फाइनलमा हाफटाइम शो : विभाजित विश्वलाई जोड्ने सांगीतिक सूत्र


News Summary

Generated by OK AI. Editorially reviewed.

  • न्यूयोर्कको मेटलाइफ रंगशालामा हुने विश्वकप फुटबलको फाइनल खेलमा पहिलोपटक भव्य ‘हाफटाइम शो’ आयोजना गरिँदैछ ।
  • म्याडोना, शकिरा, बीटीएस र जस्टिन बिबर लगायतका विश्वचर्चित कलाकारहरूले खेलको मध्यान्तरमा सांगीतिक प्रस्तुति दिने निश्चित भएको छ ।
  • फिफाले ग्लोबल सिटिजन एजुकेसन फन्डको सहयोगार्थ हुने यो कार्यक्रममार्फत विश्वभरका बालबालिकालाई शिक्षा र खेलको अवसर जुटाउने लक्ष्य राखेको छ ।

३ साउन, असार । स्पेन र अर्जेन्टिनाबीच हुने खेल विश्वकपको फाइनल हो भने, ‘हाफटाइम शो’ चाहिँ विश्व पपसंगीतको प्रतीकात्मक फाइनल हो । न्यूयोर्कको मेटलाइफ रंगशालामा लियोनल मेस्सी र लामिन यमाल उपाधिका लागि आमनेसामने हुँदा, झन्डै ३० मिनेट लामो ‘हाफटाइम शो’मा विश्व संगीतका ‘हू इज हू’ म्याडोना, शकिरा, बीटीएस, जस्टिन बिबरले संगीतको जादू छर्नेछन् ।

फुटबल र संगीतको यो अभूतपूर्व गुरुत्वले खेल र संगीत पारखीबीच बेग्लै रसायन सिर्जना गरिरहेको छ । भूराजनीतिले विश्वभर उथलपुथल ल्याइरहँदा विश्वकप फाइनल र ‘हाफटाइम शो’ विभाजित मनलाई जोड्ने सूत्र बन्नसक्छ ।

यसको स्पष्ट सन्देश, फाइनलअघि आयोजित प्रेसमिटमा फिफा अध्यक्ष जियानी इन्फान्टिनोले राष्ट्रपति डोनाल्ड ट्रम्पकै सामन्नु दिइसकेका छन् । ट्रम्पकै सामुन्ने फिफा अध्यक्षले दिएको विश्व जोड्ने अभिव्यक्तिको कूटनीतिक अर्थ छ ।

घरबाहिर र घरभित्र दुवैतिर घेरिएका ट्रम्पकै अघिल्तिर हाफटाइम शो प्रस्तुत हुनेछ । खासगरि, हलिउडसहितका सेलिब्रेटीप्रति अनुदार मानिने ट्रम्प यो सांगीतिक प्रस्तुतिका साक्षी पनि बन्नेछन् र सोही बेला विश्व मनोरञ्जन जगतका अन्य हस्तीहरू पनि उपस्थित हुने अपेक्षा गरिएको छ ।

अर्कोतर्फ, फिफाले जसरी शोका लागि कलाकारको छनोट गरेको छ, त्यो सुझबुझपूर्ण देखिन्छ । अलग–अलग महादेशका पपस्टारलाई एकै स्टेजमा ल्याएर फिफाले विश्व एकता, भातृत्व र सहकार्यको सन्देश दिन खोजेको देखिन्छ । अर्थात, फरक महादेश, पुस्ता, भाषा र सांगीतिक संस्कृतिको यो अभूतपूर्व जमघट हुनेछ ।

म्याडोना विश्व पप संस्कृतिको एक प्रभावशाली नाम हुन् । शकिराले ल्याटिन संगीत र फुटबल समारोहबीच बलियो सम्बन्ध बनाएकी छन् । जस्टिन बिबर डिजिटल युगका सर्वाधिक लोकप्रिय पपस्टारमध्ये पर्छन् । बीटीएसले के–पपलाई विश्वव्यापी मूलधारमा पुर्‍याएको छ भने बर्ना बोयले अफ्रिकी संगीतको बढ्दो अन्तर्राष्ट्रिय प्रभाव प्रतिनिधित्व गर्छन् ।

विश्वकपमा पहिलोपटक हाफटाइम शो हुन लागेको हो । यो शैली अमेरिकी सांगीतिक कार्यक्रम ‘सुपर बाउल’सँग मिल्दोजुल्दो छ । फाइनलको मध्यान्तरमा हुने शोमा नाइजेरियाली गायक बर्ना बोय, भेनेजुएलाका संगीत निर्देशक गुस्ताभो डुडामेल तथा पीएस २२ कोरससहित कोल्डप्लेले पनि प्रस्तुति दिनेछन् । कार्यक्रमको संयोजन कोल्डप्लेका क्रिस मार्टिनले गर्नेछन् ।

फिफाका अनुसार टेलिभिजनमा प्रसारण हुने सांगीतिक प्रस्तुति ११ मिनेटको हुनेछ । तर मञ्च जडान र हटाउन लाग्ने समयसहित मध्यान्तर करिब २५ मिनेटसम्म पुग्न सक्ने विवरण अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले दिएका छन् ।

सामान्यतया फुटबल खेलको मध्यान्तर अधिकतम १५ मिनेट हुने भएकाले विस्तारित विश्रामले खेलाडीको तयारी र खेलको लयमा पार्न सक्ने प्रभावबारे बहससमेत भएको छ । फिफाले भने खेलको निष्पक्षता र खेलाडीको हितमा कुनै सम्झौता नहुने जनाएको छ ।

हाफटाइम शो फिफा ग्लोबल सिटिजन एजुकेसन फन्डको सहयोगार्थ आयोजना हुन लागेको हो । विश्वभरका बालबालिकालाई गुणस्तरीय शिक्षा र फुटबलका अवसर उपलब्ध गराउन १० करोड अमेरिकी डलर जुटाउन, गुणस्तरीय शिक्षा र फुटबलका अवसर उपलब्ध गराउने लक्ष्य छ ।

कोषमा पाँच करोड डलरभन्दा बढी रकम संकलन भइसकेको छ र विश्वकपका प्रत्येक टिकटबाट एक डलर यसमा प्रदान गरिएको छ ।

कसले कुन गीत गाउलान् ?

अहिलेसम्म फिफा, ग्लोबल सिटिजन वा कलाकारले हाफटाइम शोको आधिकारिक गीतसूची सार्वजनिक गरेका छैनन् । त्यसैले कुन कलाकारले कुन गीत गाउनेछन् भन्ने निश्चित भइसकेको छैन । यद्यपि, सार्वजनिक चर्चा र कलाकारका चर्चित गीतका आधारमा यी गीत प्रस्तुत हुन सक्ने अनुमान गरिएको छ ।

शकिरा र बर्ना बोयले विश्वकप २०२६ को आधिकारिक गीत ‘डाई डाई’ प्रस्तुत गर्ने सम्भावना बलियो छ । शकिराको विश्वकपसँग जोडिएको चर्चित गीत ‘वाका वाका’ र ‘हिप्स डन्ट लाई’को छोटो अंश पनि समावेश हुन सक्ने अनुमान छ ।

बीटीएसले आफ्नो हिट ट्रयाक ‘डायनामाइट’ लाई प्रस्तुत गर्ने अनुमान छ ।

ईएसपीएनले सार्वजनिक गरेको अनुमानित सूचीमा ‘हुलिगान’ पनि उल्लेख छ, तर यो आधिकारिक पुष्टि होइन । जस्टिन बिबरले उनका विश्वप्रसिद्ध गीतमध्ये ‘सरी’ प्रस्तुत गर्न सक्ने अनुमान गरिएको छ । बिबरले ‘म कुन गीत प्रस्तुत गर्नेछु ?’ भन्दै सामाजिक सञ्जालमा जिज्ञासा बढाएका छन्, तर गीतको नाम खुलाएका छैनन् ।

म्याडोनाका ‘भोग’ र ‘म्युजिक’ सम्भावित गीतका रूपमा चर्चामा छन् । उनको नयाँ गीत ‘ब्रिङ योर लभ’ बाट प्रस्तुति सुरु हुन सक्ने अनुमान भइरहेको छ ।

कोल्डप्ले र पीएस २२ ले कुन गीत प्रस्तुत गर्ने भन्ने खुलाइएको छैन । ‘अ स्काई फूल अफ स्टार्स’ जस्तो लोकप्रिय गीत आउन सक्ने अनुमान भए पनि यसको आधिकारिक पुष्टि छैन ।

११ मिनेटको कार्यक्रममा धेरै कलाकार सहभागी हुने भएकाले उनीहरूले पूरा गीतभन्दा चर्चित गीतका छोटा अंश जोडेर ‘मेड्ली’ वा संयुक्त प्रस्तुति दिने सम्भावना बढी देखिन्छ । हालसम्म आधिकारिक रूपमा पुष्टि भएको कुरा कलाकारको सूची मात्र हो, गीतको होइन ।

समर्थन र विरोधमा बहस

फरक भूगोल, संस्कृति, भाषा र पुस्ताको प्रतिनिधित्व गर्ने चर्चित पपस्टार एउटै मञ्चमा उभिनु मनोरञ्जनमा मात्र सीमित छैन । यसले फुटबल र संगीतले राजनीतिक तथा सांस्कृतिक सीमाभन्दा माथि उठेर विश्वलाई जोड्न सक्ने सन्देश दिन्छ ।

म्याडोना, शकिरा, बीटीएस, जस्टिन बिबर र बर्ना बोयको सहभागिताले उत्तर अमेरिका, ल्याटिन अमेरिका, एसिया, युरोप र अफ्रिकाका दर्शकलाई एउटै विश्वव्यापी कार्यक्रममा समेट्ने प्रयास देखाउँछ ।

शिक्षा र बालबालिकाका लागि रकम जुटाउने उद्देश्यसँग जोडिएकाले प्रस्तुतिले प्रसिद्धिलाई सामाजिक प्रभावमा रूपान्तरण गर्ने अर्थ पनि राख्छ ।

तर, यससँगै विश्वकपलाई अमेरिकी शैलीको मनोरञ्जन र व्यावसायिक ‘मेगा इभेन्ट’ बनाइँदै गएको बहस पनि उठिरहेको छ । हो, हाफटाइम शोको विरोध र आलोचना भइरहेको छ । तर यो संगठित बहिष्कारभन्दा बढी फुटबल समर्थक, विश्लेषक र सञ्चारमाध्यममा चलेको बहस हो ।

आलोचकहरू २५ मिनेटसम्म हाफटाइम लम्बिँदा यसले खेलाडीको स्वास्थ्यमा जोखिम ल्याउने, लामो समय निष्क्रिय बस्दा खेलाडीको शरीर चिसिने र दोस्रो हाफमा चोटको जोखिम बढ्न सक्ने चिन्ता छ । अन्तर्राष्ट्रिय फुटबल एसोसिएसन बोर्डको नियमअनुसार मध्यान्तर १५ मिनेटभन्दा लामो हुनु हुँदैन । अवधि परिवर्तन गर्न रेफ्रीको अनुमति आवश्यक हुन्छ । त्यसैले प्रस्तावित विस्तारित विश्राम नियमसँग कसरी मिलाइन्छ भन्ने प्रश्न उठेको छ ।

खेलको लय बिग्रने चिन्ता पनि छ । सांगीतिक कार्यक्रम हुँदा खेलाडीको एकाग्रता र खेलको स्वाभाविक गति प्रभावित हुन सक्ने आलोचकको तर्क छ । कतिपयले फुटबलको अमेरिकीकरण गरिएको भन्दै गुनासो गरेका छन् । केही समर्थकले सुपर बोलको शैली पछ्याउँदै फिफाले फुटबललाई खेलभन्दा बढी मनोरञ्जन र विज्ञापनको कार्यक्रम बनाउन खोजेको आरोप लगाएका छन् ।

तर, समर्थकहरू चाहिँ यस अवसरलाई नयाँ दर्शकसँग जोडिने अवसरको रुपमा लिन्छन् ।

विश्वचर्चित कलाकारको सहभागिताले फुटबलमा कम रुचि भएका युवा तथा नयाँ दर्शकलाई पनि विश्वकपसँग जोड्न सक्ने उनीहरूको बुझाइ छ ।

संगीतले फाइनललाई सामान्य खेलभन्दा ठूलो सांस्कृतिक अवसरको अनुभूति गराउने र ठूला खेल कार्यक्रमप्रति दर्शकको अपेक्षा बढेकाले खेल क्षेत्रले पनि नयाँ प्रयोग गर्नुपर्ने तर्क पनि छ ।

म्याडोना, शकिरा, बीटीएस, जस्टिन बिबर र बर्ना बोयजस्ता फरक भूगोलका कलाकार एउटै मञ्चमा आउँदा विश्वकपको अन्तर्राष्ट्रिय चरित्र अझ व्यापक हुने समर्थक बताउँछन् ।

तर, आयोजक पक्षले खेलको निष्पक्षता र खेलाडीको स्वास्थ्यमा कुनै सम्झौता नगरिने बताएको छ ।

समग्रमा बहसको केन्द्रमा एउटै प्रश्न छ– संगीतले विश्वकप फाइनललाई अझ विशेष बनाउँछ कि फुटबलको मूल आकर्षण र खेलाडीको हितलाई ओझेलमा पार्छ ? यसको व्यावहारिक उत्तर कार्यक्रम र खेल सम्पन्न भएपछि अझ स्पष्ट हुनेछ ।

त्यसैले लोकप्रियता, सांस्कृतिक प्रभाव र सम्भावित विश्वव्यापी दर्शकका आधारमा ‘हाफटाइम शो’ हालसम्मकै ठूलो सांगीतिक जमघटमध्ये एक बन्न सक्छ ।

विश्वकप फाइनल स्वयं संसारका सबैभन्दा धेरै हेरिने खेल कार्यक्रममध्ये पर्ने भएकाले यसको मञ्च कुनै साधारण कन्सर्टभन्दा धेरै व्यापक हुनेछ । के तपाईं संगीत र फुटबलको स्वाद लिन तयार हुनुहुन्छ ?





Source link

Leave a Comment