बच्चाको आँखा कमजोर भएको कसरी थाहा पाउने ? (भिडियो)

बच्चाको आँखा कमजोर भएको कसरी थाहा पाउने ? (भिडियो)


अहिले बच्चाको लागि मनोरञ्जनको माध्यम बनिरहेको छ मोबाइल । जसकारण बच्चाको स्क्रिन टाइम बढेको छ । त्यसैले बच्चाहरू मोबाइलमा धेरै समय बिताउन चाहन्छन् । यस्तोमा अभिभावकले धेरै समय स्क्रिनमा बिताउँदा ‘मेरो बच्चाको आँखा बिग्रियो’ भनेको सुनिन्छ ।

स्क्रिन टाइम बढी भन्दा पनि नजिकको काम धेरै गर्नाले आँखा खराब हुने हो । धेरै समय स्क्रिन हेरेर मात्रै आँखा खराब हुने होइन, धेरै नजिक राखेर हेर्दा आँखा खराब हुने हो । धेरै अगाडि राखेर किताब नै पढ्यो भने पनि आँखाले टाढा हेर्न नपाएर नजिक मात्र हेर्दा त्यसले आँखालाई असर गर्छ ।

आँखा नजिक र टाढा सबैतिर हेर्नका लागि हो । तर बच्चाले धेरै समय घरमा बसेर मोबाइल, ल्यापटप चलाउँछन्, जसले गर्दा उनीहरूले टाढाको वस्तु हेर्दैनन् । जब बच्चाले टाढाको हेर्न छोड्छ, बच्चाको आँखा नजिक हेर्ने खालको बनिदिन्छ, जसलाई ‘नियर–साइटेड्नेस्’ भनिन्छ । नजिक मात्र हेर्दा आँखाको लम्बाइ बढ्छ, नजिक मात्र हेर्ने बन्दिन्छ र बच्चाले टाढाको राम्ररी देख्दैन ।

पहिले बच्चाहरू घरमा धेरै बस्दैनथे, बाहिर निस्किएर खेल्थे, टाढाको कुरा हेर्थे, जसले गर्दा उनीहरूमा चस्मा लगाउनुपर्ने समस्या खासै देखिंदैन थियो । अहिले बच्चाहरू घरमा धेरै समय बिताउँछन्, मोबाइल र ल्यापटप चलाएर । यस्तोमा उनीहरूमा टाढाको दृश्य धमिलो देखेर चस्मा लगाउनुपर्ने देखिन्छ ।



बच्चाको आँखा कमजोर भएको थाहा पाउने उपाय

हरेक अभिभावकले बुझ्नुपर्छ, बच्चा जन्मिएदेखि उमेर बढ्दै जाँदा उसले जे देख्छ, त्यसलाई नै सत्य मान्छ । जस्तो बच्चाले टाढा बोर्डमा लेखेको कुरा पढ्न सक्दैनन् भने सबैले टाढाको पढ्न सक्दैनन् होला भन्ने लाग्छ । त्यसैले मैले टाढाको देख्दिनँ वा धमिलो देख्छु भनेर बच्चाले भन्दैन । त्यसैले बच्चाले आँखा कमजोर भयो देख्दिन भन्दैन भने पनि समय-समयमा उसको आँखाको जाँच गराउनुपर्छ ।

बच्चा जन्मिएको ३–४ महिनापछि एकपटक र बच्चा स्कुल जाने भएपछि फेरि एकपटक आँखा जाँच गर्नुपर्छ । यो दुईपटक आँखा जाँच गर्दा बच्चामा केही समस्या छ भने समयमै उपचार गर्न सकिन्छ र समस्या छैन भने पनि समस्या हुनबाट बचाउन सकिन्छ ।

बच्चाको आँखा कमजोर भएको कसरी थाहा पाउने ? (भिडियो)

बच्चाले आफैं म आँखा देख्दिन भन्छ भने त आमाबुबाले आँखा जाँच गर्न लैजानुपर्छ । त्यस्तो नभन्ने बच्चामा पनि यी लक्षणको आधारमा थाहा पाउन सकिन्छ ।

– आँखा कमजोर भएको बच्चाले टिभी हेर्दा टाढाबाट हेर्दैनन्, नजिक गएर हेर्छन् ।

– बच्चाले टाढाबाट मान्छेलाई राम्ररी चिन्दैन । बच्चाले खेलौना खेल्दा वा हेर्दा पनि एकदमै नजिक ल्याएर खेल्छन् हेर्छन् ।

– आँखा कमजोर भएको अर्को लक्षण भनेको बच्चाले बीचबीचमा आँखा टेढो पारेर हेर्छन् ।

– बच्चाले एकातिर मात्र टाउको बंग्याएर हेरिरहेको छ भने त्यो पनि आँखा कमजोर भएको लक्षण हुनसक्छ । बच्चाले बारम्बार यस्तै व्यवहार देखाउँछ भने अभिभावकले आँखा कमजोर भएको थाहा पाउनुपर्छ ।

– बच्चाले आँखा खुम्चाएर हेर्छन् वा आधा आँखाले मात्र हेर्छन् भने पनि उनीहरूको आँखा कमजोर भएको हुनसक्छ । यदि टेलिभिजन हेर्दा वा पढ्दा तपाईंको बच्चाले आधा आँखाले मात्र हेर्छ भने पनि अभिभावक सचेत हुनुपर्छ ।

शिशुको आँखा कमजोर भएको कसरी पत्ता लाग्छ ?

बच्चादेखि बूढोसम्म हरेक व्यक्तिको आँखाको बनावट एउटै किसिमको हुन्छ । सबैभन्दा अगाडि आँखाको  नानी त्यसपछि लेन्स, पर्दा र नसा हुन्छ ।

कुनै शिशुलाई आँखा जाँच गराउन लगियो भने आँखाको अगाडिदेखि पछाडिसम्म सबै कुराहरू ठीक छ कि छैन भनेर हेरिन्छ । यसरी हेर्दा कसैमा मोतीबिन्दु, कसैमा जलबिन्दु र टेढोपना छ कि छैन भन्ने कुरा बच्चाले भन्न नसकेपनि जाँचबाट नै पत्ता लाग्छ ।

बच्चाले सफा र प्रष्ट देख्छ कि देख्दैन भन्ने कुरा पत्ता लगाउन नम्बर जाँच गर्नुपर्छ । त्यसका लागि बच्चाले सहयोग गर्नु पर्दैन । केही लाइटको सहयोगमा बच्चाको आँखामा नम्बर ठीक छ कि छैन भनेर हेरिन्छ ।

बच्चालाई दुईवटा कुरा देखायो भने उसलाई मनपर्ने कुरातिर हेर्छ कि हेर्दैन भनेर पनि जाँच गरिन्छ । यसरी विभिन्न जाँच मार्फत बच्चाको आँखामा समस्या छ कि छैन भन्ने कुरा पत्ता लाग्छ ।

बच्चाको आँखा कमजोर भएको कसरी थाहा पाउने ? (भिडियो)

कुन उमेरका बच्चामा आँखाको समस्या बढ देखिएको छ ?

यसको ठ्याक्कै तथ्यांक भन्न गाह्रो हुन्छ, किनभने वंशाणुगत रुपमा आमाबुबामा आँखा कमजोर हुने समस्या भएर जन्मेका बच्चामा सानो उमेरबाट नै समस्या देखिन सक्छ । दुई-तीन वर्षको उमेरमा पनि धेरै पावरको चस्मा लगाउनुपर्ने पनि देखिन्छ ।

बच्चाले धेरै मोबाइल चलाएर घरमै बस्छन्, धेरै बाहिर टाढा हेर्दैनन् भने जुन उमेरबाट मोबाइल चलाउन थाल्छन्, त्यही उमेरबाट समस्या देखा पर्छ । चार-पाँच वर्षको उमेरबाटै आँखा कमजोर हुनसक्छ ।

अभिभावकमा आँखा कमजोर हुने समस्या छ र बच्चाले एकदमै धेरै मोबाइल चलाउँछ भने वंशाणुगत र वातावरणीय दुवै कारणले बच्चामा आँखाको समस्या देखापर्ने भयो ।

बच्चाको आँखा कमजोर हुनबाट बचाउन सकिन्छ

आँखालाई कमजोर हुनबाट बचाउन अनुशासनको पालना गर्नुपर्ने हुन्छ । म मेरो बच्चाको आँखा कमजोर हुनबाट बचाउन चाहन्छु भन्नेहरूले यी कुरामा ध्यान दिनुपर्छ ।

बच्चा जन्मेको केही महिनापछि र स्कुल जाने भएपछि आँखा जाँच गराउनुपर्छ । यो बेला जाँच गर्दा जन्मजात समस्या र स्कुल जाने बेलासम्ममा केही समस्या निम्तिएको भए पत्ता लाग्छ । जसले गर्दा उपचार गरेर अरू समस्या हुनबाट बचाउन सकिन्छ ।

बच्चालाई कम्तीमा पनि दुई घण्टा बाहिर खेल्न पठाउनुपर्छ । स्कुलमा पनि खाजा खाने समयमा बच्चालाई कक्षाकोठामा बस्नु भन्दा बाहिर गएर खेल भनेर सिकाउनुपर्छ । यसरी बाहिर खेल्दा उनीहरूले टाढाको कुरा हेर्छन् । त्यसो गर्दा आँखालाई टाढा पनि हेर्नुपर्छ भन्ने सन्देश जान्छ ।

हाम्रो शिक्षा प्रणालीमा पनि किताब तथा कम्प्युटरमा मात्र सीमित नगरेर व्यावहारिक शिक्षामा पनि जोड दिएमा आँखाको स्वास्थ्यको लागि राम्रो हुन्छ ।

मनोरञ्जनका लागि बालबालिकालाई मोबाइल, ट्याब भन्दा टाढा बसेर टिभी हेर्नु राम्रो हुन्छ । बालबालिकालाई मनोरञ्जनको लागि मोबाइल दिने हो भने पनि आधा घण्टा बढी दिनु हुँदैन ।

बच्चाको आँखा कमजोर भएको कसरी थाहा पाउने ? (भिडियो)

बच्चालाई मोबाइलमा खेल्नका लागि समय तोक्नुपर्ने, पढ्नको लागि नपर्ने भन्ने पनि लाग्ला । तर बच्चाले पढ्दा मोबाइलमा धेरै समय बिताउँदैनन् जति खेल्दा बिताउँछन् ।

बच्चा पढ्ने टेबल भन्दा अघि खुल्ला ठाउँ, झ्याल भएको हुनुपर्छ । कुनामा बसेर पढ्दा, एकै ठाउँमा हेर्दा बच्चाको आँखा कमजोर हुनसक्छ । खुल्ला ठाउँमा बसेर पढ्नु, बेलाबेलामा बाहिर हेर्नु आँखाको लागि राम्रो हो । मोबाइलमा गेम खेल्नु भन्दा आउटडोर गेम खेल्दा बच्चाको शरीर र आँखा दुवै राम्रो हुन्छ ।

अभिभावकले आफ्नो सजिलोको लागि बच्चालाई मोबाइल दिने गर्छन्, तर त्यसो गर्नु गलत हो । अभिभावकले मोबाइल दिनुको साटो उनीहरूसँग खेल्ने गर्नुपर्छ । बच्चाले मोबाइल चलाउँदैन भने उसलाई मनपर्ने कुरा गरिदिएर अनुशासनमा राख्न सकिन्छ ।

बच्चाको आँखा कमजोर छ चस्माको पावर नम्बर बढ्दै गइरहेको छ भने त्यसलाई रोक्ने औषधि पनि पाइन्छ । चिकित्सकको परामर्शमा त्यो औषधि चलाउन सकिन्छ ।

चस्मा लगाइरहेका बच्चाले गलत नम्बरको चस्मा लगाए भने पनि चस्माको नम्बर बढ्छ । त्यसैले विशेषज्ञ चिकित्सकको सल्लाहमा चस्मा लगाउनुपर्छ ।

चस्मा नलगाउँदा के हुन्छ ?

चस्मा भनेको कुनै कमजोरी होइन, कमजोरी ठीक पार्ने कुरा हो । कसैको आँखा कमजोर भयो भने चस्मा लगाउनैपर्छ । चस्माको माइनस नम्बर लगाउनुपर्ने भनेको आँखाको साइज ठूलो हुने हो । त्यसलाई ठीक पार्न चस्मा लगाउनु नै राम्रो हुन्छ ।

कोही बच्चालाई माइनस ३ को चस्मा लगाउने सल्लाह दिइयो भने ओहो बच्चामा यत्रो पावर भनेर अभिभावक आत्तिन्छन् त्यो भन्दा कम पावर लगाउन पाए हुन्थ्यो भन्ठान्छन् । तर चाहिने नम्बर भन्दा कमको चस्मा लगायो भने आँखा धमिलो देख्छन् जसलाई लेजीआई (अल्छी आँखा) भनिन्छ । त्यसैले चस्मा लगाउनु नै उपयोगी हुन्छ ।

बच्चाले मोबाइल हेर्दा ब्लु कट लेन्स लगाइदिनु कति फाइदाजनक ?

जुन बच्चालाई पावरवाला चस्मा लगाउनुपर्ने छ, उनीहरूले त्यो पावरवाला चस्मा नलगाएर ब्लु कट लेन्सको चस्मा लगाए आँखा सुरक्षित हुन्छ भन्ने गलत धारणा छ । ब्लु कट लेन्स लगाएको बच्चाले जति मोबाइल चलाएपनि आँखामा समस्या हुँदैन भन्नु पनि गलत नै हो ।

सत्य के हो भने ब्लु कट लेन्सले केही विशेष लाइटलाई रोक्छ । तर ब्लु कटले आँखालाई फाइदा हुन्छ भन्ने कुरा प्रमाणित छैन । बरु ब्लु कट लगाएर शरीरको सर्किडियन रिदम (शरीरको स्वचालित आन्तरिक चाल) बिग्रन सक्छ भन्ने कुरा विभिन्न अध्ययनले देखाएका छन् । ब्लु कट लगाउनु गलत होइन तर त्यसको आडमा धेरै समय मोबाइल चलाउनु भने गलत हो भन्ने कुरा बुझ्नुपर्छ ।

फोटो, भिडियो : आर्यन धिमाल/अनलाइनखबर

हट टपिक्स





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School