२१ माघ, काठमाडौं । माघको तेस्रो साता लाग्दै गर्दा काठमाडौंको मौसम चिसै छ । सोमबार बिहानपख एकैखाले पहिरन लगाएका, हातमा खनजोतका सामग्री लिएकाहरू लस्करै माइतीघरको चिसो सडकमा बसे ।
सरकारले आफूहरूसँग गरेको सम्झौता कार्यान्वयन नगरेपछि दाङबाट चामल, दाल र सिन्की बोकेर आएका ४० स्वर्गद्वारी गुठीपीडितहरूले आइतबारबाट धर्ना थालेका हुन् ।
उनीहरूका कथा एउटै छ, व्यथा एउटै छ । समूहका सबैले गलामा मोहीयानी प्रमाणपत्र भिरेका छन् र सरकारलाई प्रश्न गरिरहेका छन्– पुस्तौंदेखि खनजोत गरेको, रगत पसिना बगाएको जमिन आफ्नो किन भएन ?
आफ्ना मागलाई उनीहरूले प्लेकार्डमा पनि केही शुत्रबद्ध गरेका छन् । जस्तै, ‘रगत पसिना बगायौं–बदलामा के पायौं ? जमिनको सवाललाई धर्म संस्कृतिसँग जोडेर किसानमाथि अन्याय गर्न पाइँदैन’, यस्तै यस्तै ।
यही समूहमा छन्, दाङ घोराही–१४ का २५ वर्षीय प्रवीण दहित थारु । स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिका सह–सचिव र प्रवक्ता पनि हुन् उनी । समितिको अध्यक्ष ७४ वर्षीय प्रभु चौधरी हुन् । तर, अस्वस्थ भएपछि उनी आउन पाएनन् । त्यसैले प्रवीणसहितका युवालाई नेतृत्वको जिम्मेवारी सुम्पिएर प्रभुले माइतीघर मण्डलामा पठाएका हुन् ।
‘जग्गाको लागि लड्दा लड्दै उहाँ बिरामी पर्नुभएको छ । उहाँको अझै बाजेको नाममा मोहीयानी प्रमाणपत्र छ । पूर्जा नपाई बुवा बित्नु भयो । उहाँ छोरा (प्रभु चौधरी) नै ७४ वर्षको पुग्नुभयो । लालपूर्जा छैन । यो १२ मौजाका ३ हजार ५ घर परिवारको कथा–व्यथा हो,’ प्रवीणले सुनाए ।
‘म रैतीले के दिन सक्छु र ? बुबा भएर जिम्मेवारी निभाउन सकिनँ । जन्म दिनु नै भुल भयाे..,’ बाबुका कुरा स्मरण गर्दा गहभरिएपछि प्रवीण रुखमा आड लागेर रुन थाले ।
प्रभु चौधरीको नेतृत्वमा २०४५ सालदेखि आन्दोलन चलिरहेको छ । ‘यो बीचमा बहुदल आयो, गणतन्त्र आयो, तर हामीले हाम्रो जग्गा पाएनौं । आदीमदेखि हाम्रो पुस्ताको थातथलो हो । तर पुस्तौ पुस्ता यसकै लागि लड्नु भयो । हाम्रो एउटै प्रश्न छ– जग्गा कहिले पाउँछौ ?,’ बोल्दा बोल्दै प्रवीणका आँखाबाट आँसु झरे ।
प्रवीणका बुबा चुरालाल चौधरी पनि ७४ वर्षका पुगे । चुरालालको नाममा मोही कायम भएको १७ कट्ठाको प्रमाणपत्र छ । तर जग्गा छ स्वर्गद्वारी गुठीको नाममा । ‘यो जग्गा मेरो बुबाको नाममा भइदिएको भए मैले पढ्न पाउँथे नि,’ स्वर्गद्वारी गुठीका कारण आफूले पढ्न नपाएको प्रवीणले गुनासो गरे ।
एसएलसी दिँदासम्म पनि प्रवीणलाई बुबाले खनजोत गरेको जग्गा आफ्नै हो भन्ने लागेको थियो । जब प्रवीणले २०७० सालमा दाङको समुदायिक विद्यालयबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरे ।
एसएलसी उत्तीर्ण भएपछि खुसीको खबर बुबालाई सुनाउँदै जग्गा कतै राखेर भए पनि उच्च शिक्षा पढ्ने प्रस्ताव प्रवीणले राखे । तर प्रवीणका बुबा रुन थाले । ‘म पास भएर आएँ तपाई किन रुनु हुन्छ ?,’ प्रवीणले बुबालाई प्रश्न गरेका थिए त्यस दिन ।
‘म रैतीले के दिन सक्छु र ? बुबा भएर जिम्मेवारी निभाउन सकिनँ । मैले जन्म नै नदिनु पर्ने भन्नुभयो…,’ प्रवीणले स्मृतिको गर्तबाट थप कुरा खोतल्न सकेनन् । गहभरी आँसु भएपछि प्रवीण माइतघर मण्डलाको छेउमा रहेको एउटा रुखमा आड लागेर एक्लै रुन थाले । वर्षौंदेखि बुबा–आमाले खेती गरेको जग्गा आफ्नो नरहेको उनले एसएलसी उत्तीर्ण भएपछि थाहा पाएका रहेछन् ।
केहीबेरपछि उनी आँसु पुछ्दै धर्नास्थलमा आए । मिडियाले पनि उनलाई पच्छ्याइरहेका थिए । आधाघण्टापछि हामीले फेरी उनीसँग कुरा सुरु गर्यौं । ‘…त्यसपछि यो आन्दोलनलाई सफल बनाउँछु । बुबा बाजेको सम्पत्ति लिएरै छाड्छु भनेर अभियानमा होमिएको हुँ,’ प्रवीणले भने, ‘चाहना हुँदा हुँदै पनि उच्च शिक्षा हासिल गर्न पाएका छैनौं । अहिले पनि रैतीको जीवन जीउन विवश छौं ।’
बुबाले उनलाई वकिल बनाउन चाहेका रहेछन् । तर गरिबी र जग्गा पनि आफ्नो नाममा नभएपछि प्रवीणको उच्च शिक्षाको ढोका नै खुलेन । ‘नपढेको र कानुन नबुझेका कारण जग्गा हाम्रो नाममा नभएपछि बुबाले मलाई कानुन बुझ्न र बोल्नका लागि वकिल बनाउन चाहनु भएको रहेछ,’ प्रवीणले भने, ‘कमजोर आर्थिक स्थितिले एसएलसीपछि माथिल्लो कक्षा पढ्न सकिएन ।’
त्यसपछि प्रवीण एउटै समस्यामा भएकालाई संगठित बनाउने अभियानमा जुटे ।
खनजोत गरेर आयआर्जन गरेको पनि स्वर्गद्वारी गुठीलाई कुत बुझाउँदा सकिने गरेको उनी बताउँछन् । ‘धान तोरी जे उब्जाउ भए पनि गुठीलाई कुत दिनुपर्छ । गुठीलाई नदिए मोहीबाट निष्कासन गर्दिन्छ । कहाँ जाने ? के खाने ? बुबाले अरुको घरमा ज्याला मजदुरी गरेर पाल्नु भयो,’ उनले भने । यतिसम्म थियो कि, अरुको घरमा झिलिमिलि बिजुली बत्ति बल्थ्यो । तर उनको घरका टुकी ।
‘हाम्रो घरमा किन बिजुली नजोडेको भनेर बुबालाई सोधेँ । मोही भएकाले बिजीलु बत्ति पनि जोड्न अनुमति रहेनछ । आदिम समयदेखि बसोबास गरिरहेका हामीलाई यति धेरै अन्याय ?,’ उनले प्रश्न राखे । प्रवीणका अनुसार यो समस्या १९८० सालदेखिको हो । ‘जग्गाको मालिकलाई मोही बनाइयो । जग्गा धनी चाहिँ स्वर्गद्वारी गुठीलाई बनाइयो । हामी मोही होइनौं । जग्गाको मालिक हौं,’ प्रवीणले भने ।
त्यसपछि प्रवीण एउटै समस्यामा भएकालाई संगठित बनाउने अभियानमा जुटे । ‘प्रत्येकको घरघरमा पुगेर बुझ्दा ठूलो समस्या रहेछ । हामी एक जुट भएर आन्दोलन थालेका हौँ,’ उनले भने । सरकारसँग पटक पटक सम्झौता पनि भयो । तर सुनुवाइ नभएपछि माइतीघर मण्डलामा आएका हौँ ।’
२०७२ मा संविधान जारी भएपछि दाङकेन्द्रित आन्दोलन भयो । सहमति भएपनि माग सम्बोधन भएन । गत वर्षको चैतमा कानुन बनाउने सम्झौता सरकारसँग भयो तर अहिलेसम्म पनि अगाडि नबढेपछि गुठी पीडितहरू काठमाडौं आएका हुन् ।
‘माघसम्म कुरेर बस्यौं । सरकारले कानुन निर्माणको प्रक्रिया अगाडि बढाएन । कानुन निर्माता, न्यायालय, मानवअधिकारकर्मी सबै काठमाडौंमा हुनुहुन्छ । त्यसैले बाध्य भएर आएका हौंं,’ प्रवीणले भने ।
‘एमाले महासचिव शंकर पोखरेल हुनुहुन्छ । माओवादीको रेखा शर्मा हुनुहुन्छ । एकीकृत समाजवादीको मेटमणि चौधरी हुनुहुन्छ । उहाँहरूको घरमा परेको भए के हुन्थ्यो ?,’
प्रधानमन्त्री, मन्त्री, सांसददेखि नेतासम्मलाई भेटेको फोटोहरूको ब्यानर नै बनाएर संघर्ष समितिले माइतीघरमा झुन्ड्याएको छ । ‘भेट्न बाँकी कोही हुनुहुन्न । केपी ओली, शेरबहादुर देउवा, प्रचण्ड सबैलाई भेटेका छौं । आश्वासन दिनुभयो तर काम भएन,’ उनले भने, ‘परराष्ट्रमन्त्री आरजु राणा हाम्रो दुख देखेर रुनु भएको थियो । तर, पनि हामी निमुखाको सुनुवाइ भएन ।’
चर्चित नेताहरूको घर दाङमै छ । बारम्बार यो समस्या नेताहरूलाई राख्ने गरेको बताउँछन् प्रवीण । ‘एमाले महासचिव शंकर पोखरेल हुनुहुन्छ । यस्तै उहाँको घरको समस्या भएको भए के हुन्थ्यो ? माओवादीको रेखा शर्मा हुनुहुन्छ । एकीकृत समाजवादीको मेटमणि चौधरी हुनुहुन्छ । उहाँहरूको घरमा परेको भए के हुन्थ्यो ?,’ आफ्नै जिल्लाका नेतालाई प्रश्न गर्छन् उनी ।
अबको पिढीले आफूले पाएको जस्तो दुःख नपाउन् भनेर निर्णायक आन्दोलनमा होमिएको उनी बताउँछन् । ‘मैले पढ्न पाइनँ । के अब आउने कति पिढीले पनि पढ्न नपाउने हो ? उपचार नपाइ मर्नुपर्ने हो ? अब न्याय नपाएसम्म आन्दोलन जारी रहन्छ,’ उनले अठोट सुनाए ।
दाङ घोराहीका ७१ वर्षीय बासुराम चौधरी पनि धर्नामा छन् । उनी २०४५ सालसम्म पनि प्युठानको स्वर्गद्वारी आश्रममा कुत बुझाउन जान्थे । ‘धान तोरी जे अन्न हुन्छ प्युठान नै पुर्याउनु पथ्र्यो,’ उनले ती दिन सम्झँदै भने, ‘कुत मात्र होइन पुजारी र कर्मचारीलाई पनि बोकेर पुर्याएका छौँ ।’
उनका अनुसार १ हजार ५० बिघा जग्गा स्वर्गद्वारी गुठीको नाममा छ । ‘उ बेलादेखि नै यो जग्गा हामीहरूको हो । २०२१ सालको नापीमा कति मोही छुटेका छन् । ७ सय ५३ बिघा जग्गा मात्र मोही प्रमाणीत गरेर दिएको छ । तर, खनजोत १ हजार ५० बिघा जग्गामै गरेका छौं । वर्षभरी काम गर्दा गुठीलाई कुत बुझाउँदा ठिक्क हुन्छ । हामीले के खाने ?,’ उनले प्रश्न गरे ।
वर्षौदेखि अन्यायमा परेकाले ३० घण्टाको यात्रापछि जग्गा खोज्दै काठमाडौं आएको उनले बताए । दुखले आइया छ । रहर छैन । लालपूर्जा पाइएला कि भनेर आएको हो । कहिले माग पूरा होला भनेर दिन आत्तिएको छ,’ उनले भने । दाङमा आन्दोलन गर्दा गर्दा सुनुवाइ नभएको उनले गुनासो गरे ।
‘खनजोत गर्छौं तर गुठीको नाममा छ,’ कृष्णा चौधरीले भनिन्, ‘हाम्रो जिन्दगी त्यतिकै बित्यो छोराछोरीका लागि केही हुन्छ भनेर आएका हाैं।’
‘हावाहुरी, असिना पानीमा त्रिपाल टाँगेर बाटैमै सुत्यौ । हाम्रो सुनुवाइ भएन । अब के गरम त ? त्यसपछि यहाँ आएका हौं,’ उनले भने । मोही प्रमाणपत्र मात्र हुँदा छोराछोरी घर बनाउनसमेत नपाएको उनले दुखेसो गरे । ‘छोराछोरी पाल्न पाएको छैन । न घर हाल्न पाएको छ । दाजुभाइ धेरै छौं । १४ बिघा जग्गा छ । कित्ताकाट गर्न पाएको छैन । नातिनातिना भइसके । घर बनाउन पाएको छैन, कहाँ राख्ने ?,’ उनीसँग प्रश्नैप्रश्न मात्र छ ।
दाङ तुलसीपुरकी ६२ वर्षीय कृष्णा चौधरी बिरामी श्रीमानलाई छोडेर काठमाडौं आएकी छिन् । ‘बिरामी श्रीमानलाई पठाउन मिलेन । काम गर्न पनि नसक्ने अवस्थामा हुनुहुन्छ । हाम्रो दुःख कसले सुन्छ र ? जग्गा छ तर आफ्नो नाममा छैन,’ उनले भनिन् । उनको परिवारको ४ बिघा जग्गा छ । ‘चार दाजुभाई हुनुहुन्छ । एक एक बिघा भागमा पर्छ । खनजोत गर्छौं तर गुठीको नाममा छ,’ उनले भनिन्, ‘हाम्रो जिन्दगी त्यतिकै बित्यो छोराछोरीका लागि केही हुन्छ भनेर आएको हो ।’
दाङ घोराहीका ५५ वर्षीय बिन्तीराम चौधरीको १ बिघा ८ कट्ठा जग्गा छ । उनले घर बनाउन पाएका छैनन् । ‘मोही जग्गामा घर बनाउन दिएको छैन । पूर्जा भएमा घर बनाउन हुन्थ्यो । लालपूर्जाको लागि आएका हौँ । सरकारले हाम्रो दुःख सुनिदियोस्,’ उनले भने ।
तीन दिन भयो उनीहरू काठमाडौं आएको । दिनभर धर्ना दिन्छन्, रात बास बस्न गौशलाको धर्मशाला पुग्छन् ।
‘कहिलेसम्म यसरी बस्ने हो ?,’ सञ्चारकर्मीको प्रश्नमा बिन्तीरामको उत्तर छ, ‘त्यो सिंहदरबारको निर्णयमा भर पर्छ । सरकारले न्याय नदिएसम्म यही बस्छौं । लालपूर्जा नपाए बरु यही चिसो सडकमा प्राण त्याग्छौं, अब पनि रित्तो हात घर फर्किंदैनौं ।’
तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर