प्रकाशित मिति : २० असार २०८३, शनिबार

इटालीको लाम्पेडुसा टापुको भ्रमणका क्रममा पोप लियो चौधौँलाई मेयर फिलिप्पो मान्निनोले लाइटहाउसको प्रतिमा उपहार दिएका छन्। सो अवसरमा पोपले आप्रवासनको चुनौती सामना गर्न युरोपलाई नयाँ आप्रवासीहरूको समायोजन र विकासोन्मुख देशहरूको जीवनस्तर सुधारमा जोड दिन आग्रह गरेका छन्।तस्बिर : तिजियाना फाबी / एएफपी/रासस
क्याथोलिक चर्चका पहिलो अमेरिकी पोप, लियो चौधौँले अमेरिकाको आप्रवासीहरूलाई स्वागत गर्ने ऐतिहासिक गौरवलाई आत्मसात् गर्न अमेरिकी नागरिकहरूसँग आग्रह गरेका छन्। धार्मिक स्वतन्त्रताप्रतिको आफ्नो प्रतिबद्धताको कदरस्वरूप सन् २०२६ को ‘लिबर्टी मेडल’ ग्रहण गर्दै उनले फिलाडेल्फियास्थित नेसनल कन्स्टिच्युसन सेन्टरलाई भर्चुअल माध्यमबाट सम्बोधन गरेका हुन।
भ्याटिकनबाट भर्चुअल रूपमा सम्बोधन गर्दै पोप लियोले भने, विगत २५० वर्षमा विश्वभरका धेरै मानिसहरूका लागि अमेरिका स्वतन्त्रताको प्रतीक बनेको छ। राष्ट्रका संस्थापकहरूको महान् दृष्टिकोण र दृढ संकल्पले गर्दा नै देशले आप्रवासीहरूका क्रमिक लहरहरूलाई स्वागत गर्यो। यसले उनीहरू र उनीहरूका सन्ततिलाई राष्ट्रको भविष्य निर्माणमा योगदान पुर्याउने अवसर दियो।
म फिलाडेल्फियामा २५० वर्षअघि संस्थापकहरूले हस्ताक्षर गरेको स्वतन्त्रताको घोषणापत्रका शब्दहरू स्मरण गर्न चाहन्छु। त्यसमा भनिएको छ कि सबै मानिसले सृष्टिकर्ताबाट जीवन, स्वतन्त्रता र खुसीको खोजी जस्ता मौलिक अधिकारहरू पाएका छन् र यो अकाट्य सत्य हो।
कुनै पनि राष्ट्रको नैतिक महानता सबैको, विशेष गरी सबैभन्दा कमजोर र उपेक्षित व्यक्तिहरूको जीवनलाई सहयोग, संरक्षण र सम्मान गर्ने क्षमतामा झल्किन्छ,” सन् २०२५ मा पोपको पदभार ग्रहण गरेदेखि नै आप्रवासी र शरणार्थीहरूको अधिकारका लागि बलियो आवाज उठाउँदै आएका लियोले भने।
फिलाडेल्फियाको कार्यक्रमलाई सम्बोधन गरेलगत्तै पोप लियो उत्तर अफ्रिकी महाद्वीपको नजिक रहेको इटालीको लाम्पेडुसा टापुतर्फ प्रस्थान गरे। यो टापु युरोप प्रवेश गर्न चाहने आप्रवासीहरूका लागि एक प्रमुख केन्द्र मानिन्छ। त्यहाँ पुगेर उहाँले युरोप र बाँकी विश्वलाई अझ बढी आप्रवासीहरू स्वीकार गर्न आग्रह गरेका छन्।
भूमध्य सागर पार गर्ने क्रममा ज्यान गुमाएका र पीडा भोगेका मानिसहरूको स्मरण गर्दै पोपले भने, “यहाँ तपाईंहरूले लुटेराहरूको हातमा परेर सर्वस्व गुमाएका, क्रूरतापूर्वक कुटपिट गरिएका र आधा-मरेको अवस्थामा छाडिएका हजारौँ मानिसहरू देख्नुभएको छ। कतिपयलाई समुद्रले निलिसकेको छ। हामी उनीहरूको उपस्थितिलाई महसुस गर्न सक्छौँ, जसले हामीलाई मद्दतको पर्खाइमा रहेका जीवित मानिसहरू जत्तिकै चुनौती दिइरहेका छन्।
उनले युरोपसँग भौगोलिक र संस्थागत क्षमता रहेको उल्लेख गर्दै आप्रवासी संकटलाई दीर्घकालीन रणनीतिक योजनामार्फत समाधान गर्न आग्रह गरेका छन्। उनका अनुसार आप्रवासीहरूलाई प्राप्त गर्ने, संरक्षण गर्ने र समाजमा समाहित गर्ने योजनाका साथै विकासोन्मुख देशहरूलाई सहयोग गरिनुपर्छ ताकि कसैले पनि बाध्य भएर आफ्नो देश छोड्नु नपरोस्।