पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको तीन वर्ष पूरा हुँदा पनि अन्तर्राष्ट्रिय उडान नियमित हुन सकेको छैन।
सरकार र निजी क्षेत्रको पहलमा तीन फरक ठाउँमा पोखराबाट उडान सुरु गर्ने प्रयास भए पनि सबै बालुवामा पानी हालेजस्तै भएको छ। अर्थात् तीन फरक ठाउँमा उडान गर्ने प्रयास विफल भएको छ। २२ अर्ब लगानीमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरुमा छिमेकी देश छेन्दू र ल्हासा उडान भएको थियो।
चीनको सिचुआन एयरलाइन्सले छेन्दू चार्टर उडान सुरु गर्यो भने हिमालयन एयरलाइन्सले छेन्दू नियमित उडान सुरु गर्यो। यससँगै पोखराबाट अन्तर्राष्ट्रिय उडान सम्भव छ भन्ने पुष्टि भयो। जसले पोखराबाट अन्तर्राष्ट्रिय उडान हुँदैन भन्नेहरूको मुखमा बुझो त लगायो तर नियमित भने हुन सकेन। सिचुआनले छेन्दू ११ वटा फ्लाइट गर्यो तर यो चार्टर फ्लाइटमा सीमित भयो। हिमालयन एयरलाइन्सले भने २०२५ को मार्चदेखि ल्हासा नियमित उडान सुरु गर्यो तर यात्रु नआएपछि यो एक वर्ष पनि टिकेन र बन्द भयो।
त्यसपछि भुटानको पारो एयरलाइन्सले पोखरा-थिम्पु उडान गर्यो तर यो पनि दिगो हुन सकेन। तामझामसहित पारो एयरलाइन्स चढेर पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य एक्लो यात्रु भएर थिम्पु गए पनि त्यसपश्चात् यस रुटमा थप फ्लाइट हुन सकेन। अर्थात् त्यसपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन छाडेको छ। योसँगै पोखराबाट अन्तर्राष्ट्रिय उडानको भविष्यमाथि शंका, आशंकाको बादलले घेरेको छ। यसले अन्तर्राष्ट्रिय उडानमार्फत पर्यटक सिधै पोखरा आउने र पोखरेली सिधै वैदेशिक रोजगारी र घुमफिरका लागि आफ्नो गन्तव्यमा जान पाउने आशा निराशामा बदलिने हो कि भन्ने चिन्ता र चासो पोखरेलीले गर्न थालेका छन्।
तर पोखराबाट अन्तर्राष्ट्रिय उडानको प्रयास भने जारी छ। यही बिचमा फ्लाई दुबई पोखरा-दुबई उडान गर्ने भन्दै आएको छ। जसले सेप्टेम्बर २३ अर्थात् असोज ७ गतेबाट दुबई उडान गर्ने तालिका सार्वजनिक गर्दै भाडादर तोक्नुका साथै टिकट बुकिङ पनि खुल्ला गरेको छ। पोखरा पर्यटनको राजधानी र प्राकृतिक सुन्दरताको खानी भएको, पोखरा र यस आसपास क्षेत्रबाट वैदेशिक रोजगारीका लागि दुबई, कतार, साउदी अरब र मलेसिया जानेको संख्या ठुलो मात्रामा भएकाले यो रुट सहजै चल्ने फ्लाई दुबईको विश्वास छ।
सन् २०२७ सम्मकै लागि टिकट बुकिङ खुल्ला गरेको फ्लाई दुबईको टिकट बुकिङ उत्साहजनक भने देखिएको छैन। हाल दुबईबाट पोखरा आउनका लागि टिकट बुकिङ राम्रै भए पनि पोखराबाट दुबई जानका लागि एकाधबाहेक अन्यले टिकट बुकिङ नगरेको एयरलाइन्स निकट स्रोतले जनाएको छ। जसले गर्दा फ्लाई दुबई दबाबमा परेको छ। अब उसले पोखरा-दुबई उडानलाई दिगो बनाउनका लागि साझा पहलकदमी लिनुपर्ने भन्दै तीन तहको सरकारसँगै निजी क्षेत्र गुहार्न थालेको छ। संघ सरकारसँग नियमित संवाद गरिरहेको फ्लाई दुबईका पदाधिकारी आइतबार पोखरा आएर गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, उद्योग तथा पर्यटन मन्त्री यसोदा रिमाल, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणीराज लामिछाने र कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङसम्मलाई भेटेर पोखरा-दुबई उडानलाई दिगो बनाउनका लागि सहजीकरण गरिदिन आग्रह गरेका छन्। त्यस्तै, टोलीले निजी क्षेत्रतर्फ पोखरा उद्योग वाणिज्य संघ, नाट्टा, हान, टान, रेवान र एनवाईईएफसँग भेटेर व्यावसायिक साझेदारीसँगै प्रवर्द्धनमा सघाउन आग्रह गरेको छ।
मुख्यमन्त्री, मन्त्री तथा महानगरका मेयरसँगको भेटमा फ्लाई दुबईको टोलीले सरकारले दिने छुट र श्रम स्वीकृति पोखराबाटै दिनेबारे चासो व्यक्त गरेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने एयरलाइन्सलाई सरकारले हवाई इन्धनमा १ सय डलर छुट दिने घोषणा गरेको छ। त्यसबाहेक विमान उडान र अवतरणमा एक वर्षसम्म शतप्रतिशत छुट, सञ्चार तथा उड्डयन शुल्क र सुरक्षा जाँच शुल्कमा छुट दिने बताएको छ। तर यो छुट दिने अवधि आगामी सेप्टेम्बर १७ मा सकिने भएकाले त्यसबारे फ्लाई दुबईको टोलीले चासो व्यक्त गरेको हो। उसले सो अवधि कम्तीमा ३ वर्षदेखि ५ वर्षसम्म बढाएमा मात्रै अन्तर्राष्ट्रिय उडान दिगो बन्ने भन्दै अवधि लम्ब्याउनका लागि पहल गरिदिन आग्रह गरेको छ। भेटमा फ्लाई दुबईका लागि नेपालका जनरल म्यानेजर नवराज शाहीले छुट नदिए तत्काल उडान सुरु गरे पनि पछि निरन्तरता दिन कठिन हुने बताए। उनले भने, ‘हामी उडानका लागि तयारी अवस्थामा छौँ, तर यसलाई दिगो बनाउनका लागि छुट अनिवार्य भएकाले त्यसका लागि चाँडो निर्णय गरिदिनुपर्यो।’
त्यस्तै, फ्लाई दुबईको टोलीले पोखराबाटै श्रम स्वीकृतिका लागि पहल गरिदिन पनि मुख्यमन्त्रीदेखि मेयरसम्मलाई आग्रह गरेको छ। श्रम स्वीकृति पोखराबाटै हुने भएमा उडान नियमित गर्न सहज हुन्छ, भेटमा शाहीले भने, ‘श्रम स्वीकृति लिन काठमाडौं नै पुग्नुपर्ने बाध्यता रहिरह्यो भने पोखराबाटै उड्नुपर्छ भन्ने नरहन पनि सक्छ, त्यसैले पोखराबाटै श्रम स्वीकृति दिने व्यवस्थाका लागि पहल गरिदिनुपर्यो।’ त्यसबाहेक पोखरा-दुबई उडानको प्रवर्द्धन र प्रचारप्रसारलगायतमा पनि सहयोग गर्न उसले आग्रह गरेको छ।
जवाफमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक सबै सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताए। ‘हामी पोखराबाट अन्तर्राष्ट्रिय उडान नियमित होस् भन्ने चाहन्छौँ,’ उनले भने, ‘त्यसका लागि हामी हाम्रो प्रदेशबाट गर्नुपर्ने सबै सहयोग गर्छौँ र नजिकका प्रदेशका नागरिकलाई पनि पोखराबाटै उड्नका लागि प्रेरित गर्न आवश्यक पहलकदमी लिनेछौँ।’ उनले सरकारी छुट नियमित गर्नुका साथै श्रम स्वीकृति पोखराबाटै लिने व्यवस्थाका लागि पनि पहल गर्ने आश्वासन दिए।
उद्योग तथा पर्यटन मन्त्री यसोदा रिमालले पनि पोखरा-दुबई उडानपछि पोखराको पर्यटनले फड्को मार्ने विश्वास व्यक्त गर्दै सो उडानलाई दिगो बनाउन आवश्यक पहल गर्ने आश्वासन दिइन्। उनले भनिन्, ‘हामीले हाम्रोतर्फबाट आवश्यक सबै सहयोग गर्छौँ, तपाईंहरूले पनि सरकारले दिएको सहयोगअनुरूप यात्रुलाई विभिन्न छुट दिएर आकर्षित गर्नुस्।’
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पनि फ्लाई दुबईका प्रतिनिधिलाई पोखरा-दुबई उडानलाई दिगो बनाउन सुझाव दिए। त्यसका लागि महानगरले आवश्यक सबै सहयोग गर्ने र संघ तथा प्रदेश सरकारले गर्नुपर्ने सहयोगका लागि पहल गर्ने आश्वासन दिए।
निजी क्षेत्रसँगको भेटमा पनि फ्लाई दुबईको टोलीले व्यावसायिक साझेदारीदेखि पोखरा-दुबई उडानका लागि प्रचारप्रसार गरिदिन आग्रह गरेको थियो। उद्योगी, व्यवसायीले पनि यो उडान पोखराका लागि महत्त्वपूर्ण भएकाले सहयोग गर्ने वचन दिए। निजी क्षेत्रको तर्फबाट पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले पोखरा-दुबई उडानका लागि आवश्यक सबै सहयोग गर्ने बताए। उनले भने, ‘यो तपाईँहरूका लागि जति आवश्यक छ, त्यति नै हाम्रो लागि पनि आवश्यक छ। त्यसैले पोखराको दिगो पर्यटनमा सघाउने यस उडानलाई दिगो बनाउन हामी मन, वचन र कर्मले सहयोग गर्छौँ।’
पोखरामा सरकार र निजी क्षेत्रसँगको भेटपछि फ्लाई दुबईको टोली उत्साहित भएर फर्किएको छ। तर मौखिक आश्वासन पाएको सो टोलीले चाँडै औपचारिक निर्णय लिखित भएर आओस् भन्ने अपेक्षा गरेको छ। पोखरा-दुबई उडानका लागि माहोल बनाउन पोखरा आएको सो टोली मुख्यमन्त्री, मन्त्री, मेयरदेखि निजी क्षेत्रसम्मले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएपछि उत्साहित हुँदै फर्किएको पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठले जानकारी दिए। भेटघाटका लागि समन्वय गरेका उनले भने, ‘उहाँहरू पोखरा-दुबई उडानका लागि वातावरण बनेको निष्कर्षसहित उत्साही भएर फर्किनुभएको छ। तर चाँडै औपचारिकतामा बदलियोस् भन्ने उहाँहरूको चाहना छ।’
सेप्टेम्बर २३ देखि उडान सुरु गर्ने फ्लाई दुबईले एक महिना दैनिक एउटा फ्लाइट गर्ने उडान तालिका बनाएर अनुमति लिइसकेको छ। सन् २०२७ सम्मकै लागि टिकट बुकिङ गरिरहेको फ्लाई दुबईका नेपाल जनरल म्यानेजर नवराज शाहीले जानकारी दिए।
प्रकाशित: २३ असार २०८३ २०:२४ मंगलबार
