पूर्वी पाकिस्तानबाट अलग भई स्वतन्त्र राष्ट्रको हैसियतमा रहेको बंगलादेशमा धेरैपटक राजनीतिक उतारचढावहरू हुँदै आएका छन् । भारत स्वतन्त्र हुँदा तत्कालीन ब्रिटिस कम्पनीले भारत छोड्दै गर्दा भारतलाई मुस्लिमहरू भड्काई विभाजित गराउने काम गरे । भारतबाट पाकिस्तान फुट्यो । छुट्टै राज्य बन्यो, पाकिस्तान छुट्टै राज्य बनेपछि पाकिस्तानलाई पनि फुटाउने चलखेल अन्तर्राष्ट्रियस्तर समेतबाट बन्यो । परिणामस्वरूप पूर्वी पाकिस्तानका रूपमा रहेको पाकिस्तानको भूभाग छुट्टै राज्य बन्यो त्यही बंगलादेशमा पटकपटक शेख हसिना वाजेद र बेगम खालिदा जिया दुईवटा महिला शासकहरू अस्वस्थ प्रतिस्पर्धामा रहे । यी दुई महिलाहरूको व्यक्तित्वको टकरावमा बंगलादेश प्रभावित बन्दै गयो ।
लोकतन्त्रको सुदृढीकरणमा अवरोध सिर्जना हुन पुग्यो । सेनाले पटकपटक सत्तामाथि अतिक्रमण गर्दै गयो भने शासकहरूमाथि पनि अमानवीय ज्यादतीहरू हुँदै गए । शेख मुजबुर रहमान जसलाई बंगलादेशमा बंगबन्धुको नामले सम्मानका साथ सम्बोधन गरिन्छ । उनैलाई मृत्युदण्ड दिइयो । अहिले उनकै छोरी शेख हसिनालाई देशबाट निकाला गरिएको छ । प्रधानमन्त्रीको शक्तिशाली कुर्सीमा रहेकी शेख हसिनालाई विद्यार्थीहरूको केही दिनको आन्दोलनले बंगलादेश छाड्न बाध्य बनाएको छ । अहिले बंगलादेशमा अराजकता छ । विशेषगरी अल्पसंख्यक सीमान्तकृत नागरिकहरू बीभत्स तवरले मारिएका छन्, लखेटिएका छन् । उनीहरू देश छाड्न बाध्य भएका छन् ।
यही चपेटामा त्यस देशमा बसोबास गरिरहेका हिन्दूहरू ६ सयभन्दा बढी मारिएका छन् । मन्दिरहरू तोडिएका छन् र उनीहरूलाई उनीहरूकै बस्ती र देशबाट अन्यत्र जान बाध्य पारिँदै छ । यो कट्टरवादी मुस्लिमहरूको ज्यादती हो । सरकारले यसलाई नियन्त्रण गर्न सकेको छैन । शान्ति सुरक्षाको अवस्था चिन्ताजनक छ । कुनै पनि देशमा यसरी अल्पअवधिमा कुनै पनि दलले नेतृत्व नगर्ने र विद्यार्थीहरूले नै अस्तव्यस्त तरिकाले गरेको आन्दोलनले शासकहरू पलायन भएको सम्भवत यही देश भएको छ । आर्थिक समुन्नतिको दिशामा शेख हसिनाको राम्रो योगदान बंगलादेशमा हुँदैगर्दा उनलाई अन्तिम अवस्थामा उनकै ज्वाइँ नाता पर्ने सेना प्रमुखले सुरक्षा दिन नसक्ने उद्घोष गर्दै सेनाकै हेलिकोप्टरबाट भारतमा शरण लिन बाध्य बनाएको छ । अन्तर्राष्ट्रिय शक्तिको यस आन्दोलनमा हात भएको भन्दै गरिएको आशंकालाई अमेरिकालगायत पश्चिमा देशहरूले शेख हसिनालाई भिसासम्म पनि नदिनुबाट पुस्ट्याइँ हुन आएको छ । तर, यहाँ विशेषगरी हिन्दू धर्ममा विश्वास राख्ने हिन्दूहरू लखेटिएको र यसमा अन्तर्राष्ट्रिय समुदायको समेत विशेष चासो नदेखेको अवस्था छ । यस आलेखलाई यही विषयमा केन्द्रित गराउने प्रयास गरिएको छ ।
बंगलादेश धार्मिक र सांस्कृतिक विविधताको केन्द्र भएको देशका रूपमा आफ्नो पहिचान बनाउन सफल छ । तर, हालैका दिनहरूमा अल्पसंख्यक हिन्दूहरूको अवस्था चिन्ताजनक बनाएकाले यो पहिचानमा प्रश्नचिह्न खडा हुँदै आएको स्थिति छ । बंगलादेशमा देखिँदै आएको राजनीतिक अस्थिरताको सीधा नकारात्मक प्रभाव हिन्दू धर्मावलम्बीहरूमा पर्दै आएको छ । राजनीतिक अस्थिरताको पीडाबोध सबैभन्दा बढी हिन्दूहरूले नै गर्नुपर्ने स्थिति छ । किनकि, राजनीतिक अस्थिरताको आडमा कट्टरपन्थी मुस्लिमहरूले उदार धर्ममा विश्वास राख्ने हिन्दूहरूमाथि अत्याचार गरिआएका छन् । दुईवटा महिलाहरूको व्यक्तित्वको टकरावका कारण देशलाई पटकपटक अराजकतातर्फ धकेलिदिएका छन् । प्रत्येकपटकका यस्ता राजनीतिक घटनाक्रममा हिन्दूहरूको संख्या बंगलादेशमा घट्दै गयो । कतिपयको हत्या भयो कतिपय देशबाट खेदिन बाध्य बने ।
बंगलादेशबाट हिन्दूहरू लखेटिएको र अन्तर्राष्ट्रिय समुदायको चासोसमेत नदेखिएको विशेष अवस्था सिर्जना भएको छ
बंगलादेशमा अवामी लिग र बीएनबीबीचको तीव्र र अस्वस्थ प्रतिस्पर्धाका कारण लोकतन्त्र पटकपटक अत्यन्त जोखिममा पर्दै आएको छ । यही आडमा सेनाले सत्तामा पकड जमाउने अवसर पाएको हो । शेख हसिनालाई अत्यन्त ज्यादा तानाशाही बनेका आफ्ना विपक्षीहरूलाई दमन गरेको चुनावी नतिजा आफ्नो पक्षमा पार्न ठूलो ज्यादती गरेको आरोप लागिरहेको थियो । यही अवस्थामा आरक्षणको विवाद युवाहरूले निकाले उनीहरूको तर्क थियो उच्च अदालतले स्वतन्त्रका सेनानीका सन्तानहरूलाई ४५ प्रतिशत आरक्षण गर्न दिएको आदेश हसिनाबाट निर्देशित थियो । किनकि, लामो समयदेखि शासन सत्तामा रहेकी हसिनाले ती सबै न्यायाधीशहरू आफैंले नियुक्त गरेकी थिइन् । अदालतको निर्णयलाई प्रधानमन्त्रीकै निर्णय मानिन्छ । यस अवस्थाबाट संवैधानिक संस्थालाई कमजोर बनायो र लोकतान्त्रिक मूल्य र मान्यता नै धरासायी बन्दै गएको अवस्था स्पष्ट देखिन्छ ।
जातीय सफाइमा विश्वास राख्ने कट्टर मुस्लिम धर्मावलम्बीहरू जुन बंगलादेशमा अत्यन्त ठूलो जनसंख्याको रूपमा रहेका छन्, उनीहरूले कैद गर्ने, निष्कासन, हत्या बलात्कार र दुव्र्यवहार सबै गर्दै आएका छन् । बंगलादेश स्वतन्त्र हुँदा त्यहाँ हिन्दूको जनसंख्याको प्रतिशत २२ थियो। तर अहिले राजनीतिक घटनाक्रममा अत्यन्त ठूलो जातीय सफायामा पर्दै ८ प्रतिशतमा सीमित हुन पुगेको छ । यही प्रक्रियाले निरन्तरता प्राप्त गर्दैजाँदा बंगलादेशमा हिन्दू बंगलादेशीहरू शून्य प्रतिशतमा पुग्ने अवस्था सिर्जना भइराखेको छ । यो अवस्था सिर्जना हुनुको पछाडि पाकिस्तान र भारतको विभाजनको क्रममा भएको ठूलो विस्थापन, जारी भेदभाव र उत्पीडन नै प्रमुख कारण भएकाले यही तत्वले यसको जवाफदेहिता पनि लिनुपर्छ । हिन्दूहरूलाई लक्षित गर्दै हत्या हिंसा हालका दिनमा पनि बंगलादेशमा जारी छ । अन्तर्राष्ट्रिय जगत्लाई देखाउनका लागि यसका विरुद्ध ऐन र कानुनी व्यवस्थाहरू गरिएका छन् । तर, कार्यान्वयन हुन सकेको छैन । किनकि, अत्यधिक बहुमत संख्यामा रहेका मुस्लिम धर्मावलम्बीहरूले नै राजनीतिक नेतृत्व देशमा गरिराखेको अवस्थाले गर्दा हिन्दूहरूको आवाज बंगलादेशमा अत्यन्त झिनो बनेको छ । जिउँदो लासका रूपमा हिन्दूहरू रहेका छन् । यिनै कारणहरूले गर्दा बंगलादेशका हिन्दूहरू ठूलो संख्यामा अन्य देशमा पलायन भइरहेका छन् । विशेषगरी, भारतमा शरण लिन्छन् । बंगलादेशमा सांस्कृतिक विविधताको पहिचानलाई मात्र होइन, भारतमा बंगलादेशबाट आएका हिन्दूहरूको शरणार्थीको रूपमा रहने र उनीहरूको व्यवस्थापनको पाटो पनि ठूलो चुनौती बनिराखेको छ ।
यो अवस्था निर्माण हुनुका पछाडि सबै मुस्लिमहरूको जवाफदेहिता देखिएको छैन । कट्टरपन्थी मुस्लिमहरू केही संख्यामा रहेका छन् । उनीहरूको यो ज्यादती हो । यो ज्यादती धेरै कारणले गर्दा सिर्जना भएको छ । आर्थिक असमानता, शिक्षाको अभाव र राजनीतिक अस्थिरताका कारण यी कट्टरपन्थी मुस्लिमहरूलाई बंगलादेश उर्वर भूमि बनेको छ । राजनीतिक दलहरूले धमिलो पानीमा माछा मार्नेगरी कट्टरपन्थी मुस्लिमहरूलाई हिन्दूका विरुद्ध उकास्ने कामसमेत त्यस देशमा भइराखेको छ । यो राजनीतिक दलहरूले आफ्नो दलीय स्वार्थका लागि धार्मिक भावनाको दुरूपयोग गरेका हुन् । यसबाट धार्मिक ध्रुवीकरण हुनेमा सन्देह रहँदैन । आतंकवादीहरूको प्रवेश भारतमा हुने र विभिन्न आपराधिक प्रविधिका कार्यहरू हुने हुँदा ठूलो सुरक्षाको चुनौती भारतलाई हुँदै आएको छ ।
ऐतिहासिक रूपमा हेर्दा विशेषगरी एसियाली देशहरूमा भारत र बंगलादेशमा राजनीतिक उथलपुथल हुने सन्दर्भ सामाजिक र आर्थिक मुद्दाहरूमा आधारित हुने गरेको पाइन्छ । अन्तर्राष्ट्रिय बजारमा देखिएका शक्तिहरू र प्रभावशाली राजनीतिज्ञहरूले राजनीतिक र आर्थिक अवस्थालाई आकार दिन प्रभाव पार्छन् । यस हस्तक्षेपको प्रक्रियामा राजनीतिक उथलपुथलसमेत आमन्त्रण हुने गर्छ । अन्तर्राष्ट्रिय जगत्मा देखिएको आर्थिक परिस्थिति र आन्तरिक राजनीति गतिशीलता र स्वदेशी तथा विदेशी सरकारवालाहरूले आआफ्ना स्वार्थवस गर्दै आएका अन्तक्र्रियारूपी रणनीतिहरू अत्यन्त जटिल हुन्छन् । जसले अमूक देशको राजनीतिमा अत्यन्त नकारात्मक प्रभाव पारिराखेको हुन्छ । त्यसको उदाहरणका रूपमा भारतमा शरण लिएर बसेकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध २०२३ अप्रिलमा अमेरिकाले बंगलादेशमा शासन परिवर्तनको प्रयास गरेको थियो ।
भूराजनीतिक परिदृश्यका कारण पनि संयुक्त राज्य अमेरिकाले बंगलादेशको सेन्ट मार्टिन टापुमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन अमेरिकालाई सुम्पनुपर्ने थियो । अर्को अर्थमा भन्नुपर्दा बंगलादेशको सार्वभौमसत्ता संयुक्त राज्य अमेरिकालाई सुम्पनुपर्ने अवस्था थियो । त्यसमा हसिनाले समझदारी नगरेकै कारण सत्ताबाट हट्नुपरेको मात्र होइन, देशबाट पलायन हुनुपर्ने अवस्था बनेको हो भन्ने उनको दाबी छ । यो नै एउटा सबल उदाहरण हो, जसले बंगलादेशको राजनीतिमा अन्तर्राष्ट्रिय हस्तक्षेप हुँदै आएको छ । विद्यार्थी आन्दोलन देखावटी मात्र हो । यसले बंगलादेशमा थप कट्टर मुस्लिमहरूको संख्यामा वृद्धि गरेको समेत आशंका हुँदै छ ।
बंगलादेशको सार्वभौमसत्ताको पूर्ण सम्मान गर्दै त्यहाँ रहेका हिन्दूहरूको संरक्षणका लागि भारत चट्टानसरी खडा हुनुपर्ने स्थिति छ
बंगलादेशमा हिन्दूहरूको यो विकराल समस्यालाई सम्बोधन गर्ने विषय सोचेजस्तो सहज छैन । यसमा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक विचारसहितको सबल रणनीतिको निर्माण त्यस देशमा हुनु जरुरी छ । यसमा भारतको भूमिका अत्यधिक महत्वपूर्ण हुन्छ । ठूलो संख्यामा हिन्दूहरू रहेको हिन्दूस्तानले आफ्ना हिन्दूहरूमाथि भएको ज्यादती अन्याय र अत्याचारका ’boutमा आवश्यकता पर्दा दुईपक्षीय रूपमा र बहुपक्षीय रूपमा समेत आवाज उठाउनुपर्ने परिस्थिति छ । बंगलादेशको सार्वभौमसत्ताको पूर्ण सम्मान गर्दै भारतले त्यहाँ रहेका हिन्दूहरूको संरक्षण र सुरक्षाको पक्षमा चट्टानसरी खडा हुनुपर्ने स्थिति छ । यो कूटनीतिक माध्यम, अन्तर्राष्ट्रिय सहयोग र आर्थिक सहयोगबाट हासिल गर्न सकिन्छ । तर, यो समाधान दीर्घकालीन हुनेछैन । अस्थायी समाधानका रूपमा रहनेछ ।
दीर्घकालीन समाधानका लागि बंगलादेशले स्वतःस्फूर्त रूपमा आफ्ना नागरिकहरूको सुरक्षाका लागि व्यवस्थापन गर्नुपर्ने हुन्छ । राजनीतिक तानातानको अवस्थामा आफ्नै नागरिकहरू पलायन भएको हत्या भएको लुटिएको दृश्यलाई दलीय फाइदाका रूपमा व्याख्या हुँदै गएमा यस समस्याले अत्यन्त ठूलो रूप पनि लिन सक्छ । बंगलादेशभित्रकै आन्तरिक राजनीति र सामाजिक परिवर्तनमा विशेषत यो कुरा निर्भर हुनेछ । हालसम्मको अवस्था हेर्दा बंगलादेशमा हिन्दूहरूलाई संरक्षण गर्न, सुरक्षा प्रदान गर्न बंगलादेशको सरकार प्रायः असफल छ । अन्तर्राष्ट्रिय समुदायले सामान्य सम्बोधन मात्र गरेको छ, अर्थपूर्ण सहयोग गरेको छैन । सबैभन्दा आश्चर्यलाग्दो विषय नेपालकै छ । नेपालमा हिन्दू राष्ट्रको नारा दिएर राजनीतिमा आफ्नो वर्चस्व कायम गर्नेहरू सन्त महन्तहरू, विद्वान्हरू, सचेत नागरिकहरू जो कोही यस विषयलाई उजागर गर्न तत्पर भएका छैनन् । सामान्यतया बंगलादेश राजदूतावासमा गएर यी समूहले विरोधपत्रसमेत पनि हालका दिनसम्म दिएका छैनन् ।
सरकारले कूटनीतिक माध्यमबाट बंगलादेशमा पूर्ण रूपमा सुरक्षाको अवस्था प्रत्याभूति होस् भन्ने कामनासमेत गर्न सकेको छैन । यस्तो कमजोर सरकार र हाम्रा हिन्दू अधिकारकर्मीहरू देखिएका छन् । उनीहरूले हिन्दू राष्ट्रको नारा लिएर अघि बढ्नु व्यर्थ भएको छ । नेपालले यस विषयमा विरोध गर्दैमा बंगलादेशका हिन्दूहरूलाई संरक्षण प्राप्त हुने त होइन, तथापि एउटा राष्ट्रले र त्यस देशका नागरिकहरूले यो विषय उजागर गरिदिँदा अन्तर्राष्ट्रिय क्षेत्रबाट चासो राख्न छलफलको विषय पक्कै बन्छ । यो समस्याको समाधानका लागि भारतले नै क्रियाशीलता दिनुपर्छ अन्यथा बंगलादेशमा अब दुई चारवटा राजनीतिक उथलपुथल हुँदा हिन्दूहरू नामेट हुने अवस्था देखिँदै छ । विश्वको ध्यान यसतर्फ जानु अपरिहार्य बनेको छ ।
(Visited 12 times, 1 visits today)