पालिका प्रमुख : नयाँ चरित्र नायक !

पालिका प्रमुख : नयाँ चरित्र नायक !


सिनेमालाई समाजको दर्पण भन्न थालिएको धेरै वर्षपछि यो सिद्धान्तको विनिर्माण भयो र भनियो– दर्पणले जे छ त्यहीमात्र देखाउँछ तर सिनेमा र कलाले भएको भन्दा बढी देखाउनसक्छ ! जे भएको छैन, जे हुनसक्थ्यो वा जे नहुनुपर्थ्यो त्यो पनि सिनेमाले देखाउन सक्छ । वास्तविक समय र पात्र टिपेर यसले अवास्तविक कथा भन्न सक्छ । वा वास्तविकताको संसारमा कुनै नयाँ पात्र ल्याएर कथालाई नयाँ मोड दिनसक्छ ।

यथार्थको समानान्तर अर्को संसार सृजना गरेर दर्शकलाई त्यो संसारमा पुर्‍याउनसक्नु सिनेमाको विशेष खुबी हो । फिल्ममेकरहरूले यसको धेरै वर्षदेखि प्रयोग गर्दै आइरहेका छन् । क्विन्टन टोरन्टिनोको ‘इन्ग्लोरिसय बास्टर्ड’मा हिटलरको हत्या होस् वा कमल हासनको ‘हे राम’ होस् वा मनोज पण्डितको ‘दासढुंगा’, सिनेमाले इतिहास र यथार्थलाई अलग आयाममा हेर्ने प्रयास गर्दै आएको छ । एलियनको पृथ्वीमा आक्रमण होस् वा जेम्स क्यामरुनको ‘अवतार’मा जस्तो अर्को ग्रहमा मानिसको आक्रमण होस्, सिनेमाले विज्ञान र मिथको मिश्रण गर्ने काम पनि गरेको छ ।

यो लेखमा हामी गत वर्ष बनेका नेपाली फिल्मको दर्पणमा नेपाली राजनीतिको कस्तो छायाँ देखिएको रहेछ भन्ने चर्चा गर्नेछौं । गएको वर्ष २०८० मा प्रदर्शनमा आएका ५१ नेपाली फिल्ममध्ये ८–९ वटाको केन्द्रमा राजनीतिको विषय रहेकाले पनि यस किसिमको चर्चा गर्नु उचित हुने देखिन्छ । आखिर हरेक आउने समय बितेको समयको जगमा अडिएको हुन्छ । यसैले भोलिका बारे अनुमान गर्नलाई हिजोका पाना पल्टाउने चलन रहँदै आएको छ ।

गएको वर्ष राजनीतिक रूपमा ‘बहुमतको अस्थिरता’ को वर्ष थियो । संघ सरकारका एकै प्रधानमन्त्रीले १४ महिनामा तीनपटक बहुमत सिद्ध गरे पनि गठबन्धन परिवर्तन भइरहेकाले स्थीर सरकार बनेन नै, सातै प्रदेश सरकारमा नयाँ नयाँ कम्पन आइरहे । मधेशका मुख्यमन्त्रीले त चारपटक विश्वासको मत लिनुपर्‍यो । वर्षान्तसँगै प्रकाशित भइरहेका वर्ष समीक्षाहरू हेर्दा नेपाली फिल्म भने यति अस्थीर र चञ्चल रहेन ।

नेपाली फिल्मले बक्स अफिसमा सफलता, विषयमा विविधता र प्रस्तुतिको नवीनताको खोजीलाई कायम राखेको प्रतीत हुन्छ । स्वदेशी बजारका साथै गत वर्ष मीन भामको ‘साम्बाला’, नवीन सुब्बाको ‘गाउँ आएको बाटो’ र फिडेल देवकोटाको ‘द रेड सुटकेस’ले विश्वका ठूला फिल्म महोत्सवहरूमा नेपाललाई पुर्‍याए । बक्स अफिसबारेका रिपोर्टहरूका अनुसार यस वर्ष तीनवटा फिल्मले घरेलु १० करोडभन्दा माथिको व्यवसाय गरेछन् ।

सिक्काको अर्कोपाटोमा भने करोड लगानीमा बनेर लाख कमाउन मुश्किल पर्ने फिल्महरू पनि छन् । यस्तै, यसवर्ष लिम्बु संस्कृतिमाथि ‘जारी’, गुरुङ संस्कृति र जीवनमाथि ‘दयारानी’, तामाङ जनजीवनमाथि ‘नीरफूल’, मिथिला संस्कृतिमाथि ‘एक भागवत एक गीता’ जस्ता फिल्मले नेपाली समाजका विविधतापूर्ण संस्कृति र जीवनलाई पनि पर्दामा ल्याउने काम गरे ।

सिक्वेल, कमेडी र लभस्टोरी

पछिल्ला वर्षहरूमा नेपालमा कि त हिट फिल्मको सिक्वेल बनायो भने चल्छ कि कमेडी चल्छ भन्ने एकखालको भाष्य प्रचलित छ । के यो साँचो हो त ? गत वर्षको व्यवसायको तथ्यांक हेर्दा सफल भनिएका ६ फिल्म मध्ये ३ वटा फिल्म ‘परदेशी २’, ‘महाजात्रा’ र ‘पशुपतिप्रसाद २ : भष्मे डन’ सिक्वेल रहेछन् भने तीनवटा नयाँ कथामा बनेका फिल्म रहेछन् ।

‘नाइ नभन्नु ल ६’ र ‘प्रसाद २’ले जस्ता सिक्वेलले भने सोचेजस्तो व्यवसाय गर्न नसकेको पनि देखियो । अर्कातिर ‘जारी’ जस्तो सामाजिक– प्रेमकथा १७ करोड कमाएर वर्षको सर्वाधिन सफल फिल्म बन्यो ।

रह्यो कुरा कमेडीको यसबारे फिल्म समीक्षक एवं निर्देशक दीपेन्द्र लामाले गएको वर्षबारे लेखिएका समीक्षाहरूमा असन्तुष्टि जनाउँदै फेसबुकमा लेखेको पोष्टलाई हेर्न सकिन्छ । ‘नेपालमा कमेडी फिल्ममात्र चल्छ भन्ने अर्को झुटो भाष्य स्थापित हुँदैछ…’ उनले लेखेका छन् । उनले गत वर्ष सफल भएकामध्ये ‘महाजात्रा’ मात्रै विशुद्ध कमेडी फिल्म भएको जिकिर गर्दै नेपालमा सफल भएका विदेशी फिल्महरू ‘जवान’, ‘टाइगर–३’, ‘एनिमल’, ‘ओपनहाइमर’ पनि कमेडी नभएको उल्लेख गरेका छन् ।

‘नाङ्गो गाउँ’ निर्देशक लामाको तर्कसँग सहमत हुने प्रशस्त ठाउँ छ । त्यसो भए पछिल्लो समयको नेपाली फिल्मको केन्द्रीय तत्व वा चरित्र के हो त ? कस्ता विषयमा फिल्ममेकरहरू बढी आकर्षित भइरहेका छन् ? के बारेमा उनीहरूले दर्शकसमक्ष आफ्ना विचारहरू सम्प्रेषित गरिरहेका छन् ।

पालिका प्रमुख : नयाँ चरित्र नायक !

बक्स अफिसमा सफल भएका फिल्म हुन् चाहे असफल भएका फिल्म हुन्– यस बखत बनिरहेका हाम्रा फिल्मको केन्द्रीय स्वर के हो त ? यो समयलाई हाम्रा फिल्महरूले कसरी ‘अर्काइभ’ गरिरहेका छन् त ? गत वर्षका प्रमुख फिल्महरू उठाएर हेर्ने हो भने हाम्रो समाज र राजनीति कस्तो देखिंदो रहेछ त ? यस बारे छलफल हुनु उचित हुन्छ भन्ने लागेकाले यति चर्चा गर्न थालिएको हो ।

राजनीति : कथाको नयाँ भावभूमि

सर्सती हेर्दा हाम्रा फिल्ममेकरहरूलाई पछिल्लो समय राजनीतिका कथाले आकर्षित गरेको देखिन्छ । सबै नीतिहरूको मूल नीति भनिने राजनीतिले नागरिकका जनजीवनलाई प्रभावित पार्ने भएकाले यसतर्फ आकर्षण हुनु स्वभाविक हो । गत वर्ष भने चर्चा पाएका फिल्मको विषयका रूपमा पनि राजनीति झन्डै झन्डै हावी भएछ ।

यस वर्ष हेरेका फिल्ममा मलाई सबभन्दा आकर्षित गरेको यी फिल्महरूमा प्रकट भएको राजनीतितर्फको ‘सचेत वितृष्णा’ले हो । यस्तो किन भनेको भने, यी फिल्महरू राजनीतिको विषय, नेताका चरित्र र उनीहरूको व्यवहारबारे बनेका त थिए तर यिनमा राजनीतिप्रति आकर्षण बढाउने प्रस्तुति थिएन । यिनमा नायक कि त बाध्यताले राजनीतिको चक्रमा प्रवेश गरेको हुन्थ्यो, कि त उसलाई राजनीतिज्ञले प्रयोग गरिरहेका हुन्थे ।

उदाहरणका लागि फिल्म ‘नाङ्गो गाउँ’ र ‘दिमाग खराब’का प्रमुख पात्रलाई लिन सकिन्छ । यी पात्रहरू आफ्नो इच्छाले भन्दा पनि खराब व्यक्तिलाई कार्यकारी पदबाट हटाउनका लागि राजनीतिमा होमिएका ‘विवश’ पात्रहरू जस्ता देखिन्थे । यिनले केवल आफू र आफ्नो परिवारका लागि नभई, पूरै गाउँसमाजका लागि राजनीतिमा लागेर ‘बलिदान’ गरेजस्तो देखिन्थ्यो । यी दुवै फिल्ममा प्रमुख पदमा लड्न तम्सिएका पात्रका पत्नी र परिवार त्यसको पक्षमा छैनन् । दुवैका पत्नी आफ्नो पति गलत बाटोमा हिँडेकोमा चिन्ताग्रस्त देखिन्छन् ।

पालिका प्रमुख : नयाँ चरित्र नायक !

‘नाङ्गो गाउँ’को पासाङ (दयाहाङ राई) र ‘दिमाग खराब’को इन्द्र्रप्रसाद शर्मा (खगेन्द्र लामिछाने) दुवै फिल्मको सुरुमा राजनीतिप्रति आकर्षणले भरिएका पात्र होइनन् । पासाङ स्कुल शिक्षक हुन् भने इन्द्रप्रसाद वैदेशिक रोजगारीमा जान ठिक्क परेका युवक । तर, परिस्थितिले यी दुवैलाई राजनीतितिर डोर्‍याउँदै ल्याउँछ । फिल्मको अन्त्यतिर आउँदा यी दुवै क्रमशः गाउँपालिका र नगरपालिका प्रमुखको निर्वाचनमा उम्मेदवार बनिसकेका हुन्छन् ।

प्रायः नेपाली फिल्मले समाज र यर्थाथलाई छोडेको आरोप लाग्ने गरे पनि यस वर्ष मैले हेरेका फिल्मले राजनीतिको सेरोफेरोमा कथा बुनेका छन् । त्यसमा पनि अधिकांशको केन्द्रमा पालिका प्रमुख रहेका छन् । ‘दिमाग खराब’, ‘नाङ्गो गाउँ’, ‘ऐंचो पैंचो’ र ‘रंगेली’मा प्रमुख द्वन्द्व पालिका प्रमुखका वरपर छ ।

सुदर्शन थापा निर्देशित ‘प्रसाद २’मा वडाध्यक्ष निर्वाचन द्वन्द्वको केन्द्रमा छ । ‘महाजात्रा’मा एउटा सांसद पात्र (हरिवंश आचार्य) प्रमुख पात्रका रूपमा छन् भने पूर्वको तराईं क्षेत्र मोरङ आसपासको कथा भन्ने ‘रंगेली’मा मेयर (अर्पण थापा) र मुख्यमन्त्री (रमेश बुढाथोकी) ले प्रमुख भूमिका पाएका छन् ।

सिमोस सुनुवार निर्देशित फिल्म ‘हात्तीछाप’मा पनि एउटा छट्टु नेताले सोझो मान्छेको फाइदा उठाएको कथा भए पनि यो फिल्म नहेरेकाले यसबारे विस्तृतमा चर्चा गर्न सकिएन । अर्को राजनीतिबारेको फिल्म ‘काँडेतार’ एक दिनमै हलबाट उतारिएकाले हेर्न पाइएन ।

सरसर्ती हेर्दा यस वर्षका फिल्ममा नेपालको तीनै तहका सरकारको प्रतिनिधित्व भएको देखिन्छ । प्रायः फिल्ममा नेताको चरित्रका रूपमा केन्द्रको मन्त्री, सांसद र पार्टीको प्रभावशाली नेता देखिने गरेकोमा यसपालि भने नगर/गाउँ पालिका प्रमुखको चरित्र जबरजस्तरूपमा स्थापित भएको देखिन्छ ।

देश संघीयतामा गएपछि निर्माण भएको नयाँ संरचना प्रदेश सरकारले पनि नेपाली फिल्ममा प्रवेश पाएको देखियो । वास्तविक राजनीतिमा मुख्यमन्त्री पद सधैं धरापमा रहेजस्तो देखिए पनि फिल्ममा भने तिनले शक्तिशाली भूमिका पाएको देखियो ।

पालिका प्रमुख : नयाँ चरित्र नायकको उदय

फिल्ममा कथा जति महत्वपूर्ण हुन्छ, त्यसलाई बलियो बनाउनलाई पात्र वा चरित्रको निर्माण उत्तिकै महत्वपूर्ण हुन्छ । जसरी महाभारत युद्धको कथा सोचियो भने त्यसका लागि कृष्ण, अर्जुन र कर्णजस्ता पात्रको आवश्यकता पर्छ, त्यसैगरी आजको राजनीतिमाथि कथा केन्द्रीत गर्न चाहनेलाई नेता तथा मन्त्रीका चरित्र चाहिन्छ ।

गाउँका सामन्त, तस्करीमा संलग्न व्यापारी र भ्रष्ट नेता नेपाली फिल्ममा पहिलेदेखि नै ‘फेवरेट’ चरित्र रहँदै आएका छन्, जो अक्सर भिलेन हुने गर्छन् । अब यसमा नयाँ पात्र थपिएको छ– मेयर ! मेयरचाहिँ हिरो र भिलेन दुवैले ताक्ने पद बनेको देखियो ।

झन्डै दुई वर्षअघि सम्पन्न स्थानीय तह निर्वाचनमा देशका तीन ठूला नगरमा तीन स्वतन्त्र उम्मेदवारले मेयर पदमा विजय पाएपछि यो पदको ग्ल्यामरले पार्टीको दैलो नाघेर नागरिकसामु पुगेको छ ।

पहिले दलहरूले मेयर वा प्रमुखको उम्मेदवार छान्दथे र दलकै उम्मेदवार निर्वाचित हुन्थे तर दलबिना नै ठूला नगरमा स्वतन्त्रले बाजी मारे पछि यसले महत्वाकांक्षी युवाहरूलाई नयाँ बाटो देखाइदिएको छ । काठमाडौंमा बालेन, धरानमा हर्क साङपाङ र धनगढीमा गोपाल हमालले यो कमाल गरेर देखाएपछि दलहरूप्रति एकखाले वितृष्णाले अर्जीण भइसकेको फिल्म उद्योगले पनि नयाँ चरित्र नायक प्राप्त गरेजस्तो देखिन्छ ।

स्थानीय गाउँ टोलका ससाना समस्यादेखि विकास निर्माण, कृषि र रोजगारीका क्षेत्रमा समेत जनतासँग मिलेर काम गर्न सक्ने निकाय भएकाले पालिकाको महत्व बढेको छ । यसका साथै जनताले देख्न र भेट्न पनि सक्ने सरकारका रूपमा पनि पालिका शक्तिशाली संरचना बन्न पुगेको छ । सबभन्दा प्रमुख कुराचाहिँ राजनीतिमा लाग्न चाहने युवाका लागि पालिका प्रमुख पद प्राप्त गर्न सकिने आकांक्षा सावित भइरहेको छ ।

गत वर्षका फिल्महरूले सायद यसै कुरालाई आत्मसात गरेर होला एउटा सन्देश दिए– ‘देश सुधार्ने हो भने पालिका सुधार्नु पर्छ । यदि पालिका प्रमुख इमान्दार युवा हुने हो भने धेरै समस्या समाधान हुनेछ ! यसका लागि पालिका कब्जा गरेका भ्रष्ट र बेइमानलाई हटाउनु पर्छ’ भनेर पनि फिल्महरूले वकालत गरेका छन् । गत वर्षका तीनवटा फिल्ममा पुरानो प्रमुखलाई नयाँ युवाले विस्थापन गर्न गरेको संघर्षको कथा छन् ।

‘दिमाग खराब’मा पुरानो बेइमान मेयर हरिप्रसाद बराल (अर्पण थापा) लाई परास्त गर्न इन्द्रप्रसाद शर्मा (खगेन्द्र लामिछाने) र भोला थोकर (दयाहाङ राई) ले प्रयास गर्छन् भने ‘नाङ्गो गाउँ’मा पुरानो पालिका प्रमुख जरी लामा (शिशिर वाङ्गदेल)लाई पासाङ (दयाहाङ)ले चुनौती दिन्छन् ।

‘ऐंचोपैंचो’मा पनि भ्रष्ट र इमान्दारका बीच प्रमुखका लागि लडाईं नै कथाको केन्द्रमा छ । ‘ऐंचो पैचो’मा दुई युवाको लडाईं भए पनि एउटा राजनीतिप्रति प्रतिबद्ध ‘हिरो’ (मुकुन भुसाल) छ भने अर्को बेइमानीको धन्दामा लागिसकेको ‘भिलेन’ (कोशिस क्षेत्री) छ । यी कुनै पनि फिल्ममा महिला चरित्रले भने प्रमुखको भूमिका पाएको देखिएन ।

पालिका प्रमुख : नयाँ चरित्र नायक !
ऐंचोपैंचोको पोस्टर

पूर्वी नेपाल र विराटनगर आसपासको राजनीतिको कथामा बनेको ‘रंगेली’ले कसरी राजनीतिमा गुण्डागर्दी, तस्करी, सीमापार अपराध र प्रहरीको दुरूपयोग भइरहेको छ भन्ने देखाएको छ । यसले प्रहरी फोर्सभित्रकै दुई प्रवृत्तिलाई पनि उजागर गर्ने प्रयास गर्छ ।

यो फिल्म हेर्दा नेपालको तराईं क्षेत्रमा राजनीतिमा हिंसा र अपराधको पकड सबभन्दा मजबुत रहेको देखिन्छ, जसलाई सञ्चालन गर्ने काम मेयर (अर्पण थापा)ले गरिरहेका छन् । मुख्यमन्त्रीदेखि प्रहरी प्रमुखसम्मलाई आर्थिकदेखि हतियारको संरक्षण प्रदान गर्ने, सीमापारीका शक्तिलाई पनि सन्तुलनमा राख्ने काम मेयरले गरेको देखिन्छ ।

यी सबै फिल्महरूले नेपालका राजनीतिक दलहरू कसरी चल्छन्, तिनले जनतालाई कसरी हेर्छन्, निर्वाचनमा केकस्ता शक्तिहरू परिचालित हुन्छन् र दलाल, बिचौलिया र गुण्डाले कसरी मतलाई प्रभावित पार्नेगरी महत्वपूर्ण शक्ति हत्याइसकेका छन् भन्ने चित्र देखाउँछन् ।

कृषा चौंलागाईं निर्देशित ‘ऐंचोपैंचो’को त शीर्षक नै निर्वाचनमा जनताले भोट दिने र नेताले नोट दिने कुरालाई ऐंचोपैंचोका रूपमा प्रस्तुत गरिएको छ । ‘दिमाग खराब’ले लगभग बालेन र स्वतन्त्र पार्टीको झल्को आउने गरी पुराना स्थापित शक्तिलाई केही युवाहरूको जोशले कसरी पराजित गर्न सक्छ भन्ने दर्शाएको छ ।

हाल सुटिङमा रहेका नयाँ फिल्महरूमा पनि मेयर–राजनीतिलाई प्रमुख विषय बनाइएको छ । यसमा पनि दीपेन्द्र के खनालले त फिल्मको शीर्षक नै ‘मेयर’ राखेर सर्लाहीमा फिल्मको सुटिङ गरिरहेका छन् । सर्लाहीको वाग्मती नगरपालिकाका विवादस्पद मेयरको जीवनमा यो फिल्म आधारित भनिएको छ । गत वर्षको ‘छक्कापञ्जा ४’ पनि राजनीति र सत्ता समीकरणका विषयमा नै थियो ।

राजनीतिलाई विषय बनाएका भए पनि यी कुनै पनि फिल्मले सरकारले राम्रो काम गरिरहेको वा देशलाई नयाँ दिशातिर लगिरहेको दर्शाउँदैनन् । यसरी हेर्दा लाग्छ, हामी कल्पनाको संसारमा समेत सरकारले भयंकर ठूलो प्रगतिमा देशलाई लगिरहेको सोच्न सकिरहेका छैनौं । हाम्रो वैकल्पिक यर्थाथमा केही जोशिला युवाले परिवर्तनको प्रयास त गरिरहेका छन् तर ती पर्याप्त छैनन् ।

यो संसारमा निर्माण भएको रोचक चरित्र भनेको मेयर/प्रमुखकै हो । डनजस्तो लाग्ने ‘रंगेली’को मेयर, महत्वाकांक्षी र भ्रष्ट ‘दिमाग खराब’को मेयर, शक्तिलोलुप ‘नाङ्गो गाउँ’को गाउँपालिका प्रमुख, ठेकेदारी गुण्डागर्दी र तस्करीमा संलग्न ‘ऐंचोपैचो’को मेयर उम्मेदवार एकातिर छन् भने अर्कातिर यी सबैलाई चुनौती दिने असल चरित्र र नियतका युवाहरू छन् ।

पालिका प्रमुख : नयाँ चरित्र नायक !
रंगेलीको पोस्टर

यसरी हेर्दा हाम्रो फिल्मले पुराना र खराबलाई असल युवाहरूले विस्थापित गर्ने प्रयास गरिरहेको देखाइरहेका रहेछन् । यो समाजको यर्थाथ हो कि केवल कल्पनाको यर्थाथ भन्ने कुरा दर्शकले छुट्याउने कुरा भयो ।

प्रमुखभन्दा अलि तल आउँदा ‘प्रसाद २’ र ‘डिग्री माइला’मा वडाध्यक्षको चरित्र देखिन्छ । ‘प्रसाद २’मा उपल्लो जातिका शोषक प्रवृत्तिका व्यक्तिको सत्तालाई कथित तल्लो जातिको युवाले चुनौती दिनलाई वडाध्यक्षमा उम्मेदवारी दिएको प्रसंग छ भने ‘डिग्री माइला’मा समाजका सबैजसो ठालुहरूको एउटा समूहलाई वडाध्यक्षले गोलबद्ध गरेर यस्तो पर्खाल खडा गरेका छन्, जसलाई सर्वसाधारणले जति प्रयास गर्दा पनि नाघ्न सक्दैनन् ।

‘महाजात्रा’मा देखिने नेपालमा पनि राजनीतिज्ञले सर्वसाधारणलाई दुख नै दिइरहेका छन् । उसको भ्रष्टाचारको पैसा बरामद गर्न खोज्ने प्रहरी मारिन्छ भने तीन साधारण युवाहरू उसको षड्यन्त्रको शिकार बन्न पुग्छन् । दलहरूले रातारात गठबन्धन परिवर्तन गरिरहँदा, ठूला नेताहरू ठूलै काण्डमा संलग्न भइरहँदा, कहिले बालुवाटार काण्ड त कहिले सुन तस्करी प्रकरणमा नेताहरू पक्राउ परिरहेका बेला के हाम्रा फिल्मले देखाएको राजनीतिज्ञको चित्र यर्थाथको नजिक हो त ?

र, अर्को सरोकार

नेपाली फिल्ममेकरहरूले समकालीन समाजका जल्दाबल्दा विषयलाई उठाउने क्रममा यस वर्ष वैदेशिक रोजगारीका कथालाई पनि पर्दामा ल्याएका छन् । यस वर्ष मैले हेरेका फिल्ममा ‘दिमाग खराब’ र ‘द रेड सुटकेस’ले यो विषयलाई भिन्न तरिकाले दर्शाएको पाएँ । ‘नीरफूल’मा यसको प्रसंग भए पनि यो भूकम्पले तहसनहस पारेको परिवारको कथा थियो ।

फिडेल देवकोटाको ‘द रेड सुटकेस’ले वैदेशिक रोजगारीमा मृत्यु भएका युवाहरूको ठूलो संख्याको कथालाई प्रतीकात्मक रूपमा एउटा रातो सुटकेसका माध्यमबाट भन्ने प्रयास गरेको छ । यसले गलत राजनीति र खराब नेताहरूका कारण युवाहरूले खाडीमा ज्यान गुमाउनु परिरहेको भन्ने भाष्यलाई समेटेको छ । यसले खुशी र सम्वृद्धि खोज्नलाई युवाहरू विदेशिँदा गाउँ समाज कसरी अँध्यारो, चिसो र मैलो हुँदै गइरहेका छ भन्ने पनि दर्शाएको छ ।

निश्चल बस्नेतको ‘दिमाग खराब’ले भने वैदेशिक रोजगारीमा जाने गरिब युवाहरूलाई पनि कसरी भ्रष्ट राजनीतिज्ञहरूले ठगिरहेका छन् भने उनीहरू माथि परेको दोहोरो मारलाई देखाएको छ । खालीखुट्टा एयरपोर्ट पुगेको युवाको दृश्यबाट सुरु हुने फिल्मले त्यही युवालाई मेयर उम्मेदवार बनाएर भ्रष्ट राजनीतिज्ञलाई चुनौतीका रूपमा उभ्याएर वैदेशिक रोजगारीको ‘समस्या’को समाधान पनि राजनीतिमा सुधार नै हो भनेर भन्छ ।

‘ऐंचोपैंचो’मा पनि स्थानीय पालिका राजनीतिसँगै वैदेशिक रोजगारीको विषय जोडिएर आउँछ । नेपालमै बसेर केही गरौं भनिरहेको हिरोको साथी यहाँ अवसर नपाएपछि आँसु बगाएर वैदेशिक रोजगारीमा जान बाध्य हुने प्रसंग फिल्ममा छ । यी सबै फिल्महरूले कसरी हाम्रो राजनीति युवाहरूका आकांक्षा र आवश्यकतालाई समेट्न असफल भइरहेको छ भन्ने दर्शाउँछन् । र, युवाको आकांक्षालाई साकार पार्नका लागि राजनीतिमा नै सुधार पहिलो शर्त हो भन्ने सन्देश पनि यिनले दिएका छन् । नेपालका राजनीतिक नेतृत्वलाई हेर्दा उनीहरूले यो सन्देशलाई ग्रहण गर्लान् भन्ने तपाईंलाई लाग्छ ?

समग्रमा भन्ने हो भने यो समयका फिल्महरूले सुशासन र युवालाई अवसरकै मुद्दा उठाएका छन् । त्यसहेतु पुरानो सोच भएका, भ्रष्ट मानसिकता भएका, नैतिकरूपमा पतन भएका, तस्करी र गुण्डागर्दीसँग कुममा कुम जोडेर बसेका राजनीतिक नेतृत्वलाई विस्थापित गरी इमान्दार युवाहरूलाई सरकारको नेतृत्व दिनुपर्छ भन्ने भन्ने सोचलाई नै यी फिल्मले अघि सारेका छन् । फिल्महरूले यसको सुरुवात स्थानीय सरकारबाट गर्न सकिन्छ भन्ने सन्देश पनि दिएका छन् ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School