पुराना पदमार्ग सम्झँदै


बिहानको सात बज्यो।

काठमाडौंको खुसिबुस्थित टुरिस्ट बसमा १५ मिनेटअगाडि नै चढेर बसेको छु। हप्तादिन अगाडि मात्र विवाह बन्धनमा बाधिएका स्पेनी जोडीसँग। बस गुड्ने छाँटकाँट देखाएको छैन अझै। समयको हकमा यस्तै पर्खाइ बेहोर्ने गरेको छु मैले। आफू ठिक समयमा पुग्छु। तर प्रायः सबै ठाउँमा समयको ख्यालै हुँदैन। सभा समारोहको समय त कुरा गरिसाध्य छैन। यो पर्यटकको समयसँग जोडिएको मामलामा त समयको ख्याल गर्नुपर्ने हो। तैपनि १५ मिनेट त ढिला भइहाल्यो।

विदेशी नव जोडी पाहुना लिएर पूर्ण प्रकृतिको चास्नी चखाउन गुड्दै छु। हिँड्दैछु ऋषिहरूको तपोभूमि देखाउन। नेपाली भूमिको विख्यात गन्तव्य अन्नपूर्ण परिक्रमाका लागि पथप्रदर्शक भएर जाँदैछु, हाम्रा रमणीय भूमिमा हनिमुन मनाउन आएका इभा र क्षमालाई लिएर।

थानकोट चेकपोस्ट, नागढुङ्गाको घुम्ती हुँदै अहिले नौबिसेको बाटोमा गुडाउँदै छ हामीलाई। पोखरा पुग्ने बसले नौबिसे, मुग्लिङ हुँदै साढे तीन बजे डुम्रे झारिदियो हामीलाई। पहिलेको पुरानो यो बजारले त्यो बेलाको तस्बिर उतार्‍यो सम्झनाको पर्दामा। तनहुँ–लमजुङको प्रमुख व्यापारिक केन्द्र यो डुम्रे बजारबाट मनाङका अति विकट ठाउँसम्म सरसामान पैठारी हुन्थ्यो। यही ठाउँ हो जहाँ छोटा कछाड, जुत्ताबिनाका खुट्टाका भरियाहरू आङमा कुर्कुच्च भारी बोकेर बाटो नापिरहेका हुन्थे।

आज बेँसीसहर बस्नुपर्ने हो। तर भ्रमण योजनानुसार जानु छ, अझै तीन घण्टा लगाएर धारापानीसम्म। खाना खाने कर्म सक्दा एक घण्टा बितेछ। धारापानी जाने जिप छैन। अब हामी यहींकै लोकल गाडीमा खाँदिएर भुलभुलेसम्मको यात्रा तय गर्दैछौं।

बेँसीसहरबाट गुडेको पाँच मिनेटमै भलाम खोलाको पुल तर्नासाथ पहिलोपटक मनास्लु हिमाल (८१६३ मिटर) देखियो। विश्वको आठौं अग्लोमा दरिएको यो चर्चित हिमालको चुचुरो सर्वप्रथम जापानी नागरिक तोसिओ इमानिसी र ग्याल्जेन नोर्बु शेर्पाले चुमेका थिए, १९५६ मे ९ मा। ‘यात्राभरि तिमीहरूलाई मेरो साथ रहनेछ’ आफन्तको आत्मीयता साधेर बोलेझैं लाग्यो। हुन पनि हामीलाई साथ दिइरह्यो मनास्लुले आजको वासस्थान भुलभुलेसम्म नै।

भुलभुलेभन्दा अगाडि खुदी भन्ने गाउँमा टुरिस्ट चेक पोस्ट, लमजुङ लेखिएको थियो। ओर्लिएर नाम इन्ट्री गराउन पाँच मिनेट पनि लागेन। बेँसीसहरबाट नौ किलोमिटर परको भुलभुले गाउँ एक घण्टामै पुर्‍यायो बसले। शान्त छ यहाँको वातावरण। शान्तिलाई कसैले खलबल्याउन सक्छ भने त्यो मस्र्याङ्दीको सुसाइ मात्र हुनसक्छ। सफासुग्घरका हिसाबले समेत उत्तम रहेछ यो ठाउँ।

नास्तापछि बिहान सवा आठ बजे भुलभुले छोड्यौं। तर पछिसम्म नभुल्ने गरी। उकालो तान्दैछ जिप। बाटोमास्तिर डरलाग्दा चट्टाने पहाड छाति तन्काएर बसेका छन्। पहाडका टुप्पोमा रुख झन्डा भएर ठडिएका छन्। यिनै भिराला चट्टाने पहाडको घाँचैघाँच भएर घिस्रिएको छ जिप। तल दायाँतिर मस्र्याङ्दी नदी बगेको छ। नदीमास्तिर भिरालो भूमि प्रायः उत्तिस, चिलाउने र बढरका बोटले ढाकेको छ। मोटर बाटोले स्वरूप फेरिदिएको छ यो क्षेत्रको। फेरिएका छन् यताका भूआकृति।

सिसाको झ्यालबाट बाहिरको संसार हेर्दैछु। ठिक पारिपट्टि पुरानो बाटोमा पर्ने ङादी गाउँ देखापर्‍यो। पुराना सम्झना बिउँझाउनेगरी। त्यो त्यही ङादी गाउँ हो, जहाँ बहुप्रतिभाशाली व्यक्तिको जन्म भएको थियो। अर्थात् नेपालको पहिलो पर्यटनमन्त्री, योजनाविद्, भूगोलविद्, हिमालका ज्ञाता डा. हर्क गुरुङको जन्मगाउँ। पुराना दिनमा पर्यटकले अनिवार्य रूपमा अन्नपूर्ण परिक्रमा गर्दा हिँड्नुपर्ने एकमात्र पदमार्ग थियो यो। अहिले गुड्ने मोटर बाटो बनेपछि यी बाटा बिराना बन्दै गए।

फेरि विगतका तस्बिर उतार्ने दृश्य देखा प¥यो, बाहुनडाँडा गाउँ भएर। राष्ट्रको गौरव राष्ट्रकवि माधव घिमिरेको जम्म थलो। सुविधासम्पन्न मुलुक अमेरिकाका माइक्रोसफ्टका निर्देशक जोन उडलाई ‘रुम टु रिड’ का संस्थापक बन्नका लागि प्रेरक गाउँ। जसले पुस्तकबाट बञ्चित विश्वभरका बालबालिकालाई पढ्ने प्रबन्ध मिलाए।

जिपमै बसेर सोच्दैछु, साच्चै ओजपूर्ण ‘माइक्रोसफ्टदेखि बाहुनडाँडासम्म’ पुस्तकमार्फत उनले भसक्कै ख्याति र आत्मसन्तुष्टि कमाए। सुरुमा पर्यटक भएर अन्नपूर्ण परिक्रमाको क्रममा बाहुनडाँडामा बास बस्न आइपुगेका थिए उनी। बसेको होटलका एक बालश्रमिकले उनलाई बियर उपलब्ध के गरायो, उसमा एकाएक तिनीहरूलाई नै पढाएर आँखा खोलिदिने इच्छाशक्ति जाग्यो। छँदाखादाको जागिर चटक्कै छोडे। अनि कम्मर कसे, शिक्षाको ज्योति छरेर संसार उज्यालो पार्न। हुन पनि उनले ‘रुम टु रिड’ संस्थामार्फत आजका दिनसम्म लाखौं पुस्तक दान गरे। हजारौं पुस्तकालय र सयौं स्कुल बनाए।

बोत्तल बिसौनीपछि ठाडो लिलिभिर देखापर्‍यो। यसले त जहिल्यै आङ जिरिङ्ङ पार्छ। यो अक्करे भिरको चर्चा त्यतिबेला चुलिएको थियो, जतिबेला पत्रकार कनकमणि दीक्षित यही भिरबाट खसेर हराएका थिए। चिप्लिएर त्यही भिरमा खस्दा भाग्यवश बिचको सानो कोप्चेरोमा अड्कन पुगेछन्। उनी पाँच दिनसम्म त्यहींको पानी मात्र पिएर प्राण बचाएर फर्केका थिए। यही जोखिमपूर्ण बाटो भएर यात्रा गर्नुपथ्र्यो २०६८ सालभन्दा अगाडि।

यो बाटो क्रमशः खानीगाउँ, घेर्मु र स्यागे गाउँ हुँदै अहिले हामी गुड्दै आइपुगेको जगतमा जोडिएर अन्त हुन्थ्यो। जसको पदयात्रा प्रारम्भविन्दु खुदी थियो। पहाडी उकालो इलाकाबाट गुज्रिएको मोटरबाटो समग्रमा अप्ठ्यारो छैन। अलि अप्ठ्यारो/भिरालो बाटोमा पिच गरिएको छ मनाङसम्म नै। तर मनाङको सदरमुकाम चामेमुन्तिरको बाटो तुलनात्मक रूपमा अप्ठ्यारो छ, चामेमास्तिरको भन्दा।

फेरि वनको कम्मरबाट मस्र्याङ्दी जस्तै बटारिँदै बगेको गोरेटो बाटो देखा प¥यो। जहाँ केही मान्छे पैदल यात्रा नाप्दै गरेको देखिएको छ। यो भने पुरानो बाटो होइन, तीनचार वर्षअगाडि मात्र खोलेको। तैपनि बाटो राम्रो छैन। कहीं भत्किएको छ।

ठिक १० बजे च्याम्चे बजार (१४३० मिटर) आएर रोकियो जिप। ओहो ! ठेकीबाट दही खन्याएझैं पहराको डिलबाट झर्दैछ बुङ छहरा। बेरिएको श्वेतवस्त्र जसरी। श्रीपेचमा सजिने कोमल कल्की भएर। अप्सराको वदनमा प्रेमिकाको अलिङ्गनमा आबद्ध प्रेमीजस्तो झरनालाई अपलक हेरिरहेका प्रेमी जोडी नै दङ्ङ परेका छन्। जसले जे सम्झेर हेर्छ, उसले उस्तै प्रतिरूप पाउँछ यो छहरामा। अद्भुत विपुल वैभव झरे जस्तो यो लम्बेतान छहरामा मानव मनले अनेक भाव भेट्छन् र बिम्ब हुर्काउँछन्। यसको अलौकिक रूप हेर्न मनास्लु र मनाङबाट फर्केका पर्यटक पनि तानिएका छन् हामीसँगै। यहाँका जम्मा तीनवटा रेस्टुरेन्टलाई भ्याइनभ्याई हुन्छ। बिहानदेखि साँझसम्म खानानास्ता खानेहरूको भिड सम्हाल्न।

च्याम्चे छोड्नासाथ पारिपट्टि सात्तले नजिकै सुन्दर दृश्य देखिएको छ, ताल गाउँको। मस्र्याङ्दी नदीले बनाएको रहेछ लाम्चोलाम्चो आकारमा पानीको दहनजिक झुरुप्प मानव बस्ती। महोत्सवमा लोकप्रिय लोकगीत गाइरहेकी चर्चित गायिकाअगाडि सर्वसाधारण झुम्मिएजसरी। स्थानीयका अनुसार कुनै बेला यो पूरै जलमग्न थियो। मस्र्याङ्दी नदीले बाटो फेरेपछि ताल साँघुरियो। त्यहीं तालले छोडेको ठाउँमा बस्ती बसेको हो रे। समयकालपछि यो गाउँको नाम पनि ताल रहन गएको हो।

च्याम्चेदेखि यहाँसम्मको पुरानो बाटो डोरिएको छ इतिहास बनेर। यस्ता पुराना बाटा प्रायः सबै मोटर बाटोले खाएको छ। कहींकतै मात्र नगन्य रूपमा बचेकाबाहेक।

तालमाथिबाट तल्तिर म्यार्दी खोला बगेको छ। यही खोलाले सिमानाको काम गरेको छ, लमजुङ र मनाङको। हेर्दाहेर्दै हामीलाई मनाङ प्रवेश गरायो जिपले। अब त पुरानो बाटो देखिने अवसर नै छैन, किनकि पुरानो बाटोलाई नै विस्तार गरेर मोटर बाटो बनाइएको छ।

नागबेलीजस्तो देखिने एउटा धर्सोरूपी पिच बाटोमा गुड्दै छौं। तल्तिर र पारिका हरियालीले समेत मनलाई त्यसैत्यसै तरंगित पारेको छ। हाम्रो ऊर्जाको ब्याट्रीलाई रिचार्ज गरेको छ। बेलाबेला जिपको उफ्राइले दृश्य र स्मृति दुवैलाई बिथोल्न खोज्छ।

साढे १० बजे धारापानी आइपुगियो। जिपबाट ओर्लियौं हामी। किनकि यो चार पाङ्ग्रे सवारी साधनबाट गरिने यात्रा अन्त भयो। दिवा खानापछि त्यहाँबाट नै सुरु हुन्छ हाम्रो पैदल यात्रा।

खासमा जिपले हामीलाई सुविधा त दिएको छ तर पर्यटकको अवसर खोसेको छ। यातायातको सुविधा नहुँदा पैदलमार्गका जनजीवन, रहनसहन, वनजंगल, डाँडाकाँडा, पाखापखेरा र खेतबारीसँग सिधा साक्षातकार हुन्थ्यो। जसबाट अनेक अपूर्व आयामहरूसँग एकाकारबाट प्राप्त हुने अपार आनन्द, ऊर्जा र सन्तुष्टि आर्जन हुन्थ्यो। ती सबै मोटर बाटोले बञ्चित गराएको छ अहिले। अर्को बेफाइदा भनेको पदमार्गको दुरी र पर्यटकका दिन छोटिनु हो।

जिपमै बसेर सोच्छु। बाटामा कति स्वच्छ थियो हावा ! अहिलेजस्तो बाटोमा धुवाँ, धुलो र ध्वनि प्रदूषणको सामनासमेत गर्नु पर्दैनथ्यो। विगतमा मिलेको सुखद सम्झना मनमथिङ्गलमा रोटेपिङ भएर रिँगिरह्यो। सम्झँदा मात्र पनि साह्रै सुखद अनुभूति हुने पदमार्गप्रति  माया लागेर आयो।

हुन त अहिले पनि नगन्य पर्यटकले मोटर बाटो प्रयोग गर्छन्। यसका आफ्नै बाध्यता छन्। यस्तो मोटर बाटोबाट गरिने पदयात्रा प्राकृतिक हुने भएन। सवारी साधन गुड्दा निसासिनु पर्छ। रोकिँदै नाकमुख छोपेर हिँड्नुपर्ने सकस झेल्नुपर्छ। पैसा तिरेर घुम्न आउने कुन पर्यटकले यस्तो सास्ती सामना गर्न रुचाउला?

प्रकाशित: ३ जेष्ठ २०८२ ११:५६ शनिबार





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School