पोखरामा किन छैनन् अन्तर्राष्ट्रिय चेन होटल ?

पोखरामा किन छैनन् अन्तर्राष्ट्रिय चेन होटल ?


२४ जेठ, पोखरा । नेपालको ‘पर्यटनको राजधनी’ पोखरा र आसपासमा करिब १ हजार २००भन्दा बढी पर्यटकीय होटलहरु छन् । त्यसमध्ये ‘हाइ–इन्ड टुरिस्ट’ अर्थात् खर्चालु पर्यटकका लागि पोखरामा त्यस्ता सीमित होटलहरु छन्, जसले उच्चस्तरको विलासी सेवा सुविधाहरु दिनसक्छन् ।

पोखराको पर्यटकले धेरै रुचाउने फेवा तालको किनार ‘लेकसाइड’मा ३५० डलर मूल्यसम्मका होटल रुमहरु त उपलब्ध छन् , तर  विश्वकै उत्कृष्ट पर्यटकीय पदमार्ग ‘अन्नपूर्ण बेस क्याम्प’ पुग्नेहरुले पनि सेवा लिने पोखराको होटलको आतिथ्यताबारे पर्यटकहरुको मिश्रित प्रतिक्रिया पाइन्छन् ।

‘हाइ इन्ड टुरिस्ट’को प्राथमिकता उनीहरूको कुन देश र जेनेरेसनका हुन् भन्नेमा निर्भर हुन्छ । सामान्यतया अमेरिकी र युरोपेलीहरूले सेवाको गुणस्तर, विशिष्टता र विलासी बन्दोबस्तको उपलब्धताका आधारमा उच्च मूल्य तिर्न तयार हुन्छन् । खर्चालु चिनियाँ पर्यटकहरु फरक र विलासी होटेलहरूमा बसेर खानपिनमा बढी रुची राख्छन् ।

पोखराले यस्ता खर्चालु पर्यटकका लागि विशिष्ट सेवा दिने र उनीहरुबाट राम्रो आय गर्ने बलियो आधार तयार गर्न सकेको छैन । सेवा स्तर सुधार  हुँदै गएपनि विश्वस्तरीय सुविधा दिने होटलको संख्या निकै कम हुँदा पर्यटनबाट थप सम्भाव्य लाभ पनि गुमिरहेको छ ।

यही सम्भावना देखेर सन् १९९८ को नेपाल भ्रमण वर्षको अवसर पारेर पियुषबहादुर अमात्यको लगानीमा पोखरामा दक्षिण एसियाकै विलासीमध्येको एक फूलबारी रिसोर्ट खुलेको थियो । ४ सय रोपनी जग्गा र १६५ कोठाको विशाल यो रिसोर्ट सुरुमा ठीकठाक चल्दै थियो ।

फुलवारी रिसोर्ट

तर होटल तथा कर्मचारी व्यवस्थापनमा समस्या सुरु भएपछि ओरालो लाग्न थाल्यो । चुस्त व्यवस्थापन अभावमा ऋण तिर्न नसकेर थलिएको रिसोर्ट २०६२÷६३ पछि मजदुर आन्दोलनको चर्को मारमा परेर बन्द भयो ।

काठमाडौंका एक होटल व्यवसायी ठूलो लगानीको फूलबारी रिसोर्ट सयममै विदेशी कम्पनीलाई व्यवस्थापन गर्न दिएको भए अहिलेको अवस्था नआउने दाबी गर्छन् । ‘सोल्टी, अन्नपूर्ण जस्ता होटलमा पनि श्रमसम्बद्ध समस्या आएका थिए, उनीहरु विदेशी व्यवस्थापनको कारण पनि सजिलोसँग सम्हालिए,’ उनी भन्छन्,‘ठूलो लगानी भएपछि व्यवस्थापनमा कम्तीमा अन्तर्राष्ट्रिय चेन ल्याउनु उपयुक्त हुन्थ्यो ।’

फूलबारीका लगानीकर्ताले व्यवस्थापनमा विदेशी चेन भित्र्याउने प्रयास २०७१ सालपछि बल्ल थाले । सुरुमा भारतीय क्लार्क समूह र २०७६ मा अन्तर्राष्ट्रिय म्यारियट प्रवेश गराउने सहमति भए पनि अझै ऋण र थप लगानीको मामिलाका कारण अन्योल भइरह्यो । यसले गर्दा पोखराको होटल व्यवसाय अहिलेसम्म ठूलो अन्तर्राष्ट्रिय चेन ब्रान्डबिहीन छ ।

अन्तर्राष्ट्रिय होटल चेन ब्रान्डहरुसँग धेरै देशमा स्तरीय सेवा दिएको अनुभव हुन्छ । उनीहरु ताजा प्रविधि लिएर आउँछन्, जसले होटलको खर्च घटाउन सहयोग पुग्छ भने सेवा स्तरीय बन्न पुग्छ । स्थानीय व्यवस्थापनको कौशललाई समेत आत्मसात गर्दै विश्वस्तरीय सेवाका लागि योजना बनाएर काम गर्नु र लगानीकर्ताको नाफा सुनिश्चितता गर्नु उनीहरुको मूल उद्देश्य हुन्छ । नाफाको निश्चित प्रतिशत पाएने भएकाले आफ्नो आय बढाउनसमेत उनीहरुले गर्ने कडा मिहिनेत लगाउँछन् र होटलको ब्रान्डिङदेखि आन्तरिक नियन्त्रण प्रणालीसम्मलाई चुस्त दुरुस्त बनाउँछन् ।

पोखरामा किन छैनन् अन्तर्राष्ट्रिय चेन होटल ?
पोखराको होटल बाराही

यही कुरा बुझेर नेपालमा पहिलोपटक १९६९ मा काठमाडौंको होटल सोल्टीको व्यवस्थापन भारतीय ओवेराय होटल्सलाई दिइएको थियो । पछि होटल अन्नपूर्णमा भारतको ताज समूहले व्यवस्थापनको जिम्मा पायो ।

पछिल्ला दशकहरुमा काठमाडौंका विभिन्न होटलहरुमा विदेशी लगानी र व्यवस्थापनका चेन ब्रान्ड भित्रिएका छन् । नेपालभित्र मेरियट, अलफ्ट, हायात, ताज, र्‍याडिसन, हिल्टन, शेराटन, थानी इन्टरनेसनल अक्योर, इन्टरकन्टिनेन्टल होटल, दुसित इन्टरनेसनल, सिन्तामणी, मोक्सी, आइटीसी लगायतका ब्रान्ड व्यवस्थापन सम्हाल्ने गरी भित्रिएका छन् । यी होटलहरु मूलतः काठमाडौंमा र केही भैरहवा तथा चितवनमा केन्द्रित छन् । हिमाली जिल्ला मुस्ताङमा अमेरिकन चेन ब्रान्ड सिन्तामणि नै पुगिसकेको छ ।

यस्तो अवस्थामा नेपालको दोस्रो महत्वपूर्ण गन्तब्य मानिएको पोखरामा होटल व्यवस्थापनका लागि नेपाल भित्रिएका ठूला अन्तर्राष्ट्रिय चेनहरु समेत पुग्न नसक्नु चिन्ताको विषय भएको व्यवसायीहरु बताउँछन् । होटल संघ पोखराका पूर्वअध्यक्ष भरतराज पराजुली अहिलेसम्म जे जसो भएपनि पोखरामा क्रमशः राम्र्रा ब्रान्डहरुको होटलहरु पनि आउने विश्वास गर्छन् । पछिल्लो समयमा होटलमा लगानी गर्ने वातावरण सहज नरहेकाले पोखरामा विख्यात होटल चेन ब्रान्ड आउन ढिलाइ भएको उनको बुझाइ छ । ‘अन्तर्राष्ट्रिय विमानस्थल बनिसकेको छ, क्रमशः होटलमा पाहुना बढ्दै छन्,’ उनी भन्छन्, ‘बजार सहज भएपछि लगानी र व्यवस्थापनमा ठूला ब्रान्ड आउन सक्छन् ।’

पोखरामा किन छैनन् अन्तर्राष्ट्रिय चेन होटल ?
पोखराको टेम्पल ट्रि होटल

पोखरेली होटलमा ठूलो लगानी 

पोखरामा पनि केही होटलहरुमा विदेशी लगानी पनि आएका छन्, तर त्यसमा विदेशी ब्रान्डहरु जोडिएका भने छैनन् ।

तर, यो शहरमा भ्रमण गर्नेको संख्या र उनीहरुको खर्च गर्न स्तर हेर्ने हो भने विदेशी चेन ब्रान्ड पोखराका लागि अपरिहार्य रहेको बताउँछन् होटल संघ नेपाल (हान)का अध्यक्ष विनायक शाह । ‘पोखराको पर्यटन उद्योग उकासिंदैछन्, भारतीय पर्यटकको आगमन उत्साहजनक छ,’ उनी भन्छन्, ‘त्यसैले बजारले माग गर्‍यो भने विख्यात चेन ब्रान्डहरु त्यहाँ पनि पुग्छन् ।’

पर्यटकीय नगरी पोखरामा वर्षमा करिब १० लाख पर्यटकले भ्रमण गर्ने अनुमान छ । होटल संघ पोखराका अनुसार यहाँ ४० हजार जनालाई एकै दिन सेवा दिनसक्ने गरी होटल पूर्वाधार तयार छन् । होटलमा भएको लगानी नै ५ खर्ब २५ अर्बभन्दा माथि पुगिसक्यो । तर, पोखरामा  साना र मध्यमस्तरीय होटलहरुमा भएको लगानी धेरै छ ।

अन्तर्राष्ट्रिय विमानस्थल समेत तयार भइसकेको पोखरामा फूलबारी बन्द भएपछि पाँचतारे होटल भने एउटा मात्रै छ । देशभर १७ वटा पाँचतारे होटल भए पनि विरौटामा रहेको ‘पोखरा ग्रान्ड’ मात्रै पोखराको ‘फाइस्टार’ स्तरको होटल हो ।

पोखरामा किन छैनन् अन्तर्राष्ट्रिय चेन होटल ?
पोखराको एक मात्रै पाँच तारे होटल पोखरा ग्रान्ड

अहिलेसम्म पोखरामा ठूला तारे होटलहरुमा लगानी कम छ । नेपालको पर्यटनको राजधानीका रुपमा रहेको पोखरामा देशभित्रकै ठूला चेन होटल ब्रान्ड सोल्टी, सिद्धार्थ जस्ता व्यवस्थापन समूहहरु पनि पुगेका छैनन् । उनीहरुले भविष्यमा लगानीको घोषणा पनि गरेका छैनन् ।

आफ्नै व्यवस्थापनमा सन्तुष्ट

लक्जरी सुविधा रिसोर्टहरु त छन्, तर तिनमा होटलहरुको आफ्नै व्यवस्थापन छ ।  पोखराका पर्यटक स्तरीय होटलहरु अधिकतम् रुपमा पोखरा र आसपासकै व्यवसायीहरुको आफ्नै लगानी र व्यवस्थापन कौशलका भरमा चलाइरहेका छन् ।

पोखराका धेरै साना होटलहरु अहिले पनि होटल तालिम नपाएका अदक्ष कर्मचारी र परिवारका सदस्यहरुको संलग्नताकै जोडबलमा चलिरहेको छन् । मध्यम र ठूला लगानीका होटलहरुमा पनि व्यवस्थापन चुस्त नहुँदा कामदार नटिक्नेदेखि सेवामा अनेकन गुनासो आउन समस्या छ ।

केही समूह र व्यवसायीले राम्रो अभ्यास पनि गरिरहेका छन् । काठमाडौं, चितवन, मुस्ताङ, भैरहवा लगायतका क्षेत्रमा विभिन्न होटलमा लगानी गरेको बाराही ग्रुप पनि पोखरामै जन्मिएर देशभरमा चेन होटल खोलिरहेको समूह हो । सन् १९७९ मा प्याराडाइज गेस्ट हाउसबाट व्यावसायिक यात्रा थालेको बाराही ग्रुपले लेकसाइडमा बाराही पोखरा, सराङकोटमा सराङकोट माउन्टेन लज र बुटिक आवास पोखरा सञ्चालन गरिरहेका छन् । यो ग्रुप अहिले पामेतर्फ बाराही सेदीको नाममा पाँचतारे स्तरको होटल निर्माण गरिरहेको छ ।

पोखरामा किन छैनन् अन्तर्राष्ट्रिय चेन होटल ?
सारङकोट माउन्टेन लज

चितवन, भैरहवा, काठमाडौं लगायतका सहरमा चेन निर्माण गरेको अर्को होटल ल्याण्डमार्क पनि हो । २०४८ मा पोखराबाट हस्पिटालिटी व्यवसाय सुरु गरेको सम्राट ग्रुपले चारतारे होटलमा आफ्नो वैभव विस्तार गरिरहेको छ । अब होटल ल्याण्डमार्क बर्दियामा पनि खोल्ने तयारी यो समूहले गरेको छ ।

पोखराको फेवाताल किनार मिचेको विवादमा फसेको वाटर फ्रन्ट रिसोर्ट नेपालकौ केजिएच ग्रुपको व्यवस्थापनमा सञ्चालनमा छ । पर्यटन व्यवसायी कर्ण शाक्यको लगानी रहेको यो रिसोर्टसहित पोखरामा सीमित होटल तथा रिसोर्टहरु देशभित्रका चेन बिजनेसमा जोडिएका छन् ।

पोखरामा नेपालको होटलमा लगानी तथा व्यवस्थापन गर्ने अर्को समूह पौवा पनि छ । सो समूहले पोखराको लेकसाइडमा होटल पौवा खोलेको छ । यस्तै पोखराको लक्जरी रिसोर्ट फि-टेल लेजको व्यवस्थापन ‘अन्नपूर्ण’ले सम्हालेको छ ।

पोखरामा किन छैनन् अन्तर्राष्ट्रिय चेन होटल ?
होटल सरोबर

पोखरामा यसअघि अन्तर्राष्ट्रिय चेन ब्रान्डले व्यवस्थापन गरेको सीमित उदाहरण छन् । २०७६ सालदेखि सञ्चालनमा आएको लेकसाइडको चारतारे ‘होटल सरोबर’मा स्विस इन्टरनेसनल होटल एन्ड रिसोर्टले व्यवस्थापन सम्हालेको थियो । तर, यो सहकार्य लामो भएन र अहिले होटल आफ्नै व्यवस्थापनमा चलिरहेको छ ।

अहिले काठमाडौंका सांग्रिला होटल चलाइहरेको समूहले पोखराको सांग्रिला भिलेज रिसोर्ट र बेगनासमा बन्दै गरेको सांग्रिला बेगनास रिसोर्टमा अमेरिकाको इन्टरकन्टिनेन्टल ग्रुप (आइजीएच)को प्रवेश गराउँदैछ ।

पोखरामा लगानी गर्न ठूलो व्यापारिक घरना र व्यवसायीले चासो नदेखाएका होइनन् । सोल्टी होटलले पोखराको खपौंदीमा निर्माण थाल्ने योजनासहित जग्गा लिएको छ । खपौंदीमै पोखराकै व्यावसायिक समूह ‘लक्ष्मी ग्रुप’ले पनि ठूलो लगानीको होटल खोल्ने योजना बनाएको छ ।

कास्कीको धम्पुसमा होटल द्वारिकाले व्यवसाय बिस्तार गर्ने योजना अगाडि बढाएको छ ।  बेगनासमा नेपाल उद्योग वाणिज्य संघका सुरज वैद्य, पुम्दीभुम्दीमा योगेन्द्र शाक्यले पनि होटल निर्माणको तयारी गरेका छन् ।

तर, अहिलेसम्म किन अन्तर्राष्ट्रिय चेन होटल र व्यवस्थापनमा अन्तर्राष्ट्रिय ब्राण्ड भित्रिएका छैनन् त ? ‘त्यो खालका पर्यटकको चाप र डिमान्ड नभएर पनि हुन सक्छ र अर्को पोखरामा अन्तर्राष्ट्रियस्तरका होटलहरु नबनेका कारण पनि व्यवस्थापनमा अन्तर्राष्ट्रिय ब्रान्ड नआएका होलान्,’ बाराही ग्रुपका कार्यकारी निर्देशक तथा होटल संघका केन्द्रीय सदस्य विप्लव पौडेल भन्छन्,‘लगानीको सुरक्षाका दृष्टिकोणले पनि पोखरा प्रमुख रोजाइ नबनेको हुन सक्छ, अब भने त्यो शून्यता हट्ने विश्वास छ ।’पोखरामा किन छैनन् अन्तर्राष्ट्रिय चेन होटल ?

किन चाहिन्छ चेन ?

यसरी अन्तर्राष्ट्रिय चेन ब्रान्डबिहीन हुँदा पोखरामा पुग्ने पर्यटकलेसमेत आफ्नो ‘फेभरेट’ ब्रान्डको सुविधा पाउन सकेका छैनन् । कुनै शहरमा अन्तर्राष्ट्रिय चेन होटल पुग्दा त्यहाँको पर्यटकीय सम्भावना थप उजागर हुने मानिन्छ । चेन ब्रान्डहरुको गर्ने मार्केटिङ र त्यसको बलमा गन्तब्यमा विभिन्न गतिविधिहरु बढ्छ । त्यसले खर्चालु पर्यटकको संख्या बढाउँछ र गन्तब्यको प्रवर्द्धनमा ठूलो मद्धत पुग्छ । जति खर्चालु पर्यटकहरु गन्तब्यमा आउँछन्, त्यहाँ प्रतिस्पर्धाको वातावरण बढ्ने र थप आर्थिक लाभ हासिल हुने वातावरण तयार हुन्छ ।

चेन होटलहरु लगानी र व्यवस्थापनका संलग्न भएमा त्यसले सेवास्तर उकास्न र गन्तव्यप्रतिको धारणामा परिवर्तन गर्न पनि सहयोग गर्छ । सेवा पनि अन्तर्राष्ट्रिय स्तरको हुने हुँदा जतिसक्दो धेरै अन्तर्राष्ट्रिय चेन भित्रिनु लाभदायक मानिने विज्ञहरु बताउँछन् ।

‘ब्रान्डले धेरै कुरा फरक पर्छ, नाम चलेका ब्रान्डहरु धेरै देशमा र शहरमा चेन होटलहरु व्यवस्थापन गरिरहेका हुन्छन्,’ हानका अध्यक्ष विनायक शाह भन्छन्,‘यसले नेटवर्किङ बलियो हुने भएकाले ब्रान्ड रुचाउने र त्यसप्रति प्रतिवद्ध ग्राहकलाई गन्तब्यसम्म लयाउनर स्तरीय सेवा दिन उनीहरुको महत्वपूर्ण भूमिका हुन्छ ।’

चेन ब्रान्डका ‘लोयल कस्टमर’ हुने भन्दै शाहले कोकाकाला रुचाउनेले संसारको जुनसुकै कुनामा पुगेपनि कोकाला नै खोजेजस्तो आफ्नो रुचिको होटल ब्रान्ड खोज्ने पर्यटकको संख्या धेरै भएको बताए । त्यस्ता ग्राहकलाई स्पेसल ट्रिटमेन्ट समेत दिने गरेको र ग्राहक ल्याउन पनि यस्ता ब्रान्डलाई ठूलो संघर्ष गर्नुनपर्ने अवस्था रहेको उननको भनाइ छ ।

पोखरामा किन छैनन् अन्तर्राष्ट्रिय चेन होटल ?

‘पोखरामा रहेको अन्तर्राष्ट्रिय विमानस्थल चलाउनपर्‍यो, यसले बजारलाई बढाउन सघाउँछ, बजार देखेपछि अन्तर्राष्ट्रिय ब्रान्डहरु पनि आउँछन्,’ शाह भन्छन्,‘अहिले बजार देखेपछि मुस्ताङमा अमेरिकन सिन्तामणि पुगिसक्यो, पोखरामा पनि विस्तारै अन्तर्राष्ट्रिय ब्रान्डहरु आने वातावरण बनाउनुपर्छ ।’ भारतीय र चिनियाँलाई मनपर्ने ठाउँ भएपनि स्थलमार्गबाट आउन झन्झट भएकाले हवाई पूर्वाधारबाट नै जोड्ने हो भने पोखरामा पर्यटक आगमन दोब्बर बनाउन सकिने अध्यक्ष शाहले बताए ।

व्यवसायीहरु चेन ब्रान्डलाई प्रोत्साहन गर्न केही नीतिगत व्यवस्थाहरुमा पनि परिवर्तन आवश्यक देख्छन् । नेपालले अन्तर्राष्ट्रिय चेन ब्रान्डले होटलको नाफाको ५ प्रतिशत मात्रै लैजान पाउँछन् । यसले गर्दा कतिपय ब्रान्डले राम्रो नाफा नहुने ठाउँमा लगानी र व्यवस्थापन गर्न आउन हिच्किचाउने अवस्था समेत रहेको हानका अध्यक्ष शाहले बताए । ‘हाम्रो देशकोभन्दा अन्यत्रको होटल व्यवस्थापन गर्दा बढी लाभ हुन्छ भने उनीहरुले कसरी  यहाँ आउँछन्,’ उनी भन्छन्,‘त्यसैले चेन ब्रान्ड र लगानीकर्ताबीच हुने सम्झौताका आधारमा नाफा लैजान दिने व्यवस्था गर्नुपर्छ ।’

ठूला होटलमा लगानी बढाइरहेका व्यवसायी शशिकान्त अग्रवाल होटलमा चेन ब्रान्डलाई जोड्दा हुँदा विदेशी पर्यटकलाई आकर्षण गर्न सहज हुने बताउँछन् । विश्वव्यापी रुपमा पर्यटकले चर्चित ब्रान्डका होटल नै खोज्ने क्रम बढेको भन्दै यस्ता ब्रान्डल होटल र गन्तब्यप्रतिको विश्वासलाई बढाउन सघाउने बताए । व्यवसायीलई आफ्नो लगानीको प्रतिफल पनि राम्रो र छिटो पाउन अन्तर्राष्ट्रिय चेन ब्रान्ड सहयोगी हुने उनको भनाइ छ । ‘चेन होटल जति धेरै आउँछन्, त्यसले सबै पक्षलाई फाइदा हुन्छ,’ उनले भने,‘अन्तर्राष्ट्रिय स्तरमा पनि चेन होटलहरुको उपस्थितिले राम्रो सन्देश दिन्छ ।’

नेपाल आउने वार्षिक १२ लाख विदेशी पर्यटकमध्ये ४० प्रतिशत पर्यटक आइपुग्ने अनुमान गरिएको पोखरामा अहिलेसम्म एउटा पनि अन्तर्राष्ट्रिय चेन होटल नहुनु दुःखद भएको बताउँछन्, रेस्टुरेन्ट तथा बार एसोसियसन पोखराका अध्यक्ष नरेश भट्टराई । यसअघि होटलमा ठूलो लगानी गर्न र ठूला पूर्वाधार तयार गर्न पोखरामा भवन निर्माणसम्बद्ध नीतिले समस्या पारेकाले पनि समस्या भएको उनले बताए ।पोखरामा किन छैनन् अन्तर्राष्ट्रिय चेन होटल ?

साढे २ तलासम्म मात्रै भवनको नक्सापास गर्ने पोखरा महानगरको नीतिले ‘हाइराइज बिल्डिङ’ (गगनचुम्बी भवन) बनाउन नै नपाइने अवस्था रहेको उनले स्मरण गरे । विदेशी होटल ब्रान्डले भवनसहितको पूर्वाधारलाई समेत महत्व दिने गरेको भन्दै उनले धेरै परिमाणका जग्गा किनेर भवनसहितको पूर्वाधार तयार गर्नुपर्ने अवस्थाले वातावरण बन्न नसकेको उनको विश्लेषण छ । जग्गाको मूल्य उच्च र उपलब्धता असहज हुँदा लगानीको वातावरण पनि बन्न नसकेको व्यवसायी भट्टराईको भनाइ छ ।

अग्ला भवन बनाएका व्यवसायीलाई नक्सापास नभएको भागको आधारमा बैंक ऋणसमेत  प्राप्त नहुने हुँदा लगानीको अवस्था सहज थिएन । अहिले महानगरपालिकाले भवनको नक्सापाससम्बद्ध व्यवस्था संशोधन गरेर ५ तालासम्म भवन निर्माण गर्न दिने गरी मापदण्ड बनाएको छ । यसले अब होटल पूर्वाधारको लगानी सहज हुने व्यवसायीहरुको अपेक्षा छ ।

‘विस्तारै पोखरामा राष्ट्रिय अन्तर्राष्ट्रिय चेन ब्रान्डहरु आउनुपर्छ, यहाँ सम्भावना धेरै छ,’ भट्टराई भन्छन्, ‘अब प्रख्यात चेन ब्रान्डहरु आउन थालेका छन्, थप ब्रान्डलाई ल्याउने वातावरण तयार गर्नुपर्छ ।’

पोखराको पदचाप-१

पोखराको पदचाप-२

पोखराको पदचाप-३

पोखराको पदचाप-४

पोखराको पदचाप-५

पोखराको पदचाप-६

पोखराको पदचाप-७





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School