क्रान्तिकारी विद्यार्थी आन्दोलनको मूल प्रवाह अखिल क्रान्तिकारीको २३औं राष्ट्रिय सम्मेलन अब नेतृत्व चयनको प्रक्रियामा सहभागी हुँदैछ । देशभरिका विभिन्न भूगोल–शैक्षिक संस्थाबाट चुनिएका करिब २४०० प्रतिनिधिले प्रदेश–प्रदेशमा मनोनयन दर्ता र मतदान प्रक्रियामा भाग लिएर संगठनको २३औं केन्द्रीय समिति निर्वाचित गर्ने अभिभारा पूरा गर्ने तयारीमा छौं ।
परिवर्तनको नेतृत्व गरेको अखिल क्रान्तिकारी, त्याग, समर्पण र बलिदानको कीर्तिमान कायम गरेको अखिल क्रान्तिकारी यतिबेला अकर्मन्यता र अन्योलमा छट्पटाइरहेको छ । विघटन र विसर्जनको कालो बादल मडारिंदैछ । तर हरेक क्रान्तिकारी योद्धा जिम्मेवार बनेर संगठनलाई नवजीवन दिनु अनिवार्य भएको छ ।
संगठनलाई एकताबद्ध बनाउँदै ऊर्जाशील संगठनका लागि हरेक क्रान्तिकारीले आफूभन्दा पहिला संगठनको बारेका सोच्ने र आफ्नो कर्तव्य पूरा गर्ने समय आएको छ । अझ यसो भनौं, यसबेला अखिल क्रान्तिकारीको इतिहासले हाम्रो पुस्ताको परीक्षा लिंदैछ । के हामी ‘हाम्रो पुस्ता, राम्रो पुस्ता’, ‘हाम्रो पुस्ता जिम्मेवार पुस्ता’ भनेर एकसाथ जवाफ दिन सक्छौं ?
गत असोजमा हामीले उत्साह र जोस सहित, आशा र विश्वास सहित पार्टी नेतृत्वलाई साक्षी राखेर, अग्रज नेतृत्वहरूलाई सहभागी गराएर, भाइचारा र सहकर्मी संघ संगठनलाई निम्त्याएर लाखौं विद्यार्थीको आवाजको प्रतिनिधित्व गर्दै अखिल क्रान्तिकारी २३औं राष्ट्रिय सम्मेलनबाट नयाँ विधि, नीति र नेतृत्व सहित समकालीन विद्यार्थी आन्दोलनका ज्वलन्त प्रश्नहरूको जवाफ दिंदै वर्तमान विद्यार्थी आन्दोलनको रचनात्मक प्रवृत्तिको नेतृत्व गर्ने साझा संकल्प लिएर सम्मेलनमा होमिएका थियौं ।
विडम्बना हामीले सही तरिकाले निर्धारित समयमा सम्मेलन सम्पन्न गर्न सकेनौं । आज सम्मेलन सम्पन्न गरी संगठनलाई यथाशक्य छिटो गतिशील बनाउनुपर्ने आजको आवश्यकता बीच सम्मेलनको समीक्षा गरी कसैलाई दोष थुपारेर कोही उम्कने स्थिति छैन । अतः करिब ४ महिनादेखि निर्णयविहीन संगठनलाई हामी सबै मिलेर निकास दिन जरूरी छ ।
किनकि संगठन हारेर हामी कोही जित्दैनौं । संगठनलाई बदनाम गरेर को अखिल क्रान्तिकारी योद्धाको शिर उँचो हुन सक्छ र ! त्यसैले बरु हाम्रो भागमा हार नै किन नपरोस्, तर संगठनले जितोस् भन्ने भावना जरूरी छ अहिले ।
हामीले संगठनमा लामो समय विधिको कुरा चर्कोस्वरमा गर्यौं । तर विधान अनुरुप समयमा विधान अधिवेशन गर्न नसक्दा सम्मेलनमा देशभरिका प्रतिनिधिको मत बाझियो । उमेरहद लगाउने या नलगाउने ? लगाउँदा कति लगाउने ? कुन विधिबाट लगाउने ?
पार्टी नेतृत्वले बेलामा जनवर्गीय संगठन र मोर्चा बारे नीति बनाएर, वैचारिक आबद्धता, संगठनात्मक स्वायत्तता भनिसकेको परिप्रेक्ष्यमा सहज मत विभाजन बन्न नसक्दा जे–जस्तो भयो हाम्रो विरासतमा त्यो बिर्सनलायक परिदृश्य रह्यो ।
त्यसले आम विद्यार्थीमा नकारात्मक सन्देश प्रवाह हुनपुग्यो । संगठनका दाइ पुस्ता र भाइ पुस्ताको अन्तरकलहले जग हँसाउन पुग्यौं । यसमा हामी सबै आत्मसमीक्षा सहित बाँकी सम्मेलन सम्पन्न गर्न जुटेका छौं ।
हामीले यो सम्मेलन हार्दिक र मैत्री प्रतिस्पर्धा सहित उन्नत लोकतान्त्रिक अभ्यासको नमूना पेश गर्नुपर्नेछ । अखिल क्रान्तिकारी फरक विचार, संस्कार भएको संगठनको पहिचान पेश गर्नुपर्नेछ ।
नेपालको विद्यार्थी आन्दोलनमा हाम्रो संगठन अखिल क्रान्तिकारीको स्वर्णिम इतिहास छ । युगान्तकारी परिवर्तनको नेतृत्व गरेको अनुभव र इतिहास छ । तर विद्यार्थी आन्दोलनमा गर्विलो इतिहास भएर मात्र पुग्दैन । समकालीन विद्यार्थी आन्दोलनमा सबै हिसाबले उन्नत र फरक संगठनको पहिचान कायम गर्ने कुरालाई हामीले ध्यान दिनुपर्छ ।
विभिन्न संगठनहरूमध्येको मूलप्रवाहको रूपमा हामीले आफूलाई कसरी प्रमाणित गर्ने ? यी यावत् चुनौती हाम्रा सामु छन् । हामी आफ्नो संगठनलाई सामान्य संसद्वादी संस्कारमा लिप्त बुर्जुवा संगठनमा सीमित राख्ने छुट हामीलाई छैन । आफ्नै मौलिक इतिहासको जगमा विकास गर्ने कुरा अहिलेको संगठनको मुख्य अभिभारा हो । तर आज निकै चुनौतीपूर्ण बन्दै गएको छ ।
हाम्रो संस्कार, पद्धति र प्रवृत्तिमा क्रमिक विचलन र विशृङ्खलता देखापर्दै गएको छ । कहिलेकाहीं संगठनमा बिल्कुल अशोभनीय अराजकता, उद्दण्डता, मनपरीतन्त्र र स्वेच्छाचारिता देखिन थालेको छ ।
एकले अर्कोको विरोध मात्र होइन, असहयोग, लाइन वा गुट–उपगुटका आधारमा बार्गेनिङ, आत्मकेन्द्रित र व्यक्तिवादी आचरण व्यवहार तथा दण्डहीनता आदि कुराले कहिलेकाहीं यो बलिदानी गाथा बोकेको अखिल क्रान्तिकारी हो वा के हो ? छुट्याउन गाह्रो पर्ने स्थिति पैदा भएको छ ।
आज संगठनमा क्रान्तिकारी आदर्श, मूल्य, मान्यता क्रमशः कमजोर हुँदै गएको छ । हामी संगठन बनाउँछौं, तर आफूलाई मान्ने सही वा गलत जे गरे पनि आँखा चिम्लेर मौन बस्ने ‘यस म्यान’ बनाउँछौं वा क्षेत्रगत आधारमा बनाउँछौं वा गुटका अनुकूलतामा संगठनको नेतृत्व छान्दछौं ।
यस्तो गाईजात्रे तरिकाबाट संगठनले के आशा गर्ने ? त्यसैले जहिलेसम्म विधि र प्रक्रिया मार्फत संगठन निर्माणमा हामी जाँदैनौं तबसम्म व्यक्ति केन्द्रित, स्वार्थ अनुकूल, स्वेच्छाचारिताले संगठनलाई हराभरा बनाउन सकिने छैन । यो आचरण र संस्कार हाम्रो होइन यो आयातित हो । यदि यसरी नै यो संगठन चल्ने हो भने यसप्रकारको संगठनको औचित्य के हुन्छ । बुर्जुवा विद्यार्थी संगठनभन्दा धेरै घिनलाग्दो संस्कारले यो संगठनलाई कहाँ पुर्याउला ।
अखिल क्रान्तिकारी विद्यार्थी आन्दोलनको इतिहास मात्रै बन्ने खतरा रहन्छ । हिजो हामीले भनेका बुर्जुवा संगठनको भन्दा भद्दा र घिनलाग्दो लडाइँको गोलचक्करमा संगठनलाई फस्न नदिन सबै क्रान्तिकारी नेता कार्यकर्ता जिम्मेवार भई संगठन रूपान्तरणको अभियानमा केन्द्रित हुन सक्नुपर्दछ ।
हुनत यो रोग हामीमा मात्र नभई अन्य क्रान्तिकारी भनिएका सबै विद्यार्थी संगठनहरूमा पनि छ तर हामीले आफ्नै संगठन र आन्दोलन व्यवस्थित गरेर मात्र अरूका बारेमा चासो राख्नुपर्छ । यसैले संगठनमा देखापरेका चुनौती सामना गर्न सबै नेता कार्यकर्ता, सबै अवयव तयार भएर मात्र क्रमिक विचलन र विशृंखलताको यात्रालाई निरुत्साहित गर्न सकिन्छ । त्यसका लागि सिंगो संगठनको प्रतिबद्धता र सामूहिक सहकार्य अनिवार्य छ । तब मात्र संगठनमा देखापरेका अराजकता, दण्डहीनता, मनपरीतन्त्रलाई विधि र प्रक्रियाको सर्वमान्य फलामे अनुशासनले बाँध्न सकिन्छ ।
हाम्रो राष्ट्रिय सम्मेलनहरूमा अभिव्यक्त घटना, प्रवृत्ति र परिणामहरू निकै डरलाग्दा छन् । जिम्मेवारी पूरा नगर्ने आन्दोलन बनाउन पटक्कै ध्यान नदिने तर नेता मात्र बन्न खोज्ने प्रवृत्तिले हामीलाई ठीक निष्कर्षमा पुर्याउने देखिंदैन ।
राष्ट्रिय सम्मेलन सम्पन्न गरेसँगै संगठनले स्वतन्त्र विद्यार्थी युनियनको तयारी गर्नु छ । भ्रष्टाचार, बेथिति र माफियाकरण विरुद्ध, सुशासनको पक्षमा हरेक कलेज र विश्वविद्यालयमा युवा विद्यार्थीबीच व्यापक अभियान चलाइनुपर्नेछ ।
दैनिक बाहिरी रहेको प्रतिभा पलायनलाई देशमा रोक्ने सरकारी नीतिका लागि बहस चलाउनु छ । दैनन्दिन खाली हुँदै गरेको शैक्षिक संस्था, असफल बन्दै गएको विश्वविद्यालयलाई फेरि कसरी जनताका छोराछोरीको आकर्षण बढाउने सरोकार पक्षसँग बृहत् बहस चलाउँदै समाधानको उपाय पहिल्याउनु छ ।
शिक्षाको अधिकांश निःशुल्क, गुणस्तरीय र वैज्ञानिक शिक्षामा विद्यार्थीको पहुँच सुनिश्चित गर्न सरकारलाई संगठनले सडकबाट दबाब र खबरदारी गर्नु जरूरी छ ।सामाजिक न्याय सहित सामन्तवाद, पूँजीवाद र नव–उपनिवेशवाद विरुद्ध संघर्ष गर्दै संविधानतः समाजवादका लागि आन्दोलन संगठित गर्नुपर्नेछ ।
मौलिक अधिकारको कार्यान्वयन गर्न शिक्षामा आमूल रूपान्तरणका लागि पर्याप्त बजेट सहित शिक्षामा व्यवसायीकरण र निजीकरणको विरोध गर्ने र विद्यार्थीको अधिकार र विशेषाधिकारको संरक्षण गर्न जरूरी छ ।
विद्यार्थी संगठनले राष्ट्रियता र जनजीविकाको सवालमा जहिल्यै जनताको आवाजको प्रतिनिधित्व गर्ने गरेको छ । तसर्थ आजको दिनमा राष्ट्रियता र आत्मसम्मानको संरक्षण गर्दै नेपालमा राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता र विदेशी हस्तक्षेप विरुद्ध आन्दोलन अखिल क्रान्तिकारीको दायित्व हो ।
वर्तमान गठबन्धन सरकार निर्माणको आधारभूमि भनेको प्राप्त उपलब्धिलाई उल्ट्याउन संविधान संशोधन मार्फत सामाजिक न्याय, समानुपातिक, समावेशी अधिकार उल्ट्याउन उद्यत छ । यो गठबन्धन सरकार देशलाई प्रतिगामी बाटोमा लैजान चाहन्छ ।
यो सरकारले संसद् स्थगन गरेर भर्खरै अनेकन् अध्यादेश मार्फत मुलुकलाई अस्तव्यस्त बनाउन उद्यत रहेको छ । अतः सम्मेलनका बाँकी काम सम्पन्न गरी अखिल क्रान्तिकारीलाई आफ्नो कार्यभारमा खरो रूपले उभिने बनाइ छाड्ने प्रण गरेको छु ।
सुदिन पौडेल अखिल (क्रान्तिकारी) को २३औं सम्मेलनको अध्यक्ष पदका एक उम्मेदवार हुन् ।