फुटेको चियाकप-२


तीन वर्षपछि ‘क्याप साब’सँग भेट भएको थियो। म भाइ भेट्न राष्ट्रिय सेवा दलको मुख्यालय पुगेकी थिएँ। अमन उस्तै रहेछ। उस्तै मुहार, उस्तै हाँसो, छोटो कपाल अनि उस्तै चिउँडाको कोठी। फरक त हाम्रो समय र परिस्थिति भएछ। नजिकै भएर पनि कहिल्यै पार गर्न नसकिने दुरी बढेछ। अब त उसले सोध्ने भनेको सन्चो बिसन्चो मात्रै रहेछ।

पिटी दौडपछि बैठक कोठामा भेट्न आएको थियोे।

‘सानु, बस्नलाई गाह्रो भए भन है !’

‘बाँच्नलाई गाह्रो बनाएर गएको मान्छे आज बस्नलाई गाह्रो छ र?’ भनेर सोध्दै थियो।

मन तितो भयो।

केहीबेर बसेर ऊ आफ्नो अफिसतर्फ लाग्यो। म आफ्नो रुमतर्फ लागेँ।

‘सैनिक गेस्ट हाउस’को झ्यालबाट म उसको अफिस हेरिरहन्छु। सँगसँगै चिया खान्थ्यौं, आज एक्लै खाएँ।

चिया खाने हाम्रो चियाकप फुटिसकेको थियो।

‘सानु खाना खान हिँड,’ अमन आग्रह गर्छ।

‘पर्दैन म क्यानटिनमा या बाहिर खान्छु। तिमीलाई के को दुःख ?’ मैले भनेँ।

‘प्लिज सानु !’ ऊ घोसेमुन्टो लगाएर उभिइरहन्छ।

म चुपचाप बसिरहन्छु।

‘सानु, तिम्रो र मेरो एउटा सम्बन्ध पो सकियो, प्रेम र स्नेह त उस्तै छ। अझ बढेको छ।’

‘भयो क्याप साब, बितेका कुरा सम्झेर के फाइदा?’

‘म सधैंभरि बितेका कुराहरूमा आफूलाई खोजिरहेको हुन्छु सानु,’ ऊ मेरो अघि उभिएर पटक पटक आग्रह गरिरहेको थियो।

‘म जान्न, तिमी जाऊ।’

अँध्यारो मुहार लगाएर ऊ गयो। धुमधुम्ती म बसिरहन्छु निकैबेर। उसलाई नदेख्दा, सम्झेको बेला उसलाई तथानाम भनिदिऊँ, मनमा भएका भँडासहरू पोखिदिऊँ, छातीमा पकडेर सोधौं– मलाई किन घात ग¥र्यौ क्याप साब ? जस्तो लाग्थ्यो तर उसलाई यसरी आँखाअघि देख्दा त्यसै लाटिएँ। गुनासो पोख्न मनै लागेन, प्रश्न गर्न मनै लागेन। ऊ त मेरो मुटु थियोे अनि मुटुसँग गुनासो गरेर पनि बाँच्न सकिन्छ र?

आज काठमाडौंमा अलिअलि घाम लागेको छ। म नुहाएर सैनिक गेस्ट हाउसको कौसीमा बसेकी छु। घाम ताप्दै क्याप साबको अफिस हेरिरहेकी छु।

म बसेको कौसीमा उसले तातो चिया पठाइदिएको रहेछ। खै के सम्झेर कुन्नि? आँखा त्यसै रोयो, मुटुमा गाँठो प¥यो।

कहिल्यै भेट नहोस् भनेर कामना गर्थें म तर कता कता एक झल्को देख्न पाए, एक शब्द बोली सुन्न पाए हुन्थ्यो जस्तो लागेको रहेछ मनलाई।

आफूले प्रेम गरेको, विश्वास गरेको मान्छेलाई सधैं आँखाभरि देख्न पाए हुन्थ्यो भन्ने लागिरहँदो रहेछ। उसलाई भुल्न विदेश गएको म झन् त्यो बम र बारुदको धुवाँमा कोरिएको उसको स्पष्ट चित्र मनमा बोकेर फर्किएकी छु।

अमनले बिहे ग¥र्यो, दुनिया बसायो तर पनि उसलाई प्रेम गर्ने मेरो मन बदलिएन। रातभरि क्याप साबको क्वाटरमा बत्ती बलिरहेको थियो। झ्यालमा एउटा छाया रातभरि उभिरहेको थियो, बसिरहेको थियो। त्यो उभिएको छाया कुनै दिन मेरो आफ्नो थियो।

छायारूपी क्याप साबलाई अँगाल्थें, चुम्थें, सुमसुम्याउथें। अरू कसैलाई दिन नसक्ने माया पोखाउँथें। उसका हरेक कुरामा मेरो अधिकार थियो। बैंक खाताको चेक बुकदेखि एटिएम कार्डसम्म मेरै साथमा हुन्थे।

भौगोलिक रूपले जति टाढा भए पनि सँगसँगै भएजस्तो लाग्थ्यो त्यो बेला तर अहिले हामी भौगोलिक रूपले नजिकै छौं, एउटै तारबारभित्र, एउटै सिमानाभित्र तर हाम्रो आफ्नो भन्नू कोही छैन जस्तो लाग्छ, नमिठो लाग्छ। मनमा उभिएको त्यो छायालाई बेहद प्रेम गरेकी मैले ! प्रेम त अझै पनि उस्तै छ, उत्तिकै छ तर ऊ मेरो होइन।

मलाई थाहा छ उसको मनमा पनि तुफान चलिरहेको। आँखा रसाएको छ तर ऊ रुन सक्दैन। मेरो अघि चिच्याउन सक्दैन। अगाडि परे अपराधीजस्तो अँध्यारो अनुहार बनाएर मलाई हेरिरहन्छ।

मैले म बस्ने कोठाबाट हेरिरहेँ, ऊ झ्यालमा छाया बनेर टोलाइरह्यो, सिरानी मेरो भिजिरह्यो। बिहानीपख झपक्क आँखा लागेछ।

उठेर झ्यालबाट बाहिर हेरेँ। सेनाको टोली पिटी दौडिरहेको थियोे। घाम उदाएपछि म कौसीमा बसेँ। चियाको तलतल लाग्यो। यसो क्यानटिनतिर हेरेँ, उठेर जान अल्छी लाग्यो।

कौसीमा एक कप चिया आइपुगेछ। चियासँगै एउटा नमिठो वर्तमान पनि उपस्थित भयो। यसो चियाको कप हेर्छु, एउटा मात्र छ। सम्झन्छु– अब यो चियाकपको जोडी कहिल्यै हुन सक्दैन।

‘तिमी चिया खान्नौ?’ मैले अमनलाई सोधेँ।

‘चिया खाने कप नै फुटिगयो सानु। अरू कपमा चिया खाने आँटै आउँदैन अनि मैले चिया खान छोडे !’

‘तिमी जस्तै कुरा पनि कति सजिलोसँग छोड्न र अपनाउन सक्छौ है ?’ मैले भनेँ।

ऊ अँध्यारो अनुहार लगाएर बसिरह्यो।

अमनको अँध्यारो मुहार देखेपछि मलाई किन त्यसो भनेछु जस्तो लाग्यो।

‘अनि भन तिम्रो बाबु (छोरा) कत्रो भयो ? घरमा सबै ठिक छ नि?’

‘ठिकै छ,’ ऊ थोरै बोल्यो।

‘घरपरिवार सम्हाल, सदा खुसी हुनु क्याप साब,’ मैले भनेँ।

‘चिया खाऊ, चिसो भयो सानु ! तिमीलाई चिसो चिया पटक्कै मन पर्दैन।’

‘चिसो चियामा आफूलाई बानी पारिसकेँ अमन !’

‘तिमीलाई अझैसम्म याद छ है मलाई तात्तातो चिया खुब मन पर्छ भनेर,’ मुटुभित्र गाँठो परेजस्तै भयो।

साँझमा रिँगटा लागेर म लडेपछि मेडिकलमा स्लाइन लगाउँदै थिएँ। मानसिक तनावपछि खाना रुचेको थिएन। केही दिनदेखि मन भारी भइरहेको थियोे।

‘म्याम हजुरलाई गाह्रो भएको भए अस्पताल जानुपर्छ,’ मेडिकल इन्चार्ज भन्दै थिए। गाह्रो छैन भनेपछि मलाई स्लाइन चढाइएको थिएन। हत्तपत्त अफिसबाट अमन दौडिएर आएको रहेछ।

‘कस्तो छ सानु ?’

म नबोली भित्तातर्फ फर्कें।

‘उनलाई कस्तो छ ?’ ऊ अत्तालिएर सोध्दै थियो।

‘कमजोर भएर हो क्याप साब, त्यस्तो गाह्रो केही छैन।’

‘ओ गड !’ उसले मेरो हात समातेर भन्यो।

म एक्कासि रुन पुगेछु।

‘किन रोएकी सानु ? तिमीलाई गाह्रो भएको छ भने अस्पताल जानुपर्छ। म छु नि यहाँ, तिमीलाई केही हुँदैन।’

‘अमन, तिमी यहाँ भएरै हो मलाई गाह्रो भएको। म टुटिसकेकी थिएँ, हिजोआज झन् टुटेकी छु क्याप साब ! खाटो बसेको घाउ बल्झियो भने झन् दुख्दो रहेछ।’

‘सानु, त्यसो नभन प्लिज !’

स्लाइन नसिद्धिउन्जेल ऊ मेरो हात समातेर बसिरह्यो। मेडिकल ड्युटीमा भएकी महिला सैनिक अलि पर उभिएकी थिइन्।

म रोइरहेँ। ऊ पनि रोइरह्यो।

ब्यारेकको मेडिकलबाट पूर्वमा रहेछ क्याप साबको क्वाटर जाने गेट। गेटमा सेतो (जिरेनिया) फूल खुब मज्जाले फुलेको रहेछ। त्यो फूललाई निकै बेर हेरेँ। अब मैले कहिल्यै नपाउने प्रेम पाएको फूल, अब मैले कहिल्यै नपाउने उसको स्पर्श पाएको फूल हेरिरहन मन लाग्छ। कता कता त्यो फूलसँग आरिस लाग्छ। रिसले फूललाई गमलासँगै निमोठनामठ पारेर मिल्काउन मन लाग्छ तर त्यो मुटु ममा थिएन।

म बसेको बैठक कोठाबाट क्याप साबको खुब प्रेम, स्नेह पाएको त्यो फूललाई केही मायाले, केही रिस र आरिसले हेरिरहन्छु।

‘सानु, किन आफ्नो ख्याल नगरेकी? अस्पताल जाने हो?’ क्याप साबको गह्रौं आवाज आयो ढोकामा।

म चुपचाप बसिरहन्छु।

‘तिम्रो यो चुपचाप बस्ने बानी मलाई खुबै मन पर्छ सानु,’ ऊ अलिकति हाँस्दै थियो। म विराटनगर फर्कने तयारीमा थिएँ।

अमन मेरो बाटो छेकेर उभिएको थियो। गह भरिएर आँसु टिलपिल भएको थियो। म चुपचाप उभिएकी छु।

‘सानु मसँग कुरा त गर एकपटक,’ ऊ बिन्ती गरिरहेको थियो।

भाइको स्वास्थ्यमा धेरै सुधार भइसकेको थियो।

यस बिचमा क्याप साबसँग थोरै कुराकानी भयो तर हाम्रो विगतबारे केही कुरा भएन र कुरा गर्नुको अर्थ पनि थिएन। उसले गन्तव्य पहिल्याइसकेको थियो भने म कहिल्यै पनि गन्तव्य नभेटाउने यात्रामा थिएँ। मलाई ऊबिनाको गन्तव्य चाहिएको पनि थिएन। मेरो प्राण लिएर गएको उसले मेरो चिया कप फुटाइसकेको थियो।

‘तिम्रो र मेरो बाँकी केही छैन क्याप साब !’ मैले भनेँ।

‘त्यसो होइन सानु। मलाई केही त सोध, मलाई गाली गर तर यसरी चुपचाप छोडेर नजाऊ। म उकुसमुकुस भएको छु। सानु, तिमीलाई तिम्रो प्रश्नको जवाफ दिन पाइनँ भने म यत्तिकै मर्छु, तड्पिएरै मर्छु।’

‘तिमीसँग मेरो प्रश्नको जवाफ छ अमन ?’

ऊ निःशब्द बन्यो।

‘उसो भए भन, मलाई चुमेका ओठले कसरी अरूलाई चुम्न सक्यौ ? के तिमीले र मैले बिताएका ती अनमोल पलहरू झुट थिए ? इलामको रुममा छोडी राखेका तिम्रा बुटहरू, कम्ब्याट ड्रेसहरू, तिम्रा केही सर्टिफिकेटहरू मिथ्या हुन् ? अनि तिम्रो यो एटिएम कार्ड ?’ मैले मेरो पर्सबाट उसको हिमालयन बैंकको एटिएम कार्ड देखाउँदै सोधेँ।

उसले दुवै आँखा पुछ्यो।

‘कृष्णले रुक्मिणी देख्नेबित्तिकै राधालाई भुलेजसरी मलाई भुल्यौ। बिहेअगाडि तिमीले मलाई एकपटक पनि सोध्न आवश्यक ठानेनौ। जीवनसाथी रोज्यौ। तिम्रो आफ्नै विवशता थियोे होला, बिहे ग¥यौ तर म तिम्रो मोबाइल कहिले अन हुन्छ भनेर पर्खिरहेकी थिएँ। फेसबुकमा तिम्रो हेप्पी म्यारिज लाइफवाला पोस्ट देख्दा मलाई कस्तो भयो होला ? सायद तिमी कल्पना पनि गर्न सक्दैनौ ! तिमी त मेरो सर्वस्व थियौ अमन। थाहै नपाई तिमी अर्कैको भइसकेका रहेछौ। म भने तिम्रो कम्ब्याट ड्रेस छातीमा टाँसेर तिम्रो बाटो हेरिरहेकी थिएँ।’ मेरो गला अवरुद्ध भयो।

‘सानु !’

‘तिम्रो खुसी चाहन्थेँ म, तिम्रो अल्झो बन्नै सक्दिनथेँ। अमन ! तिमीसँग प्रेमको बदला केही मागेकी थिइन मैले। म नै तिम्रोअघि छरपस्ट पोखिएकी थिएँ। म नै तिमीमा गहिरिएकी थिएँ। तिमीबाहेक अरू केही मन परेन मेरा आँखालाई। तिम्रो व्यक्तित्वजस्तो मन पर्ने केही छैन मलाई। किन मन प¥यौ ? थाहा छैन। तिमीलाई प्रेम गर्नु, चाहनुको बदलामा ममा केही कुराको अपेक्षा थिएन। म यति विश्वस्त थिएँ कि मबाहेक तिम्रो अर्को दुनिया छैन तर मलाई के थाहा अमन ? तिमीले त आफ्नो अर्को साम्राज्य खडा गरिसकेछौ। यी सबैप्रति, तिमीप्रति कहींकतै मलाई गुनासो छैन तर पनि कहिलेकाहीं लाग्छ बिहेअघि मलाई तिमीले एकपटक सोधिदिएको भए मात्रै पनि मलाई खुसी मिल्थ्यो। तिम्रा लागि त्यस्ता हजार खुसी त्याग्न तयार थिएँ क्याप साब। मलाई भनेको भए तिमीलाई हाँस्दै बिदा दिने थिएँ तर तिमीले त मलाई कहीं राखेका रहेनछौ। यही कुराले मलाई बेलाबखत साह्रै रुवाउँछ अमन।’ म भन्दै थिएँ।

‘तिमीलाई मैले सदैव मुटुमा नै राखेको छु सानु।’

‘कति सजिलोसँग भन्छौ है तिमी, अझै पनि मुटुमा राखेको छु भनेर।’

‘सानु, मैले मुमाहजुरको वचन राख्न बाध्य हुनुप¥यो। कर्तव्यको तराजुमा आफैंलाई तौलिरहेको समय तिमीलाई सम्झेर पटकपटक रोएको थिएँ। म मर्न मात्रै नसकेको हुँ।’

‘म त्यति स्वार्थी थिइनँ नि अमन, तिम्रो कर्तव्य र जिम्मेवारीलाई तिम्रै प्रेमिका बनेर बुझ्ने थिएँ। हेर त मलाई एकपटक, तिमी जिउँदै छौ तर म ‘विधवा’जस्तै भएकी छु। अब ममा प्रेमका, रहरका, चाहनाका रङहरू चढ्दैनन्।’

‘सानु !’ अमन बैठक कोठामा मेरोअघि रोइरहेको थियो।

‘तिमीबाहेक यो मनले, यो शरीरले कोही रोजेन, कोही खोजेन। तिमी मेरो सबै थोक थियौ। तिमीबाट जति टाढा भाग्न खोज्छु, झन् तिमीलाई नजिकै पाएजस्तो लाग्छ। भागेर जानै नसक्ने ठाउँमा पुग्छु म। तिमीसँग इलाममा बिताएका दुई वर्षमा मैले जीवनका सबै रहर, चाहना पूरा गरिसकेकी रहेछु। मेरो जीवनमा अब बाँकी केही छैन।

अब छ, मात्रै लक्ष्यविहीन यात्रा !

‘मलाई तिम्रो आँसुको श्राप लाग्यो सानु। मेरो जिन्दगी तहसनहस भयो।’

‘मेरो आँसु तिमीलाई श्राप दिन कहिल्यै झरेन क्याप साब। म रुँदा सधैं तिम्रा दुःखहरू पखालेर लैजानू भन्छु मेरा आँसुलाई !’

भोलि त बिराटनगर फर्कनु छ, इलाम पुग्नु छ। त्यसै छटपटी लाग्छ कता जाऊ ? के गरूँ ? जस्तो हुन्छ।

यसो क्याप साबको अफिसतिर हेर्छु, झ्यालमा पर्दा मात्रै हल्लिरहेको थियोे। भाइलाई धेरै ठिक भइसकेको छ। ऊ आराम गरिरहेको कोठामा गएर म बाहिर गएको जानकारी दिएर गेटबाट निस्किएर बेपत्तै रत्नपार्कतिर लागेँ। भिडभाड उस्तै, धुवाँधुलो उस्तै तर त्यसबिचमा मैले आफूलाई एक्लै पाएँ। भद्रकाली पुगेर एकछिन बसेँ। फेरि त्यत्तिकै हिँडिरहन मन लाग्यो। हिँडिरहेँ निस्फिक्री…!

साँझ पर्न लागेछ। यसो मोबाइल हेर्छु। २० पटकभन्दा बढी क्याप साब र भाइको कल आएको रहेछ। दुवै जनालाई म आउँदै छु भनेँ अनि बिस्तारै सैनिक गेस्ट हाउसतर्फ लागेँ।

गेट खोलेर भित्र पस्नेबित्तिकै ‘सानु, यसरी साँझमा कहाँ गएकी थियौं ? कमसेकम कल त रिसिभ गर्नुपर्छ’ क्याप साबको प्रश्न आयो। गेटमा ड्युटी बसेका सिपाहीका अगाडि उसलाई जवाफ फर्काउन मन लागेन। अलि वर आएपछि भने, ‘तिमीलाई म एक्लै हिँडेकोमा फरक पर्छ र अमन ?’

‘फरक ? धेरै फरक पर्छ सानु।’

‘अब मेरो फिक्री गर्नुपर्दैन अमन। तिमीले आफ्नो जिन्दगी सम्हाल, घरपरिवार सम्हाल।’

‘तिम्रो माया लाग्छ नि सानु, पिर लाग्छ।’

अमनको जवाफमा म शुष्क हाँसिदिएँ।

भारी मन लिएर म विराटनगर फर्किएँ एक्लै।

०००

‘सानु म पत्थर होइन,’ क्याप साबले एकदिन सुकसुकाउँदै मलाई भनेको थियो।

‘पत्थर भए नि तिमी मेरा लागि शालिग्राम थियौ क्याप साब,’ मैले भनेकी थिएँ।

हामी नदीका दुई किनारा थियौं। बेलाबखत ऊ मसँग रुन्थ्यो तर म उसका अगाडि रुने ठाउँ नै थिएन।

उसको पारिवारिक सम्बन्ध कस्तो थियोे ? मैले कहिल्यै सोधखोज गरिनँ र गर्न चाहन्नँथे। म सधैंभरि उसको खुसी चाहन्थेँ, दीर्घायु चाहन्थेँ। उसको बढुवा भइसकेको थियोे तर म उसलाई क्याप साब नै सम्बोधन गर्थें।

‘सानु’ भनेर जब उसले फोन गथ्र्यो अनि ऊ बोल्न थालेपछि आँखाबाट बलिन्द्र आँसुका धारा खस्थे। ऊ समझदार, कर्तव्यपरायण थियो। पेसा, संगठन र जिम्मेवारीप्रति सदैव चनाखो र बफादार थियो। उसको र मेरो भेट नभएको १३ वर्ष भइसकेको थियोे।

‘सायदै हाम्रो अब भेट हुँदैन होला सानु !’ पछिल्लोपटक उसले मलाई भनेको थियोे।

सुन्दासुन्दै मुटु मुखैमा आएको जस्तो लागेको थियोे। भेट्न पाए, देख्न पाए हुने नि एकपटक भन्ने लालसा मनमा अझैसम्म रहेको छ मेरो।

‘अब डोल्पा जाँदैछु सानु,’ उसले मलाई भनेको थियोे र उसकी श्रीमती र छोरा अमेरिका गइसकेको जानकारी पनि दिएको थियोे।

‘तिमी जान्नौ त अमेरिका ?’ मैले अनायासै सोधेकी थिएँ।

‘जान्नँ,’ उसले भनेको थियोे, कारण सोधिनँ।

ऊ डोल्पा गयो।

‘डोल्पामा सैनिक हेलिकप्टर दुर्घटना !’ समाचार पढेपछि थाहा भयो– अब क्याप साब यो दुनियाँमा रहेन। मलाई सम्झेर फोनमा सुकसुक रुने अमन यो संसारमा थिएन। मोबाइलमा उसको नम्बर हेर्छु। मुटु चिसो हुन्छ। अब यो नम्बरबाट कहिल्यै फोन आउने छैन।

खै किन हो ? हिजोआज क्याप साबको झल्को लाग्छ। कहीं परबाट उसले बोलाएजस्तो लाग्छ। रातभर निन्द्रा लाग्दैन। निदाइहाले पनि ऊ सपनामा आएर झस्काइरहन्छ।

छाती गह्रौं भएको छ। हातगोडा फतक्क गलेको छ। खालि एक्लै भएजस्तो लाग्छ, रुन मन लागिरहन्छ।

अफिसमा काम गर्न पटक्कै मन लाग्दैन। बिदा लेखेर म पशुपति आर्यघाट पुग्छु, जहाँ मैले क्याप साबलाई अन्तिम पटक बिदाइ गरेकी थिएँ। क्याप साबले अन्तिम सलामी पाएको थियो। राति सपनामा अमनले इलाम जान मरिहत्ते गरिरहेको थियोे।

‘मेरो अफिसमा काम छ क्याप साब’ मैले उसको हात छुटाउन खोज्दै बोलेकी थिएँ।

‘मलाई इलामको याद आएको छ सानु,’ ऊ बारम्बार भनिरहेको थियोे। झसङ्ग ब्युँझिएँ।

‘सपनामा मरेको मान्छेले लैजान खोज्यो भने त मरिन्छ रे !’ झट्ट साथीहरूले भनेको सम्झिएँ।

‘क्याप साब !’ बरर आँसु खसे।

‘सानु !’ क्याप साबले ढोकामा उभिएर बोलाएजस्तो लाग्छ।

म हत्तपत्त ऊ पहिले बस्ने गरेको अफिस कोठा हेर्छु, रित्तै थियोे। नयाँ हाकिम पाइसकेको थियोे त्यो कोठाले।

म फेरि ‘सैनिक गेस्ट हाउस’मा पाहुना भएर आएकी छु। आउँदिनँ भन्दाभन्दै पनि आइरहन मन लाग्ने ठाउँ, मेरो होइन तर मेरै जस्तो लाग्ने ठाउँ।

एक्लै घिसारिरहेको जिन्दगी, खालि खालि भएर बाँचिरहेको जिन्दगी !

पर्स हेर्छु। क्याप साबको हिमालयन बैंकको एटिएम कार्ड हातगोडा चिसो भएजस्तो लाग्छ।

मलाई नि ऊसँगै बाँच्न मन थियोे, मर्न मन थियोे, जल्न मन थियोे तर समयको खेल, एक्ला एक्लै बाँच्यौ, एक्ला एक्लै मर्न छाडियौ। ऊ एक्लै जल्यो अब मैले एक्लै जल्नुपर्छ।

नमिठो लाग्छ।

यसो मोबाइल अन गर्छु, मोबाइलको बाल पेपरमा अमन र मेरो ‘शाक्य फोटो स्टुडियो’ इलाममा खिचेको तस्बिर उसैगरी हाँसिरहेको थियोे।

हेर्दाहेर्दै आँखामा आँसु भरिए। तस्बिर धमिलो लाग्यो।



Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School