प्रकाशित मिति : ३२ असार २०८३, बिहिबार

ट्रम्प प्रशासनले एउटा व्यापक अध्यागमन नियमलाई अन्तिम रूप दिएको छ। यस नियमले अधिकांश विदेशी विद्यार्थी, शैक्षिक आदानप्रदानका आगन्तुक र विदेशी सञ्चार माध्यमका प्रतिनिधिहरूका लागि हालसम्म कायम रहेको खुला प्रवेश प्रणालीलाई हटाएर बसाइको एउटा निश्चित अवधि तोक्नेछ। होमल्याण्ड सेक्युरिटीका अनुसार यो परिवर्तनले निगरानी र राष्ट्रिय सुरक्षालाई मजबुत बनाउनेछ। यो नियम जुलाई १७ मा ‘फेडरल रजिस्टर’ मा प्रकाशन हुन गइरहेको छ र यसको ६० दिनपछि लागू हुनेछ।
नयाँ नियम अन्तर्गत, अधिकांश एफवान विद्यार्थी, जेवान एक्सचेन्ज आगन्तुक र आई भिसा वाहकहरूलाई “ड्युरेसन अफ स्टेटस” को सट्टा उनीहरूको कार्यक्रम वा जिम्मेवारीको अवधिसँग मेल खाने गरी एउटा निश्चित अवधिका लागि मात्र प्रवेश अनुमति दिइनेछ। त्योभन्दा बढी बस्न चाहनेहरूले सामान्यतया युएससीआईएसमामा बसाइ विस्तारका लागि आवेदन दिनुपर्नेछ।
यो अन्तिम नियमले प्रवेश, बसाइ विस्तार र स्थिति कायम राख्ने, रोजगारी अनुमति र स्थिति परिवर्तनका प्रक्रियाहरूलाई नियमन गर्ने अध्यागमन नियमहरूमा व्यापक परिवर्तनहरू समेटेको छ। यसले नियमका परिभाषाहरूबाट “ड्युरेसन अफ स्टेटस” भन्ने वाक्यांश हटाउनुका साथै यो नियम लागू हुँदाका बखत अमेरिकामा रहेका मानिसहरूका लागि संक्रमणकालीन नियमहरू पनि तय गरेको छ।
एजेन्सीका अनुसार यो नियम एक अधिक अनुमानयोग्य प्रवर्तन ढाँचा तयार गर्न र एफ, जे र आई श्रेणीहरूमा हुने ठगी र दुरुपयोगलाई कम गर्न डिजाइन गरिएको हो। होमल्याण्ड सेक्युरिटीले यस नियमका कारण अमेरिकी र गैर-अमेरिकी पक्षहरूलाई विचार गर्दा वार्षिक कुल लागत ४४.३१ करोड डलरदेखि ४४.८६ करोड डलरसम्म पर्ने र अमेरिकी पक्षहरूलाई मात्र विचार गर्दा ११.९९ करोड डलरदेखि १२.५१ करोड डलरसम्म पर्ने अनुमान गरेको छ।
के-के परिवर्तन हुँदैछ?
यो नियमले विद्यार्थीहरूका लागि सामान्यतया प्रवेश अवधिलाई फारम आई २० मा देखाइएको शैक्षिक कार्यक्रमको अवधिसम्म मात्र सीमित गर्नेछ, जुन अधिकतम चार वर्ष र थप ३० दिनको प्रस्थान अवधिको हुनेछ। कार्यक्रम तोकिएको समयभन्दा अगावै पूरा गर्ने विद्यार्थीहरूले देश छोड्न वा अन्य वैध अध्यागमन स्थिति खोज्न ३० दिनको समय पाउनेछन्।
यस नियमले अध्ययन वा स्वीकृत प्रयोगात्मक प्रशिक्षण पूरा गरेपछि देश छोड्न पाइने ‘ग्रेस पिरियड’ लाई केही एफवान विद्यार्थीहरूको हकमा ६० दिनबाट घटाएर ३० दिन बनाएको छ। स्नातकोत्तर वा सोभन्दा माथिल्लो तहका विद्यार्थीहरूले शैक्षिक उद्देश्य परिवर्तन गर्न वा कलेज सर्न कडा प्रतिबन्धहरूको सामना गर्नुपर्नेछ, जबसम्म ‘स्टुडेन्ट एण्ड एक्सचेन्ज भिजिटर प्रोग्राम’ द्वारा कुनै छुट स्वीकृत गरिँदैन।
यो नियमले जेवान एक्सचेन्ज भिजिटरहरूका लागि ड्युरेसन-अफ-स्टेटस प्रणालीलाई हटाएर निश्चित प्रवेश अवधि लागू गर्नेछ, जुन सामान्यतया कार्यक्रमको अन्त्य मितिसँग जोडिएको हुनेछ भने अधिकतम चार वर्ष र ३० दिनको प्रस्थान अवधि हुनेछ। नियम अनुसार विशेष वर्क परमिट भएका जे-वान भिसावाहकहरूले समयमै बसाइ विस्तारको आवेदन दिएको खण्डमा त्यो प्रक्रिया विचाराधीन रहँदा सामान्यतया २४० दिनसम्म काम गर्न पाउनेछन्।
यो नियमले विदेशी पत्रकारका लागि रोजगारीको अवधिका आधारमा बस्न पाउने प्रणालीलाई हटाएर निश्चित प्रवेश अवधि तोक्नेछ, जुन सामान्यतया २४० दिनमा सीमित हुनेछ भने केही चिनियाँ राहदानी वाहकहरूका लागि ९० दिन हुनेछ। थप समय आवश्यक परेमा बसाइ विस्तारको माग गर्ने विकल्प रहनेछ। विभागले विदेशी सञ्चार संस्थाको परिभाषालाई पनि समेटेको छ र आई वर्गीकरणका लागि प्रमाणसम्बन्धी आवश्यकताहरूलाई अद्यावधिक गरेको छ।
संक्रमणकालीन अवधि
यो नियम लागू हुँदाका बखत पुरानो ‘ड्युरेसन अफ स्टेटस’ प्रणाली अन्तर्गत अमेरिकामा रहेका मानिसहरूका लागि अन्तिम नियममा संक्रमणकालीन अवधिको व्यवस्था गरिएको छ। नियम लागू हुँदाको समयमा आफ्नो कानुनी स्थिति कायम राखिरहेका एफ र जे गैर-अध्यावासीहरू उनीहरूको शैक्षिक कार्यक्रमको समाप्ति मिति वा नियम लागू भएको मितिबाट चार वर्षमध्ये जुन पहिले आउँछ, त्यतिन्जेलसम्म पुरानै व्यवस्था अन्तर्गत रहन सक्नेछन्।
त्यस संक्रमणकालीन अवधिमा, नियम प्रकाशन भएको २४४ दिन वा सोभन्दा अघि नै उपयुक्त समयमा पोस्ट-कम्पिलिसन ओपीटी वा स्टीम ओपीटीको आवेदन दिइसकेका एफवान विद्यार्थीहरूले उक्त रोजगारी अवधिका लागि छुट्टै बसाइ विस्तारको आवेदन दर्ता गर्नु पर्नेछैन। होमल्याण्ड सेक्युरिटीका अनुसार हालका विद्यार्थी, कलेज र शैक्षिक स्पोन्सरहरूका लागि यो परिवर्तनको असरलाई सहज बनाउन यो संक्रमणकालीन व्यवस्था गरिएको हो।
नियममा यो पनि भनिएको छ, ” यदि कुनै आवेदकले आफ्नो स्थिति परिवर्तनको आवेदन विचाराधीन रहेको अवस्थामा अमेरिका छोडेमा र नयाँ कार्यक्रम कागजातका साथ पुन: प्रवेश गर्न खोजेमा, उसको आवेदन रद्द भएको मानिनेछ।” यो नीति युएससीआईएसमा विचाराधीन आवेदन र ‘कस्टम्स एण्ड बोर्डर प्रोटेक्सन’ (सीबीपी) मार्फत हुने नयाँ प्रवेशबीचको द्वन्द्व रोक्नका लागि ल्याइएको होमल्याण्ड सेक्युरिटीको दाबी छ।
लागत र विरोध
होमल्याण्ड सेक्युरिटीका अनुसार विदेशी विद्यार्थी, एक्सचेन्ज आगन्तुक र मिडियाकर्मीहरूले उनीहरूको प्रवेशका सर्तहरू पालना गरिरहेका छन् कि छैनन् भनी अधिकारीहरूलाई नियमित रूपमा समीक्षा गर्ने अवसर प्रदान गर्न यो नियम ल्याइएको हो। आवधिक समीक्षाले ठगी, दुरुपयोग र राष्ट्रिय सुरक्षाका चासोहरू पहिचान गर्न सुधार ल्याउने एजेन्सीको दाबी छ।
‘ड्युरेसन अफ स्टेटस’ प्रणालीले गर्दा कोही व्यक्ति कहिलेदेखि गैरकानुनी रूपमा बस्न थाल्यो भन्ने कुरा पत्ता लगाउन सरकारलाई गाह्रो भएको वर्षौंदेखिको बहसपछि यो नियम आएको हो। होमल्याण्ड सेक्युरिटीका अनुसार निश्चित अवधिको यो प्रणालीले कोही व्यक्ति तोकिएको अवधिभन्दा बढी बसेमा उसको गैरकानुनी बसाइ कहिलेदेखि सुरु भयो भन्ने स्पष्ट रूपमा देखाउनेछ।
अन्तिम नियममा यसअघि आएका व्यापक विरोधहरूलाई पनि स्वीकार गरिएको छ, जसमा विद्यालय, स्पोन्सर, विद्यार्थी र अधिकारकर्मीहरूले अतिरिक्त लागत, प्रशासनिक भार, र उच्च शिक्षा तथा शैक्षिक आदानप्रदान कार्यक्रमहरूमा पर्न सक्ने सम्भावित क्षतिबारे चिन्ता व्यक्त गरेका थिए। होमल्याण्ड सेक्युरिटीले तीमध्ये धेरै प्रभावहरू वास्तविक भएको कुरा स्विकारेको छ, तर निगरानी र नियम पालनाबाट प्राप्त हुने फाइदाहरू ती लागत भन्दा बढी महत्त्वपूर्ण रहेको निष्कर्ष निकालेको छ।
यो किन महत्त्वपूर्ण छ?
यस नियमले अन्तर्राष्ट्रिय विद्यार्थी, एक्सचेन्ज आगन्तुक र विदेशी पत्रकारहरूलाई, विशेष गरी लामो शैक्षिक कार्यक्रममा रहेका वा अमेरिकामा रहनका लागि ओपीटी र स्टीम ओपीटी वा अन्य बसाइ विस्तारमा निर्भर रहेकाहरूलाई ठूलो असर पार्न पार्नेछ। कलेजहरू र कार्यक्रम स्पोन्सरहरूले पनि नयाँ संरचनासँग मेल खाने गरी आफ्ना रेकर्ड राख्ने र परामर्श दिने प्रणालीहरूमा सुधार गर्नुपर्नेछ।
अहिलेका लागि यो नियम लागू भइसकेको छैन, तर जुलाई १७ मा फेडरल रजिस्टरमा प्रकाशन भएसँगै यो कार्यान्वयनको दिशातर्फ अघि बढ्नेछ। ६० दिनको अवधि समाप्त भएपछि, नयाँ एफ, जे र आई प्रवेशहरू निश्चित-मिति प्रणाली अन्तर्गत हुनेछन्, जबकि हाल भिसामा रहेकाहरू संक्रमणकालीन नियमहरूमा बाँधिनेछन्।