फैसला पर्खंदापर्खंदै अस्ताएका चक्रबन्धु


१२ पुस, काठमाडौं । दुई दशकदेखि भ्रष्टाचारमुद्दा खेपेका पूर्वसचिव चक्रबन्धु अर्याल गत आइतबार ८५ वर्षको उमेरमा दिवंगत भए । अवकाशप्राप्त जीवन नै भ्रष्टाचार मुद्दा खेपेर बिताएका उनले यो अवधिमा एकपछि अर्को पारिवारिक विपत्ति खेपे ।

उनीसँग नजिक रहेका एक पूर्वसहकर्मीका अनुसार दुई/तीन वर्षयता आफैं हिडडुल गर्न सक्दैनथे । दुई छोराहरूलाई यसअघि नै गुमाइसकेका थिए । गत असारमा सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा उनलाई दोषी ठहर गर्‍यो । एकपछि अर्को विपत्ति खेपेका उनका लागि जीवनको उत्तरार्धको त्यो चोट भोग्नुपर्‍यो ।

कतै पुनरावेदन नलाग्ने आफूविरुद्धको अन्तिम फैसलाको पूर्णपाठ तयार नहुँदै उनी अस्ताए । मुद्दाको फैसला लेख्ने न्यायाधीशहरूले अर्यालको देहान्त थाहा पाए भने सम्भवतः फैसलाको पूर्णपाठमा उनीमाथि सहानुभूतिका शब्द पनि खर्चिनेछन् । १२ वर्षअघि पनि विशेष अदालतले उनको पारिवारिक विपत्ति बारे फैसलामै सहानुभूतिका शब्द खर्चिएको थियो ।

अवकाशपछि झेलेको सास्ती’

अवकाशपछिको जीवन सहज र स्वतन्त्र हुने आशा अर्यालको हकमा ठिक उल्टो भयो । २०२२ माघदेखि सार्वजनिक सेवामा रहेका उनले २०५६ वैशाखमा सचिवबाट अवकाश पाएका थिए । चार वर्षपछि १० मंसिर २०६० मा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीमाथि भ्रष्टाचार मुद्दा लगाएको थियो ।

उनीसँग ४ करोड ८ लाख सम्पत्ति रहेको अनि २ करोड ६० लाख रूपैयाँ स्रोत नखुलेकाले त्यो भ्रष्टाचार भएको अख्तियारको जिकिर थियो । स्याङ्जामा पहिलोपटक बस सेवा सञ्चालन गरेको अनि राइसमिल चलाएको पुर्ख्यौली विरासत पेस गर्दै अर्यालले आफूले भ्रष्टाचार नगरेको जिकिर गरिरहे ।

भ्रष्टाचारको आरोप खेपेको डेढ वर्षपछि उनले कल्पनै नगरेको विपत्ति भोग्नुपर्‍यो । अर्यालका कान्छा छोरा सुदर्शनले छुरा प्रहार गरेर भर्खरै अमेरिकाबाट फर्केका आफ्ना दाजु सुवासको हत्या गरे । एउटा तनाव झेलिरहेका बाबुले गहिरो शोक व्यहोर्नुपर्‍यो ।

घटना बारे साक्षीहरूले अदालतमा गरेको बयान अनुसार, दाजुलाई चक्कु प्रहार गरेपछि सुदर्शनले मानसिक रोगीले खाने औषधि खाएर कोठा थुनेर बसेका थिए । उनको साथबाट एउटा कागज फेला पर्‍यो । जहाँ उनले बाबुमाथि लागेको आरोपलाई संकेत गर्दै ‘सबैको अपहेलना र छिःछिः, दुरदुर भएको’ भनेर लेखेका थिए ।

त्यो दिन त्यति क्रुर कदम नचालेको भए अमृत साइन्स क्याम्पसमा अध्यापन गरिरहेका उनी तीन सातापछि पीएचडीका लागि जापान जाने थिए ।

चक्रबन्धुले एउटा छोरा गुमाउनुपर्‍यो भने दाजुको हत्याको अभियोगमा अर्को छोरा कैदमा परे । पुत्रवियोग खेपिरहेका अर्यालले क्यान्सरको पनि सामना गर्नुपर्‍यो । हुँदाहुँदा जीवनको उत्तरार्धमा उनले भ्रष्टाचार मुद्दा मात्रै होइन, गहिरो शोक र कष्टकर रोग एकसाथ बोकेर हिंड्नुपर्‍यो ।

विशेष अदालतले हदम्यादको कारण देखाउँदै १४ असोज २०६४ मा उनीविरुद्धको मुद्दा खारेज गर्‍यो । त्यो मुद्दा सर्वोच्च अदालत पुग्यो । १२ पुस २०६८ मा सर्वोच्चले हदम्यादसम्बन्धी व्याख्यालाई त्रुटिपूर्ण ठहर्‍याउँदै ‘फेरि हेर्नु’ भनेर मुद्दा विशेष अदालतमै फर्काइदियो ।

यता दाजुको हत्या आरोप खेपेका चक्रबन्धुका छोरा सुदर्शनलाई काठमाडौं जिल्ला अदालतले ५ वर्षमात्रै कैद गरेको थियो, सर्वोच्चले त्यसलाई उल्ट्याउँदै जन्मकैद (२० वर्ष) तोक्यो । चक्रबन्धु स्वयंलाई क्यान्सरले छोप्यो, पत्नी सीतादेवी दीर्घ रोगी भइन् ।

उनको मुद्दामा कानुनी प्रतिरक्षा गरेका वरिष्ठ अधिवक्ता कृष्णप्रसाद सापकोटा अदालतमा लामो समयदेखि अल्मलिएको मुद्दाका कारण दिग्दार छन् । सम्पत्ति जोडिएका भ्रष्टाचार मुद्दा पालोमा पर्नासाथ धेरैजसो न्यायाधीशहरूको जाँगर हराउने मनोविज्ञान उनले राम्रैसँग बुझेका छन् ।

यसै सातामात्रै सर्वोच्च अदालतले ६० सालदेखि चलेको अर्को भ्रष्टाचार मुद्दा टुंग्याएको छ । ७८ वर्षीय वृद्धले खेपिरहेको उक्त मुद्दा २०७५ सालमा दुई न्यायाधीशहरू बीच राय बाझिएर सर्दै आएको थियो ।

वर्षौं चल्ने यस्ता मुद्दाले सामाजिक जीवन तहसनहस पारेका कैयौं आरोपितहरूलाई कानुन व्यवसायीहरूले दिनहुँजसो परामर्श दिइरहनुपर्छ ।

‘सर्वोच्च अदालतमा वृद्धवृद्धा जोडिएका भ्रष्टाचारमुद्दा लामो समयदेखि अल्मलिनुको एउटा कारण मुद्दा हेर्ने जाँगर पनि हो’ सापकोटा भन्छन्, ‘चिया/खाजाको समय सकिएपछि यस्ता मुद्दाको पालो आउँछ, न्यायाधीशहरूले तदारुकता देखाउनुभन्दा आज सुनेर भ्याइँदैन भनेर अर्को दिनलाई मुद्दा सार्ने चलन नौलो होइन ।’

२०६९ सालमा नै चक्रबन्धुले बेहोरेको अथाह पीडा उनका कानुन व्यवसायीहरूले इजलासमा सुनाएका थिए । अर्यालको ‘पारिवारिक जीवन भताभुङ्ग र लथालिङ्ग भएको’ भन्दै कानुन व्यवसायीले उनलाई थप पीडा नदिन याचना गरेका थिए । दरबारले पूर्वाग्रह राखेर राजनीतिक उद्देश्यले मुद्दा चलाएको भन्दै सफाइको माग राखे । विशेष अदालतले ७ मंसिर २०६९ मा उनलाई दोषी ठहर गर्‍यो ।

उनको ६६ लाख २ हजार रूपैयाँ जफत हुने भयो अनि डेढ वर्ष कैद सजाय फैसला भयो । कागजी प्रमाण र कानुनी दफाहरूमै केन्द्रित हुने न्यायाधीशहरूले मुद्दाका पक्षहरूको भावनात्मक याचनालाई सामान्यतयाः वास्ता गर्दैनन् । तर, चक्रबन्धको मुद्दामा विशेष अदालतले फैसलामै परिवारिक अवस्थाप्रति सहानुभूति प्रकट गरेको थियो ।

अध्यक्ष गौरीबहादुर कार्की तथा सदस्यद्वय न्यायाधीश ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेले फैसलामा भने, ‘निजहरूमाथि लागेको रोग र वृद्धावस्थाका कारण मात्रै यो मुद्दा खारेज हुने कानुनी व्यवस्था रहेको पाइदैन । प्रतिवादीको पारिवारिक जीवनमा आएको विपत्तिप्रति यो अदालत सहानुभूति प्रकट गर्दछ र रोगबाट शीघ्र स्वास्थ्य लाभ होस् भन्ने कामना गर्दछ ।’

विशेषको दोस्रो फैसलापछि चक्रबन्धुले ११ वर्षअघि आफूले सफाई पाउनुपर्ने भनी सर्वोच्चमा पुनरावेदन दिएका थिए । २०७० कार्तिकमा दर्ता भएको मुद्दा वर्षौंसम्म सुनुवाइ भएन ।

दुई दशकभन्दा बढी समयदेखि एउटा मुद्दा खेपिरहेका उनी माथिको मुद्दा सर्वोच्च अदालतले २६ असारमा आएर टुङ्ग्यायो । तर आफूलाई कसुरदार ठहर गर्ने फैसला तयार नहुँदै उनी संसारबाट अस्ताए ।

कानुनविद्हरूका भनाइमा, ६० को दशकका गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा देख्यो कि न्यायाधीशहरूले सुनुवाइ टार्ने मनोविज्ञान लामो समयसम्म कायम रह्यो । यतिसम्म कि न्यायाधीशहरू तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीले २०७४ सालमै निर्णय सुनाउने मिति तोकेर पनि मुद्दाको फैसला गरेनन् ।

गत जेठ १३ र २१ गते दुई दिन सुनुवाइ गरेर सर्वोच्च अदालतले २६ असारमा चक्रबन्धु अर्यालको मुद्दामा फैसला सुनायो । विशेष अदालतको फैसला आंशिक रूपमा सदर भएपनि फैसलाको पूर्णपाठ अझै तयार भएको छैन । यता लामो समय कारागार बसेर कैदमुक्त भएका उनका कान्छा छोरा पनि तीन महिनाअघि अल्पायुमै बिते ।

उनको निधनअघि सर्वोच्च अदालतले पूर्णपाठ तयार गरेको भए सजाय र जरिवाना टुङ्गो लाग्थ्यो । तर, अब चक्रबन्धुमाथि ठहर भएको बिगो उनको सम्पत्तिबाट असुल हुनेछ । उनको निधनसँगै कैद सजायको लगत स्वतः कट्टा हुनेछ ।

दुई दशकभन्दा बढी समयदेखि एउटा मुद्दा खेपिरहेका उनी माथिको मुद्दा सर्वोच्च अदालतले २६ असारमा आएर टुङ्ग्यायो । तर आफूलाई कसुरदार ठहर गर्ने फैसला तयार नहुँदै उनी संसारबाट अस्ताए ।

अख्तियारका तत्कालीन प्रमुख सूर्यनाथ उपाध्यायको सक्रियतामा २०५९/६० सालताका अनुसन्धान र दायर भएका मुद्दा अहिले पनि सर्वोच्च अदालतमा विचाराधीन छन् । भ्रष्टाचारको आरोप खेपेकाहरूको मुद्दा समयमा टुंगिएको भए कि उनीहरूले सफाइ पाउँथे कि सजाय भोगेर बाँकी जीवन बिताउँथे ।

जीवनको उत्तरार्धमा लौरो टेक्दै अदालत धाउनुपर्ने अवस्थालाई न्यायव्यवस्थाकै विडम्बना मान्छन्, वरिष्ट अधिवक्ता श्रीहरी अर्याल । उनी भन्छन्, ‘राज्यसंयन्त्रको व्यहारका कारण पूर्वसचिव चक्रबन्धु अर्याल वृद्धावस्थामा ज्यादै नै पीडित बने, उनी माथिको आरोप अब गौण बिषय भयो ।’

‘कोही व्यक्ति दोषी थियो भने अड्डाअदालतले तत्काल त्यसलाई टुङ्ग्याउनुपर्ने होइन ?’ उनी भन्छन्, ‘एउटाको टाउकोमा गम्भीर आरोप बोकाइदिएको हुन्छ, अदालतको कमजोरीले गर्दा उसले जीवनभर त्यो आरोप बोकेर हिंडिरहनुपर्ने भयो ? यस्तो प्रवृत्तिबाट मुद्दा खेप्ने मानिसले न्याय पायो कि अन्याय ?’





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School