२१ असार, पोखरा । गण्डकी प्रदेशले अग्रज पत्रकारका अनुभवलाई दस्तावेजीकरण गर्दै वर्तमानमा मिडियाको अर्थतन्त्र र पत्रकारितामा एआईको प्रयोगमाथि विमर्श भएको छ ।
गण्डकी प्रदेश प्रेस रजिष्ट्रारको कार्यालयले शनिबार मिडिया समिट गर्दै ५ अग्रह पत्रकारलाई सम्मान गर्दै उनीहरुको अनुभव समेटिएको किताब विमोचनसमेत गरेको हो भने अहिले मिडियाको अर्थतन्त्र र पत्रकारितामा एआई प्रयोगले पारेका प्रभावमाथि बहस भएको हो ।
प्रेस रजिष्ट्रारको कार्यालयले कास्कीका अग्रज पत्रकार केवशराज पराजुली, तिलकमान गुभाजु, तनहुँका विश्ववन्धु भण्डारी, नवलपुरका प्रेमचन्द्र रौनियार र पर्वतकी सरस्वती शर्मा जिज्ञासुलाई ५० हजार रुपैयाँ, ताम्रपत्र र दोसल्लाले सम्मान गरेको छ । अग्रज पत्रकारका अनुभवलाई किताबका रुपमा प्रकाशन गर्न प्रेसमा पठाइसकेपछि र उनको जीवनीमा आधारित भिडियो वृतचित्रसमे्त तयार पारिसकेपछि ४ दिन अघिमात्र कास्कीका पत्रकार पराजुलीको निधन भएको थियो ।
निधन भएपछि उनीसँग निकट कास्कीका अर्का २ अग्रज पत्रकार नारायण कार्की र कृष्ण बास्तोलामार्फत पराजुलीको सम्मान हस्तान्तरण गरिएको थियो भने अन्य ४ पत्रकारलाई भने गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलगायतले सम्मान अर्पण गरे ।
अग्रज पत्रकारहरुले बाँचेको समय, परिवर्तन र प्रजातन्त्रका निम्ति उनीहरुले पत्रकारिताको माध्यमबाट खेलेको भूमिका र खेप्नुपरेको जेलनेलसहितको अनुभवलाई समेटेर दस्तावेजीकरण गर्ने कामको सुरुवात गण्डकीले गरेको प्रेस रजिष्ट्रार विमला भण्डारीले बताइन् ।
मिडिया समिटको उद्घाटनपछि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मिडिया जहिले पनि प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताउँदै तथ्यसहितको खबरदारीलाई आफूले जहिले पनि स्वागत गर्ने बताए । संघ सरकारदेखि प्रदेशसम्म अहिले जे भइरहेका छन्, त्यसको तथ्यसंगत हिसाबले लेख्न र सचेत गराउन मुख्यमन्त्री पाण्डेले आग्रह गरे ।
पाण्डेले लोकतन्त्रको सुदृढीकरणका लागि स्वतन्त्र प्रेस अपरिहार्य रहेको उल्लेख गर्दै सत्य बोल्ने र लेख्ने अधिकार कसैले रोक्न नसक्ने बताए । उनले सरकारका कमी–कमजोरी औंल्याउन सञ्चारमाध्यमले अझ सशक्त भूमिका खेल्नुपर्ने धारणा राखे। संघीयताको औचित्य र उपलब्धिबारे विवेचना नगर्ने हो भने भविष्यमा मुलुक फेरि द्वन्द्वतर्फ धकेलिन सक्ने चेतावनी दिँदै पछिल्ला वर्षमा शिक्षा, स्वास्थ्य र प्रविधिको क्षेत्रमा उल्लेखनीय प्रगति भएको पनि उनले बताए।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले मिडिया क्षेत्र अहिले गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको भन्दै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र सीमित गर्ने नीतिप्रति असन्तुष्टि जनाए ।
सम्मानित पत्रकारहरुमध्येबाट बोल्दै विश्ववन्धुले वनारससम्म पुगेर पत्रिका छापेर ल्याएको इतिहास स्मरण गरे भने समाचार लेखेकै आधारमा राज्यबाट हुने धरपकडलाई पनि सम्झिए । उनले निरंकुश व्यवस्थामा प्रजातन्त्रका पक्षमा लेख्नु ठूलो चुनौति रहेको बताए भने प्रविधिको विकास नहुँदा खेपेको दुखलाई अहिलेको पुस्ताले थाहा नभएको जिकिर गरे ।
पत्रकारितामा एआई : प्रयोग गर्ने हो तर निर्भर हुने होइन
गण्डकी मिडिया समिटमा चासो र बहसको केन्द्रमा एउटा सत्र थियो पत्रकारितामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) । समाचार कक्षमा एआईको प्रवेश, प्रयोग र बस्सबल तथा चुनौतिका विषयमा यो सत्रमा छलफल भए । छलफलमा थिए, पत्रकार वसन्त बस्नेत, एआई विज्ञ दोभान राई र सञ्चारकर्मी महेश भण्डारी । उनीहरुसँग संवादमा थिए, पत्रकार रघुनाथ वाग्ले ।
पत्रकार बस्नेतले अब एआई बिनाको न्यूजरुम परिकल्पना गर्न नसकिने उल्लेख गरे । उनले आफ्नो मिडियामा एआई प्रयोग गर्न थालेको केही वर्ष बितिसकेको स्मरण गरे । एआईको भरपुर सहयोग लिने तर निर्णयकर्ता सम्पादक वा न्युज रुमका मानिस नै हुने बताए । उनले भने, ‘एआईले जहिलेसुकै राइट जजमेन्ट दिन्छ भन्ने पनि भ्रममा बस्नु हुँदैन । अदृश्य निर्णयकर्तामा मानिस नै हुने गर्छ ।’
एआईमा निर्भर हुने नभइ, यसको प्रयोगलाई रचनात्मक बनाउने कुरामा मिडियाहरु चनाखो हुनुपर्ने उनको भनाइ थियो । अहिले एआई तस्वीर र समाग्रीले भ्रम निर्माण गर्न सक्ने संसारभरकै चुनौति भएको उनको भनाइ थियो । संसारभर नै एआईले पपुलिजमलाई साथ दिएको बताउँदै पत्रकार बस्नेतले मिडिया चनाखो हुनुपर्ने जिकीर गरे ।
पत्रकार बस्नेतले एआईको प्रयोग लिए पनि सबै कुरामा आश्रित हुन नहुनेमा सचेत गराए । कतिपय सबालमा सत्यलाई भ्रामक बनाउने काम भएकाले यस विषयमा गम्भीर बन्नुपर्ने सुझाव दिए । जतिसुकै गर्दा पनि न्यूज रुममा कहिलेकाहीँ गल्ती हुन सक्ने स्वीकारे । उनले एआईले श्रम विस्थापित गरिरहेको भए पनि नयाँ–नयाँ रोजगार पनि विकास गरेको बताए ।
एआई विज्ञ राईले ५ वर्षअघि एआई सुगा चराजस्तो मनोरञ्जनको रुपमा लिइने गरिएकामा अहिले आएर बाघको सवार जस्तो भएको तर्क गरिन् । उनले भनिन्, एआई प्रविधि अहिले द्रूत गतिमा विकास हुँदै गएको छ । हाम्रो समाज, हाम्रो अर्थव्यवस्था, व्यवासायिक कार्यव्यवस्था दुवै परिवर्तन हुँदै गएको छ ।’
उनले भोलिका दिनमा एआई मान्छेलाई छाडेर अघि जान सक्ने संकेत गरिन् । ‘एआई यस्तो पावरफुल भइसकेको छ, हरेक कुरा निकै रियालिटी हुँदै आएको छ’, उनले भनिन्, ‘एआई गरेको छुट्टि नै नसक्ने पनि अवस्था छ । हाम्रो काम, हाम्रो सम्बन्ध, क्रियसन भनेको बाहिर देखाउन मात्र होइन, भोलिका दिनमा खोक्रोपना ल्याउन सक्ने जोखिम छ ।’
एआई विज्ञ राईले सूचना प्रविधि विकासले मानिस सामाजिकीकरण हुनबाट बिस्तारै पन्छिदै गएको गुनासो गरिन् । उनले भनिन्, ‘विगतमा हाम्रो घरमा कोही आयो भने वरिपरि बसेर पाहुनाको कुरा सुन्ने चलन थियो । अहिले त्यो प्रचलन हराउन थालेको छ ।’
उनका अनुसार एआई जुन तरिकाले अघि बढेको छ, त्यसमा सौन्दर्य चेत र भ्यालु बुझ्न जरुरी छ । ‘विगतमा पढ्न सजिलो थियो, लेख्न गाह्रो थियो । अहिले एआईको प्रयोगसँगै लेख्न सजिलो भयो, पढ्न गाह्रो भयो । टेक्नोलोजी पावरफुल हुँदै गयो ,’ राईले भनिन् ।
अर्का वक्ता भण्डारीले एआईको प्रयोग हुनु सकारात्मक भएको बताए । आफूले स्क्रिप्ट तथा कन्टेन्ट क्रियट गर्दा एआई प्रयोग नगरेको दाबी गरे पनि आफ्ना सम्पादक एआईबाट टाढा नरहेको प्रस्ट पारे । उनले अगाडि भने, ‘एआईले न्यारेटिभ क्रियट गर्न सक्दैन, व्यक्तिले नै गर्ने हो ।’
भण्डारीले कन्टेन्ट क्रियट गर्दा राजनीतिक विषय जोडेर कसैलाई सहीलाई गलत र गलतलाई सही भनिएको भए सच्याउन तयार रहेको उल्लेख गरे ।
एआईबारे पत्रकार जानकार हुनुपर्ने बताउँदै उनले एआईसँग पत्रकार डराउन नहुने जनाए । ‘हाम्रो पहिचान भनेको हाम्रो रहनसहन, भेषभूषा हो । हाम्रो बिरासत पावरफूल छ,’ भण्डारीले भने, ‘एआईसँग डराउनुपर्दैन । जनतामा के छ भन्ने प्रकटीकरण सोसल मिडियामा हुन्छ ।’
मिडियाको अर्थतन्त्र : संकटमा छ, प्रविधिलाई आत्मसात नगरी हुँदैन
पोखरामा भएको गण्डकी मिडिया समिटको अर्को समसामयिक सत्र थियो, मिडियाको अर्थतन्त्र । यसमा वक्ता थिए, बाह्रखरीका सम्पादक हरिबहादुर थापा, सञ्चारविज्ञ डा. भूमिराज चापागाईं, वान उपाध्यक्ष दुर्गा अधिकारी र विज्ञापन व्यवसायी उजय शाक्य । उनीहरुसँग संवादकर्ता थिए, पत्रकार पवन पौडेल ।
वक्ताले मिडियामा लगानीका लागि राज्यले नै नीति बनाउनुपर्ने, मिडियाले पनि प्रविधिको आत्मसात गर्दै अघि बढ्नुपर्ने र लगानीका नयाँ–नयाँ स्रोत खोज्नुपर्नेमा जोड दिए । अडियन्स र इकोनोमी सँगसँगै जानुपर्ने उनीहरुको सुझाव छ ।
पत्रकार हरिबहादुर थापाले लिगेसी मिडियाले भाइरल हुने नाममा व्यक्ति–व्यक्तिले चलाएको मिडियासँग प्रतिस्पर्धा गर्न नहुने बताए । लिगेसी मिडियाबाटै खोजीका कुरा आउँछन्, तिनीहरु खुम्चिए भने भोलिका दिनमा अराजकता निम्तिने भएकाले लिगेसी मिडिया बचाउनुपर्ने उनको तर्क छ ।
उनका अनुसार प्रविधिको आत्मसात गर्दै जान लिगेसी मिडियाले ढिलो गरिसकेको उनको भनाइ छ । उनले मिडियामा नयाँ–नयाँ लगानी भित्र्याउ सबैजना एकजुट हुनुपर्ने पनि बताए ।
‘बैंकमा थुप्रिएको पैसा लगानी गर्ने वातावरण आयो भने त्यसको प्रचारमा पनि मिडिया त चाहिन्छ नि । एकपटक सबैले पोजेटिभ माहोल सिर्जना गर्ने हो भने त्यसको लाभ मिडियाले पनि पाउँछ,’ उनले भने, ‘लगानीका लागि राज्यले नै नीति बनाउनुपर्छ ।’
निजी सञ्चारमाध्यमलाई राज्यले सरकारी विज्ञापनमा रोक लगाएको विषयमा उनले जुन निकायले विज्ञापन दिने हो, त्यसले सिधैँ मिडियाको खातामा हाल्यो भने भ्रष्टाचार नहुने तर्क गरे । निजी मिडियाले ठूलो रोजगारी सिर्जना गरेको विषय राज्यले बिर्सेको टिप्पणी गरे ।

अर्का वक्ता डा. चापागाईंले लिगेसी मिडियाको तुलनामा डिजिटल मिडिया डेटासहित उपस्थित हुन सकेकाले लोकप्रिय बनेको बताए । उनका अनुसार अडियन्स नम्बरलाई हेर्न खोज्छ, मैले बजाएको विज्ञापन कति अडियन्ससम्म पुग्यो भन्ने कुरा डिजिटल मिडियाले अंकमा जानकारी दिन सक्छ, जबकि लिगेसी मिडियाले दिन सक्दैन ।
अडियन्स कन्टेन्ट कुन फरम्याटमा कन्ज्जुम गर्न चाहिरहेको छ, त्यो ध्यान दिनुपर्नेमा उनको सुझाव छ । उनले भने, ‘सेरोफेरो सबै मेरो दिन खोजिरहेका छौं । सबैको हुन खोज्दा कसैका पनि हुन सकेका छैनौं ।’ लम्बेतानभन्दा १५ सेकेण्डको रिलमा कन्टेन्ट झरिसकेको उनले यथार्थ पस्के । उनले मिडियाको आयस्रोतका निम्ति विविधीकरण ध्यान दिनुपर्ने सुझाव दिए । सरकारी स्रोतलाई मात्र ध्यान नदिइ पब्लिक डिस्कोर्सका कार्यक्रम गर्नुपर्नेमा तर्क गरे ।
विज्ञापन व्यवसायी शाक्यले कोरोनायता मिडिया झन् संकटमा परेको भए पनि विज्ञापनको साइज समग्रमा नघटेको दाबी गरे । नेपाल विज्ञापन संघका प्रथम उपाध्यक्ष समेत रहेका शाक्यले लिगेसी मिडियाले पनि मेजरमेन्ट ल्याउनुपर्ने तथा प्रविधि र नवीनतम् सँगसँगै आउनुपर्नेमा जोड दिए । उनले भने, ‘आजको दुनियाँमा सबैभन्दा गाह्रो भनेको मानिसको ध्यानाकर्षण हो ।
ग्लोबलाइजेसनको दुनियाँमा लोकलाइजेसनलाई बिर्सन हुँदैन । समसामयिक र पारदर्शीतामा ध्यान दिनुपर्छ ।’ एउटा ग्रोसरी दोकान तथा रेष्टुरेन्टको कम्प्युटर पनि टेक्नोलोजीमा छ भने मिडिया त्यसबाट भाग्ने कुरा हुँदैन ।
वान उपाध्यक्ष दुर्गा अधिकारीले मिडिया क्षेत्र यतिखेर अभिभावकविहीत अवस्था रहेको गुनासो गरिन् । पोखरामा विगतमा ३९ रेडियो रहेकामा घटेर आधामात्र संचालित रहेको उनको भनाइ छ । मिडिया टिकाइराख्न क्वालिटी र कन्टेन्टलाई ध्यान दिनुपर्ने अधिकारीले सुझाव दिइन् । भनिन्, ‘कहिलेकाहीँ साथीहरु उत्साहित भएको र कहिलेकाहीँ निराश भएको पाउँछु । यसखालका फोरममा गयौं भने सुधार हुन सक्छ । समुदायलाई जोड्नुपर्छ । रेडियोमा पनि इन्गेज हुने कार्यक्रम ल्याउनुपर्छ ।’
