरेर लगानी गर्नेहरु अल्पकालीन रुपमा धेरै फाइदामा नरहे पनि दीर्घकालीन रुपमा झन् धेरै लाभ लिन सक्ने उनी बताउँछन् ।
‘वित्तीय विवरण राम्रो भएका कम्पनीबाट एकातिर लाभांश पनि पाउने, अर्कोतिर मूल्यको लाभ पनि हुँदा दोहोरो लाभ हुन्छ’ उनले भने । अर्कोतिर लगानीकर्ताका विभिन्न युट्युब च्यानल तथा क्लबहाउसमा हुने गफगाफका भरमा निर्णय गर्न नहुने अनुभवीको बुझाइ छ ।