पितृसत्ताभित्र रुमल्लिएको सामाजिक कुण्ठा : कसरी हटाउने ?

पितृसत्ताभित्र रुमल्लिएको सामाजिक कुण्ठा : कसरी हटाउने ?


केही समयदेखि हाम्रो सामाजिक सञ्जालमा तीनवटा कुराले चर्चा पाइरहेको देखिन्छ । पहिलो, ममता काफ्ले र मुना पाण्डेको अमेरिकामा भएको हत्या । दोस्रो, तीजको दर र तेस्रो मोरङको सुन्दरहरैंचा नगरपालिकामा दुई छोरीलाई विष खुवाई आफू स्वयंले पनि सेवन गरेकी महिलाको घटना ।

तेस्रो घटनाको खासै चर्चा नभए तापनि जति लेखिएका छन् तिनले मेरो मनमा असाध्यै छोएको छ र मन रोएको छ । त्यसैले पनि मलाई मेरा संवेदना तथा विचारहरू शब्द मार्फत पोख्न मन लागेको हो । पक्कै पनि मलाई जस्तै धेरैको मनमा यी घटनाहरूले छोएका होलान् ।

उल्लिखित तीनवटै विषय फरक–फरक हुन् तर ती एकअर्कामा अन्तरसम्बन्धित छन् भन्ने मेरो ठम्याइ हो । यस्ता विषयहरूमा अहिले हाम्रो सामाजिक सञ्जालमा लेखिएका, साथीहरू माझ गरिएका कुरा सुन्दा हाम्रो समाज त्यसमा पनि हाम्रा दाजुभाइ, बुवा, काका, मामा, श्रीमान् र छोरा जस्ता भिन्न नातामा रहेका पुरुष कति धेरै कुण्ठामा बाँच्न बाध्य रहेका छन् भन्ने छर्लङ्गिएको छ । यस्ता अपराधहरू तिनै कुण्ठाका परिणाम हुन् कि ?

आज केही महिलाहरू जिम गएको फोटो फेसबुकमा सेयर भएछ । मैले साह्रै माया अनि आदर गर्ने भाइ जो नेता पनि हुन्, उनकी श्रीमती एउटा अन्तर्राष्ट्रिय संस्थामा पनि काम गर्छिन्, जसले आफ्ना श्रीमान् एकदमै सहयोगी छन् भनेर सगर्व हामी सबैलाई सुनाउँदै हिंड्छिन् । तिनै भाइले त्यो फोटोमाथि गरेको टिप्पणी देखेपछि भन्न मन लाग्यो ‘तिमी पनि ?’ त्यो फोटोको तल उनको टिप्पणी थियो– ‘दर पचाउनु परेन !’

हामीकहाँ महिलालाई जिम जान, हाँस्न, बोल्न, रुन सहज छैन । अहिले सशक्तीकरण, आत्मनिर्भर अनि आत्मसम्मान बढ्दै गएको परिप्रेक्ष्यमा केही महिला दर नै खाएर आफ्नो शरीरको केही क्यालोरी घटाउन जिम गए होलान्, के बिग्रियो त ? आफूलाई पढे–लेखेको नेता भन्ने अझ त्यसमा पनि प्रगतिशील पार्टीको नेता मानिने व्यक्तिलाई त्यस्तोमा टिप्पणी गर्न केले प्रोत्साहित गर्छ ? यस्तो हुनु पक्कै पनि चिन्ताको विषय हो ।

विवाहित महिला आफ्नो घरबाट बेलाबेला किन हराउन बाध्य हुन्छिन् ? सामाजिक सञ्जालमा किन गुहार माग्छिन् ? बच्चा जन्माएपछि श्रीमान्सँग किन खटपट हुन्छ ? यस्ता यावत् विषयमा केन्द्रित छलफल/बहस हुनुको सट्टा ‘महिला नै उस्ती’ भन्ने भाष्य कसरी उत्पन्न हुन्छ अधिकांशको दिमागमा ? सोच्दा भने अचम्म लाग्छ ।

ममता काफ्लेलाई उसको श्रीमान्ले मारेको भन्ने करिब–करिब पुष्टि भएको स्थिति छ । यो स्थितिमा पनि सामाजिक सञ्जालमा एउटी महिला जसलाई श्रीमती बनाएर ल्याएको छ, आफ्नोे सन्तानको आमा बनेकी छिन्, उनलाई श्रीमान्ले किन मार्छ ? त्यसरी मार्ने शक्ति/दिमाग उसले कहाँबाट पाउँछ ? भन्ने जस्ता पक्षमा धेरै चर्चा देखिंदैन ।

हाम्रो समाजमा श्रीमतीलाई आफ्नो सम्पत्ति मान्ने चलन छ, श्रीमतीलाई सम्बोधन गर्दा ‘तँ’ भन्नु, आफूलाई बेलामा खाना पकाउन लगाउनु, सबै कुरा ठिक्क पारिदिए माया देखाउनु, नपारेको खण्डमा गाली गर्नु वा अनुहार बिगारेर आफ्नो श्रीमती त ‘यस्तो गर्दिनँ उस्तो गर्दिनँ’ भनेर सबैलाई भन्दै हिंड्नु श्रीमान्को लागि अधिकार मानिन्छ ।

त्यसैले यदि श्रीमती/प्रेमिका आफूभन्दा सानो वा चित्तबुझ्दो भएन भने गाली गर्ने, शोषण गर्ने, कुटपिट गर्ने अनि हत्या गर्ने समेत आँट आउँछ, र हत्या नै नभए पनि श्रीमतीले श्रीमान्ले भनेको अनुसार गरेको छैन भनी समाजमा पुष्टि गर्न सक्ने सामग्री पस्कन सकियो भने त्यस्तो अपराधबाट कम्तीमा सामाजिक रूपबाट पूर्ण रूपले मुक्ति पाइन्छ । तीजको दरसँग जोड्दै महिलालाई लाञ्छना लगाउने र आफ्नी श्रीमतीको हत्यासम्म गर्ने आँटको उद्गमविन्दु एउटै हो ।

देश राजनीतिक रूपमा रूपान्तरित भइसके पनि सामाजिक रूपमा रूपान्तरित हुनसकेको छैन । अहिलेसम्म पनि ‘श्रीमती भनेकी हाम्रो सम्पत्ति होइनन्, महिला भनेका समाजले, घरले, पुरुषहरूले भनेको मान्ने र अह्राएको काम गर्ने व्यक्तिहरू मात्रै हैनन्, उनीहरू स्वतन्त्र अस्तित्व भएका समूह हुन्, स्वतन्त्र नागरिक हुन्’ भनी लेखेको र बोलेको अनि सामाजिक सञ्जालमा राखेको पढ्न विरलै पाइन्छ ।

बरु महिलाले स्वतन्त्रता बढी उपभोग गरे, अश्लील भए, खर्चिला भए आदित्यादिले उनीहरूमाथि यस्ता किसिमका घटना भएका हुन् भन्ने खालका अभिव्यक्तिहरूले सामाजिक सञ्जाल होस् वा अन्यत्र लेख्ने, बोल्ने र सुन्ने माध्यम भरिएका हुन्छन् ।

अहिले विस्तारै कम हुँदै गएको भए पनि, ममताको सन्दर्भमा पनि, पहिले पनि यसैगरी बेलाबेला हराउने गर्थी रे, लोग्नेलाई माया नै गर्दिनथी रे, ग्रीन कार्डका लागि मात्रै बिहे गरेको, ममता महत्वाकांक्षी केटी रहेको, उनीहरूको खटपट बच्चा जन्मेपछि सुरु भएको, ऊ डिप्रेसनको शिकार थिई रे जस्ता समाजमा ममता नै गलत हो भन्ने पुष्टि गर्न खोज्ने खाले टिप्पणीहरू बाक्लै देखिए, सुनिए ।

समाजमा अब यस्ता किसिमका टिप्पणीहरू देख्दा र सुन्दा अनौठो नलागे पनि मन भने भारी हुँदोरहेछ । हुनसक्छ, ती टिप्पणीहरू पनि सत्य होलान् । तर एउटी महिला अर्को देशमा आएपछि जहाँ आफ्नो सहयोगी संयन्त्र पनि हुँदैन, त्यस्तो ठाउँमा श्रीमान्लाई मन नपराउने परिस्थिति किन सिर्जना हुन्छ ?

विवाहित महिला आफ्नो घरबाट बेलाबेला किन हराउन बाध्य हुन्छिन् ? सामाजिक सञ्जालमा किन गुहार माग्छिन् ? बच्चा जन्माएपछि श्रीमान्सँग किन खटपट हुन्छ ? यस्ता यावत् विषयमा केन्द्रित छलफल/बहस हुनुको सट्टा ‘महिला नै उस्ती’ भन्ने भाष्य कसरी उत्पन्न हुन्छ अधिकांशको दिमागमा ? सोच्दा भने अचम्म लाग्छ ।

जस्तोसुकै परिस्थितिमा पनि महिलाले सहेर बसे मात्रै राम्रो मानिने नत्र उनीमाथि अपराध भएपछि पनि उनलाई नै प्रत्यक्ष वा परोक्ष रूपले दोष देखाउने ज्ञान हामीभित्र कहाँबाट जन्मिन्छ ? त्यो गम्भीर चिन्ताको विषय हो ।

अब चर्चा गरौं, मुना पाण्डे हत्या प्रकरणको । मुना पाण्डेको हत्यारासँग मुनाको कस्तो सम्बन्ध थियो ? ऊ किन ऊसँग निकट रही ? किन संगत गरी ? भन्ने तर्कहरू सामाजिक सञ्जालमा थरीथरी प्रकारले पस्किएको देखिन्छ । तर, सानैदेखि महिलाको शरीरलाई नियन्त्रण गर्न सकिन्छ, महिला भनेका पुरुषको मुठ्ठीमा बस्नुपर्छ भन्ने मानसिकताले ग्रसित/विकसित पुरुषका लागि मुना पाण्डे जतिको सक्षम महिला चुनौती बनिन् ।

उनीमाथि हाबी हुन नसक्दा एउटा पुरुषको इगो हर्ट भयो र स्वीकार्य भएन, परिणामतः त्यो पुरुष अपराधी बन्यो भन्ने भाष्य निर्माण गर्न हामी किन सक्दैनौं ? पुरुषभित्र अपराधी भावनाको विकास गराउने समाजले कसरी समाजमा अपराधी उत्पादन गर्दैछ ? त्यसको कारण पुरुषहरू जेलमा बस्न बाध्य भएका छन् । महिलाले अनाहकमा जीवन समाप्त गर्नुपरेको छ, भन्ने बहस किन चल्दैन ? यस्ता विषयले हाम्रा सामाजिक सञ्जाल, मूलधार संचारहरू किन भरिंदैनन् ?

मोरङ सुन्दरहरैंचा नगरपालिका– ७ मा भर्खरै १ र ३ वर्ष हुँदै गरेका आफ्ना अबोध बालिकाहरूलाई विष खुवाएर आफूले पनि विष सेवन गरेकी २९ वर्षीया आमाको दर्दनाक समाचारले हरेक संवेदनशील व्यक्तिलाई पक्कै विक्षिप्त बनायो । तिनै विक्षिप्त बनेकामध्ये म पनि एक हुँ । उनीहरूको मृत्युले मलाई विक्षिप्त बनायो नै अझ समाचारमा लेखिएको शैली र प्रस्तुतिले झनै विक्षिप्त बनाएको छ ।

दुई जना छोरीकी २९ वर्षीया आमा त्यस्तो अवस्थामा किन पुगिन् ? आफ्नै मुटुका टुक्राको हत्या गर्दै आत्महत्या गर्ने अवस्थासम्म कसले पुर्‍यायो ? अपराधी कसलाई मान्ने भन्नुतर्फ हाम्रो लेखन विश्लेषण किन हुनसकेन ? यसलाई हामी सबैले गम्भीरताका साथ कहिलेदेखि हेर्न थाल्छौ ? मेरो मस्तिष्कमा यो प्रश्न उब्जिएको छ ।

यसै प्रसङ्गमा यहाँ मलाई अर्को घटनाको चर्चा गर्नु जायज लाग्यो । केही वर्षअघि हामीले ‘ओरेक’ मा एउटा यस्तो केस हेरेका थियौं, जुन केसमा बाबुले आफ्ना ४ छोरीलाई यौनशौषण गर्ने गर्थ्यो । आमा आजित भएर ओरेकमा आएकी थिइन् । तिनी र तिनका सबै छोरीलाई ओरेक र सिविनको संयुक्त पहलमा सहयोग गरियो । श्रीमान् जेल चलान भए ।

कुण्ठाहरू हामीभित्र कसरी तयार भए त्यसको बारेमा खोजी गर्नुपर्छ । मेरो विचारमा हामीलाई अभाव, दबाब र प्रभावमा बाँच्न बाध्य बनाउने वातावरणमा यस्ता कुण्ठाहरू जन्मन्छन् अनि विकसित हुँदै जान्छन् ।

छोरीहरूले राम्रोसँग पढे । केही वर्षपछि श्रीमान् जेलबाट छुटे । जेलबाट छुटेपछि सबै समाजका भद्रभलाद्मी जम्मा भएर ती महिलालाई अपराधी श्रीमान्को जिम्मा लगाए । ‘घर, परिवार र समाजका सबैले भनेपछि/जिम्मा लगाएपछि म कहाँ जाउँ ?’ भन्दै ती महिला रोएको त्यो दिन म कहिल्यै बिर्सन सक्दिनँ ।

यी घटनाहरू किन भए ? यिनका प्रमुख कारणहरू के–के हुन् ? भन्ने उचित व्याख्या नभई यस्ता घटनाहरूको अन्त्य हुने वातावरण बन्दैन । जे भए पनि लोग्ने–स्वास्नी अब मिलेर बस्नुपर्छ, जगत हँसाउनुहुन्न भन्ने समाज छ हाम्रो । मर्ने स्थिति आए पनि महिला आफ्नो पीडा लुकाएर बसेको अवस्थालाई हाम्रो समाजले राम्रो मान्छ । त्यसको उदाहरण अहिले हामीले प्रबुद्ध मानेका व्यक्तिहरूद्वारा तीजको सम्बन्धमा गरिएको टिप्पणीलाई लिन सकिन्छ ।

अझै हामीलाई तीजको बेला महिला रुँदै माइती जाने अनि जे छ त्यसलाई स्वीकार गरेर घरमा बसेको मन पर्छ । महिलाले खुलेर नाचेको, गाएको मन पर्दैन । त्यो देशमा यस्ता घटनाहरू किन हुन्छन् भन्ने पूर्ण विश्लेषण के हुन्छ होला ? हाम्रा प्रबुद्ध भनिनेहरू समेतबाट यस्ता अभिव्यक्तिहरू किन आउँछन् ? तिनका बारेमा अलि गहिरो विश्लेषण हुनुपर्छ भन्ने लाग्छ ।

मलाई यस्ता अभिव्यक्तिहरू हामीभित्र दबिएर रहेका कुण्ठाहरूका परिणाम हुन् जस्तो लाग्छ । त्यसैले ती कुण्ठाहरू हामीभित्र कसरी तयार भए त्यसको बारेमा खोजी गर्नुपर्छ । मेरो विचारमा हामीलाई अभाव, दबाब र प्रभावमा बाँच्न बाध्य बनाउने वातावरणमा यस्ता कुण्ठाहरू जन्मन्छन् अनि विकसित हुँदै जान्छन् । स्कुले जीवनमा पैसाको अभाव, परिवारमा आमा–बुवा दुवैको समान रूपको मायाको अभाव, समाजमा विश्वासको अभाव ।

यी अभावका कारण एकप्रकारको कुण्ठाबाट हामी ग्रसित छौं । त्यस्तै, अर्को महत्वपूर्ण तत्व भनेको दबाब । दबाब सहेर हामी बाँच्न बाध्य भयौं । घरमा आफूभन्दा ठूलालाई प्रश्नै गर्नुहुन्न, जे भन्यो त्यही मान्नुपर्छ । बुवा भनेको घरको मूली हो, आमा सधैं बुवाको दबाबमा बस्नुपर्छ भन्ने सिकाइएको छ । त्यसैले पुरुष भनेको महिलालाई दबाबमा राख्न सक्ने हुनुपर्छ भन्ने मान्यता आत्मसात् गर्दै हामी हुर्कियौं । त्यसले हामीभित्र अर्को कुण्ठा जन्माएको छ ।

त्यसैगरी, कहिले नेताको प्रभाव, कहिले जातको प्रभाव, कहिले रङको प्रभाव, कहिले लिङ्गको प्रभाव, कहिले पढाइको प्रभाव, कहिले धनको प्रभावमा बाँच्न बाध्य गराइएको छ, जसको कारण हामीभित्र अर्को कुण्ठा जन्मेको छ । यसरी कुण्ठै–कुण्ठाले भरिएको मानिसको मनोविज्ञान, जहिले पनि अर्को मानिसलाई दोष दिएर आफूलाई ठूलो, जान्ने, प्रभावकारी छु भन्ने देखाउन पाउँदा ऊ खुशी हुन्छ, उसको मन फुरुङ्ग हुन्छ ।

ऊ अर्को व्यक्ति अभाव, दबाब र प्रभावमै बाँचोस् भन्ने चाहन्छ । त्यस्ता कुण्ठाग्रस्त व्यक्तिहरूले पहिलो चरणमा अपराध गर्दैनन् तर अपराध गर्ने र अपराध छोप्ने वातावरण निर्माण गर्न थाल्दछन् । महिलाहरू हाम्रो समाजमा अभाव, दबाब र प्रभाबमा बस्नुपर्ने समूहको रूपमा स्थापित गरिएका छन् । त्यसैले त्यस्ता कुण्ठाग्रस्त व्यक्तिहरूलाई महिला हाँसेको, खुशी भएको, जिम गएको, सशक्त भएको मन पर्दैन ।

त्यसैले उसले समाजको रीतिरिवाजको सहारा लिंदै त्यसलाई शृङ्खलाबद्ध रूपमा खण्डित गर्न थाल्छ, हतोत्साहित गर्छ । यसो गर्न हाम्रो जस्तो सरकारले समेत सहयोग गर्छ । अहिले तीजको दर, महिलाको नाचगान, त्यसपछि प्रबुद्ध भनाउँदाहरूको टिप्पणी, तीज मनाउने सम्बन्धी सरकारको सूचना जस्ता कुरालाई उदाहरणको रूपमा लिन सक्दछौं ।

यी सबै, पितृसत्ताले आफ्नो अधिकार जनाउँदै, महिलालाई तिमीहरू भनेको अभाव, दवाब र प्रभावमा बाँच्नुपर्छ, केही गरी त्यहाँबाट हामीलाई चुनौती दिंदै निस्कन खोज्यौं भने हामी तिमीलाई सजाय दिन्छौं भनेर आफ्नो प्रभाव जगजाहेर गरेको प्रमाण हुन् । त्यो प्रभावलाई चिर्ने हिम्मत गर्ने महिला छन् भने उनीहरूलाई नै लाञ्छित गर्ने भाष्य विभिन्न माध्यमबाट निर्माण गरिन्छ ।

त्यसले नै विस्तारै कुण्ठैकुण्ठाले भरिएका आपराधिक मानसिकता बोकेकालाई अपराध गर्न उत्साहित गर्छ । आफ्नै श्रीमतीलाई हत्या गर्ने होस् वा पैसा, प्रेम वा यौनजन्य कुण्ठाबाट ग्रसित भएर अर्की महिलालाई मार्ने व्यक्ति होस् वा आफ्नी श्रीमतीलाई दुःख दिएर, त्यो श्रीमतीभित्र म मरें भने मेरा छोरीहरूलाई पनि यसले बाँच्न दिंदैन भन्नेसम्मको मनोविज्ञान विकसित गराएर विष दिन बाध्य बनाइएको घटना होस्, यस्ता सबै घटनाहरू त्यस्तै मानासिकताको उपज हुन् । अहिलेको पुस्ताले यो बुझ्न जरूरी छ ।

यस्ता कुरा बुझेर हामीले परिवर्तन गर्न तयार नभएसम्म अपराधहरू कम हुँदैनन् । त्यो वातावरण हाम्रो लेखाइ, बोलाइ, तर्क गराइमा परिवर्तन विना सम्भव छैन । त्यसका लागि हामीले आफूलाई आफूभित्र म पुरुष, म धनी, म पढेको आदि तर्कहरू प्रयोग गर्दै जोगाइराखेको कुण्ठाबाट मुक्त हुन जरूरी छ । त्यसैले पहिले हामीले आफूलाई कुण्ठाबाट मुक्त गर्दै हाम्रो बोल्ने, लेख्ने र सामाजिक सञ्जाल रङ्गाउने शब्दहरूलाई सच्याउनेतर्फ प्रयत्न गर्ने कि ?



Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School