५ मंसिर, काठमाडौं । सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा प्रहरीले विवादस्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई मंगलबार भक्तपुरस्थित निवासबाट पक्राउ गर्यो ।
यसको एक दिनअघि प्रसाईंले युट्युबरहरुलाई बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियास्थित टेलिकम कम्पनी स्मार्ट एक्जिएटा प्रा.लि.मा लगानी रहेको बताएका थिए ।
चितवन स्थायी घर भई कम्बोडिया बस्दै आएका ईश्वर पोखरेल (सफल) सँग भिडियो संवाद गर्दै उनले ओलीको संलग्नता पुष्टि हुने भन्दै केही कागजात समेत देखाएका थिए । प्रसाईंको दाबीमा उनले देखाएको कागज ‘गुगलबाट प्रमाणिकरण’ गरेर ल्याइएको थियो, जसलाई हात पार्न उनले कम्तिमा एक करोड ११ लाख रुपैयाँ खर्चेका थिए ।
प्रसाईंको दाबी सार्वजनिक भएलगत्तै प्रहरीले उनले तयार गरेको भिडियो अपलोड गर्ने भुवन भुसालमाथि केन्द्रित हुँदै जाँच थाल्यो । त्यसक्रममा प्रारम्भिक दृष्टिबाटै प्रसाईंले देखाएको कागज–पत्र झुठो रहेको देखिएको सीआईबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दिपक थापा बताउँछन् ।
‘सामान्य विवेक भएको जोकोहीले त्यो कागजमाथि शंका गर्ने प्रशस्तै आधारहरु थिए’, थापाले अनलाइनखबरसँग भने, ‘यद्यपि, पहिले जाँच गरेर केही तथ्यहरु संकलन गर्यौं र त्यसको आधारमा प्रसाईंलाई पक्राउ गर्न अदालतबाट अनुमति लियौं ।’
थापाका अनुसार, प्रसाईंले सार्वजनिक गरेको कागजातमा भएको हस्ताक्षरसँग प्रधानमन्त्री ओलीको हस्ताक्षर मेल खाँदैन । ओलीको सचिवालयबाट अनलाइनखबरलाई प्राप्त उनको नागरिकता प्रमाणपत्रमा उल्लिखित नामसँग पनि प्रसाईंले सार्वजनिक गरेको विवरण मेल खाँदैन । नागरिकतामा उनको अंग्रेजी नाम केपी शर्मा र कोष्ठक चिह्नमा ओली लेखिएको छ ।
तर, प्रसाईंले सार्वजनिक गरेको कागजातमा अंग्रेजी रोमनमा Khadka Prasad Oli उल्लेख गरिएको छ । ‘यस्ता थुप्रै विषयहरु फेला पारेपछि पक्राउ गर्ने निष्कर्षमा पुगेका थियौं’, सीआईबी प्रमुख थापाले भने, ‘अदालतले अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न अनुमति पनि दिइसकेको छ, यो अवधिमा अफवाह फैलाउने गरी कागजात बनाउने कार्यमा संलग्नमाथि पनि अनुसन्धान गर्छौं ।’
कीर्ते कागजात खोज्न १ करोड ११ लाख रुपैयाँ खर्च गरेको प्रसाईंको दाबी पनि नागरिकमा भ्रम छर्न गरिएको प्रयास मात्र भएको प्रहरीको भनाइ छ ।
गुगलबाट प्रमाणित गरिएको भन्ने विषय झनै तर्कसंगत देखिँदैन । किनकि, गुगल अरु वेवसाइटहरुमा संग्रहित सामग्रीलाई देखाइदिने सर्च इञ्जिन मात्र हो । ‘यस्तोमा गुगलले प्रमाणीकरण गर्ने भन्ने नै हुँदैन’, एक अनुसन्धान अधिकृत भन्छन् । अर्थात्, प्रहरीका भनाइमा प्रसाईंले जम्मा–जम्मी अफवाह फैलाउनलाई मात्र फर्जी कागजात सार्वजनिक गरिदिएका हुन् ।
‘उहाँले गुगलदेखि लिएर लाखौं खर्च गरेको जस्तो जति पनि सनसनीपूर्ण दाबी गर्नुभयो, ती सबै झुठा थिए र जनतालाई भ्रममा विश्वास गर्न यकिन होस् भन्ने हिसाबले मात्र ती दाबी गरिउका थिए’, सीआईबी अन्तरगत रहेको साइबर ब्यूरोका प्रमुख डीआईजी नविन्द अर्याल भन्छन्, ‘उनले अफवाह फैलाएर के हासिल गर्न चाहन्थे भन्ने विषय चाहिँ अनुसन्धानको पाटो भयो ।’
समाजमा भ्रम फैलाउने हिसाबले सनसनीपूर्ण बयान दिएर प्रहरी हिरासतमा पुग्नेमा प्रसाईं एक्ला भने होइनन् । एक साताअघि गोरखाका नवराज अर्याल कञ्चनपुरको निर्मला हत्याकाण्डको आफू प्रत्यक्षदर्शी भएको भन्दै एक टेलिभिजनमा देखिए । पन्तमाथि पाँच वर्षअघि बलात्कार हुँदै गरेको आफूले देखेको र संलग्नलाई पनि चिन्ने बयान दिएपछि सीआईबीले उनलाई सोधपुछका लागि बोलायो ।
तर, उनको कुनै पनि भनाइ तर्कसंगत देखिएन । प्रहरीले २८ कात्तिकमा अर्याललाई पक्राउ गर्यो, टेलिभिजन कार्यक्रम प्रस्तोता ऋषि धमलासँग समेत सोधपुछ गर्यो । धमलाले पटकपटक आएर अन्तरवार्ता लिन अनुरोध गरेपछि राष्ट्रिय महत्वको विषय लागेर कुराकानी गरेको जिकिर गरे । अर्यालले पनि थप तथ्य दिन सकेनन् ।
उनले बलात्कारमा संलग्न भन्दै केही यस्ता चर्चित व्यक्तिहरुको नाम लिए, जोमाथि पहिले भिडको दबाबकै भरमा डीएनए जाँच भइसकेको थियो ।
सीआईबीका एसपी होविन्द्र बोगटीका अनुसार, अर्यालले त्यसबेला आफूले खानेपानी मन्त्री विना मगरको गाडी चलाउने गरेको बताउँदै कञ्चनपुर गएका बेला त्यो घटना देखेको बताएका थिए । त्यसपछि आफूमाथि पटकपटक आक्रमण भएको उनको दाबी थियो ।
‘उनी त्यसबेला कञ्चनपुरको पुनर्वासमा गएको देखिन्छ, त्यहाँबाट घटनास्थल आउन ४० किलोमिटर दूरी छ, उनले मन्त्रीको घरमा गएर चौधरी थरको व्यक्तिको मोटरसाइकल लिएर घटनास्थल आएको भनेका छन्’, एसपी बोगटीले भने, ‘तर, उनले भने जस्तो डेढ घण्टासम्म मन्त्रीलाई छाडेर अन्यत्र जान सक्ने सम्भावना नै देखिन्न ।’
अझ गोरखाको मान्छे पहिलो पटक कञ्चनपुर गएको स्थितिमा ठाउँबारे समेत राम्रो ज्ञान नहुने हुँदा एक झलकमा तीन जना उखुबारीमा देखेको र स्पष्ट चिन्ने भन्ने बयान पत्यारिलो नदेखिएको बोगटीले बताए ।
शरीरमा भएका चोटपटकको विषयमा प्रहरीले उनको श्रीमतीसँग समेत सोधपुछ गरेको थियो । त्यसक्रममा स्वास्थ्य समस्याका कारण अस्पतालमा खुट्टाको औंला काटेको श्रीमतीले बताएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार, नक्कली लाइन्सेस भएको खुलेपछि जागिरबाट बाहिरिनुपर्दा अर्याल विक्षिप्त हुने गरेका थिए ।
त्यसपछि दिनदिनै मादक पदार्थ सेवन गरेर घर जाँदा उनीबाट परिवारमा सबै पीडित रहेको पाइएको प्रहरीले जनाएको छ । ‘उहाँले भनेको अधिकांश कुरा नमिलेपछि आफूतर्फ ध्यान केन्द्रित गर्नलाई सनसनीपूर्ण विषय बताएको निष्कर्ष निकाल्यौं’, बोगटीले भने, ‘अफवाह फैलाएकाले मुद्दा समेत चलाउने तयारी थियो । तर स्वास्थ्य समस्याबारे थाहा भएपछि साधारण तारेखमा छाडिदियौं ।’
अहिले मौखिक अभिव्यक्ति मात्र होइन, सामाजिक सञ्जालमा समेत गलत सूचना राखेर अफवाह फैलाउने क्रम तीब्र बनेको छ । कतिपय युट्युब च्यानलमा आउने गलत सूचनामा निगरानी गरिदिन भन्दै हालै सीआईबीले प्रेस काउन्सिललाई पनि आग्रह गरेको छ ।
प्रधानमन्त्री ओलीकै विषयमा अफवाह फैलाएको भन्दै काउन्सिलले ९ वटा युट्युब च्यानललाई कारबाही गरेको छ । तीमध्ये दुई वटा सूचना विभागमा दर्ता नभएकाले अनुसन्धान गर्न भन्दै साइबर ब्यूरोलाई लेखेको छ ।
केहीअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने थुनामुक्त भएको भन्दै सामाजिक सञ्जालमा अडियो, भिडियो समेत सार्वजनिक भएको थियो । जबकि, उनी एक महिनादेखि कास्की प्रहरीको हिरासतमा छन् । विभिन्न जिल्लामा उनीविरुद्ध जाहेरी दर्ता भएकाले प्रहरीले ठाउँठाउँमा लामिछानेलाई दौडाइरहेको छ ।
पहिले आत्महत्या दुरुत्साहनको मुद्दामा छुट्दाको भिडियो हालेर अहिले सामाजिक सञ्जालमा अफवाह फैलाउने प्रयास भइरहेको देखिन्छ । त्यसबेला लामिछाने जोडिएको शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पनि सामाजिक सञ्जालमा फैलिएका अफवाहका कारण प्रहरीलाई अनुसन्धानमै समस्या भएको थियो ।
आफूलाई माता बताउने सरु आचार्यदेखि ज्योतिषी भन्ने अर्जुन क्षेत्रीसम्मले गम्भीर विषयमा मनोगत टिप्पणी गरेका थिए । क्षेत्री पछि ‘भूकम्प जाँदैछ भनेर अफवाह फैलाएको’ आरोपमा समेत पक्राउ परेका थिए ।
****
पछिल्लो समय राम्रो शैक्षिक पृष्ठभूमि, विषयवस्तुमाथि ज्ञान र समाजमा आफ्नो राम्रो हैसियत भएकाहरुले नै अफवाह फैलाउने काम गरिरहेका छन् ।
समाजशास्त्री डा. दिपेश घिमिरेको बुझाइमा पछिल्लो समय सूचनाका परम्परागत स्रोतभन्दा कुनै प्रमाणिकरणविनै जानकारी आउने सामाजिक सञ्जाललाई विश्वास गर्ने जमात बढ्दा अफवाह फैलिने क्रम तीब्र बनेको छ ।
‘मेरो विचारमा समाजले औकात अनुसार डेलिभरी गर्ने व्यक्ति पाउँछ, तथ्यतरक विषय कम सुनिइरहेको हुन्छ । तर, अफवाह एकदमै धेरै मानिसहरुसम्म पुगेको देखिन्छ’, घिमिरे थप्छन्, ‘त्यस्तोमा हैसियत भएकै व्यक्ति समेत सत्यभन्दा बढी मास जता छ त्यतै जाने प्रवृत्ति छ ।’
समाजमा अहिले पुराना राजनीतिक दल र यसका नेताहरुप्रति वितृष्णा छ । यसैको जगमा उभिएर राष्ट्रिय स्वतन्त्र पार्टीसहित केही स्वतन्त्र उम्मेदवारहरुले राजनीतिकमा बलियो उपस्थित जनाएका छन् ।
रवि लामिछानेसहित कतिपय नेताहरुको चर्को भाषण र चिया पसलमा गरिने सामान्य छलफलमा आउने किसिमका अभिव्यक्तिले उनीहरु धेरैको आशाको केन्द्र बन्दा अरुले समेत त्यही सिको गर्न थालेको कतिपयको बुझाइ छ । दुर्गा प्रसाईं वा सामाजिक सञ्जालका पछिल्ला भाइरल व्यक्तिहरुले दिने अभिव्यक्तिको उद्देश्य पनि समाजको ध्यान आफूतर्फ केन्द्रित गर्ने शिवाय अरु नभएको उनीहरुको बुझाइ छ ।
‘अहिले पपुलिज्म वा लोकरिझ्याइँको समय छ, यस्तोमा आर्थिक, सांस्कृति, राजनीतिक जटिलताहरुको सहज उत्तर दिएर जनतालाई उद्वेलित बनाउने प्रवृत्ति हुन्छ’, घिमिरेले थपे, ‘नाकको डाँडी भाँचिदिने, कसैलाई मृत्युदण्ड दिनुपर्छ भन्ने व्यक्तिहरुले आदर्श व्यक्ति बन्नुले पनि हाम्रो समाज कस्तो बनिरहेको छ भन्ने देखाउँछ ।’
दुर्गा प्रसाईं, पूण्य गौतम, अमुक जोगी/बाजे लगायतका पछाडि भिड देखिँदा अरुले पनि त्यसलाई पछ्याइरहेका छन् । मनोविद् शिशिर सुब्बा यसलाई आफूलाई चर्चाको केन्द्रमा राखिरहन चाहने मनोविज्ञानको असर मान्छन् । ‘मान्छेको स्वभाव नै अरुले मान गरिदिओस्, महत्व दिओस् भन्ने हुन्छ’, सुब्बाले थपे, ‘यस्तोमा सामाजिक सञ्जालमा जथाभावी बोलेको कुराले धेरै चर्चा पाएपछि ऊ त्यही दोहोर्याइरहन्छ ।’
सरकारका सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि बुधबार एक कार्यक्रममा बोल्दै ‘जे बोल्दा ताली आउँछ, मानिसहरु त्यही गर्न थालेको’ टिप्पणी गरेका छन् । राजनीतिमा पनि लोकरिज्याइँ देखिएको भन्दै उनले भनेका छन्, ‘हाम्रो समाज नै ढोंगी भयो, भोलिका दिन के काम गर्नुपर्छ भन्ने कुरा बिर्सिने र मैले के बोलिदिँदा तत्काल ताली आउँछ, त्यही मात्र भनिदिने प्रवृत्ति छ ।’
****
समाजिक अध्येता कैलाश राईको बुझाइमा जथाभावी सूचना प्रसार गरेर समाजको हित नभइ व्यक्तिगत स्वर्थपूर्ति गर्ने निहीत उद्देश्य देखिन्छ । कतिलाई अफवाहकै बलमा बैंकको ऋण मिनाहा गराउनु छ, कसैलाई त्यसकै बलमा राजनीतिक भविष्यको आधार खडा गर्नुछ ।
‘आफ्नो स्वार्थपूर्तिका लागि जस्तोसुकै हत्कडा अपनाएर जे कुनै बोल्ने घातक प्रवृत्ति समाजको रोगकै रुपमा फैलिँदो छ’, राई भन्छिन्, ‘त्यस्तो पृष्ठभूमिबाट जनमत खडा गर्ने श्रृंखला चल्नु समाजका लागि घातक छ ।’
इन्टरनेटको पहुँचका कारण जोसुकैले ठूलो जमातमा पुग्ने गरी आफ्नो सन्देश अपलोड गर्नसक्छ । तर, पछिल्लो समय इन्टरनेटमा गलत सूचनाहरुको बाढी लाग्न थालेको छ । सामाजिक सञ्जालमा आउने भ्रामक सूचनाबारे तथ्यजाँच गर्ने वेवसाइट नेपाल फ्याक्ट चेकका सम्पादक दीपक अधिकारी भन्छन्, ‘अहिले दैनिक जसो तथ्यजाँच गर्नुपर्ने कुनै न कुनै विषय भेटिन्छन् ।’
उनका अनुसार, सामाजिक सञ्जालका कारण सूचनामा सहज पहुँच त भएको छ, तर सँगै गलत सूचना पनि क्षणभरमै भाइरल भइरहेको छ । ‘सोसल मिडियाको अल्गोरिदमले पनि सेन्सेसनल कुरालाई व्यापक बनाउन सहयोग गरिरहेको छ’, अधिकारीले भने, ‘यस्तोमा नागरिकलाई कुन सूचना सही हो र कुन गलत भन्ने छुट्टाउन चुनौतिपूर्ण भइरहेको छ ।’
हालै एक अन्तरवार्तामा आमन्त्रित व्यक्तिले ‘उडिरहेको विमानमा योग शिविर गरेर गिनिज बुकमा रेकर्ड राखेको’ भन्दै मिथ्या सूचना फैलाएको सुनाउँदै उनले भने, ‘अहिले फ्याक्ट चेक गर्नुपर्ने यस्ता विषयहरु थुप्रै छन् ।’
****
अहिलेसम्म प्रहरीले अफवाह फैलाएका आरोपमा पक्राउ परेकालाई कारबाही गर्न विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ को सहारा लिइरहेको छ । ऐनको दफा ४७ मा ‘विद्युतीय स्वरुपमा गैरकानूनी कुरा प्रकाशन गर्न नहुने’ सम्बन्धी व्यवस्था छ ।
यस विपरितको कसुर गरे एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने भनिएको छ । कुनै व्यक्तिले पटकपटक यो कसुर गरे अघिल्लो पटक भएको सजायको डेढी सजाय हुने भनिएको छ ।
जानकारहरुको भनाइमा, सामाजिक सञ्जालमार्फत अफवाह फैलने क्रम तीब्र भएपनि संसद्ले यसलाई नियन्त्रण गर्न कानुन बनाउन सकेको छैन ।
‘सामाजिक सञ्जाललाई नियमन गर्ने विषयमा सधैँ चर्चा हुने गरेको छ, तर अफवाह फैलाउने क्रमलाई रोक्न कानूनी प्रावधान ल्याउनेमा पर्याप्त जोड दिइएको छैन’, सरकारी वकिलको कार्यालयका एक अधिकारीले भने, ‘अहिले अफवाह फैलाउनेविरुद्ध छुट्टै कानुनी प्रावधान भएको भए विद्युतीय कारोबार सम्बन्धी दफा लगाउनु पर्ने नै थिएन ।’
अभिव्यक्ति स्वतन्त्रतामा असर नपुग्ने गरी अफवाह फैलाउनेविरुद्ध कडा कारबाही गर्ने किमिसको प्रावधानमा ल्याइनुपर्ने ती अधिकारीको तर्क छ । ‘अहिले त्यस्तो गतिविधि गर्नेविरुद्ध कडा कारबाही नहुने, केही दिनमै धरौटीमा छुटिहाल्ने हुँदा पनि यो प्रवृत्ति नघटेको हो’, उनी भन्छन् ।