पुरुष भन्दा महिलालाई धेरै देखिने थाइराइड रोगबारे विस्तृतमा जानौं


News Summary

Generated by OK AI. Editorially reviewed.

  • विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर करिब ४ करोड २० लाख मानिसहरू थाइराइडबाट प्रभावित छन्।
  • नेपालमा गरिएको अध्ययनले ४.३२ प्रतिशत जनसंख्यामा थाइराइड रोग देखिएको र महिलामा दोब्बर रहेको देखाएको छ।
  • समयमै जाँच र उपचारले जटिलता र जीवनस्तर सुधार गर्न मद्दत गर्दछ, चिकित्सकले नियमित फलोअप गर्न सुझाव दिन्छन्।

मे २५- विश्व थाइरोइड दिवस ।विश्व थाइराइड दिवसले हामीलाई थाइराइडरोगप्रति सचेत रहन र समयमै जाँच गराउन प्रेरित गर्छ। यसबारे जानकारी राखेर समयमै पहिचान गरी निदान गर्न सके परिवार तथा समुदायमा थाइराइडरोगको बोझ कम गर्न सक्छौँ।

के हो थाइराइड ?

थाइराइड एउटा सानो तर अत्यन्त महत्वपूर्ण ग्रन्थी हो । हाम्रो घाँटीमा रहेने यो पुतली आकारको हुन्छ । शरीरको मेटाबोलिजम (ऊर्जा), मुटुको चाल, तापक्रम, शारीरिक वृद्धि जस्ता धेरै महत्त्वपूर्ण कार्यहरूलाई नियन्त्रण गर्दछ।

थाइराइड ग्रन्थीले उत्पादन गर्ने हर्मोनको कमी वा बढी उत्पादनले विभिन्न स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ। थाइराइडका गड्बडी बुझ्न तलका २ वटा केसहरू हेरौँ ।

केस १ : सुस्तता र चिसोपनको गुनासो

दोलखाको एक गाउँबाट आएकी थिइन् ४५ वर्षीया राममाया । उनले पछिल्लो ६ महिनादेखि निरन्तर थकित महसुस गरिरहेकी थिइन् । जाडो नलागे पनि उनलाई सधैं चिसो लाग्थ्यो र उनको छाला सुख्खा हुँदै गएको थियो। कब्जियतको समस्या पनि थियो र तौल बढेको थियो, यद्यपि उनले धेरै खाएकी थिइनन् ।

उनको महिनावारी पनि अनियमित हुनथालेको थियो। परिवारले सुरुमा उनी सामान्य रूपमा कमजोर भइन् होला भन्ठाने, तर जब उनको लक्षणहरू झन् बिग्रँदै गए, तब उनी चिकित्सककहाँ पुगिन्। साधारण रक्त परीक्षणले नै उनलाई हाइपोथाइराइडिज्म (थाइराइड हर्मोनको कमी) भएको पत्ता लाग्यो।

केस २ : मुटुको धड्कन र छटपटी

एक कलेजमा अध्ययनरत २८ वर्षीया सिर्जनालाई पछिल्लो केही महिनादेखि अत्याधिक बेचैन महसुस हुन्थ्यो । उनको मुटुको धड्कन सधैं तेज हुन्थ्यो, हातहरू काँप्थे र अचानक तौल घट्दै गयो । यद्यपि उनले सामान्य भन्दा बढी खाइरहेकी थिइन् ।

उनलाई निद्रा नलाग्ने र गर्मी सहन नसक्ने समस्या पनि थियो । सुरुमा उनलाई तनावका कारण यस्तो भएको होला भन्ने लागेको थियो । तर, जब उनको लक्षणहरू झनै बढ्दै गए, तब उनी डाक्टरकहाँ गइन् । उनलाई गरिएको परीक्षणले हाइपरथाइराइडिज्म (थाइराइड हर्मोनको बढी उत्पादन) भएको पुष्टि भयो ।

यी दुईवटा  घटनाले थाइराइड रोगका विविध लक्षणहरूलाई स्पष्ट पार्दछ, जुन प्रायः अन्य सामान्य स्वास्थ्य समस्याहरूसँग मिल्दोजुल्दो हुन सक्छ।

एउटा सामान्य व्यक्तिले बुझ्ने गरी दुई रोग बीचको भिन्नतालाई तलको तालिकामा प्रस्तुत गरिएको छ

थाइराइड रोगको अवस्था

विश्व स्वास्थ्य संगठन डब्लुएचओका अनुसार विश्वभर करिब ४ करोड २० लाख मानिसहरू थाइराइडरोगबाट प्रभावित छन्। अमेरिकन थाइराइड एसोसिएसन (एटीए) का अनुसार, लगभग २ करोड अमेरिकीहरूलाई कुनै न कुनै प्रकारको थाइराइड रोग छ छ । तर तीमध्ये ६० प्रतिशतले आफूलाई रोग लागेकोबारे थाहा पाउँदैनन् ।

नेपालमा गरिएको एक अध्ययनअनुसार, सामान्य जनसंख्यामा थाइराइड रोग ४.३२ प्रतिशत छ, जसमध्ये सबक्लिनिकल हाइपोथाइराइडिज्म धेरै (७२.४१ प्रतिशत) छ।

पुरुषहरूको तुलनामा यो रोग महिलामा दोब्बर प्रचलित छ र उमेर बढ्दै जाँदा जोखिम बढ्छ । नेपालको हिमाली र पहाडी क्षेत्रमा आयोडिनको कमीले थाइराइड रोगको जोखिम बढाएको छ।

जनचेतना किन महत्वपूर्ण छ ?

थाइराइड रोगका लक्षणहरू अस्पष्ट र विविध हुने भएकाले धेरै व्यक्तिहरूलाई वर्षौंसम्म आफूलाई यो रोग लागेको थाहा नहुन सक्छ। समयमै रोग पत्ता नलाग्दा र उपचार नहुँदा विभिन्न जटिलताहरू निम्तिन सक्छन्। सचेतनाले मानिसहरूलाई आफ्ना लक्षणहरू पहिचान गर्न र समयमै चिकित्सा सहायता खोज्न प्रोत्साहन गर्छ। यसले गर्दा रोगको जटिलताबाट बच्न र जीवनको गुणस्तर सुधार गर्न मद्दत पुग्छ।

थाइराइड रोगका जटिलताहरू

-मुटु रोगहरू (जस्तै, हृदयघात, अनियमित मुटुको धड्कन)

-उच्च रक्तचाप

-बाँझोपन/ गर्भपतन

-मानसिक स्वास्थ्य समस्याहरू (डिप्रेसन, चिन्ता)

-गलगाँड

-मिक्सिडेमा कोमा (हाइपोथाइराइडिज्मको एक गम्भीर अवस्था)

-थाइराइड स्ट्रोम (हाइपरथाइराइडिज्मकोको एक गम्भीर अवस्था)

अवस्था अनुसार थाइराइड रोगको प्रभाव

गर्भवती महिलामा

गर्भावस्थामा थाइराइड हर्मोनको सन्तुलन महत्वपूर्ण हुन्छ। गर्भवती महिलामा उपचार नगरिएको हाइपोथाइराइडिज्मले गर्भपात, समयपूर्व जन्म, शिशुको कम तौल र शिशुको मानसिक विकासमा समस्या निम्त्याउन सक्छ । हाइपरथाइराइडिज्मले पनि शिशुको तौलमा कमी, आमामा प्रि-एक्लाम्सिया जस्ता जटिलताहरू निम्त्याउन सक्छ।

बच्चाहरूमा

जन्मजात हाइपोथाइराइडिज्मले बच्चाको शारीरिक र मानसिक विकासमा गम्भीर असर पार्न सक्छ। बालक सुस्त मनस्थितिका  हुने, समयमै उपचार नभएमा स्थायी मानसिक अपाङ्गता पनि हुन सक्छ। बढ्दो उमेरका बच्चाहरूमा वृद्धिमा ढिलाइ, विद्यालयमा कमजोर प्रदर्शन र तौल धेरै बढ्ने जस्ता समस्याहरू देखिन सक्छन्।

किशोरीहरूमा

यौवनावस्थामा शरीरमा धेरै परिवर्तनहरू भइरहेका हुन्छन्। थाइराइड रोगले महिनावारी अनियमितता, मनोवृत्तिमा परिवर्तन, तौलमा समस्या र विद्यालयको प्रदर्शनमा असर पार्न सक्छ।

वयस्कहरूमा

वयस्कहरूमा थाइराइड रोगले ऊर्जाको कमी, तौलमा परिवर्तन, मुटुको समस्या, कोलेस्टेराेलको स्तरमा वृद्धि, यौन स्वास्थ्यमा असर र मानसिक स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ।

विशेष विषयहरू

हृदय रोग र थाइराइड

हाइपोथाइराइडिज्मले कोलेस्टेराेलको स्तर बढाउँछ र रक्तचाप वृद्धि गर्छ, जसले हृदय रोगको जोखिम बढाउँछ। हाइपरथाइराइडिज्मले मुटुको धड्कन अनियमित (एट्रियल फिब्रिलेसन) र उच्च रक्तचाप निम्त्याउँछ।

डिसलिपिडेमिया

हाइपोथाइराइडिज्मले खराब कोलेस्ट्रोल(एलडीएल) र ट्राइग्लिसराइडको स्तर बढाउँछ, जसले रक्तनलीहरूमा अवरोध निम्त्याउँछ।

वृद्धावस्थामा

वृद्ध व्यक्तिहरूमा सबक्लिनिकल हाइपोथाइराइडिज्म सामान्य हुन्छ, तर थाइराइड स्टिमुलेटिङ हर्मोन(टीएसएच) स्तर ५ भन्दा माथि हुँदा सधैं उपचार आवश्यक हुँदैन, विशेष गरी यदि लक्षणहरू छैनन् भने।

गर्भावस्थामा

गर्भावस्थामा टीएसएच स्तर २.५ भन्दा कम राख्नुपर्छ, विशेष गरी थाइराइड पेरोक्सिडेज(टीपीओ) एन्टिबडी पोजेटिभ भएमा, गर्भपतन र भ्रूणको विकासमा पुग्ने जोखिम कम गर्न।

टीएसएच ५ को उपचार

सबै अवस्थामा टीएसएच ५ हुँदा उपचार आवश्यक हुँदैन। वृद्धहरू, मुटुरोग भएका बिरामी वा लक्षणविहीन बिरामीहरूमा ‘पर्ख र हेर’ रणनीति अपनाउन सकिन्छ।

टीपीओ र अन्य एन्टिबडीहरूको महत्त्व

टीपीओ एन्टिबडीको उच्च स्तरले हासिमोटो थाइराइडाइटिस र सबक्लिनिकल हाइपोथाइराइडिज्मको प्रगतिलाई संकेत गर्छ। गर्भावस्थामा टीपीओ पोजेटिभ भएमा लेभोथाइराक्सिन उपचारले जटिलताहरू कम गर्न सक्छ।

थाइराइड रोग भएका बिरामीले ध्यान दिनुपर्ने कुराहरू

-चिकित्सकले सिफारिस गरेको औषधि (जस्तै लेभोथायरोक्सिन) समयमै र सही मात्रामा लिनुहोस्। औषधि खाली पेटमा, प्रायः बिहान खानु उपयुक्त हुन्छ।

-हाइपोथाइराइडभएकाले आयोडिनयुक्त खाना (जस्तै समुद्री माछा, दूध, नुन) सन्तुलित मात्रामा खानुहोस्। हाइपरथाइराइडभएकाले आयोडिन कम भएको खाना रोज्नुहोस्।

-फाइबरयुक्त खाना, हरियो सागसब्जी, फलफूल, र साबुत अन्न खानुहोस्।

-प्रशोधित खाना र चिनी सकेसम्म कम गर्नुहोस्।

-थाइराइड हर्मोन स्तर (टीएचएस, टी३, टी४) नियमित जाँच गर्नुहोस् र चिकित्सकको सल्लाह लिनुहोस्।

-हल्का व्यायाम (जस्तै हिँड्ने, योग) ले तौल नियन्त्रण र ऊर्जा स्तर कायम राख्न मद्दत गर्छ। हाइपरथाइराइड भएकाले अत्याधिक व्यायामबाट बच्नुहोस्।

-ध्यान, योग र गहिरो सास लिने अभ्यासले तनाव कम गर्न सकिन्छ, जुन थाइराइडरोगमा महत्त्वपूर्ण छ।

-कतिपय खानाबाट सावधानी अपनाउनुपर्छ । ब्रोकली, बन्दागोभी, काउली जस्ता खानाले थाइराइडकार्यलाई असर गर्न सक्छ, विशेष गरी काँचो खाँदा। यिनलाई पकाएर खानु राम्रो हुन्छ।

-धूम्रपान र मदिराबाट टाढा रहनुहोस्, यिनले थाइराइडरोगलाई थप जटिल बनाउन सक्छ।

-पर्याप्त र गुणस्तरीय निद्रा लिनुहोस्, किनकि थाइराइडले निद्रा र ऊर्जा स्तरलाई असर गर्छ।

-कुनै नयाँ लक्षण (जस्तै थकान, तौल बढ्ने/घट्ने, मुटुको धड्कनमा परिवर्तन) देखिए तुरुन्त चिकित्सकलाई भेट्नुहोस्।

अन्य औषधिको सेवन गर्दा समय मिलाएर सेवन गर्नुहोस् । अन्य औषधि (जस्तै क्याल्सियम, फलामको चक्की) ले थाइराइडऔषधिको प्रभावलाई कम गर्न सक्छ। यस्ता औषधि कम्तीमा ४ घण्टाको फरकमा लिनुहोस्।

चिकित्सकको भूमिका

थाइराइड रोग सम्बन्धी उपचार गर्ने चिकित्सकले यस रोगबारे जागरूकता फैलाउन, सही निदान गर्न, उचित उपचार प्रदान गर्न र समुदायलाई मार्गदर्शन गर्न महत्त्वपूर्ण भूमिका खेल्छन्।

-थाइराइड रोगका लक्षणहरूबारे जनचेतना फैलाउने।

– टीएसएच, टी३, टी४ र टीपीओ एन्टिबडी परीक्षणहरू मार्फत सही निदान गर्ने।

-जोखिममा रहेका व्यक्तिहरू (परिवारमा थाइराइड रोगको हिस्ट्री भएका, गर्भवती महिला, नयाँ जन्मेका शिशु) लाई परीक्षण गराउन प्रोत्साहित गर्ने।

-लेभोथाइराक्सिन वा एन्टिथाइराइड औषधिहरूको सही प्रयोग र नियमित अनुगमन गर्ने।

– सन्तुलित आहार, नियमित व्यायाम, तनाव कम गर्न योग, ध्यान र स्वस्थ जीवनशैली अपनाउन प्रोत्साहन गर्ने ।

किन महत्वपूर्ण छ फलोअप ?

थाइराइड रोगको उपचार जीवनभर चल्ने प्रक्रिया हो । नियमित फलो-अपले औषधिको मात्रा सही छ कि छैन, हर्मोनको स्तर नियन्त्रणमा छ कि छैन, र कुनै जटिलताहरू विकसित भइरहेका छन् कि छैनन् भनी सुनिश्चित गर्छ।

फलोअप कसरी गर्ने ?

सुरुमा, डाक्टरले औषधिको मात्रा समायोजन गर्न प्रत्येक ४-६ हप्तामा रक्त परीक्षण र फलो-अपको सिफारिस गर्न सक्छन्। एक पटक हर्मोनको स्तर सामान्य भएपछि, प्रायः हरेक ६-१२ महिनामा नियमित जाँच (टीएचएस परीक्षण) र चिकित्सकसँगको परामर्श आवश्यक हुन्छ। यदि लक्षणहरू पुनः देखा परेमा वा परिवर्तन भएमा तुरुन्तै चिकित्सकलाई भेट्नुपर्छ।

राज्यस्तरमा गरिनुपर्ने कार्यहरु

– ग्रामीण र सहरी क्षेत्रमा थाइराइड रोगका लक्षण, जोखिम कारक, र उपचारका बारेमा जानकारी फैलाउनुपर्छ।

-स्वास्थ्यकर्मीहरूलाई थाइराइड रोगको पहिचान र प्रारम्भिक व्यवस्थापनका बारेमा तालिम दिनुपर्छ।

-दुर्गम क्षेत्रहरूमा समेत थाइराइड परीक्षण (टीएचएस, टी३, टी४) का लागि सस्तो र पहुँचयोग्य प्रयोगशाला सेवाहरू उपलब्ध गराउनुपर्छ।

-थाइराइड औषधीहरूको सहज र सस्तो उपलब्धता सुनिश्चित गर्नुपर्छ ।

-नेपालमा थाइराइड रोगको वास्तविक प्रचलन, जोखिम कारक र रोकथामका उपायहरूबारे थप अनुसन्धान आवश्यक छ ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School