मानव विकासको ऐतिहासिक पृष्ठभूमिको अध्ययनले नदी किनारबाट नै मानव सभ्यताको विकास भएको पाइन्छ । काठमाडौं उपत्यकाको मानव विकास र सभ्यता बाग्मती नदीसँग जोडिएको छ । किंवदन्तीनुसार काठमाडौं उपत्यका तालका रूपमा रहेको र पछि यहाँको पानी चोभारको गल्छी काटेर बगाएपछि मानव बस्तीका लागि उपयुक्त ठाउँ भएको हो । बाग्मती नदी शिवमती, विष्णुमती, रुद्रमती, मनमती, इक्षुमती र हनुमती नामका नदीहरू मिसिएर निर्माण भएको छ । चोभारनजिकको दूरीमा नक्खु पनि मिसिएको छ । बाग्मती नदीको वरिपरि मानिसहरूको बस्ती विकसित हुँदै गएपछि यहाँ धार्मिक, सांस्कृतिक, आर्थिक, पुरातात्विक धरोहरहरूको विकास भयो । यसका साथै लिच्छवी र मल्लकालमा वास्तुकला, मूर्तिकला र चित्रकला विकास भयो ।
नेपालको पहिलो राजजंश गोपाल र त्यसपश्चात् क्रमशः महिषपाल, किराँत, लिच्छवी र मल्ल वंशसम्म आइपुग्दा काठामाडौंको सभ्यता निकै नै विकसित भएको पाइन्छ । बाग्मती नदीको वरिपरि निर्माण भएका मठ मन्दिरहरू विश्वप्रख्यात छन् । पशुपति, हनुमान ढोका, कृष्णमन्दिर, स्वयम्भूलगायतका दर्जनौं धार्मिक धरोहरहरू बाग्मती नदीको केही दूरीमा अवस्थित छन्, जसले विश्वसमुदायमा नेपाललाई चिनाएका छन् । यस कोणबाट हेर्दा काठमाडौं धार्मिक, सांस्कृतिक, पुरातात्विक तथा ऐतिहासिक सभ्यताको भण्डार हो ।
काठमाडौं वास्तुकलामा पनि अन्यन्त समृद्ध छ । प्यागोडा, शिखर र स्तुपा शैलीमा निर्माण भएका मन्दिर तथा गुम्बाहरूले सहरको शोभा चुलिएको छ । किराँत, लिच्छवी र मल्लकालीन समयमा विकसित भएको धार्मिक र सांस्कृतिक धरोहरले यो सहर धपक्कै बलेको छ । काठमाडौंलाई मन्दिरैमन्दिरको सहर पनि भन्ने गरिन्छ । यहाँका हरेक चोक, बहालमा मठ मन्दिरहरू छन् । यहाँका मन्दिरहरूमा मानिसहरूको घुइँचो लाग्ने गर्छ । प्रायः बिहानको समयमा मन्दिरहरूमा बजेको घन्टको आवाजले यो सहर गुन्जायमान हुन्छ । यसरी हेर्दा काठमाडौं धार्मिक आस्थाको केन्द्र हो ।
काठमाडौं देशको राजधानी मात्र होइन, विश्व समुदायलाई आकर्षित गर्ने विश्वमा तेस्रो स्तरमा पर्ने पर्यटकीय सहर पनि हो । यस सहरले ऐतिहासिक सभ्यता र भव्यताको पृष्ठभूमि बोकेको हो । यहाँको वैभवतासँग लोभिएर मल्लकालीन समयमा भारतका शासकहरूले पटकपटक आक्रमण गरेको इतिहास छ । काठमाडौंका मन्दिरहरूमा रहेका सुनका गजुर, मूर्तिहरू तथा अमूल्य वस्तुहरू लुटेको लेखिएको छ । उपत्यकाका अमूल्य वस्तुहरू विदेशीले लुटे पनि काठमाडौंको सभ्यता, भव्यता, मान, सान र सम्मान कहिल्यै घटेन । यहाँका ढुंगे धारा, सतल र पोखरीहरूले पुर्खाहरूले विकसित गरेको सभ्यतालाई जुरुक्क उचालेको छ । विदेशी पाहुनाहरूको मन खिचेको छ । यस अर्थमा काठमाडौं प्रचीन सभ्यता र आधुनिक समाजको सगम हो ।
वास्तुकलाको धनी काठमाडौं प्यागोडा, शिखर र स्तुपा शैलीका मन्दिर र गुम्बाले शोभायमान छ
ऐतिहासिक कोणबाट हेर्दा पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेपछि आधुनिक कालको सुरुवात भएको मानिन्छ । प्राचीन कालमा काठमाडौं नेपाल खाल्डोको नामले चिनिन्थ्यो । अझै पनि पुरानो पुस्ताले काठमाडौंलाई नेपाल भनेको सुनिन्छ । पृथ्वीनारायण शाहको मृत्युपछि काठमाडौं राजनीतिक षड्यन्त्रको केन्द्रका रूपमा रह्यो । भीमसेन थापाको उदय र पतनको इतिहास होस कि जंगबहादुर रानाले सत्ताका लागि घटाएका कोत र भण्डारखाल पर्व राजनीतिक दाउपेचले काठमाडौंमा अत्यन्त क्रुर प्रकरणहरू घटेको इतिहास छ । १ सय ४ वर्षको राणाकालीन शासनमा पनि काठमाडौंको राजनीतिक षड्यन्त्रको केन्द्र थियो । २००७ सालपछाडि आजको समय पनि काठमाडौं राजनीतिक शक्ति केन्द्रको रूपमा रहँदै आएको छ ।
गौरवशाली सभ्यताको इतिहास बोकेको काठमाडौंको वर्तमान अवस्थामा आधुनिक जीवन शैलीको प्रतिनिधि सहर हो । जनताका प्रतिनिधिहरू बस्ने ठाउँका रूपमा परिचित काठमाडौं राष्ट्रिय राजनीतिको केन्द्रीय ठाउँ हो । मुलुकलाई नेतृत्व गर्ने र नीति निर्माताहरू बस्ने हो । सिंहदरबार, प्रतिनिधिसभा तथा राष्ट्रिय सभा, राष्ट्रिय योजना आयोगलगायत विभिन्न संवैधानिक अंगहरू यहीँ छन् । विदेशी, पाहुना, पर्यटक, कूटनीति नियोगका व्यक्ति तथा व्यक्तित्वहरूको बसोबास भएको काठमाडौंको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा महत्व छ ।
गौरवशाली सभ्यताको उद्गमस्थल काठमाडौंको वर्तमान अवस्था मानव सभ्यताका हिसाबले खस्किएको छ । बत्तीमुनिको अध्यारो भनेझैं हाम्रो राजधानी अन्तर्राष्ट्रिय स्तरको राजधानीको स्तरमा छैन । फोहोर, मैला, धूलो, हिलो र सडकका खाल्डाहरू देख्दा लाग्छ, काठमाडौं अभिभावकविहीन छ । यहाँका विश्व प्रख्यात मठमन्दिर, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाहरूको अवस्था ठीकठाक छैन । अव्यवस्थित भौतिक संरचनाहरू बढ्दै जाँदा सहरको शोभा घटेको छ ।
काठमाडौं उपत्यका ७७ वटै जिल्लाका मानिसहरूको सपनाको सहर हो । जिल्लाहरूको विकासको तुलनामा काठमाडौंको भौतिक विकास तथा सुविधा अब्बल छ । शिक्षा, स्वास्थ्य, यातायात, विद्युत्, सञ्चार आदिको आधुनिक सुविधाले सम्पन्न सहरका रूपमा छनोट हुने गरेकाले दिन प्रतिदिन जनघनत्व बढ्दै गएको छ । राजधानी सबैको आकर्षणको सहरका रूपमा रहनुका पछाडि छोरा छोरीहरूलाई स्तरीय विद्यालय तथा कलेजहरूको अध्ययन, स्वास्थ्य सेवा, रोजगारी, व्यापार, व्यवसायजस्ता कुराहरूले काम गरेको छ । राजनीतिज्ञ, व्यापारी, कर्मचारी, साहु महाजनहरूको चाहना काठमाडौंमा एउटा घर बनाउने रहेको पाइन्छ । नवधनाड्यहरूको रोजाइ पनि काठमाडौंमा घर घडेरी जोड्नु नै रहेको सुनिन्छ । अहिले ७७ वटै जिल्लाका मानिसहरूको रोजाइको सहर काठमाडौं भएकाले अत्यधिक जनसंख्याको चाप बढेको पाइन्छ ।
आधुनिक काठमाडौं सुकिला, मुकिला, पढे लेखेका, जाने बुझेका बुद्धिजीवी, विज्ञ, विशेषज्ञ, राजनीतिज्ञ, कवि, कलाकार, लेखक दार्शनिक, चिन्तक, धार्मिक गुरु, योगी सन्त महन्त आदि व्यक्ति एवं व्यक्तित्वहरू बसोबास गर्ने सहर हो । प्रजातन्त्र आउनुभन्दा अगाडिसम्म सफा, स्वच्छ भएका यहाँ नदीहरू तीन दशकको अवधिमा ढलमा परिणत भएका छन् । बाग्मती सभ्यताका रूपमा रहेको नदीको आजको अवस्था दर्दनाक छ । सहरवासीहरूले फोहोर प्mयाँक्ने ठाउँका रूपमा बाग्मतीलगायत उपत्यकाका नदीहरूलाई प्रयोग गरिरहेका छन् । उपत्यकाका नदीहरूको अवस्था र यहाँबाट निस्किएको प्रदूषणले अनेक किसिमका रोगव्याधीहरू निम्त्याएको छ । अव्यवस्थित बसोबास र जथाभावी रूपमा निर्माण भएका संरचनाहरू, लाखौंको संख्यामा सवारीसाधन तथा फोहोर नदीहरूले गर्दा काठमाडौं विश्वकै प्रदूषित सहरमध्येमा एक बनेको छ ।
काठमाडौं सहर भ्रष्टाचार, कमिसन, दलाली, बिचौलिया, मानव तस्करी, सेटिङ, ठगी, दलालीजस्ता अमानवीय क्रियाकलापको केन्द्र बनेको छ
आधुनिकताको नाममा समाज भौतिकवादी बन्दै गएको अग्रज पुस्ताको अनुभव छ । अहिले काठमाडौं ठुलाठुला भ्रष्टाचार, कमिसन, दलाली, बिचौलिया, मानव तस्कर, सेटिङ, ठगी, दलालीजस्ता अत्यन्त अमानवीय क्रियाकलापहरूको केन्द्रीय ठाउँ बनेको छ । समाजमा मानव व्यवहारभन्दा भौतिक सुविधा र पैसा ठूलो भन्ने ठान्नेहरूको संख्या दिनानुदिन बढ्दै गइरहेको अनुभव छ । व्यस्त जीवन र भौतिक सुविधाको जोहोमा सहरवासीहरू एकांकी बन्दै गइरहेको अवस्था छ । सहरी समाजमा परोपकारी भावना, निःस्वार्थ व्यवहार तथा विश्वासको खडेरी पर्दै गइरहेको छ । पाश्चात्य विद्वान् एडविन पेगले त्यो मनुष्यभन्दा दरिद्र अरू कोही छैन, जोसँग पैसा मात्र छ, भन्ने विचार राखेका छन् । यसको अर्थ पैसाले मात्र मानव जीवन पूर्ण बन्न सक्दैन भन्ने कुरा सबैले बुभ्mनुपर्ने बेला आएको छ । कतै भौतिक सुविधाको पछाडि दौडँदादौडँदै यो मन्दिरैमन्दिरको सहर काठमाडौं मानवता, करुणा, परोपकार, सहानुभूति तथा समानुभूतिविहीन सहर त बन्ने होइन ? आधुनिक काठमाडौंले यस्तै सन्देश प्रवाह गरिरहेको धेरैको बुझाइ रहेको पाइन्छ ।
अन्त्यमा महात्मा गाँन्धीले सच्चा सुख बाहिरबाट होइन, भित्रबाट मिल्छ भनेझैं समाजले भौतिक सुविधाले मात्र मानव जीवन पूर्ण हुन सक्दैन भन्ने कुराको गहिरो अनुभूति गर्न सक्नुपर्छ । प्राचीन सभ्यताको विरासत बोकेको काठामाडौंलाई पद, पैसा, षड्यन्त्र र स्वार्थको क्रीडास्थल मैदान बन्नुहुँदैन । नबनाऔं । धर्म, अधर्म, कर्म, कुकर्मको सहर बनाउनुहुँदैन । आधुनिकतातिरको यात्रामा स्वार्थ र भौतिकवादी अभ्यासमा मात्र होइन, पुर्खाहरूको जस्तो व्यवहार र मानवीय सदाचारलाई जीवनशैलीमा उतार्नुपर्छ, उतारौं । लोकहित, सामाजिक सद्भाव र भाइचारा, मानवताजस्ता गुणहरूबिनाको जीवन निरस हुन्छ, एकांगी हुन्छ । यो मानव मूल्यको सामाजिक जीवनको आधार हो । यो आधारलाई नभत्काऔं ।
(Visited 4 times, 1 visits today)