फोटो पत्रकार ढुङ्गानासहित ४ पत्रकारलाई ‘सुरेश रजक साहसिक टेलिभिजन पुरस्कार’



प्रकाशित मिति : ३२ असार २०८३, बिहिबार


फोटो पत्रकार दीपेन्द्र ढुङ्गानासहित चार जना पत्रकार ‘सुरेश रजक साहसिक टेलिभिजन पुरस्कार २०८२’ बाट सम्मानित भएका छन् । एभिन्युज खबर टेलिभिजनले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहमा उनीहरूलाई पुरस्कृत गरेको हो । ढुङ्गाना नयाँ पत्रिका दैनिकमा कार्यरत छन् ।

पुरस्कृत हुने अन्य पत्रकारहरूमा कान्तिपुर टेलिभिजनका श्यामकृष्ण श्रेष्ठ, नेपाल प्रेस डटकमका उमेश कार्की र स्वतन्त्र पत्रकार शम्भु दंगाल छन् । उनीहरूलाई संयुक्त रूपमा नगद १ लाख ११ हजार १११ रुपैयाँ र सम्मान पत्रसहित पुरस्कृत गरिएको हो ।

पुरस्कृत चारै जना पत्रकार २०८२ साल भदौ २३ गते भएको ‘जेन जी’ आन्दोलनको समाचार सङ्कलनका क्रममा घाइते भएका थिए।

फोटो पत्रकार ढुङ्गानासहित ४ पत्रकारलाई ‘सुरेश रजक साहसिक टेलिभिजन पुरस्कार’

२०८१ साल चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको आन्दोलनको रिपोर्टिङका क्रममा एभिन्युजकर्मी सुरेश रजकको निधन भएको थियो । सोही क्रममा ज्यान गुमाएका रजकको स्मृतिमा स्थापित यो पुरस्कार पहिलो पटक प्रदान गरिएको हो ।

पुरस्कार ग्रहण गरेपछि ढुङ्गानाले स्वर्गीय सुरेश रजकप्रति श्रद्धा सुमन व्यक्त गर्दै उनको नाममा स्थापित पुरस्कारलाई निरन्तरता दिन आग्रह गरे । यो पुरस्कारले पत्रकारितामा थप सक्रिय भएर लाग्न आफ्नो मनोबल बढाएको बताउँदै उनले कार्यक्षेत्र (फिल्ड) मा अहोरात्र खटिने पत्रकारहरूको सुरक्षामा राज्यले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

फोटो पत्रकार ढुङ्गानासहित ४ पत्रकारलाई ‘सुरेश रजक साहसिक टेलिभिजन पुरस्कार’
पुरस्कार ग्रहण गरेपछि ढुङ्गाना

सो अवसरमा एभिन्युज खबरका अध्यक्ष भाष्करराज राजकर्णिकारले दिवङ्गत पत्रकार रजकको योगदानलाई टेलिभिजनले कहिल्यै नभुल्ने स्पष्ट पारे । उनले साहसिक पत्रकारिताको सम्मानका लागि यो पुरस्कारलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाए ।

पुरस्कार छनोटका लागि वरिष्ठ पत्रकारहरू तीर्थ कोइराला, लक्ष्मण उप्रेती र विनोद ढुङ्गेल सम्मिलित निर्णायक समिति गठन गरिएको थियो । २०८१ चैत १५ देखि २०८२ चैत १५ गतेसम्म साहसिक पत्रकारिता गरेका पत्रकारहरूको काम, विशेष गरी ’जेन जी’ आन्दोलनमा उनीहरूले खेलेको भूमिका र देखाएको साहसको मूल्याङ्कन गरेर चार जनालाई संयुक्त रूपमा पुरस्कृत गर्ने निर्णय गरिएको निर्णायक समितिका सदस्य तीर्थ कोइरालाले जानकारी दिए ।





Source link

Leave a Comment