प्रेरणाका स्रोत भैरव रिसाल


गत साउन महिनामा ९७औं जन्मोत्सव भव्य रूपमा मनाएका भैरव रिसाल अर्थात् सबैका प्रिय ‘भैरवदाइ’ २०८१ साल चैत २४ गते रामनवमीको दिन भौतिक संसारबाट सदाको लागि विदा हुनुभयो ।

जीवनभर बहुआयामिक पथप्रदर्शक बनेका भैरवदाइ मृत्युपश्चात् पनि हस्पिटललाई शरीर दान गरेर समाजलाई नौलो उदाहरण बन्नुभयो । जिउँदोमा हो सकेजतिको सेवा गर्ने, मृत्युपश्चात् क्रियाकर्मका नाममा कपाल मुण्डन गर्ने, सेतो कोराको पहिरन गर्ने, नुन नखाने, वैतरणी दान गर्ने, बरखी बार्ने केही गर्नुपर्दैन भनेर भन्नुभएको रहेछ । उहाँकी धर्मपत्नी, छोराछोरीहरूले उहाँको सदिच्छालाई पूरा गरेका छन् । संस्कृतमा आचार्य गरेका विद्वान् भैरवदाइले मृत्यु संस्कारमा पनि नौलो मार्ग रोज्नुभयो ।

भैरवदाइसँग २०४२ सालमा मेरो पहिलो भेट भएको हो । परोपकार केन्द्रका संस्थापक दयावीरसिंह कंसाकारसँग उहाँको राम्रो सम्बन्ध रहेछ । परोपकार प्राथमिक उपचार केन्द्र बराङ्दी पाल्पामा स्थापना गर्ने सन्दर्भमा मद्दत गरिदिनुहुन्छ भनेर भेटेको थिएँ त्यतिवेला । भैरवदाइ ठूलो मान्छे हो, विकासप्रेमी हुनुहुन्छ, उहाँको प्रयासले भक्तपुर दधिकोटमा विकासका धेरै काम भएका छन् भनेर डोरनाथ न्यौपानेले चिनाउनुभएको थियो । ‘एशियाली मापदण्ड मन्त्रिमण्डलको ठगिखाने भाँडो’ भन्ने लेख प्रकाशित गरेपछि उहाँलाई जेलमा राखेको थियो । उहाँ जेलमा हुँदा दोस्रो पटक भेट्न गएको थिएँ ।

भैरवदाइ आईडीएस (एकीकृत विकास प्रणाली)मा संलग्न भएपछि भने भेटघाट बाक्लो हुनथाल्यो । मैले पनि आईडीएस अन्तर्गत सञ्चालन भएको पाल्पामा स्वावलम्बन कार्यक्रममा काम गर्थें । भैरवदाइ आईडीएस मा आलुबाली विकास परियोजनाको राष्ट्रिय संयोजक हुनुहुन्थ्यो । आलुबाली विकासका लागि उहाँ बेला–बेला फिल्डमा जाने गर्नुहुन्थ्यो । भैरवदाइसँग कहिले २०–२२ दिन त कहिले हप्ता दिन सँगै हिंडियो, बसियो । सँगै खाने बस्ने गरेकोले उहाँको दैनीकी, भाषा, शैली, स्वभाव, व्यवहारसँग परिचित हुन पाइयो । बोली खरो, सबै कुरा खुलस्त भन्ने हृदय खुला, सरलपना अत्यन्त सहयोगी र परोपकारी उहाँका गुण थिए ।

भैरवदाइका उदाहरणीय दृष्टान्त धेरै छन् । हामी पाल्पामा काम गथ्र्यौं । झडेवा वगालेका भूमिहीन झिल्कबहादुर विश्वकर्मालाई स्वावलम्बन कार्यक्रमले कुटीर उद्योग फलाम, तामाका भाँडा बनाउने तालिम दिएर जीवनयापनमा सघाएको थियो । अर्काले दिएको जमिनमा छाप्रो हालेर बसेका थिए, वृद्ध आमा र बोल्न नसक्ने भाइसँगै उनी । आलुको बीउ जोगाउन रस्टिक स्टोर बनाउने सन्दर्भमा भैरवदाइ वगाले आउनुभएको थियो । झिल्कबहादुरको घर, जमिन केही नभएको बुझेपछि उनको लागि घर हुनुपर्छ, घर बनाउनका लागि उनको नाममा जमिन हुनुपर्छ भनेर भैरवदाइले आफ्नो खल्तीबाट ५ हजार दिंदै भन्नुभयो, “अब अरू ज–जसले जति सक्छौं सहयोग गरौं र घर बनाउन पुग्ने जमिनको व्यवस्था गरौं ।” भैरवदाइले थालनी गरेपछि झिल्कबहादुरको लागि घर बनाउने जमिनको व्यवस्था भयो र घर पनि बन्यो ।

पाल्पा रहबासको ओर्खेगौंडा गाउँ जंगलको बीचमा पर्छ । त्यहाँ स्कूल थिएन । प्राथमिक शिक्षाका लागि बालबालिकालाई जंगलको बाटोमा २ घन्टाको दूरी पार गर्नुपथ्र्यो । स्वावलम्बन कार्यक्रमको तर्फबाट ओर्खेगौंडामा स्याउलाको अस्थायी टहरा बनाएर प्राथमिक विद्यालय सञ्चालन भएको थियो । उक्त विद्यालयले सरकारी मान्यता पाउन सकेको थिएन । राससमा काम गरेको हुनाले मन्त्रालयहरूमा सरकारका उच्च तहमा काम गर्ने कर्मचारीहरूसँग भैरवदाइको राम्रो चिनाजानी थियो । ती कर्मचारीहरूले उहाँलाई व्यक्तिगत तवरमा पनि आदर–सम्मान गर्थे । म पनि संलग्न भएर उहाँको अगुवाइमा शिक्षा मन्त्रालयमा तत्कालीन सहसचिवलाई भेट्न गयौं । जसरी पनि ओर्खेगौंडामा प्राथमिक विद्यालयको लागि सरकारबाट स्वीकृति हुनुपर्छ भनेर दलिल पेश गर्नुभयो । त्यहाँको प्राथमिक विद्यालयले सरकारी मान्यता पायो । बालबालिकाले गाउँमा नै प्राथमिक तहको पढाइ पढ्ने अवसर पाए ।

भैरवदाइ, स्थानीय स्रोत, सीप र सम्भावनालाई उचित सदुपयोगबाट पनि धेरै परिवर्तन गर्न सकिन्छ भन्ने मान्यता राख्नुहुन्थ्यो । पाल्पाको देवीनगरमा विश्वकर्माहरूको ठूलो गाउँ छ । त्यहाँका समुदायसँग उनीहरूको जीवनयापनमा कसरी सुधार गर्न सकिन्छ भन्ने छलफल थियो । भैरवदाइले भन्नुभयो, हामीसँग जे छ त्यहीबाट परिवर्तनको थालनी गरौं न ! किसानहरू मुखामुख गरे । भैरवदाइले भन्नुभयो, तपाईंहरूले निस्तो रोटी खानुहुन्छ सितन नभएर भन्दै । तपाईंहरूको गोठको बारमा गोलभेंडा पाकेर त्यसै खेर गएको छ । त्यही टिपेर चटनी बनायो भने रोटीका लागि मिठो सितन हुन्छ । तर, तपाईंहरूले त्यति पनि बनाउनुहुन्न । मकै रोप्नु बाहेक घर वरिपरिको जमिन त्यसै बाँझो हुन्छ । त्यहाँ करेसाबारी गर्‍यौं भने सधैंभरि हरियो सागसब्जी खान पाइन्छ ।

तपाईंहरूको घर वरिपरि बाटोमा जतासुकै दिसा छ, फोहोरले गाउँ नै दुर्गन्धित छ । घर नजिक खाली जमिनमा अस्थायी खाल्टे चर्पी बनाएर प्रयोग गरौं त ! यति गर्नलाई अरूको सहयोग केही पनि चाहिंदैन । भैरवदाइका यी कुरालाई किसानले आत्मसात् गरे । छोटो समयमा गाउँको स्वरुप नै बदलियो ।

भैरवदाइले भन्नुहुन्थ्यो– “हामी सबैको आम मान्यता जनताले ढाँट्दैनन् भन्ने छ, तर मेरो उक्त आम मान्यता प्रति भने विमति छ । मेरो अनुभवमा जनताले ढाँट्छन् । जनताले आफूमा नभएको कुरालाई पनि छ भन्छन् । भएको कुरालाई पनि छैन भन्छन् । आफ्नो आवश्यकता के हो त्यो भन्दैनन् । जनताले आफूले जे–जति बुझेका छन् त्यसैलाई पूर्ण बुझेको ठान्छन् । उनीहरूलाई झुट नबोलेर सही सत्य बोल्नुपर्छ भनेर बुझाउन र अभ्यासमा ल्याउन अत्यन्त गाह्रो हुन्छ । त्यही गाह्रो काममा लागियो भने बल्ल परिवर्तन हुन्छ ।”

भैरवदाइ, वातावरण पत्रकारितामा पनि लामो समय खट्नुभयो । जुम्लामा सोलारबाट बिजुली बत्ती बाल्ने काममा अगुवाइ गरेर हिंड्नु भयो । यस्ता समाजसेवी कामको लागि उहाँले आफैं खर्चबर्च पनि उठाउँदै हिंड्नुहुन्थ्यो ।

भैरवदाइ, मायालु र दयालु पनि हुनुहुन्थ्यो । २०५१ सालको जेठ महिनाको आखिरीमा हाम्रो बुवाको स्वर्गारोहण भयो । असारको पहिलो साता वर्षात्को सुरुवात थियो । हाम्रो परिवार १३ दिनको क्रियामा शोकमा थियौं । भैरवदाइ त्यतिबेला शोकमा भएको हाम्रो परिवारलाई समवेदना दिन हाम्रो घर पाल्पा बराङ्दी जानुभएको थियो । तानसेनबाट पैदल हिंड्नुपर्ने राति–राति घरमा जानुभएको हाम्रो आमाले बाचुञ्जेल उहाँलाई सम्मानपूर्वक सम्झिरहनुहुन्थ्यो ।

जिम्मेवारीप्रति भैरवदाइ उत्तिकै निष्ठावान् हुनुहुन्थ्यो । एउटा दृष्टान्त यहाँ उल्लेख गरौं । पूर्वी पाल्पाका गाउँहरूमा एक हप्ताको भ्रमण सकेर त्यही दिन काठमाडौं पुग्नेगरी भैरवदाइ र म बिहान ४ः०० बजे बहादुरपुर गाउँबाट निस्कियौं । होचो भए पनि भैरवदाइको पैदल हिंडाइ धेरै छिटो हुन्थ्यो । उहाँसँगको हिंडाइमा साथ दिन जो–कसैलाई हम्मे पथ्र्यो । बहादुरबाट चरङ्गे, ओर्खेगौंडा, देउरालीहुँदै हामी बिहान ११ः०० बजे नवलपरासीको सर्दी–चुकाहामा पुग्यौं ।

२०५२ सालको कुरा हो, दुम्कीबासदेखि चुकाहासम्म सानो गाडी पुग्थ्यो । सोही दिन काठमाडौं पुग्ने लक्ष्यका साथ गाडीमा आउँदै गर्दा नौबिसे पुग्नु भन्दा १० किलोमिटर पहिले हामी चढेको गाडी बिग्रियो ।

रातको १०ः०० बजेको थियो । जति नै प्रयास गर्दा पनि त्यो गाडी बनेन । भैरवदाइ मलाई जसरी पनि पुग्नुपर्छ काठमाडौं भनेर मूल सडकमा गुडेका ट्रक, बस जे देखिन्छ रोक्नलाई हातले इशारा दिनुहुन्थ्यो । कुनै पनि गाडीले रोकेनन् । लौ म त अब हिंड्छु तपाईं के गर्ने भनेर रातको १०ः३० जति बजेको थियो भैरवदाइले झोला भिर्नुभयो र हिंड्ने तरखर गर्नुभयो ।

रातको समयमा कसरी एक्लै छाडिदिने मलाई पर्‍यो फसाद ! गाडी चालक र सहचालकलाई त्यहीं छाडेर आफ्नो पीडा लुकाएर जबर्जस्ती म दाइको पछिलागें । बिहान ४ः०० बजेदेखिको ७ घन्टाको चर्को पैदल हिंडाइको थकाइ अनि लगातार गाडीको यात्रा छँदैथियो । बिहानको खाना ११ बजे खाएपछि बीचमा अरू केही खाने मौका मिलेको थिएन । भोकले उति नै सताएको थियो । साथमा खानेकुरा केही थिएन ।

हामी मूल सडकमा टर्च बाल्दै नौबिसे आउँदा रातको १२ः३० बजेको थियो । नौबिसेमा एउटा होटलमा पिलपिल बत्ती बलेको देख्यौं । त्यतिबेला मोबाइल फोनको चलन शुरु भइसकेको थिएन । होटल साहुसँग अनुरोध गरेर ल्यान्डलाइन फोनबाट भैरवदाइले काठमाडौंमा आफ्नी बैनीसँग कुरा गर्नुभयो र जसरी हुन्छ ट्याक्सीको व्यवस्था गरेर नौबिसेमा पठाउन भन्नुभयो ।

फोनमा कुरा भएको एक घन्टामा नै ट्याक्सी आइपुग्यो । बिडम्बना कलंकी पुगेपछि फेरि हामीलाई ल्याउने त्यो ट्याक्सी पनि बिग्रियो । अब फेरि के गर्ने ? बिहान पौने तीन भएको थियो अरू ट्याक्सी पाइन्छ कि भनेर खोजी गर्‍यौं, पाएनांै । काठमाडौंमा सार्वजनिक बस पनि त्यतिबेला हिंडिसकेका थिएनन् । कलंकीबाट पैदल हिंडेर तीनकुनेमा भैरवदाइको कान्छी छोरीको घरसम्म गयौं । उहाँले छोरीलाई उठाउनुभयो । कफी बनाउन लगाउनुभयो । कफी पिएपछि मलाई भन्नुभयो, अब तपाईं यहीं आराम गरेर जानुहोला म दधिकोट जान्छु । दाइ, निस्कनुभयो । उहाँहरूको त्यतिबेला दधिकोटमा नै थियो बसाइ ।

बिहानका बसहरू चल्न लागेकाले म पनि दाइसँगै निस्किएर पुरानो बानेश्वर आफ्नै डेरामा आएँ । भैरवदाइ कान्तिपुरमा साप्ताहिक रूपमा नियमित लेख लेख्नुहुन्थ्यो । त्यो दिन उहाँले कान्तिपुरलाई लेख दिनुपर्ने रहेछ । यही जिम्मेवारी पूरा गर्नका लागि उहाँले यो जोखिम उठाउनुभएको थियो । भैरवदाइको यात्रामा बोलिरहने स्वभाव थियो । कुरैपिच्छे हँसाउने गर्नुहुन्थ्यो । यात्रा कष्टप्रद भए पनि भैरवदाइका राजदरबार, पञ्चायत, बहुदल पछिका संगत गरेका व्यक्तिसँगका अनुभवहरू, आफूले गरेका कामका अनुभवहरू सहित ज्ञानवद्र्धक कुराले यात्रालाई रमाइलो बनाउनुभएको थियो ।

भैरवदाइ, वामपन्थी विचारबाट प्रेरित सच्चा लोकतन्त्रवादी हुनुहुन्थ्यो । बहुदलप्राप्तिका लागि भएको २०४६ सालको जनआन्दोलन र २०६२–६३ को गणतन्त्र प्राप्तिका लागि भएको जनआन्दोलनमा भैरवदाइले नागरिक अगुवाका रूपमा सक्रिय भूमिका निर्वाह गर्नुभएको छ । तर, राजनीतिक रूपमा उहाँ स्वयं भने त्यति सफल हुनुभएन । नेमकिपाबाट २०४८ सालमा उहाँले सांसदको लागि भक्तपुरबाट टिकट पाएर चुनाव पनि लड्नुभएको थियो । तर थोरै भोटले हार्नुभयो । त्यसपछि भने उहाँ चुनावमा लड्नुभएन ।

व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर काम गर्ने सोच, इमानदारी, निष्ठाप्रति अटल, परोपकारी, सादा जीवनशैली भएका बहुआयामिक प्रतिभाका धनी सबैका प्रिय र प्रेरणाका स्रोत आदरणीय भैरव रिसाल भौतिक रूपमा हामीबाट अब सधैंका लागि विदा हुनुभएको छ ।

हार्दिक श्रद्धाञ्जली भैरवदाइ !





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School